जीवनाथ पोखरेल सानो छँदा

तित्रा बाँचेनन

जीवनाथ पोखरेल चरासम्बन्धी चित्रकार हुनुहुन्छ । उहाँ सुनसरीको इनरुवामा बस्नुहुन्छ । उहाँको जन्म २००३ साल असोज १९ मा भएको हो । बुवा गोविन्दप्रसाद र आमा शान्तादेवीका उहाँ जेठो छोरो हुनुहुन्छ । उहाँकी एक दिदी, एक भाइ र एक बहिनी जन्मनुभएको हो । उहाँले ५२ बालगीतको संग्रह ‘मेरो बालगीत’ प्रकाशित छ । त्यस्तै दुई बालकविता र एक बालकथासंग्रह छापिन लागेको छ । उहाँले पूर्वाञ्चलमा रहेर बालविकास केन्द्रअन्तर्गत प्रशिक्षकको काम गर्नुभएको छ । जापान भ्रमण गरिसकेका पोखरेल विभिन्न पुरस्कार एवं सम्मानबाट विभूषित हुनुहुन्छ । उहाँका दुई एकल चित्रकला पूर्वाञ्चलमा भएका थिए भने तेस्रो गत महिना राजधानीमा भएको थियो । यसपटक चित्रकार पोखरेलका बाल्यकालका केही सम्झना :
जागिरको सिलसिलामा बुवा बाहिर बाहिरै बस्ने भएकाले घरमा आमा, दिदी, बहिनी र म मात्र हुन्थ्यौं । मैले आमाबाटै लेख्न सिके । आमालाई नेपाली भाषाका पुस्तक र अंकको गणना सबै आउँथ्यो । लेख्न भने सही गर्न मात्र आउँथ्यो । आमाबाट नै मैले अक्षर चिनेर चण्डी, लेखनाथ पौडेलको सत्यकली संवाद र त्यस्तै चाणक्य नीतिका धेरै स्लोक पढन सिकेको थिएँ ।
म सानो छँदा रोगी भएकाले ५ वर्षदेखि मात्र टुकुटुकु हिँड्न थालेछु । त्यसैले मैले ७ वर्षदेखि मात्र अक्षर चिनाएर कथा, कविताका किताबहरू पढाउन थालेको भनेर आमा अहिले पनि कहिलेकाहिँ भन्नुहुन्छ । बुबा जागिर छाडेर २००९ सालदेखि मात्र परिवारका साथ बस्न थाल्नु भएको मलाई थाहा छ । त्यसबेलादेखि मात्र बुबाले मलाई घरमा भाषा, अंग्रेजी, गणित पढाउन थाल्नुभयो । बुबालाई नेपाली, अंग्रेजी, बंगाली भाषा पढ्न र लेख्न राम्रोसँग आउँथ्यो । मैले राम्रा अक्षर बनाएर लेख्ने प्रेरणा बुबाबाट नै पाएको हुँ । केटाकेटीमा रोगी भएकाले २०१२ सालमा मात्र इनरुवाको भगवती मिडिल स्कुलको कक्षा २ मा भर्ना गरी दिनुभयो । त्यसबेला इनरुवा, मोरङ जिल्लामा थियो ।
म सानो ख्याउटे थिएँ । वर्षामा स्कुल पुग्नै गाह्रो हुन्थ्यो । जङ्गल पार गरेर एक्लै स्कुल पुग्न नसक्ने हुँदा प्रायःजसो बुवा नत्र भ्याउनेले मलाई स्कुलसम्म पुर्‍याउन जानुहुन्थ्यो । वर्षा सुरु भएपछि वर्षसमय नसकिने बेलासम्म यसरी नै म स्कुल जान्थे ।
त्यस बेला औलोको बिगबिगी थियो । वर्षामा दुईपटक ज्वरो आउँथ्यो । औषधि केही थिएन । कति वर्षपछि ‘कुइनो हिमोजन’ नामको कालो झोल निस्क्यो । त्यो खाएको मलाई पूरै सम्झना छ । मुखमा लगाउँदा टुप्पीदेखि पैतालासम्म पूरै तीतो भएझैं लाग्थ्यो । त्यो औषधि बजारमा आउनुअघि गैंडाको पिसाब दल्नुपर्छ भनेर के के दलिदिनुहुन्थ्यो । त्यो काम बुवा र आमाको हुन्थ्यो । पछि ‘केमो कुइनेन’ नामक औषधि आयो । ज्वरो आउने महिनामा ज्वरो आउनुभन्दा पहिले खाएर ज्वरोको रोकथाम गरिन्थ्यो । कहिलेकाहीँ त परीक्षाकै बेला ज्वरो आएर स्कुल जान सकिँदैनथ्यो । परीक्षा पछि दिनुपर्थ्यो ।
कक्षा २ पास गरेपछि एकदिन हेडसर भाषाशास्त्री महानन्द सापकोटाले मलाई त मेरो साथी खगेन्द्र आचार्य, भुवनेश्वरलाल कर्ण, टंक पोखरेल, रमेश श्रेष्ठलगायत ७ जनालाई अफिसमा बोलाउनुभयो । साथीहरूले हेडसरले अफिसमा बोलाउनुभएको छ भनेर सुनाए । हाम्रो मुटुमा ढ्यांग्रो बज्न थाल्यो । केही बिगारेका त थिएनौं । त्यही पनि अफिसमा जानु भनेको कुनै न कुनै दण्ड खानु नै हुन्थ्यो । मुखामुख गर्दै अँध्यारो मुख लाउँदै सबैजना बिस्तारै अफिसभित्र पस्यौं । गएर उभिइमात्र रह्यौं । केही सोध्ने आँट आएन । हाम्रो त्यो अवस्था देखेर हेडसर मुसुक्क हाँस्नुभयो र भन्नुभयो, ‘नडराओ । तिमीहरूलाई मैले कुनै गल्ती गरेर बोलाएको होइन । तिमीहरूले अब कक्षा ३ पढ्नु पर्दैन । एकैचोटि कक्षा ४ का पुस्तक किनेर कक्षा ४ मा पढनु । तिमीहरूलाई डब्बल प्रमोसन गरिएको छ ।’ हामी ७ जनाको अनुहारमा एक प्रकारको खुसीको लहर छायो । अघिको डर हर्षमा बदलियो । ‘हस्’ भन्यौ र उभि रह्यौ । हेडसरले पनि फेरि मुसुक्क हाँस्दै, ‘जाओ । राम्रो पढनु,’ भन्दै बिदा गर्नुभयो । त्यसदिन सबै सरहरूले हामीलाई धन्यवाद दिन गयो । घरमा पनि बुवाआमा सार्‍है खुसी हुनुभयो । त्यो क्षण आज पनि ताजा छ ।
कक्षा ८ मा स्काउट ग्रुप बनाएर तालिम दिने भनेर भर्खर पढाउन भर्ना भएका परमेश्वरप्रसाद सिंहले ग्रुप बनाउनुभयो । स्काउट सुरु भयो । म पहिलेदेखि नै चाहिने कुरामात्र गर्थे । अनुशासित नै थिएँ । पढाइमा पनि उत्तम नभए पनि निम्न पनि थिएन । त्यसकारण सबै सर माया गर्नुहुन्थ्यो । विद्यालयमा हुने सबैजसो क्रियाकलापमा सरिक गराउनु हुन्थ्यो । स्काउटका गुरु परमेश्वरप्रसाद सार्‍है कडा हुनुहुन्थ्यो । नाकमा झिंगोसम्म बस्नु नहुने छडी बर्साइहाल्नुहुन्थ्यो । सबै सतर्क हुनुपर्थ्यो । बोल्न डर लाग्थ्यो । छेउछाउ हिँड्न र हाँस्न आदि जे पनि विचार गर्नुपर्थ्यो । कसैसँग अलिकति चित्त बुझेन कि त्यसका ढाडमा सुम्ला उठी हाल्थे । स्काउटमा तालिम पूरा गर्नुभन्दा पहिले एकदिन क्याम्प बस्नुपर्छ । पन्छी, बिरुवा, जंगल र वातावरणको अध्ययन भनेर जंगल लानुभयो । दालभात आफैंले सरको समयमा पकाइ सक्नुपर्थ्यो । सरकै बोली नसक्दै खाइसक्नुपर्थ्यो । त्यस क्याम्पमा छिटो गर्न दाल र चामल एकै ठाँउमा हालेर पकाएको त काँचै रहेछ । दाल र भिजेका मात्र चामल खाएर छाक टार्नुपर्‍यो । जंगल-जंगल घुमेर विभिन्न जातका पन्छी तथा खासगरी बोटबिरुवाका पात संकलन गर्दै क्याम्प सक्यौं । वैशाख थियो । चर्को घाममा सरसँगै सुनसरी नदी तरेका मात्र थियौ, पश्चिमतिर कालो बादल देखियो । ‘ए पानी पर्छ कि क्या हो’ भन्दै केही अघि बढेका मात्र के थियौ- असिना बर्सन थाल्यौं । हामी कुद्न थाल्यौ । वरपर कुनै घर पनि थिएनन् । हामीलाई असिनाले पिट्न थाल्यो । तर संयोग अलिपर देउताका थान रहेछन् । त्यही ओत लाग्यौं । टाउकोसम्म ओतायौं र टाउको बचायौं । ढाड, खुट्टामा भने हिर्काइ नै रह्यो । असिनाले कुटेको ठाउँमा पछिसम्म दुखिरह्यो । आमाले तेल मालिस गरिदिएपछि अलि सन्चो भयो ।
मैले एसएलसी विराटनगर गएर दिएँ । एसएलसी दिन एक महिनाअघि त्यहाँ पुगियो । हाम्रो पालामा १ हजार पूर्णांक हुन्थ्यो । मैले थर्ड डिभिजनमा पास गरेँ ।
त्यसबेला इनरुवाका धेरै भागमा जंगल थियो । गोठालो जाने ठिटाले तित्रा ओथारो बसेको भेट्टाएछन् । साँझमा तित्राको माउ मरेछ । चार अण्डा ल्याएँ । आमाले तल कपास, बीचमा अण्डा र माथि कपास मिलाएर ढकीमा राख्नुभयो । कहिले घाम त कहिले तातो चुल्होमाथि राखेर बच्चा कोरल्न मद्दत गर्नुभयो । चराको बचरो निस्कँदा चुच्चो निस्कियो । मैले हतार गरेँ । अण्डाको पाटो उप्काईदिएँ । बचरो त निस्क्यो । अण्डाको एउटा पाटो खुट्टामा टाँस्सियो । एकखुट्टे भयो । सबै बचरा बचाउन सकेनौं । कुनै कागले लग्यो । कुनै धमिराले खाइदियो । म डाँको छाडेर रोएँ । त्यस्तै घटनाले म चराका नजिक भएँ । चित्रकार बनें ।
म भन्छु- कसैले पनि केही नगरी नबस्नु । सिर्जनशील हुन सिक्नुपर्छ । बचेको समय सदुपयोग गर्नुपर्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ माघ ११ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<