जीतबहादुर रायमाझी सानो छँदा

काकाको गालीले चित्रकार

जीतबहादुर रायमाझी चित्रकार हुनुहुन्छ । उहाँ विशेष गरी मिथिला क्षेत्रको लोककलाका लागि परिचित हुनुहुन्छ । रायमाझीको जन्म २००१ वैशाख ४ गते सिरहा जिल्लाको भुल्के, बडहरामाल ५ मा भएको हो । उहाँका पिता कर्मबहादुर र माताको नाम चन्द्रमाया हो । उहाँले भारतको बनारसको बिएचयु (बनारस हिन्दू युनिभर्सिटि) बाट कलामै एमएफए गर्नुभएको छ । बिएचयुबाट कला विषयमा त्यो तहको उच्च शिक्षा लिएका मानिस नेपालमा थोरै छन् । विभिन्न समयमा रायमाझीका कला प्रदर्शनी भएका छन् । विभिन्न संघसंस्थाबाट पुरस्कार र सम्मान पाएका उहाँले तयार पारेको ‘मिथिला लोककला : एक परिचय’ नामको पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले छापिदिएको छैन । थन्क्याएर राखेको छ । यसपटक चित्रकार रायमाझी सानो छँदाका केही सम्झना :
मलाई आमाको अनुहार याद छैन । म बामे सर्न थालेका मात्र थिएँ, आमाको निधन भयो । त्यसबेला बुबा पनि उपचार गराउन अर्कै गाउँमा हुनुहुन्थ्यो । वल्लो गाउँ-पल्लो गाउँ-आफ्नै गाउँ सबैतिर महामारी फैलियो । धेरै मानिसको ज्यान गयो । यो देखेर आमा आत्तिनुभयो । उहाँलाई डरले नै लग्यो । बेकार ज्यान गयो । यति मात्र कहाँ हो र ? म एक्लो छोरो । त्यो पनि जन्मदा साह्रै कमजोर रहेछु । मरेजस्तै । ‘यो मरेको जन्म्यो, यसलाई फ्याँकीदेओ’ भनेछन् । तर हजुरआमाले नाडी छाम्नुभयो । अरुले थाहा नपाएको कुरा मेरो नाडीमा थोरै चाल भएको पत्तो लगाउनुभएछ । अनि उहाँले नै आमाभन्दा पर ढाकीमा राखेर राख्नुभएछ । केही दिनमा त म बौरेछु । बाँचेछु । अनि मात्र आमासँग ल्याइयो ।
आमा बितेपछि मेरो पढाई र लालनपालनको काम मावलकी हजुरआमा सोममायाले गर्नुभयो । मलाई अक्षर चिनाउन काम बुबाले गर्नुभयो । बुबा नै मेरो पहिलो गुरु हो । हजुरआमाले मलाई सधैं गुलियो खानेकुरा दिनुहुन्थ्यो । मलाई पनि मीठाइ खुब मनपर्थ्यो । उहाँ पढे-लेखेकी नभए पनि आँटिली हुनुहुन्थ्यो । मामाघरका हजुरबुबा र मामालाई पनि मैले देखिन । उहाँहरूको चाँडै निधन भएछ ।
मैले बडहरामालकै जनता निम्न माध्यमिक स्कुलमा कक्षा २ सम्म पढें । कक्षा ३ देखि ७ सम्म कर्जन्हा हाइस्कुलमा पढें । त्यसपछि म जनकपुरको सरस्वती हाइस्कुलको विद्यार्थी भएँ ।
स्कुल पढ्दाकै कुरा हो । एकदिन म डुल्दै काकाको घर पुगे । तीजको समय थियो । काका स्थानीय चित्र ‘जिउँती’ बनाउँदै हुनुहुन्थ्यो । मैले अलि ध्यान दिएर हेरेको देखेर काकाले मलाई भन्न नहुने शब्द प्रयोग गर्दै गाली गर्नुभयो । त्यहाँबाट फरक्क फर्केर आएँ र सानीआमालाई भनें, ‘मलाई रंग दिनुहोस् ।’ उहाँले दिएका रंगहरूले मैले पनि ‘जिउँती’ बनाएँ । साँझमा घुम्दै आएका काकाले भन्नुभयो, ‘ल यसले पनि बनाएछ ।’ काकाकै त्यहि नमीठो बचनले मलाई चित्रकार बनायो ।
स्कुल पढ्दा पनि चित्रकलामा उत्तिकै ध्यान दिन्थे । पूर्व-पश्चिम राजमार्ग बनाउनुअघि विद्यालयस्तरीय चित्रकला प्रतियोगिता गरिएको थियो । मैले चित्रहरू बनाएँ । यो २०२० सालको कुरा हो । म नौ कक्षाको विद्यार्थी थिएँ । मसँग पढ्ने सूर्यप्रसाद ढुंगेल र श्याम श्रेष्ठ पनि चित्र बनाउँथे । मैले उनीहरूलाई पनि चित्र बनाउन भनें । उनीहरूले, ‘हाम्रो चित्रले के जित्ला र ?’ भनेझैं गरे । मैले कर गरेपछि बनाए पनि । हामीले चित्र प्रतियोगिताका लागि पठायौं । प्रतियोगिताको परिणाम आयो । एकजना विद्यार्थी नेता उक्त परिणाम सुनाइरहेका थिए । म पनि त्यहि पुगें । उनले भने, ‘दोस्रो पुरस्कार सूर्यप्रसादले पाएका छन् । पुरस्कार त रायमाझिले पाउनुपर्थ्यो । पाएनन ।’ सूर्यप्रसादको चित्रले मुलुकभरमै दोस्रो पुरस्कार पायो । मैले त पुरस्कार पाइँन । मलाई चित्त बुझेन । अनि एक वर्ष पढाई छाडेर चित्रमात्र बनाइरहे ।
मैले सरस्वती हाइस्कुलबाट २०२२ सालमा एसएलसी दिएँ । एसएलसीको परीक्षाकेन्द्र आफ्नै स्कुलमा परेको थियो । हामीले कक्षा १० मा बायोलोजी, म्याथस्, दुईटा इंग्लिस, नेपाली, श्रेस्ता आदि पढ्नुपर्थ्यो । चित्र बनाउन पाइन्छ भनेर नै मैले बायोलोजी लिएको थिएँ । एसएलसीमा म थर्ड डिभिजनमा पास भएँ ।
म सानोमा बोल्दै नबोल्ने स्वभावको थिएँ । पढाईभन्दा चित्र बनाउन ध्यान दिन्थे । मलाई साहित्यमा पनि रुचि छ । नाटक, गीत र कविता रचेको थिएँ । अहिले पनि रच्ने गरेको छु ।
हाम्रो हजुरबुबा र त्यसअघि घरको अवस्था राम्रो थियो । बुबाको पालामा आइपुग्दा अवस्था राम्रो थिएन । बुबाले मलाई धेरै दुःख गरेर पढाउनुभयो ।
हाम्रो वस्तीमा पहाडबाट झरेका मानिसको एक खालका चाडपर्व हुन्र्थें भने तराईकै वासिन्दाको बेग्लै चाड हुन्थें । माघमा ‘तुसारी’ भन्ने चाड हुन्थ्यो । मलाई याद छ, तराईको यो चाड रमाइलो हुन्थ्यो । सानोमा खोपी, कपर्दी, छुर (दुई समूह बनाएर खेलिने एक खेल), पुलीडण्डा खेलिन्थ्यो ।
गाउँको स्कुलमा मैले ‘प्लेटो’ नामको कलम प्रयोग गर्थें । सामान्यज्ञानमा सोधिन्थ्यो, ‘कलममध्येको सबभन्दा राम्रो कलम कुन हो ? पार्कर । घडीमध्येको सबभन्दा उत्तम कुन हो ? रोलेक्स, सबभन्दा राम्रो साबुन कुन हो ? लक्स ।’ तर हामीले चलाउने कलम प्लेटो थियो ।
एकपटक बुबाले मलाई भैंसीमाथि चढाइदिनुभयो । खेतमा चर्ने घाँस थिएन । कुसमा लगेर छाड्दा नचरेपछि बुबाले फ्याट्ट हिर्काउनुभयो । मलाई भैंसीले फ्याँकिदियो । मेरो त हात भाँचियो । निको हुन २/३ महिनै लाग्यो ।
अहो, यस्ता घटना धेरै छन् । रमाइला पनि छन् । भनेरै के सकिएला र ?
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ जेठ १० मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<