गाई चराउँदै, श्लोक भट्याउँदै
कृष्णप्रसाद बस्याल पुनरावेदन अदालत पाटनका न्यायाधीश हुनुहुन्छ । उहाँ विगत ३८ वर्षदेखि न्याय सेवासँग सम्बद्ध हुनुहुन्छ । उहाँको जन्म २००३ साल माघमा भएको हो । उहाँका पिताको नाम होमकान्त र माता द्रौपदीदेवी हो । उहाँ एक्लो छोरो हो । उहाँले थुप्रै छन्दोबद्ध कविता, गद्यकविता, बालकविता संस्मरण र निबन्ध लेख्नुभएको छ । कानुनसम्बन्धी एक र साहित्यसम्बन्धी चार गरी उहाँका पाँच पुस्तक प्रकाशित भइसकेका छन् । ती पुस्तक : ‘सुस्केरा’ (कवितासंग्रह), ‘परिणति’ (छन्दोबद्ध खण्डकाव्य), ‘दण्ड-सजाय र फैसला कार्यान्वयन’, बालकवितासमेत समेटिएको ‘अभिशक्त सडकको मौन आवाज’ (कवितासंग्रह) र ‘आफ्नै यात्रा, आफनै अनुभूति’ (यात्रा संस्मरण) हुन् । उहाँ दुई पुस्तक प्रकाशित हुन लागेका छन् । उहाँले २०५७ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पाउनुभएको छ । यस्तो पुरस्कार पाउने उहाँ नेपालको एक मात्र न्यायाधीश हुनुहुन्छ । यसपटक बस्याल सानो छँदाका केही सम्झना :
मेरो जन्म राप्ती अञ्चल दाङ जिल्लाको पश्चिमी भेग भमके भन्ने ठाउँमा भएको हो । हाल यो ठाउँ पवन नगर-४ मा छ । मेरो स्थायी घर बसोबासचाहिँ पाल्पाको बराङदी-९ हो । म जन्मेको वर्ष दिनमै बुबाको निधन भयो । बुबाको निधन हुनासाथै उहाँले जोड्नुभएको सानो घर र बारी सबै साहूले कब्जा गरेछन् । आमाले २ कोस टाढा आफ्नो माइत अभिधारा भन्ने ठाउँमा लगी मलाई ५ वर्षसम्म हुर्काउनुभयो । छ वर्षको उमेरमा माहिला बुबा गणपतिले मलाई पाल्पा ल्याएपछि मात्र मेरो अक्षराम्भ भयो । त्यसबेलासम्म वृद्ध हजुरबुबा चन्द्रकान्त पनि जीवितै हुनुहुन्थ्यो । आफ्नो उमेरमा पुरेत्याइँ गरेकाले उहाँलाई सबैले ‘वेदुवा’ भन्थे । हामी पनि वेदुवाका खलक भनेर चिनिन्थ्यौं ।
हाम्रो घरमा ठूलो दलान थियो । माहिला बुबा गणपति त्यसबेला गाउँमा धेरै पढेको व्यक्ति हुँदा उहाँलाई सबैले पण्डित भनेर बोलाउँथे । उहाँसँग पढ्न भनेर आएका आफ्नै गाउँ र छिमेकी गाउँका मानिस पनि दलानभरि हुन्थे । दुर्गा कवच, चण्डी चाणक्य, नीति, वेद रुद्रीजस्ता संस्कृतको पठनपाठन हुन्थ्यो । गाउँमा कुनै विद्यालय थिएन । मैले भने दुर्गा कवच र चण्डीमात्र पढेको हुँ । चाँडै नै उहाँको निधन भयो र मलाई अर्को बुबा टीकारामले पाल्पाको सदरमुकाम तानसेनस्थित जनता माध्यमिक विद्यालयमा लगी भर्ना गरिदिनुभयो । २ कक्षादेखि १० कक्षासम्म सोही स्कुलमा पढेको हुँ । मैले १५ वर्षको उमेरमा २०१८ सालमा एसएलसी दिएँ । तृतीय श्रेणीमा पास भएँ । त्यसबेलाको एसएलसी एक हजार पूर्णांकको हुन्थ्यो ।
घरबाट स्कुल पुग्न उकालो-ओरालो र तेर्सो गरी २ कोस जति पैदल हिँड्नुपर्थ्यो । पछि हामी डेरा लिएर तानसेनकै मेहल्धारा टोलमा बस्न थाल्यौं । प्रत्येक शुक्रबार घर आउँथ्यौ । आइतबार बिहान स्कुल भेट्ने गरी फर्कन्थ्यौं ।
हाम्रो घर वरिपरि धेरै चौरका पाटा थिए । प्रत्येक शनिबार र अरू छुट्टीका दिन पनि म र मसँग मिल्ने साथीहरू मिली गाईगोरु चराउँथ्यौं । एकातिर गाई चरिरहेका हुन्थे भने म र गाउँले साथी एक छेउमा बसी लेखनाथका बुद्धि विनोद, नैतिक दृष्टान्त, भानुभक्तका प्रश्नोत्तर, बधुशिक्षा र रामायणका श्लोक लय मिलाएर एक अर्कालाई कण्ठ सुनाउँथ्यौं । कसले बढी श्लोक सुनाउने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । भन्न बिराउने वा छुटाउनेले एक अर्कोबाट लठ्ठी खानुपर्थ्यो । श्लोक सुनाउने र भट्याउने क्रममा गाई कता पुगे ध्यानै हुँदैनथ्यो । बार भत्काई अर्काको बाली खाइसक्दासम्म पनि थाहा नपाउँदा कति पटक गाउँलेको गाली र खप्की खाएका थियौं । अहिले ती चौर सबै मासिएका छन् । कतै स्कुलका खेल मैदान त कतै घर बस्ती र मकैबारी बनिसकेका छन् ।
हाम्रो स्कुल जनता विद्यालयमा प्रत्येक शुक्रबार वादविवाद, अन्ताक्षरी, आफूले लेखेका कविता सुनाउने जस्ता साहित्यक कार्यक्रम हुन्थे । कहिलेकाहीँ काठमाडौं तिरबाट आएका विद्वान्, लेखक, कवि जस्ता ठूलो मान्छेलाई पनि स्कुलमा स्वागत गर्दथ्यौं । तिनका अगाडि आफ्ना रचना सुनाउँदा र उनीहरूले राम्रो भन्दै स्यावासी दिँदा हामी खुसी हुन्थ्यौं । यस्ता साहित्यिक कार्यक्रमबाट मैले धेरैपटक पुरस्कार पाएको छु । हेडमास्टर जगतबहादुर जोशी हुनुहुन्थ्यो । स्कुलको आर्थिक अवस्था राम्रो थिएन । प्रत्येकजसो शनिबार बजारभरि घुमी चामल मुठी मागी बिक्री गरी जम्मा भएको पैसा स्कुलमा बुझाउँथ्यौं ।
तानसेनको महेल्धारामा पनि धेरै चौर थिए । चौरमा चङ्गा उडाउँथ्यौं । कपडाको भकुन्डो बनाई खेल्थ्यौं । डन्डीबियो पनि खेल्थ्यौ । ध्रुवराज शर्मा काफ्ले, कृष्णराज रेग्मी र चन्द्रमूर्ति कोइराला असाध्यै मिल्ने साथी थिए । टोलमा एउटा पुस्तकालय पनि थियो । टोलबासी र शिक्षित व्यक्तिले आफूले पढेका पुस्तक पत्रिका उपहारस्वरूप पुस्तकालयमा पठाइदिन्थे । एकपटक उक्त पुस्तकालय अच्युतराज रेग्मीको खाली घरमा पनि थियो । विद्यार्थीहरूलाई पुस्तकालय सञ्चालन गर्ने, गाईजात्रा, रोपाइँ जात्रा, भगवती जात्राजस्ता पर्वमा भाग लिन लगाउने, होली र अन्य खेलमा समेत दुई पक्ष बाँडिएर अनुशासित भई खेल्न सिकाउने, युवकहरूलाई संगठित गरी सामाजिक र रचनात्मक कार्यमा लाग्न प्रेरित गर्ने क्रममा कमलराज रेग्मीले निकै अग्रसरता देखाउनुहुन्थ्यो । उहाँसँग के विद्यार्थी के युवक के सर्वसाधारण सबैलाई आश्वस्त पार्न सक्ने र सबैको मन जित्न सक्ने खुबी थियो ।
पश्चिम नेपालकै ठूलो र पुरानो धवल पुस्तकालय पनि हाम्रै टोलनजिक थियो । यो पुस्तकालयमा नेपाली, हिन्दी, अंग्रेजी साहित्यका धेरै पुस्तक थिए । निश्चित शुल्क तिरी सदस्यता प्राप्त गरेपछि पुस्तक घरैमा लगेर पनि पढ्न पाइन्थ्यो । गोरखापत्र र भारतका नवभारत टाइम्स, आज, धर्मयुग, दिनमान र टाइम्स अफ इन्डियाजस्ता अखबार पनि पाइन्थे । भानुभक्त, देवकोटा, मोतीराम, त्रिभुवनका जयन्ती विशेष कार्यक्रम हुन्थ्यो, जसमा पाल्पाका प्रसिद्ध कवि माधवप्रसाद देवकोटा, कुलमणि देवकोटा, जगतबहादुर जोशी, युवाकवि अमरध्वज खाती, जनकवि चन्द्रप्रसाद अधिकारीजस्ता प्रतिष्ठित व्यक्तिका साथ हामीले पनि भाग लिन पाउँदा रमाइलो हुन्थ्यो । कविवर माधव घिमिरे, युगकवि सिद्धिचरण श्रेष्ठ एकपटक सँगै गएका बेला र जनकविकेसरी धर्मराज थापा एक्लै गएका बेला पनि भव्य कार्यक्रम भएको थियो । आफूले पनि सानोतिनो रचना सुनाएको क्षण मलाई अहिले पनि सम्झना छ । यसबाट हामीलाई हौसला पनि मिल्थ्यो ।
दसैंमा ढावखोलाका प्रत्येक घरमा टीका लगाउन गइन्थ्यो । तिहारमा गाई रंगाउन मनपर्थ्यो । फुपूहरूका हातबाट टीका लगाउँथे । जनैपूर्णिमा र साउने संक्रान्तिमा पनि रमाइलो हुन्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ वैशाख १३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)