गोविन्दराज भट्टराई सानो छँदा

भाइबहिनीका भाग र बान्ता आउन्जेल चिनी खाइयो

प्रा. डा. गोविन्दराज भट्टराई अंग्रेजीका प्राध्यापक हुनुहुन्छ । उहाँ अनुवाद साहित्यमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ साहित्यकार तथा ‘कान्तिपुर दैनिक’ का स्तम्भकार पनि हुनुहुन्छ । डा. भट्टराई अहिले त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) को शिक्षाशास्त्र संकायमा सहायक डिन हुनुहुन्छ । उहाँको जन्म २०१० चैत ४ गते भएको हो । उहाँले एमए, एमएड र पीएचडी गर्नुभएको हो । डा. भट्टराई हाल कीर्तिपुर नगरपालिका-२ ट्याङ्लाफाँटमा बस्नुहुन्छ । उहाँका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उहाँका ती प्रकाशित पुस्तक- ‘मुगलान’ (उपन्यास, २०३१) देखि ‘वियोन्ड द फ्रन्टियर्स : विमिन्स स्टोरिज फ्रम नेपाल’ (२०६३, सम्पादन) हुन् । उहाँले हालै गैरआवासीय नेपाली पुरस्कारसहित करिब आधा दर्जनभन्दा बढी पुरस्कार पाउनुभएको छ । यसपटक उहाँका बाल्यकालका सम्झना :
हाम्रो परिवार एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिरह्यो । त्यसकारणले म सानो छँदा एउटै गाउँमा हुर्किन पाइनँ । अझ जिल्लै फरक परे । हामी ताप्लेजुङ जिल्लाको हाङ्देवा (मावली गाउँमा) बसेका दिन सम्झन्छु ।
फेरि हाम्रो परिवार ढाकर र थुन्सेसँग फावाखोला ओसे सर्‍यो । त्यहाँ हजुरबा र काकाहरूसँग केही समय बस्यौँ । पिताजीको पैत्रिक थलो त्यहीँ थियो ।
फेरि ढाकर तोक्मा अघि लागे । धेरैजनाले हामीलाई पाँचथर जिल्लाको च्याङ्थापु बसैँ पुर्‍याए । सेरेजामा हाम्रा आफन्त थिए । त्यहीँ एक हिउँद बितायौँ । अनि मात्रै नजिकै गढी बजार वारिको नाम्रेक गाउँका हाम्रो निजी घर जमिन र खेत जोडियो । यो कुरा २०१७ सालको हो । म सात वर्षको थिएँ ।
मदेखि माथिका दुईजना दाजु, मुनिका दुई भाइ अनि एक बहिनी थिए । त्यसपछि पनि धेरै वर्षसम्म नयाँ भाइ बहिनी आइरहे तर त्यहाँ पुगेकै बेला एउटा सानो भाइ जन्मेको तीन दिनमा स्वर्गे भयो । उसलाई तल खोल्सीमा लगेर गाडेँ । हाम्रो घर धेरै दिनसम्म अँध्यारो भइरह्यो । यो कुरा थियो २०१८ सालको ।
२०१८ भन्नेबित्तिकै दुईवटा डरलाग्दा घटना आउँछन्, यो मनमा । त्यो दसैँको बेला, खेतमा पाक्न लागेको धान माडेर ढुंगाको सिराने लगाएर सेनाले बन्दुक ताकेका हुन्थे । अतहरूको जगजगी थियो । दार्जिलिङबाट पसे भन्थे । हिजो राति गढी बजारमा झन्डा गाडिए अरे, पाठक, पौडेल र फलानालाई पक्रेर जगात लगे अरे भन्थे, जुँगा उखेलेर मूर्छा पारे भन्थे । जगातमा रातभरि गोली पड्कीन्थे । हाम्रो परालको माचमा काङ्ग्रेसका जेठा पाठक दिनभरि लुक्थे, कहिले अरू कोही तलामाथि ढिकुटीको अँध्यारोमा बिताउँथे । तर किन यसो गरेको होला, केही पत्तो थिएन । एकदिन इवाँखोला पारि भीरमा सेनाले ढुकेर गढीका पाटीमा लागेका देवी पाठकलाई मारे, अनि सादेवाका काइँला दाहाललाई मारे । त्यसपछि हामी भयभीत भयौँ । त्यसको तीन महिनापछि भुइँचालो जान्छ भने । अनि साँच्चै गएपछि तीन महिनासम्म हामी कोदाबारीमै बस्यौँ, छाप्रा बनाएर । अब मरिजाइन्छ भन्दै गाउँभरिकाले घिउ, तेल, चामल सके । त्यसबेला कम्ती मीठो खाइएको होइन ।
अहिले सम्झन्छु आर्थिक अवस्थाले हामी उपयुक्त ठाउँ खोज्दै सर्दा रहेछौँ । च्याङ्थापुमा पनि हामी २०२३ सालसम्म बसेर मधेस झर्‍यौँ- दमक, झापा । अरू भाइबैनी मधेसमै जन्मिए । तर म आफ्नो बाल्यकालका महत्त्वपूर्ण दिनहरू तिनै च्याङ्थापुका सात वर्ष रहेछन् भन्ने ठान्छु किनभने २०१८ भदौतिर मलाई पिताजीले गढीको हरि मिडिल स्कुलमा कक्षा एकमा भर्ना गरिदिनुभयो । त्यहीँबाट मैले कक्षा सात पास गरेँ । पहाडमा जन्मेका अरू सदस्यको जन्मस्थल ताप्लेजुङको सिकैजा गाविस भए पनि मेरो नागरिकतामा पाँचथरको फलैँचा लेखिएको छ ।
मैले एउटा धूले स्कुलमा अक्षर चिनिसकेको थिएँ । पढ्न सक्थेँ । कक्षा एकमा एउटा मात्र किताब पाएँ, गणितको । त्यो मरीमरी पढ्थेँ । एउटा कापी । तर लेख्ने ढङ्ग थिएन । नौलो मान्छे, नौलो परिवार । एउटा अशिक्षित कुनामा, पण्डितको छोरो अङ्ग्रेजी स्कुल पसेको थिएँ । दुईजना गुरुजी दार्जिलिङका थिए, अरू आठराईबाट पढेर गएका र स्थानीयहरू । दार्जिलिङका गुरुहरूले दैनिक पिटी खेलाउँथे । परिसर बढार्न लगाउँथे । फूलबारी गोडाउँथे । मौकामा नाच्न-गाउन सिकाउँथे, भुँडीमा डोरी बाँधेर इवाँखोलाको काली दहमा पौडी खेल्न सिकाउँथे । प्रत्येक आइतबार नङ, दाँत, घाँटी र हातखुट्टा जाँच गर्थे । त्यसबेला हामी कर्द वा खुर्पाले भुत्ल्याएर नङ काट्थ्यौँ, आइतबारको दिन खोलामा झोला बिसाएर बालुवाले दाँत मस्काउथ्यौँ- कराही मस्काएझैँ । अँगार अथवा ढुङ्गाको पनि प्रयोग गथ्र्यौँ । दाँतको लागि बुरुस र मञ्जन हुन्छ भन्ने थाहा थिएन । नत्र हिउँदका बेला हात-गोडा फुटेर छर्छरी रगत निस्कन्थ्यो । खोलामा पसेर ढुङ्गाले छाला खुइलिने गरी गोलीगाँठा र हात मस्काउँथ्यौँ । फोहोरीलाई उनीहरू दुई-चार सोड्का लगाएर घरै पठाइदिन्थे । उनीहरू भन्थे- टालेको भए पनि हुन्छ तर कपडा सफा धोएको हुनुपर्छ । जम्मा एकजोर फिलफिले कपडा आमाले खरानीमा उमालेर धोइदिएको सम्झन्छु । कक्षा दुईमा पुगेपछि ता ड्रेस पनि आयो- कालो हाफपेन्ट र सेतो सर्ट । तर सिलाइको ढङ्ग छैन, कट्टु छैन, पेटी छैन, भित्री गन्जी छैन, लगाउने ढङ्ग छैन । मेरा सर्टमा जम्मा तीनवटा टाँक थिए- भुँडीबाट जनै पाखा निस्केर म दिक्दार हुन्थेँ ।
दार्जिलिङका गुरुकै कारण होला राम्रा हस्ताक्षर लेख्न, घण्टी बज्दा स्कुल पुग्न, पाठ बुझाउन हामी बानी पर्दै थियौँ । आज हेरी अनुशासन कडा थियो । कुरो बिग्रियो भने मर्नेगरी चुट्थे, उठबस, घुँडा टेकाइ, हात चेपाइ, कन्सिरी उखेलाई त्यसैबेला देखेँ, भोगेँ । कक्षा दुई पुगेपछि पढ्नमा म बिजुली निस्किएँ, दुईबाट चारमा डबल हानेँ, फेरि पाँचबाट डबल हानेर सात पुगेँ । त्यसबेला त्यस्तो चलन थियो । सातमा हामी छजना थियौँ । एकजना दिदी डिल्लीमाया लिम्बू थिइन् । जम्मा एक सयको विद्यालयमा १०-१२ जना मात्र बालिका थिए । गुरुआमा थिएनन् । अनि त्यहाँको पढाइ टुङ्यो । जिल्लाभरि नै हाइस्कुल थियो जस्तो लागेन । फिदिममा थियो कि ? सम्झीन्न ।
ठूल्दाजु ताप्लेजुङतिर पढ्नुहुन्थ्यो, माल्दाजु घरैमा, भाइ बैनी स्कुल जान थालेका थिएनन् । त्यसैले घरमा स्कुल पढ्ने भएर म विशेष हुँ जस्तो लाग्थ्यो । सात कक्षा पास गरेपछि वारेबुङदेखिका मानिस आए- गुरुजीका छोरालाई हाम्रो स्कुलमा मास्टर राख्छौँ भने । कसैले त साल्नानीको पढाइ पुग्यो अब बिहे गर्दिने कि गुरुजी भन्दै बुवालाई सोध्न पनि आएका थिए । म कुनै सानी बेहुलीको कल्पना गरेर लाजले भुतुक्क हुन्थेँ । म झन्डै त्यहीँ टुंगिएको तर पढ्न भनेपछि हुरुक्कै हुन्थेँ । कोदाबारीमा पसेर परालका माचमा घुसेर, रूखको सजिलो हाँगामा ढल्केर पढ्थेँ । किताबहरू कम्ती थिए । फाल्टु किताब अन्यत्र केही थिएनन् । तर हाम्रो घरमा पिताजीले दार्जिलिङतिरबाट आउँदा ल्याएका नैबेद्य, कोमल गीता, संस्कृत अनुवाद, गुणरत्नमाला आदि हुन्थे, ती पढ्थ्यौँ । बाका नेपाली किताब देखेर खुसी लाग्थ्यो ।
मेरो मन कतै थिएन । पढाइ टुंगिएकोमा म विरक्त थिएँ । मेरो विरक्ति र पढ्ने इच्छाबारे आमाले एकदिन मामा चूडामणि मिश्रलाई सुनाउनुभयो । उनी गौरादहमा खेती गरेर त्यो दसैँ मात्र पहाड फर्केका थिए । ‘हुन्छ नि दिदी भान्जालाई उतै पठाइदिनु’ भनेर गएका थिए ।
२०२३ फागुनमा एउटा ठूलो कुम्लो भिरेर मधेसतिर बसाइँ सर्न पिताजी अघि लाग्नु भो । म पछिपछि लागेँ । आमा भाइबहिनीहरू सिम्लेको ओडारमा थिए । हिँडेकोहिँडयै पाँच/छ दिनमा हामी झापाको गौरादह पुग्यौँ । मामाले मलाई घैलाडुब्बा हाइस्कुलको कक्षा ८ मा भर्ना गराइदिए । म दाताराम सरको काखमा पुगेँ । घैलाडुब्बा जिल्लाकै उत्कृष्ट विद्यालयमा गनिन्थ्यो- निःशुल्क, भव्य बिल्डिङ, छात्रावास, ज्यादै गतिला गुरु । त्यहाँ पुग्नु मेरा लागि सौभाग्य थियो ।
पिताजी धेरैजसो परदेशै जानुहुन्थ्यो । मलाई बारम्बार आमाले पैसा लुकाउने ठाउँ पत्ता लगाउन मन पर्थ्यो । त्यसले सित्तली मिठाई किनेर खान र खोप्पी खेल्न ठूलो सहयोग पुग्थ्यो । छुट्टीको बेला भाइबैनी हेर्नेमा पर्थेँ । आमाले दिउँसो खुवाउन छोडेका भाइबैनीको दूधभात कतिपल्ट आधीउधी आफैँ छिन्थेँ । बेलुका आमा आउँदा ती भोकले रोइरहेका हुन्थेँ । आमालाई थाहा हुन्थ्यो तर घोप्टिएर टार्थेँ ।
मैले ठेकी भाँडाको तर चोर्नमा पनि धेरै तालिम गरेको थिएँ । आमाले एकदिन बाँधेर पिटेपछि त्यो काम छोडिदिएँ । घरमा चिनी कति छ र कहाँ छ भनी धेरै अनुसन्धान गरेँ तर पत्ता लागेन । स्कुल जाँदा गढी बजारमा चिनीका सिङ्गो बोरा देख्ता म आत्तिएँ । एकदिन ३/४ माना चामल चोरेर किताबको झोलामा हालेँ । उप्रेती माइलाको दोकानमा लगेँ । चिनी साटेँ । स्कुलबाट फिर्दा एक्लै ठाडेखोलाको किनारमा पानीमा खुट्टा खसालेर ढुङ्गामा बसेँ । चिनीको फाँको मार्न थालेँ । एक बटुको जति फक्याएँ होला । स्वाद आउन छाडयो, गिजा पाछेर रगत आयो । उल्टी होला जस्तो भयो । अनि बाँकी चिनी घुमाउने दहमै चढाएँ । त्यही दहमा निहुरेर पानी पिएँ । अनि खोकको जङ्गलैजङ्गल एक्लै घरतिर उडेँ । पुगेर कति दिन बिरामी परेँ थाहा भएन, तर छोरो पहेँला घाममा घर फिर्दा कुनै सिंहे सिकारी लागेछ भनी आमाले झन् माया गर्नुभो । मनमनै खुसी भएँ । मलाई सबैभन्दा दुःख र ग्लानिले छोप्ने कुरा थियो- ओछ्यान भिजाउने बानी । डरले कतिपल्ट म पानी मोही नपिई सुत्थेँ । तर मध्यरात भएपछि कुनै रूखको फेदमा पुगेँ जस्तो लाग्थ्यो- ओछ्यान चिसो भएर माल्दाजुले ठेलेपछि झसङ्ग हुन्थेँ । रातभरि त्यसै सुतिरहन्थेँ, अबेलासम्म लाजले सुतिरहन्थेँ । मेरा बालसखा माल्दाजु बेलैमा उठेर काममा जानुहुन्थ्यो । म ठूलो भएपछि मात्र यो रोग हटयो ।
खर्चबर्चको अभावले जिन्दगी कठोर थियो । जुत्ताको चलन थिएन । एकजोर लुगाले वर्षदिन पुर्‍याउनुपर्थ्यो । स्कुलमा खाजा खाने चलन थिएन । खेल्ने गिरान सानो थियो । भोक लाग्दा हामी अलि टाढा गएर मूलधाराको पानी पिउँथ्यौँ । हिउँदमा खेतका गरा खाली हुन्थे । त्यहीँ भेला भएर झुम्राका गोल हान्ने, घाङ्लात्ती खेल्ने, भेडिगाँठो, फालहाल्ने, पौठेजोरी, नङ्छिरी र इवाँमिवा तर्ने बाजी गथ्र्यौँ । गोरु जुधाउन पनि मजा आउँथ्यो । गढीका डिलमा फलेका नास्पाती र सुन्तला चोर्नलाई अलि जब्बर साथी पठाउँथ्यौँ । खोलामा पौडी खेलेर बालुवामा पल्टिन्थ्यौँ । घरमा भिजेको कट्टु देख्लान् भनेर नाङ्गै भएर दहमा उफ्रन्थ्यौँ ।
के पढ्नुपर्छ, कति पढ्नुपर्छ, कहाँ कसले खर्च दिन्छ केही थाहा थिएन । केवल तिर्खा थियो, रहर थियो । पिताजीको निरन्तर प्रेरणा थियो । गर्दागर्दै भाग्यले, समयले, पितामाताले अन्धकारबाट ठेलिदैँ हिडिरहेँ । एउटै उद्देश्यले तानिएको तानियै गरेँ ।
कहिलेकहीँ गढीका खरेल गाउँमा, फाक्लुङ्को राई गाउँमा, माथि सादेवातिरका क्षेत्रीकोमा पूजाआजा गर्न जाँदा म पनि बासँगै जान्थेँ, एक दुईआना पाउँथे, टोपी रुमाल भेँट्थेँ, बाउन्नाति भनेर कतिले गोडामा ढोक्थे ।
म पढेको स्कुल उहिल्यै भत्कियो, माथि बरडाँडामा सर्‍यो र हाइस्कुल भयो भन्ने सुन्छु । पुग्न सकेको छुइन । नपुगे पनि मेरो मन रात दिन च्याङ्थापुमै छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : कुमार आले, २०६४ कात्तिक १६ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<