चौथीमा काँक्रा चोर
डा. तुलसी भट्टराई साहित्यकार हुनुहुन्छ । उहाँको जन्म २००६ साल पुस ३ गते ताप्लेजुङको ओसे, फावाखोलामा भएको हो । उहाँका पिताको नाम पं. टेकनाथ र माताको नाम मन्दोदरा हो । उहाँका सात दाजुभाइ र पाँच दिदीबहिनी जन्मनुभएको हो । उहाँ जेठो छोरा हो । उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानलाई नेतृत्व दिइसक्नुभएको छ । डा. भट्टराइका प्रकाशित कृति ‘म जन्मिएकै दिन’ (कवितासंग्रह), ‘जीवन यस्तै हो’ (उपन्यास), ‘उ पनि त मान्छे हो’ (उपन्यास), ‘म किन लेख्छु’ (निबन्ध- संग्रह) ‘रित्तो घर’ (कथासंग्रह), ‘वीपी कोइराला : चिन्तन र प्रयोग’ (लेख रचना), ‘नेपाली क्रान्तिकथा’ (अनुवाद), ‘यात्रामा बटुलिएका फूल’ (यात्रा संस्मरण), ‘सबै उस्तै छ तर’ (निबन्ध- कृति), ‘नरेन्द्र रेग्मी अर्थात् नेपाली कांग्रेसका संस्थापक’ (जीवनी), ‘विश्वको छानामा महाकवि’ (यात्राकृति) आदि हुन् । उहाँले मुलुकका ६५ जिल्ला, भारतका सबैजसो क्षेत्र, पाकिस्तान, बंगलादेश, भूटान, सिंगापुर, थाइल्यान्ड, बर्मा, चीनको तिब्बत भ्रमण गर्नुभएको छ । उहाँले संस्कृत र राजनीतिकशास्त्रमा एमए, भाषा विज्ञानमा विद्यावारिधि अर्थात् पिएचडी गर्नुभएको छ । विभिन्न पुरस्कारबाट पुरस्कृत भट्टराई सानो छँदाका केही सम्झना :
अमलाका रुखमा हेर फलेको
आँप उडाओ आज गलेको
इमली अमीलो हुन्छ नखाऊ
इश्वर महिमा गुण गाऊ
हामीले सानोमा अ, आ, इ, ई … र क, ख, ग, … यसरी नै ‘ठूलो वर्णमाला’ बाट सिक्यौं । पढ्ने र उन्नति गर्ने प्रेरणा पिताजीबाटै मिलेको हो । पिताजीले घरमा हिउँदे पाठशाला चलाउनुहुन्थ्यो । धानखेत उठाएपछि मंसिरदेखि वैशाखसम्म पाठशाला घरमै चल्थ्यो । गाउँका बालबालिका पढाउनुहुन्थ्यो । त्यसरी पढ्ने कहिले १०/१५ त कहिले २०/२५ हुन्थे । म सानो हुँदा अरुले पढेकै सुनेर धेरै कुरा कन्ठस्थ हुन्थ्यो । पछि आफू पढ्न थालेपछि त सात दिनमा लेख्न जाने । म पाँच वर्ष लागेको श्रीपञ्चमीका दिन मलाई लेख्न लगाइएको थियो । कालो पाटी र दूध खरी थियो । अलि लेख्न जान्ने भएपछि धुलौटे पाटीमा लेखियो । काठको फल्याकमा धुलो छर्दा धुलौटे पाटी बनाइन्थ्यो । त्यसमा छेस्काले लेखिन्थ्यो । हिसाब गर्ने उमेर पुग्दा स्लेट आयो । धरान जाने कोही कसैलाई स्लेट किन्न पठाएको हुनुपर्छ ।
अक्षर चिनाउन ‘ठूलो वर्णमाला’ले धेरै काम गर्यो । एउटा पानामा अक्षरमात्र हुँदैनथे । सुन्दर चित्र पनि हुन्थे । त्यहि पुस्तकमा अब्राहम लिंकन र महात्मा गान्धीको जीवनी थियो । वर्णमाला जानिसक्दा अंग्रेजीका ठूला र साना अक्षर दुवैसमेत जानिएको थियो । यो हुँदा करिब २०११ साल भएको थियो ।
मलाई पिताजीले केही पढाउनु भयो भने हजुरबुबाले चण्डी, गीता, अमरकोष, संस्कृत अनुवाद, होडाचक्र पढ्न सिकाउनुभएको थियो । त्यसैले पहिलो गुरु पिताजी र दोस्रो गुरु हजुरबुबालाई मान्नुपर्छ ।
घरमा अपशब्द बोल्न पाइँदैनथ्यो । हाम्रा घरमा केही राम्रा र अनौठा शब्दहरूको प्रयोग हुन्थे । जस्तै : ‘गुन्द्रुक’ लाई ‘श्रीमग्न’, ‘तरकारी’ लाई ‘व्यञ्जन’, ‘पिसाब’ लाई ‘लघुशंका’ । हाम्रो भाषा सुनेर गाउँका अरु मानिस चकित हुन्थे । अश्लिल शब्द प्रयोग गरेको पिताजीले थाहा पाउनुभयो भने, ‘राम्रा हुने भयौं । राम्रा कुरा सिकेछौं,’ भन्नुहुन्थ्यो । गाली खाइन्थ्यो । घरमा एकखालको अनुशासन रहन्थ्यो । घरमा उपद्रो गरेका बेला पिताजी बाहिरबाट आउँदै गरेको थाहा पाए, चुपचाप बस्थ्यौं । नजिकमा किताब भए, समातेर बस्थ्यौं । पिताजी घर छिर्दा ‘ॐ ॐ’ भन्दै आउनुहुन्थ्यो । हामी थाहा पाइहाल्थ्यौं । हामी भन्नाले म, भाईहरू : गोविन्द र कमल एकै उमेरका जस्ता थियौं । उपद्रो पनि हामी नै गर्थ्यौं ।
घरमा बुबाका चेला भएर नातागोताका दाई, काका हाम्रो घरमै बस्नुहुन्थ्यो । उहाँहरूले घरको काम सघाउनुहुन्थ्यो । हामीले काम गर्नु पर्दैनथ्यो ।
म आठ वर्षको भएपछि पिताजीले मलाई ताप्लेजुङ बजारस्थित भाषा पाठशाला लानुभयो । पिताजीकै मामाका छोरा नन्दीकेशर पौडेल, पाठशालाका मूल गुरु गंगाप्रसाद लम्सालको सहायक हुनुहुन्थ्यो । म पनि लम्साल गुरुकहाँ पाहुना भएँ । तर चामल, दाल आदि घरबाट लगिन्थ्यो । त्यहाँ २/४ महिना बसेपछि म छात्रावासमा बसे ।
ताप्लेजुङ बजारमा शनिबार हाट लाग्थ्यो । मलाई चिन्ने र नातागोताका मानिस हाट आउनुहुन्थ्यो । खानेकुरा ल्याइदिनुहुन्थ्यो । कोही वृद्धाहरूले त, ‘यस्ता बालकलाई यसरी घरबाट टाढा राखेर के गरेका होलान् ? कस्ता निष्ठुरी रहेछन् ?’ भन्थे । यसो भन्दा उनीहरू रुन थाल्दथे । म पनि रुन्थे । ‘हो त पिताजीले के गरेको ?’ जस्तो लाग्थ्यो । तर पिताजीले मलाई त्यहाँ लगेर पढाएको भए म आज यहाँ कसरी हुन्थे ?
पिताजी भन्नुहुन्थ्यो, ‘घर नछाड्ने छोरो स्याल हो । घर छाड्ने सिंह हो ।’ उहाँ हामीलाई सधैं ‘केही गर’ भनिरहनुहुन्थ्यो । उहाँकै हौसलाले हामी यहाँ आइपुगेका हौं ।
म पढाईमा अब्बल थिएँ । कहिलेकाही हाट निस्कदा नपढ्ने बजारका केटा मलाई बाटो छेकेर पिट्न खोज्थे । हजुरबुबा र बुबाले शहरका केटा बदमास हुन्छन् भन्नुहुन्थ्यो । साँच्चै देखें । अझै पनि शहरदेखि म टाढा रहन चाहन्छु । शहर त्यति मन पर्दैन ।
एक/दुई महिनामा घरमा जान पाइन्थ्यो । रमाइलो हुन्थ्यो । मामाघर त्यति रुचिको भएन । टाढा थियो । हामी पछि च्याङ्थापु भन्ने ठाउँमा सरेपछि त मामाघर झनै टाढा भयो ।
पिताजीकै कारण घरमा हुँदा खेलमा ध्यान दिन पाइएन । उहाँले खेल्न दिनुहुन्नथ्यो । रुखका साना हाँगा ल्याएर गाइवस्तु बनाएर खेल्थ्यौं । बेलाबेला गुच्चा खेलियो । रबरको चोपको डल्लो बनाएर कपडामा पोको पारेर भकुन्डो खेलियो । पछिपछि ताप्लेजुङ छात्रावासमा बस्दा भलिबल र बुद्धिचाल खेलियो ।
गाउँमा मेरा साथी रने, काले, टिके, हरे थिए । मैले उनीहरूको पूरा नाम कहिल्यै थाहै पाइँन । पाठशालामा रहँदा शक्ति लम्साल, सागरमणि लम्साल, गोरे घर्ती, शीव दाहाल, दुर्गा दाहाल, रामनाथ कोइराला, खेमनाथ कोइराला, विष्णु भट्टराई, टंक भण्डारी, धनपति पराजुली आदि थिए ।
म खेलमा कमजोर थिएँ । पढाइमा राम्रो थिएँ । म कक्षामा पहिलो वा दोस्रो हुन्थें । कक्षा ८ बाट ९ जाँदा सागरमणिले दोस्रा पारे । म संस्कृत व्याकरणमा जान्ने थिएँ । गणित पनि मनपर्ने विषय थियो ।
मलाई सानोमा ठूलोमान्छे बन्ने चाहना हुन्थ्यो । कक्षा ७ पढेर च्याङ्थापुको स्कुलमा पढाउने सुभाष उप्रेती मादल बजाउँथे । गाउँथे । उनलाई देख्दा ‘यस्तो हुन पाए त !’ भन्ने हुन्थ्यो । दार्जिलिङबाट आएका एकजना राई सर थिए । दश पास गरेका ती सर देख्दा त्यस्तै बन्न मन लाग्थ्यो । च्याङथापुबाट दार्जिलिङ जाँदा गाडी चढ्न पाइन्थ्यो । म ड्राइभरसँगैको सिटमा बस्थे । ड्राइभरको सिटमा बस्दा ड्राइभरजस्तो हुन पाए कस्तो हुन्थ्यो ? भन्ने लाग्थ्यो ।
पाठशालामा रहँदा तामाङ समुदायको एक अनुष्ठान गर्दा गाडिएका बाँस हामीले ल्यायौं । भोलिपल्ट तामाङ युवाहरू आए । सरहरूले सम्झौता गरेर फर्काउनु भयो । चौथीमा काँक्रा चोरेका थियौं । ती घरबाट आमाहरू आएर रोएपछि काँक्रा पनि फर्कायौं ।
अहिलेजस्तो सुविधा थिएन । अहिले बालक हुन पाए म कति कुरा सिक्थे ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ पुस ४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)
Dherai ramro lagyo… Dr. Tulsi Prasad Bhattrai jiu ko jibani…