खगेन्द्रनाथ शर्मा सानो छँदा

घसेँटा डढेर सखाप

डा. खगेन्द्रनाथ शर्मा (अधिकारी) ‘द काठमान्डू पोस्ट’ का स्तम्भकार हुनुहुन्छ । उहाँसँग संयुक्त राष्ट्रसंघका लागि धेरै काम गरेको अनुभव छ । २०४६ को जनआन्दोलन १ का सर्वोच्च कमान्डर गणेशमानसिंहको जीवनीमा आधारित चलचित्र ‘वीर गणेशमान’ मा वृद्ध विश्वेश्वरप्रसाद कोइरालाको अभिनय गर्नुभएको छ । उहाँ ‘मायोज चाउचाउ’, ‘मेरो मोबाइल’ का विज्ञापनमा पनि देखिनुहुन्छ । उहाँको जन्म १९९१ साल असोज ३ मा इलामको माघे भन्ने ठाउँमा भएको हो । शर्माका पिता पं. देवीभक्त र माता यशोदादेवी शर्मा हुनुहुन्थ्यो । उहाँहरू सात दाजुभाइ र दुई दिदीबहिनी जन्मनुभएको हो । उहाँ इलाममा महेन्द्र रत्न क्याम्पस स्थापना गरेर पाँच वर्ष संस्थापक क्याम्पसप्रमुख रहनुभयो । विभिन्न संस्थामा आबद्ध हुनुहुन्छ । उहाँका विभिन्न विषयमा धेरै पुस्तक, लेख र प्रतिवेदन प्रकाशित छन् । विभिन्न पुरस्कारबाट सम्मानित शर्माका बाल्यकालका केही सम्झना :
हाम्रो संयुक्त परिवार थियो । बुबाहरू चार भाइ हुनुहुन्थ्यो । बुबाहरूका सुरुमा जन्मेका धेरै सन्तान बिते । त्यसपछिका धेरै छोरीपछि म जन्मेको हुँ । त्यसैले परिवारमा धेरैको माया पाएँ । मैले धूलो मैलोमा हुर्कनु परेन ।
बुबा पण्डित भएकाले प्राथमिक विद्यालयको शिक्षा उहाँले नै दिनुभयो । मेरी कान्छी फुपू विधवा हुनुहुन्थ्यो । उहाँ हामीसँगै बस्नुहुन्थ्यो । घरभरिको म प्यारो भएकाले जहाँ जाँदा पनि फुपू मलाई लिएर हिँड्नुहुन्थ्यो । फुपूसँग हिँड्दा म विभिन्न घर पुग्थें, जहाँ पुराण हुन्थे । कहीँ त गरुड पुराण सुन्नुपर्थ्यो । केटाकेटी उमेरमा उफ्रीने, खेल्ने उमेरमा म चाहिँ पुराण सुन्न पुग्थें । सबै पुराणमा ज्ञान दिने वा शान्तमय पाठ हुँदैनन् । अझ गरुड पुराणमा भयावह कथा छन् । यस्ता कथा सुनेर म डराउँथे । म त्यस्ता कथाबाट प्रभावित हुन्थें । ६/७ वर्षदेखि ९/१० को हुँदासम्म यस्ता पुराण सुनें ।
बार्‍ह वर्षको उमेरमा म स्कुल भर्ना भएँ । म भर्ना भएको स्कुल फिक्कल भन्ने ठाउँमा थियो । स्कुलको नाम ‘त्रिचन्द्र पाठशाला’ हो । पहिलो दिनको कक्षा २ मा बिताए पनि दोस्रो दिन म कक्षा ३ मा पुगें । त्यो कसरी भन्ने प्रश्न सोध्न मनलाग्ला ? कक्षा २ मा एकजना मारवाडीका छोरा पनि पढ्थे । कक्षामा शिक्षकले गणितमा भाग गर्ने समस्या दिनुभयो । त्यो भाग गर्ने समस्या मेरा साथीले कालोपाटीमा गरे । मैले आफै गरें । भाग गर्दा भाग नलाग्ने अवस्थामा अंक झार्नुपर्ने ठाउँमा उनले गरेनन् । मैले अंक झारें र समस्या ठीकसँग समाधान गरें । त्यो देखेर म कक्षा ३ का लागि ठीक भएँछु ।
कक्षा ३ को टर्मिनलजस्तो परीक्षामा मलाई कुनै प्रश्नको उत्तर आएन । यो देखेर म ह्वाँ ह्वाँ रुन थालें । गरुड पुराणमा नजान्नु पाप हो भन्ने खालका कुरा सुनेकाले म त्यही भनाइबाट प्रभावित भएँ । यो गलत थियो । अरूले मलाई सम्झाए । वास्तवमा हिन्दू धर्ममा भएका यस्ता गलत तथ्यले बालापनमा धेरै असर गरेछ ।
कक्षा ३ मा पढ्दाका मेरा साथी तारानाथ शर्मा (ताना शर्मा), पासाङ गोपर्मा पनि हुन् । हामीले कक्षा ६ सम्म त्यही स्कुलमा पढ्यौं । तारा र म उत्तिकै जान्ने विद्यार्थी थियौं । कक्षा ४ बाट ५ मा जाँदा म कक्षाको प्रथम भएँ । तारा द्वितीय भए । तारालाई मैले एक अंकले जितेको थिएँ । त्यसबेला परीक्षाका कापी विद्यार्थीलाई नै दिने चलन थियो । दुवै आफ्ना घर गएर अंक जोड्न थाल्यौं । ताराले आफ्नो कापीमा ३ नम्बर जोड्न छुटेको भेटे । मैले २ नम्बर जोड्न बिर्सेको फेला पारें । तारा स्कुलनजिकै बस्थे । चाँडै स्कुल गएर सरलाई देखाएछन् । म स्कुल पुग्दा सरले तारा प्रथम हुनुपर्नेमा भूल भएको सुनाउनु भयो । मैले पनि आफ्नो कापी देखाएँ । हामी त बराबर पो भएछौं । सरलाई आपत पर्‍यो । हामीलाई दुई प्रति प्रश्नपत्र बनाएर दुई छेउमा राखेर अंग्रेजीको परीक्षा लिइयो । अंग्रेजीको परीक्षामा ताराले ७८ ल्याए । मैले ८४ ल्याएँ । त्यस वर्षका लागि म कक्षा-प्रथम भएँ । कक्षा ५ बाट कक्षा ६ मा जाँदा तारा प्रथम भए । उनीसँग कलेज पढ्दासम्म प्रतिस्पर्धा भइरह्यो ।
२००६ सालको कुरा हो । हामीलाई पढाउने सर ‘सी.बी. कसजू’ हुनुहुन्थ्यो । उहाँ काठमाडौंबाट इलाम पुग्नुभएको थियो । देशभर राणाविरुद्ध आन्दोलन हुँदा उहाँलाई इलाम बजार बोलाइयो । उहाँमाथि राजनीति गरेको आरोप लगाइयो । दुई/तीनपटक केरकार गरेपछि उहाँले फिक्कल छाड्नुभयो । कसजूबाहेक हामीलाई बी. बी. लामासेरी र लाखबहादुर लाप्चाले पढाउनुभयो ।
कसजू सर हिंडेपछि मेरो पढाइ कक्षा ६ बाट अगाडि बढेन । कसजू सरले आधा वर्षमै कक्षा सक्नुहुन्थ्यो । हामीले तीन वर्षमा कक्षा ६ पुरा गरेका थियौं । उहाँ धेरै राम्रो पढाउनुहुन्थ्यो । त्यस्तो सर कहाँ पाइन्छ र ?
त्यस्तै स्कुल जाँदा-आउँदाका रमाइला प्रसंग छन् । माघेबाट स्कुल जान टाढा भएकाले म चाहिं याङ भन्ने ठाउँमा फुपू घर बस्थे । त्यहाँबाट आधा घण्टाजतिमा स्कुल पुगिन्थ्यो । स्कुल जाँदा तोयानाथ भट्टराई मेरा साथी हुन्थे । बाटामा प्रशस्त आलुबारी थिए । आलु रोप्नुअघि घसेँटा पोल्यो भने पोलेको माटोमा आलु राम्रो हुन्छ भनिन्थ्यो । एकपटक स्कुलपछि खेल खेलेर घर फर्कदा घसेँटामा आगो लगाईदियौं र भाग्यौं । यो बदमासी हो ।
अनि स्कुल जाँदा धेरै जाडो भयो भनेर साथीको संगतमा चुरोट पनि खाइयो । सानै उमेरमा यस्तो बानी अझ खराब कुरा हो । पुराण सुनेर कमिला मार्दा पनि पाप लाग्छ भन्ने म चाहिं गलत साथीका कारण बेला बेला चुरोट खाने भएको थियो । खराब साथी नबनाउनु राम्रो हो ।
स्कुलमा हामी नियमित रूपमा खेल त खेल्दैनथ्यौं । कहिलेकाहीं फुटबल, ब्याडमिन्टन, क्रिकेट, खोखो, कपर्दी, टेबुलटेनिस खेल्थ्यौं ।
त्यहाँ पढ्दा दार्जिलिङतिरका किताब थिए । इलामको सिमाना दार्जिलिङसँग जोडिएको छ । पारसमणि प्रधानले तयार पारेका नेपाली किताब थिए । त्यसबेलाका स्कुललाई सरकारले हेरेको थिएन । काठमाडौंमा थोरैमात्र स्कुल खुलेको अवस्थामा त्यहाँको स्कुलमा कसको आँखा पुग्थ्यो र ?
सात सालको आन्दोलनमा मलाई जन्डिस भयो । तारा र पासाङ आन्दोलनमा गए । मलाई जन्डिसले धेरै सतायो । घरेलु उपचार गरियो । बुबाले आयुर्वेदका किताब पढ्नुभएको थियो । उहाँलाई त्यस्ता रोगको उपचारको केही ज्ञान थियो । मण्डुरभष्म र मह मिसाएर खाएपछि सञ्चो भएको मलाई याद छ । ध्यू खान बन्द गरिएको थियो । नौनी ध्यू चाहिं थोरै खान्थे । जन्डिसले ६ महिना कमजोर बनायो ।
मेरो पढाइ बनारस पुगेर अगाडि बढ्यो । ५/६ महिना निजी कक्षा लिइयो । करफोकका कमल पराजुलीले गणित र अंग्रेजी पढाइदिनुभएको थियो । त्यसपछि दार्जिलिङ हुँदै बनारस गइयो । त्यहाँबाट स्कुलको पढाइ सकियो ।
बनारसमा काका र म डेरामा बस्थ्यौं । भात म पकाउँथे । रोटी भने काका पकाउनुहुन्थ्यो । स्कुल तहको परीक्षापछि घर फर्के । त्यसपछि पढ्दै पीएचडीसम्म गरें ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ माघ २५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

One thought on “खगेन्द्रनाथ शर्मा सानो छँदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<