राजाराम पौडेल सानो छँदा

काकाको खल्तीमा झिँगा

राजाराम पौडेल हाँस्यकलाकार हुनुहुन्छ । उहाँ करिब ७ सय पटक नाटकमा अभिनय गर्दा मञ्चमा पुग्नुभएको छ । तीन दर्जन टेलिफिल्ममा अभिनय गर्नुभएको छ भने त्यत्तिकै संख्यामा चलचित्रमा उहाँ हुनुहुन्छ । राजारामले ‘मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य’ को जोडीलाई ‘मह जोडी’ नाम राखिदिनुभएको हो । पौडेल ‘मह जोडी’ कै नाटक विज्ञापनमा अभिनय गर्दामात्र २ सय ७६ पटक मञ्चमा पुग्नुभएको छ । उहाँको जन्म काठमाडौंको नक्साल, नागपोखरीमा २०१३ पुस १२ मा भएको हो । उहाँका पिताको नाम सीताराम र माताको नाम अम्बिका हो । उहाँहरू दुई-दुई दाजुभाइ-दिदीबहिनी जन्मनुभएको हो । राजाराम जेठो छोरा हो । ०३९ सालको गाईजात्रे कार्यक्रममा उहाँले भाग लिनुभएको थियो । उहाँको हास्य प्रस्तुति राजाले हेर्ने कार्यक्रममा छानिएको थियो । उहाँले मेडिकल एसोसिएसनको कार्यक्रममा पनि दर्शक हँसाउनुभएको थियो । यसो गर्दागर्दै उहाँले मह जोडीको ‘अंशबन्डा’ नामक नाटकमा काम गर्नुभयो । ठूलो भएपछि उहाँको यो पहिलो नाटक थियो । उहाँ मह जोडीकै टेलिफिल्म ‘सन्तति’ मा पहिलोपटक देखा पर्नुभयो । उहाँले सानो भए पनि अभिनय गरेको पहिलो चलचित्र ‘वासुदेव’ हो । उहाँले कलाकारका रूपमा विभिन्न पुरस्कार पाउनुभएको छ । अमेरिकामा खोलिएका १६ संस्थाले एउटै मञ्चमा राखेर उहाँको सम्मान गरेका छन् । पौडेलले आफ्नो कला देखाउनकै लागि अमेरिका, हङकङ, थाइल्यान्ड, रुस, कोरिया, जापान, क्यानाडा, कतार, दुबई, बहराइन, सिंगापुरको भ्रमण गर्नुभएको छ । न्वारानको नाम ‘यादवकुमार’ हो । उहाँ सानो छँदाका केही सम्झना :
म सानैदेखि छुल्याहा हुँ । एकपटक म तल आँगनमा खेलिरहेको थिएँ । हजुरबुबा (बाजे) शिवराम पौडेल बार्दलीमा घाम ताप्दै सुतिरहनुभएको थियो । मलाई उहाँले बोलाउनुभयो । खेलिरहेका बेला कति कराइरहेको होला जस्तो त लाग्यो, तर डर पनि लाग्यो । उहाँ डरलाग्दो हुनुहुन्थ्यो । लामो कपाल र दाह्री भएकाले अरू डराउँथे । म भने आफ्नै हजुरबुबा भएकाले नडराएको हुँ । हजुरबुबा घोप्टो परेर सुत्नुभयो र मलाई ‘ढाड कुल्चिदे’ भन्नुभयो । मैले उहाँको ढाड कुल्चदै गएँ । उहाँ त निदाउनुभयो । उहाँको गन्जीबाट जनै बाहिर देखियो । मैले बिस्तारै ताने र बार्दलीमा लगेर बाँधिदिएँ । उठेपछि पोल त खुल्यो । त्यसपछि धेरै दिन म उहाँका छेउमा परिन । बाजेका साथी चन्द्रमान सधैं हाम्रोमा आउनुहुन्थ्यो । उहाँहरू गफगाफ गर्नुहुन्थ्यो । एकदिन उहाँको कोटको खल्ती ‘आँ’ परेको देखें । के गरौं ? के गरौं ? भयो । म गएर सिस्नु टिपेर ल्याएँ । उहाँको खल्तीमा हालेर फुत्त भागें ।
यस्ता बदमासी म धेरै गर्थें । तर अलिअलि भए पनि पढ्थें । पाँच वर्षको हुँदा अक्षर चिन्ने काम भयो । मेरो पहिलो गुरु मेरै पिताजी हुनुहुन्छ । पिताजी अफिस जाँदा लेखपढको काम दिनुहुन्थ्यो । साँझ आउँदा गृहकार्य बुझाउनुपर्थ्यो । नगर्दा पिटाइ खाइन्थ्यो । त्यसको एक वर्षपछि म डिल्लीबजारको विजयस्मारक स्कुल पढ्न गएँ । त्यसको एक वर्षपछि एकैचोटि कक्षा ६ पढ्न पद्मोदय स्कुल गइयो । बीचमा पाल्पा, तानसेन गएर ‘प्यारामेडिक्स’ को तालिम लिएँ । घरमा हामी चार छोराछोरी, बाजेबज्यै पनि हुनुहुन्थ्यो । बुबामात्र कमाउने भएकाले मैले जागिर खाने अवस्था आयो । म जागिर खान वीरगन्ज पुगें । त्यहाँको अस्पतालमा आँखा, कान, घाँटीका डाक्टर शम्भुप्रसाद लाखे हुनुहुन्थ्यो । डा. लाखेले ‘धत् एसएलसी दिनुपर्छ’ भनेपछि मात्र पद्मोदयबाटै २०३४ मा एसएलसी दिएँ । सेकेन्ड डिभिजनमा पास भएँ । वीरगन्जमा सुरुमा जागिर खाँदा २९० रुपैयाँ महिनाको तलब पाइन्थ्यो ।
पद्मोदय पढ्दाकै धेरै कुरा छन् । म त्यसबेला रेडियो नेपालमा प्रत्येक शनिबार आउने बाल कार्यक्रममा भाग लिन पुग्थें । हामीलाई फारम भर्न दिइन्थ्यो । त्यही फारम हेरेर हामीलाई छानिन्थ्यो । मैले धेरैपटक भाग लिने मौका पाएको छु । बालकार्यक्रम यादव खरेल, दामोदर अधिकारी, किरण खरेल, धन गुरुङले चलाउनुहुन्थ्यो । मलाई गीत गाउन मनपर्थ्यो । गायनमा शोख थियो ।
उता हरिवंश पनि नक्साल, चारढुंगे नै बस्ने भएकाले चिनजान थियो । हामी एउटै स्कुलमा म एउटा कक्षा तलमात्र थिएँ । वीरगन्जमा गायक प्रकाश श्रेष्ठसँग चिनजान भयो । उहाँसँग कार्यक्रमहरूमा सँगै गइन्थ्यो ।
नक्सालबाट २/३ समूहमा हामी स्कुल जान्थ्यौं । जयनेपालमा नयाँ सिनेमा लागेको पहिलो दिन पहिलो शो हेर्नैपर्थ्यो । त्यो दिन त स्कुल नै खाली हुन्थ्यो । घरनजिक भएकाले जयनेपालमा पैसा तिर्नुपर्थेन ।
मेरो पढाइ ठीकै मात्र थियो । ईश्वरराज अर्यालले पढाउने इतिहास मनपर्थ्यो । इतिहास र अंग्रेजी पढाउँदा अगाडि बस्थें भने गणितमा पछाडि बस्थें ।
एउटा रमाइलो घटना छ । एकपटक बिजुलीको तारभरि झिंगा बसेको देखें । ती झिंगा प्लास्टिकको थैलोमा हालेर बाँधें । बुबा सुत्ने खाटको सिरानपट्टी राखिदिएँ । रातभर झिंगाले आवाजले बुबालाई डिस्टर्ब गरेछ । बिहान उठेपछि बुबाले थाहा पाउनुभयो । झिंगा मार्न मन लागेन, अफिस जाने काकाको खल्तीमा प्लास्टिकको थैलो नै हालिदिएँ ।
म र अशोक चालिसे सधैं नक्साल भगवतीको गेटमा बस्थ्यौं । महेन्द्र भवनबाट घर फर्कने छात्राहरू भगवतीलाई नमस्कार गर्थे । हामी फर्काउँथ्यौं । उनीहरू हात तेर्स्याएर गाली गर्दै जान्थे ।
हामीलाई केशव गुरु, भरतराज भट्टराई, गौरीराज भण्डारी, ईश्वरराज अर्याल, कृष्णमान मानन्धर, वसन्तप्रकाश शर्म्मा नेपाल, रेशमराजले पढाउनुभयो ।
मामाघर लुभुका अधिकारी हुन् । सबै मामा मेरै उमेरका र साना थिए । पाटनढोकाबाट हिंडेर जानुपर्थ्यो । म सानोमा फुटबल र ब्याडमिन्टन खेल्थें । दसैं र तिहार रमाइलो हुन्थ्यो ।
आफू हाँस्नुपर्छ । अरूलाई हँसाउनुपर्छ । कसैको आँसु झार्नुहुँदैन । अरूलाई हँसाए मन्दिर जानुपर्दैन ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ वैशाख २० मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<