रामेश्वरप्रसाद यादव सानो छँदा

प्रत्येक शनिबार सरस्वती पूजा

रामेश्वरप्रसाद यादवले ३५ वर्ष शिक्षक र प्रधानाध्यापक भएर बिताउनुभएको छ । उहाँ झापा जिल्लाको शिवगञ्जस्थित जनआदर्श उच्च माविमा हुनुहुन्थ्यो । उहाँ उक्त विद्यालयमा २०३० सालदेखि २०६५ पुस १८ सम्म हुनुहुन्थ्यो । अहिले सेवाअवधि सकिएर घरै हुनुहुन्छ । यादवले सामाजिक शिक्षा, इतिहास, अर्थशास्त्र र शिक्षा पढाउनुहुन्थ्यो । त्यत्तिका वर्षमा उहाँले हजारौं विद्यार्थीलाई पढाउनुभयो । आफूले पढाएका विद्यार्थीले धेरै प्रगति गरेकोमा उहाँ खुसी हुनुहुन्छ । उहाँको जन्म वि.स. २००५ पुस १८ गते सप्तरी जिल्लाको फकिरा गाउँ विकास समितिमा भएको हो । बुबा बाबुलाल र राजोदेवीका एक छोरा र एक छोरी जन्मे । छोरी चाहिँ उहाँकी दिदी हो । त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातक गरेपछि उहाँ सीधै झापा गएर शिक्षक हुनुभएको हो । शिक्षण पेसामा लामो समय बिताएकाले उहाँलाई धेरैपटक सम्मान पनि गरिएको छ । यसपटक यादव सानो छँदाका केही सम्झना :
हामीलाई पढाउने शिक्षक भारतको बिहार राज्यको मधुवनीबाट आउनुभएको थियो । उहाँको नाम खुसीलाल यादव थियो । उहाँ ४० वर्षका हुनुहुन्थ्यो । उहाँ बेल्ही गाउँका हुनुहुन्थ्यो । उहाँ आएपछि बालबालिकालाई पढाउँछु भन्नुभयो । विद्यार्थी बढ्दै गए ।
हामी उहाँसँग पढ्न जाँदा भुइँमा बस्नुपर्थ्यो । चकटी ओछ्याउन पाइन्थ्यो । काठको पाटीमा बाँसको कलमले अक्षर कोर्दै जान्थ्यौं । हामी ४० जनाभन्दा बढी बालक थियौं । त्यसबेला छोरीलाई पढाउने चलन थिएन । दिदीले पनि पढ्नुभएन । उहाँ घरको काम गर्नुहुन्थ्यो । ११ वर्षको भएपछि उहाँको विवाह भयो ।
मेरा साथीहरू विन्देश्वर शर्मा, गर्भी यादव, सुकदेव खङ्ग, विन्देश्वर यादव, तार्केश्वर यादव, जुगेश्वर यादव आदि थिए ।
उहाँले डेढा, गारहाङ, रामायण, महाभारत, सुकसागर पढाउनुहुन्थ्यो । पढाउनु पनि के भनौं रटाउनुहुन्थ्यो । सबै हिन्दीमा हुन्थे । हामी पनि सबै रट्थ्यौं । उहाँ हामीलाई जग्गा-जमिन नाप्ने व्यावहारिक शिक्षा दिनुहुन्थ्यो । राम्रो गरेन भने बाँसको छडी वा भाटो लिएर पिट्नुहुन्थ्यो ।
उहाँले पढाउने ठाउँमा प्रत्येक शनिबार हामी भेला हुन्थ्यौं । त्यो ठाउँ लिपपोत गर्थ्यौं । त्यहाँ सरस्वतीको पूजा गर्थ्यौं । चामल, सुपारी, सख्खर, पैसा लिएर पूजा गर्न जानुपर्थ्यो । त्यो दिन पूजाबाहेक केही हुन्नथ्यो । हामीले पढ्नु पर्दैनथ्यो । छुट्टी हुन्थ्यो । आइतबार पढाइ सुरु हुन्थ्यो । राति आठ बजेसम्म कुपी र लालटिन बालेर पढ्थ्यौं ।
गुरुले पैसा लिनुहुन्नथ्यो । एक विद्यार्थीले पढेपछि एक वर्षमा एक मन धान दिनुपर्थ्यो । उहाँको परिवार भारतमै थियो । हाम्रो गाउँमा एक्लै आउनुभएको थियो । त्यसैले छाकपिच्छे विद्यार्थीका घरमा खाना खान आउनुहुन्थ्यो । उहाँलाई वर्षमा एकपटक धोती, कुर्ता, गन्जी र गम्छा दिनुपर्थ्यो । हामी विद्यार्थी मिलेर धान उठाउँथ्यौं । धान बेचेर आएको पैसाले उहाँलाई कपडा किनिदिने हो । गुरुपूर्णिमाका दिन पूजा गर्नुको सट्टा छुट्टी हुन्थ्यो । हामी पढ्न जाँदा उहाँलाई बाहिर जानुपर्‍यो भने मनिटर राखेर जानुहुन्थ्यो ।
उहाँले हामीलाई कक्षा ३ सम्मका किताब पढाउनुभयो । हाम्रो गाउँ फकिराबाट भारतनजिकै छ । करिब डेढ किलोमिटरमात्र छ । हाम्रो किनमेल पनि उतै हुन्छ । अन्धरामन्ठ बजार, लौकीही वा निर्मली गएर सामान किनेर ल्याउने चलन छ । सामानमात्र के ? किताब पनि ल्याइन्थ्यो । अलि ठूला भएपछि हामीले मनोहर पोथी, भारतीय संस्कृतका किताब, भारतीय भाषा, रामायण, गीताका किताब ल्याएर पढ्यौं ।
त्यसको केही समयपछि गठकीमा प्राथमिक विद्यालय खुल्यो । त्यही स्कुलमा गएर मैले कक्षा ४ मा नाम लेखाएँ । त्यो स्कुल कक्षा ५ सम्म थियो । पछि त्यो स्कुल पचवारी टोल, नर्घो भन्ने ठाउँमा गयो । स्कुलको नाम जनता निम्नमाध्यमिक विद्यालय थियो । त्यहाँ तार्केश्वर, झौली साहु, सीताराम साह, सत्यनारायण यादव, मुसहरु यादव साथी थिए । त्यहाँ पुग्दा चाहिँ छात्राहरू पनि पढ्न थाले । त्यहाँ उषा उपाध्याय, सरिता उपाध्याय हामीसँग पढ्थे । यी साथीहरू कक्षा ७ सम्म थिए ।
त्यसपछि म राजविराज गएँ । त्यहाँको पब्लिक माविमा कक्षा ८ मा भर्ना भएँ । कक्षा १० सम्म पुग्दा म खर्सालटोलमा बसें । त्यहाँ मामा, भिनाजुका घरमा बसेर मेरा तीन वर्ष बिते । राजविराजमा त हाम्रो कक्षामा २५/२६ छात्रा थिए ।
एसएलसी २०२३ सालमा दिएँ । परीक्षाकेन्द्र आफ्नै स्कुलमा पर्‍यो । ९७ जनाले परीक्षा दिएकामा ६६ जना पास भयौं ।
म थर्ड डिभिजनमा पास भएँ । हामीले नेपाली, गणित, अंग्रेजी पहिलो, सामाजिक शिक्षा, हिन्दी, ऐन-श्रेस्ता, अंग्रेजी दोस्रा, संस्कृत (अतिरिक्त) पढ्नुपर्थ्यो ।
म सानोमा चञ्चले स्वभावको थिएँ । अलि बढी रिसाउने स्वभाव थियो । टिफिन खान त्यति पैसा हुँदैनथ्यो ।
मेरो ह्यान्ड राइटिङ ठिकै खालका थिए । म तेस्रो बेन्चमा बस्थें । शिक्षकले सामान्य विद्यार्थीका रूपमा लिनुहुन्थ्यो ।
स्कुलमा ड्रेस थिएन । खाली खुट्टा जाइन्थ्यो । अलि राम्रो अवस्थाका साथीहरू चप्पल र धनीका जुत्ता हुन्थे । स्कुल जाँदा झोला हुँदैनथ्यो । हातले च्यापेर जाइन्थ्यो । गृहकार्य नगर्दा लौरो पिटाइ खाइन्थ्यो । कपाल तानेर भित्तामा ठोक्काइन्थ्यो ।
अहिले त पढ्न सजिलो छ । विद्यार्थीको ध्यान पढाइमा छैन । कसरी सुधार्ने होला ?
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ चैत ७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<