डा. अन्जनी शर्मा सानो छँदा

लौका चट्

डा. अञ्जनीकुमार शर्मा ढकाल नेपालका पहिलो सर्जन (शल्यक्रियाका चिकित्सक) र पहिलो क्यान्सररोग विशेषज्ञ हुनुहुन्छ । उहाँको जन्म सन् १९३२ जून ७ तारिखमा सिराहा जिल्लाको भलुवाहीमा भएको हो । डा. शर्माका पिताको नाम भवबिनोद र माताको नाम चुनुदेवी हो । उहाँ माहिलो छोरा हो । विज्ञानमा आइएबराबर पढेपछि उहाँले कोलकाता मेडिकल कलेजबाट एमबी र बीएस गर्नुभयो । दरभंगा मेडिकल कलेजबाट एमए सक्नुभयो । बेलायतको रोयल कलेज अफ सर्जन्सबाट ‘एफआरसिएस्’ गर्नुभयो । त्यसपछि अमेरिकाबाट एफआइसिएस र एफएसियस गर्नुभयो । सबै पढाई डाक्टरीसम्बन्धी हुन् । उहाँले राजा महेन्द्रका पालामा राजपरिवारका सदस्यको स्वास्थ्य हेर्ने मौका पाउनुभयो । काठमाडौंको वीर अस्पताल, विरानगरको कोशी अञ्चल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज आदिमा रहेर असंख्य बिरामीको उपचार गर्नुभयो । अहिले भक्तपुर क्यान्सर अस्पतालमा सेवारत हुनुहुन्छ । गोर्खा दक्षिणबाहुजस्ता पुरस्कार पाएका शर्माले डाक्टरहरूकै विभिन्न संस्थामा रहेर काम गर्नुभएको छ । उहाँका विभिन्न पत्रिका तथा जर्नलमा विभिन्न लेख प्रकाशित छन् । उहाँले तयार पारेको ‘प्रिन्सिपल अफ सर्जरी फर नर्सेज’ पुस्तकको चौथो संस्करण प्रकाशित आउन लागेको छ । उहाँले आफ्नो गाउँमा स्वास्थ्य र शिक्षाका लागि केही काम पनि गर्नुभएको छ । देशका विभिन्न भाग र थुप्रै विदेश यात्राको अनुभव भएका डा. शर्मा ढकालको बाल्यकाल कस्ता थियो त ?
म चार वर्षको हुँदा आमा बित्नुभयो । मेरो हेरचाह काकी मैयाँले गर्नुभयो । हामीलाई पढाउनुपर्छ भनेर जोड गर्ने काका भोलाबाबु हो । उहाँले पढ्नुभएको थिएन । व्यापार गर्नुहुन्थ्यो । तर नानीहरूलाई पढाउनुपर्छ भन्नुहुन्थ्यो । भलुवाहीमा ढकालहरूको ठूलो बस्ती थियो । तर त्यहाँ स्कुल थिएन । हामी चार किलोमिटर हिंडेर मिडल स्कुल पुग्थ्यौं । हिंड्नु भनेर बाटोमा होइन । त्यसबेला बाटो थिएन । खेत, आली हुँदै जानुपर्थ्यो ।
स्कुलबाट साँझ घर फर्केपछि मलाई सधैं लौका टिप्न लगाइन्थ्यो । मलाई लौका टिप्न छानामा चढ्नुपर्थ्यो । त्यो काम गर्न मलाई दिक्क लाग्थ्यो । अनि मैले एकदिन लौकाको फेदै काटिदिएँ । फेद काटेपछि ‘न रहे बाँस न बजे बाँसुरी’ कति ढुक्क भयो । त्यसबेला म १०/१२ वर्षको थिएँ ।
एघार वर्षको भएपछि मेरो ब्रतवन्ध भयो । मेरा मिल्ने साथी जंगुबाबु ढकाल र पुण्डरीबाबु ढकाल थिए । ब्रतवन्ध भएपछि जंगुबाबु र म एकदिन साथै थियौं । जंगुबाबुको जनै हरायो । जनै हराएपछि बोल्नुहुँदैन भन्थे । अनि मेरो जनै दुवैले घाँटीमा हालेर घर आयौं । घरमा आएर गोदान गरेपछि जनै फेर्‍यौं । हामीले घाँटीमा जनै बाँधेर आएको देख्दा गाउँभरका मानिस हाँसे । बोल्ने कुरै भएन । चुप लागेर हिंडियो ।
मिडल स्कुल दुई वर्ष पढेपछि म जनकपुर आएँ । त्यहाँ डिठ्ठा गौरीनारायण गिरीका घरमा बसेर पढें । जनकपुर पुग्दा त्यहाँका ठूल्ठूला घर देख्दा पहिले त खुब अनौठो लाग्यो । गाउँमा आफ्नो खरले छाएको छाप्रो मात्र थियो ।
जनकपुरमा प्राइभेट पढेर कक्षा ८ सकियो । त्यसपछि म भारतको दरभंगा गएँ । त्यहाँको मारवाडी हाइस्कुलमा पढें । एसएलसी बराबर (म्याट्रीकुलेसन) फर्स्ट डिभिजनमा पास भएँ । म कहिल्यै सेकेन्ड भइँन । स्कुलमा मलाई गणित (म्याथ) मनपर्ने विषय थियो ।
मेरो ह्यान्डराइटिङ ठिकै मात्र थियो । राम्रो पढ्ने भएकाले कहिल्यै सजायँ पाइँन । खेलकुदमा त्यति ध्यान थिएन । दोडन्थे । क्यारामबोर्ड खेल्थें ।
मैले कहिल्यै धूमपान गरिन । मलाई धूमपान गरेको मन पर्दैन । हजुरआमा चञ्चलादेवीले आफ्नो माइती धमौली जाँदा एउटा हुक्का ल्याउनुभएको थियो । उहाँले हरेक दिन बिहान उठ्ने बित्तिकै मलाई हुक्का भर्न लगाउनुहुन्थ्यो । एक त मलाई धूमपान मननपर्ने, त्यसमाथि हुक्का भर्ने कुरै भएन । मैले हुक्का लिएर गएँ । अलि पर उहाँ नदेख्ने ठाउँमा पुगेर जानाजान हुक्का फुटाइदिएँ र भने, ‘हजुरआमा हुक्का त फुट्यो ।’ त्यो हुक्का फुटेपछि हजुरआमाले धूमपान छाड्नुभयो । मैले धूमपान नगर्ने निर्णग गरें । त्यसैले अहिलेसम्म स्वस्थ छु ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ साउन ११ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<