मलाई जहिँ छात्रवृत्ति
देवनारायण यादव इन्जिनियर हुनुहुन्छ । उहाँ पुलका नक्सा तयार पार्नुहुन्छ । उहाँले बनाएका त्यही नक्सा हेरेर पुल बनाइन्छ । उहाँले नेपालका विभिन्न नदीमा भएका पुलका लागि नक्सा तयार पार्नुभएको छ । तीमध्ये चितवनको कसरास्थित राप्ती नदीको पुल, पोखराको विजयपुरको पुल, काली गण्डकी पुल (म्याग्दी) केही हुन् । उहाँकै नक्सा हेरेर बनाइएका पुल ४० भन्दा बढी छन् । उहाँको जन्म २००४ असोजमा सप्तरी जिल्लाको औरही गाउँ विकास समिति ७ मा भएको हो । उहाँका पिताको नाम रामकृष्ण र माताको नाम गंगा हो । यादव जेठो छोरा हो । देवनारायणका एक भाइ र एक बहिनी हुनुहुन्छ । स्कुलमा असाध्यै राम्रो पढ्ने विद्यार्थी भएकाले उहाँले इन्जिनियरिङमा स्नातक (बीएबराबर) र स्नातकोत्तर (एमएबराबर) गर्न छात्रवृत्ति पाउनुभयो । यादवले भारतको गुजरातस्थित सरदार पटेल युनिभर्सिटिबाट बीइ र थाइल्यान्डको एसियन इन्स्टीच्युट अफ टेक्नोलोजीबाट एमई गर्नुभएको हो । राजा वीरेन्द्रले जागिर खाने प्रस्ताव गर्दा थोरै तलब भएकाले सरकारी जागिर खानुभएन । आफैं काम गर्नुभयो । सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड जस्ता देश घुमेका यादवले सरदार पटेल युनिभर्सिटिमा पढ्दा तीन वर्षमै तीनवटा स्वर्णपदक पाउनुभयो । पट्ना युनिभर्सिटीबाट आईएस्सी (विज्ञानमा आईएबराबर) गर्दा पनि छात्रवृत्ति पाउनुभएको थियो । अहिले आफ्नो जन्मथलो औरहीको जनता माविमा बर्सेनि दस विद्यार्थीलाई पढाइ खर्च दिँदै आउनुभएको छ । यसपटक इन्जिनियर यादव सानो छँदाका केही सम्झना :
म आफूलाई भाग्यमानी ठान्छु । बुबाले मलाई कहिल्यै घरको काम लगाउनुभएन । पढ्नुपर्छ भनेर छाड्नुहुन्थ्यो । पढ्ने वातावरण मिलाइदिनुहुन्थ्यो । पढ्नुपर्छ भन्ने पनि बुबा-आमा नै हो ।
मलाई अक्षर चिनाउने गुरुमध्ये एकजना नसिबलाल गुप्ता पनि हो । गुप्ता सर रेडियो नेपालका गायक पनि हुनुहुन्थ्यो । उहाँले एक वर्षमात्र पढाउनुभयो । त्यसपछि भारतबाट आएका मदनलाल साहले पढाउनुभयो । गाउँभरका २५/३० जना केटाकेटी हामी काका सोनेलालको दलानमा बसेर पढ्थ्यौं । कक्षा ७ सम्मको पढाइ त्यही दलानमा भयो । सरलाई एक विद्यार्थीबराबर २ मन (एक मन भनेको ४० किलोग्राम) धान दिनुपर्थ्यो । उहाँलाई पालोपालो घरमा खाना खुवाउनुपर्थ्यो ।
स्कुल पढ्दा संगीतको सौख थियो । संगीत सिकाउने मेरा गुरुहरू : मोतीलाल यादव र हृदयनारायण झा हुनुहुन्थ्यो ।
गाउँमा बस्दा कीर्तन गाइन्थ्यो । बुढापाका आएर सुन्थे । रेडियो र टेलिभिजन नहुने बेलामा अरू के नै हुन्थ्यो र ?
साथीहरूसँग मिलेर घरको चामलसँग साटेर लुकीलुकी बिँडी खाइन्थ्यो । त्यो एउटा नराम्रो बानी लागेको थियो । सानोमा हजुरबुबा झुलाई यादवले कण्ठी बाँधिदिएकाले मैले त्यसबेला मासु खाइँन । निकै पछिमात्र खान थाले ।
पढाइ नहुने दिन गोठाला जाइन्थ्यो । एकपटक भैंसी ब्याएको थियो । रहरले पराल काट्दा हात नै काटेको छु ।
एकपटक बुबा र म हार्मोनियम किन्न भारतको बिहार राज्य, समस्तीपुर गएका थियौं । त्यसबेला एउटा हार्मोनियमलाई एक सय रुपैयाँ परेको थियो ।
कक्षा ७ पछि गाउँमा पढ्ने विद्यालय थिएन । म भारतको लौकहीमा गएर माध्यमिक विद्यालय, लौकहीमा पढ्न थालें । घरबाट त्यहाँ पुग्न दुई घन्टा नलाग्ने भए पनि छात्रावासमा बस्न थालें । त्यहाँ ४/५ सय विद्यार्थी थिए होलान् । एक सय जना त होस्टलमा बस्थे । होस्टलमा बस्नेमध्ये धेरैजसो नेपाली थिए । त्यहाँ प्रत्येक महिना २० किलोग्राम चामल, ५ किलोग्राम चामल र ५ रुपैयाँ खर्च बुझाउनुपर्थ्यो । छात्रावास फुसको घरमा थियो । हामी लालटिन बालेर पढ्थ्यौं । त्यहाँको स्कुलको पढाइ ११ कक्षामा सकिन्थ्यो । राम्रो पढेकाले मैले ८ देखि ११ सम्म नै छात्रवृत्ति पाएँ ।
२०२३ सालमा हाम्रो एसएलसीको परीक्षा भयो । म बिहार राज्यको १ सय ४ औं स्थानमा पास भएँ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ जेठ २४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)