कोमल निरौला सानो छँदा

घरमै बज्थ्यो हार्मोनियम, रेडियो र ग्रामोफोन

कोमल निरौला पुराना गायक, गीतकार र संगीतकार हुनुहुन्छ । इलाममा रहेर बर्सेनि राजधानी आउँदै उहाँले एक दर्जन गीत गाउनुभयो । दसवटा जतिमा संगीत दिनुभयो र पाँचवटाजति गीत रचना गर्नुभयो । उहाँको जन्म २०१० साल कात्तिकमा इलामको नाम्सालिङमा भएको हो । उहाँका पिताको नाम सर्मानन्द र माताको रेणुका हो । उहाँ चार दाजुभाइमध्ये कान्छो हो । उहाँको पहिलो गीत २६ सालमा रेडियो नेपालमा रेकर्डिङ भएको थियो । उहाँले गाएको बालगीत ‘के सानी रहिछौ नानी तिमी, बोलाऊँ बोलाउँ लाग्छ..’ हो । २०४१ सालमा रत्न रेकर्डिङ संस्थानले राष्ट्रिय युवागीत प्रतियोगिता गर्‍यो । भक्तराज आचार्यको संगीतमा उहाँले ‘अखण्ड सत्य हौं युवा यो देशको..’ गीत गाउनुभयो । उक्त गीत दोस्रा भयो । उहाँले गाएका गीतमध्ये ‘चिल होइन बेसारा चल्ला टिपिलाने….’ चर्चित बनेको लोकगीत हो । उक्त गीतमा उहाँलाई सुलोचना कर्माचार्यले महिलास्वरमा साथ दिनुभएको थियो । २०५८ सालमा छोरा डेनीले दिएको संगीतमा गीत गाएपछि उहाँको गायकी रोकिएको छ । उहाँले इलामको महेन्द्ररत्न कलेजबाट बीए र केन्द्रीय क्याम्पस (कीर्तिपुर) बाट बीएड गर्नुभएको छ । अहिले इलामस्थित शैक्षिक तालिम केन्द्रमा प्रशिक्षक निरौलाका बाल्यकालका केही सम्झना :
म कक्षा १ को अन्तिमतिर स्कुल गएँ । परीक्षा दिएको त पास भएँ । कक्षा २ मा गएँ । नाम्सालिङ हाइस्कुलमा पढें । १५ वर्षको हुँदा ०२५ सालमा एसएलसी दिएँ । अरू बेला कक्षा पहिलोदेखि तेस्रा भएँ । एसएलसीमा तेस्रो श्रेणीमा पास भएँ । हामीले एसएलसी दिंदा एक हजार पूर्णांक थियो ।
स्कुल त टाढा थिएन । यस्तै दस मिनेटमा पुगिन्थ्यो । घरमै घन्टी बजेको सुनिन्थ्यो । स्कुल जाँदा हामी एकाघरका दाजुभाइ हुन्थ्यौं । काकाका छोराछोरी र छिमेकमा साथीहरूसँग स्कुल जान्थें ।
म छ वर्षका हुँदा नै हार्मोनियम बजाउँथें । घरमा हार्मोनियम थियो । बुबा भजन गाउनुहुन्थ्यो । बुबाले हार्मोनियम बजाएको हेर्थें । मचाहिँ लुकेर बजाउँथँ । स्कुलमा बालगीत सुनाउँथे ।
स्कुल छँदा मलाई अगाडि बढ्न प्रेरणा दिने शिक्षक नरहरि शर्मा अधिकारी हो । कलेजमा प्रेरणा दिने जुद्धप्रसाद वैद्य र डा. केदार बास्तोला हो ।
एउटा रमाइलो घटना छ । म ११/१२ वर्षको थिए होला । हाम्रो कक्षा र सरहरूको कोठा जाने ढोका एउटै थियो । हाम्रो कक्षा कोठा खोलेपछि मात्र सरहरूको कोठा पुगिन्थ्यो । अघिल्लो दिन मैले कक्षाकोठाको झ्यालमा चुक्कुल लगाइनँ । भोलिपल्ट चाँडै आएर कक्षामा पस्न मन थियो । मैले झ्याल खोल्नु र नरहरि सरले ढोका खोल्नु एकैपटक परेछ । सरले समातिहाल्नुभयो । नरहरि सरले समात्दा मलाई एउटै पीर थियो, उहाँले दाइलाई भन्दिनुहुन्छ कि ! दाइ पनि त्यही स्कुलमा सर हुनुहुन्थ्यो । म गलत कामका लागि चाँडै स्कुल पुगेको थिइनँ । उहाँले चोर समातेझैं समात्दा म निकै डराएँ । मैले भने, ‘म त गृहकार्य गर्न चाँडो आएको हुँ ।’ त्यसपटक मैले माफी पाएँ । उहाँले यो कुरा दाइलाई पनि सुनाउनुभएन । त्यसपछि कक्षामा बारम्बार उहाँ, ‘घरको काम सकेर चाँडै स्कुल आएर गृहकार्य गर्न कोमलसँग सिक’ भनेर अरू विद्यार्थीलाई भन्नुहुन्थ्यो ।
स्कुलमा धेरै सजाय दिने चलन थियो । बोरामा हालेर पिटेका घटना पनि छन् । तर मैले पिटाइ खाइनँ ।
मेरा लागि एउटा प्रेरक पुस्तक मिल्यो । त्यो कुरा ०१९/२० सालको हुनुपर्छ । विद्यालयको वाषिर्कोत्सव थियो । मैले गीत गाएँ । त्यो सुनेर खेमराज नेपालले ‘गीतिका’ शीर्षक भएको पुस्तक दिनुभयो । उक्त पुस्तक दार्जिलिङबाट प्रकाशित भएको थियो । ‘गीतिका’ मा ‘नोटेसन’ थियो । हामीले त्यसबेला रेडियो नेपाल सुन्न सक्दैनथ्यौं । हामी ‘अल इन्डिया रेडियो’ सुन्थ्यौं । त्यहाँ नेपाली गीतहरू बज्थे । गीत बज्दा ‘गीतिका’ मा नोटेसन हेर्थे । त्यसबेला मसग लाखौंको सम्पत्ति भएको जस्तो हुन्थ्यो । दार्जिलिङमा बस्ने नेपाली गायकगायिकाका गीत सुन्दै नोटेसन हेर्दा मैले धेरै सिक्ने मौका पाएँ । त्यो पुस्तकले मलाई ऊर्जा मिल्यो ।
गीत गाउन मलाई रहर लाग्थ्यो नै समय पनि मिल्थ्यो । गाउँघरमा हुने पूजाआजा र पुराणमा पहिले मैले नै गाउनुपर्थ्यो । प्रस्तावित माविमा भविष्य पुराण लगाएको थियो । सुरुमा हार्मोनियम बजाउँथें । भजन गाउँथें । प्रसाद बाँड्दा पनि मलाई नै पहिलो चाहिन्छ भनेर जिद्दी गर्थें । प्रसादमा पुवा हुन्थ्यो । हरेक दिन ३० देखि ५० जनाले पुराण सुन्थे । धार्मिक नाचगान हुन्थे । पुराणको अन्त्यमा अरू गीत गाइन्थ्यो ।
उसबेलाको समाज अलि पुरानो खालको थियो । मैले गीत गाउँदा बुबा भने यो काम बाहुनका छोराले गर्ने काम होइन भन्नुहुन्थ्यो । बुबा सधैं, ‘यो त दलितले गर्ने काम हो’ भन्नुहुन्थ्यो । तर हाम्रा त साथीभाइ नै दलित थिए । हामीले त्यस्तो भेद कहिल्यै महसुस गरेनौं ।
हामी स्कुल पढ्दा बिदामा गोठालो जान्थ्यौं । काकाका छोरा भाइ गणेश पनि गोठालो जान्थे । हामी नाम्जे ढाडमा गोठालो जान्थ्यौं । मलाई बाख्रा हेर्न पठाइन्थ्यो । कहिले त बिहानभर गाईवस्तु चराएर पनि स्कुल जानुपर्थ्यो । गोठालो जाँदा धनबहादुर, भाई गणेश, दाइ खगेन्द्र, लोकबहादुर, केशव, सञ्जय, युवराज साथी हुन्थे । हामी लङजम्प र हाइजम्प खेल्थ्यौं । भोगटे र झुम्राको भलिबल खेल्थ्यौं । स्कुलमा कुनै पोसाक थिएन । कमिज र सुरुवाल लाउँथ्यौं । बुबाआमाले दसैंमा एक जोर र जाडोपछि अर्को जोर कमिज-सुरुवाल सिलाइदिनुहुन्थ्यो । अरू बेला हाफपेन्ट लाएरै स्कुल जान्थ्यौं । चप्पल लाउने चलन थिएन । कक्षा १० मा पढ्दामात्र मैले चप्पल लगाएँ । हामी विद्यार्थी त फोहोरी देखिन्थ्यौं । शिक्षक नै सुकिला हुन्थे ।
कापी र कलमको चलन थियो । मसीचाहिं चक्की घोलेर बनाउनुपर्थ्यो । असाध्यै फारो गरेर चलाउँथ्यौं । त्यहीँका बजारमा कापी र कलम किन्न पाइन्थ्यो । धनीका छोराछोरी चार आनाका कापी किन्थे । हामी भने एक र दुई आनाका कापी किन्थ्यौं । खाजा खान एक साताका लागि एक आना मिल्थ्यो । हामी मिठाई खान्थ्यौं । खुर्मा, प्याजी खान्थ्यौं । घर आएपछि त भुटेका मकै, उसिनेको स्कुस खान्थ्यौं ।
चिउरा त दसैंमा खाइन्थ्यो । दसैंमा चिउरा खान पाउँदा खुबै रमाइलो लाग्थ्यो । त्यसबेला लिङ्गे र रोटे पिङ लगाइन्थ्यो । बढीचाहिं लिङ्गे पिङ हुन्थे । पिङ धेरै खेलिन्थ्यो । दसैंमा खसीबोका ३/४ सयमा आउँथे । १२ रुपैयाँ धार्नी मासु पाइन्थ्यो । म कान्छो छोरो भएकाले आमाले अरू नै बेला पनि मामाघर लानुहुन्थ्यो । मामाघर इलामकै श्रीअन्तु हो । तर टाढा भएकाले मामाघर कमै गइयो । दसैंमा मामाघरमा दुई आना दक्षिणा दिनुहुन्थ्यो । श्रीअन्तुबाट दार्जिलिङ, मिरिक नजिकै थिए । हामी घुम्न जान्थ्यौं । त्यहाँका टेलिफोनका तार देखाउँदै आमा ‘वारलेस’ भन्नुहुन्थ्यो । आमाले ‘वायरलेस’ भन्नुभएको रहेछ ।
हाम्रो घरमा दाइले ग्रामोफोन ल्याउनुभयो । उहाँले आफ्नो ससुरालीबाट ल्याउनुभएको थियो । त्यो हातले घुमाएर बजाइन्थ्यो । गायकीका लागि त्यो पनि प्रेरणाको स्रोत बन्यो । ग्रामोफोनमा मैले, ‘वारिपारि बादल बीचमा, नेपाल देश अनि नेपाली भेषमा….’ बोलको गीत पहिलोपटक सुनें । दाइ विष्णु गीत गाउनुहुन्थ्यो । म त्यही सुरमा हार्मोनियम बजाउँथेँ । हार्मोनियममा ‘वारिपारि’ मात्र मिल्दा म फुरुंग हुन्थेँ । ग्रामोफोनमा हामीले स्वस्थानी कथा सुन्थ्यौं । त्यो नेपालीमा थियो । धेरैवटा रेकर्ड चक्का थिए । ती चक्का भारतको एचएमभी कम्पनीमा रेकर्ड गराएर ल्याइएको थियो ।
तेर्‍ह वर्षको हुँदा पहिलोपटक मैले दार्जिलिङमा बोल्ने सिनेमा हेरेँ । त्यो हिन्दी सिनेमा थियो । उसबेला मैले खुबै सुनेका हिन्दी गीत ‘हवामा उड्ता जाए, मेरा लालदोपट्टा मलमलका..’ र ‘हो हो मुझे किसिसे प्यार हो गया…’ थिए ।
हामीले स्कुलमा अंग्रेजी, नेपाली, गणित, सामान्य विज्ञान, प्रकृति परिचय, भूगोल, इतिहासजस्ता विषय पढ्यौं ।
स्कुल पढ्दाका साथी महेश ढकाल, गोविन्दनारायण घिमिरे, जयनारायण नेपाल, मदनकुमारी केसी (खत्री), सीता आचार्य हुन् । म साथीभाइलाई धेरै सम्झन्छु ।
अन्त्यमा, हामीले ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नुपर्छ । हाम्रो मान्छे नबनेर राम्रो मान्छे बन्नुपर्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ असोज २५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<