उता जस्तो, यता त्यस्तै
बच्ची मिश्रले लामो समयसम्म शिक्षिका भएर काम गर्नुभएको छ । उहाँले चालिस वर्ष रत्नराज्य लक्ष्मी बालिका विद्यालयमा पढाउनुभयो भने । दुई वर्ष महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा पढाउनुभयो । सप्तरी जिल्लाकै पहिलो शिक्षिका मिश्रले स्थानीय पत्रिकामा मैथली भाषामा धेरै लेखहरू लेख्नुभयो । उहाँले लामो समयसम्म राजविराजबाट प्रकाशित हुने ‘मीथिला साप्ताहिक’ मा ‘सखा बहिनपा’ स्तम्भ लेख्नुभयो । सन् १९४५ डिसेम्बर ३० (वि.सं. २००२ साल) मा भारतमा बिहार राज्य, दरभंगाको जयनगर जन्मेकी मिश्रको १३ वर्षको उमेरमा नेपालको राजविराजमा विवाह भयो । बी. ए. र बी.एड. गरेकी मिश्रले आफ्नो क्षेत्रमा समाजसेवा गरेर नाम कमाउनुभएको छ । दलित समुदायमा चेतना फैलाउन गठित ‘मैथिल महिला परिषद्’ मा उहाँले काम गर्नुभएको छ । विभिन्न संस्था एवं निकायबाट दुई दर्जनभन्दा बढी सम्मान एवं पदक पाएकी मिश्रका बाल्यकालका केही सम्झना :
म जयनगरमा हुर्के । जयनगर रेलमा गोपालमान श्रेष्ठ क्याशियर हुनुहुन्थ्यो । उहाँकी छोरी हिरण्यप्रभा श्रेष्ठ मेरी साथी थिइन् । उनलाई हामी मीना भनेर बोलाउँथ्यौं । उनले मलाई नेपालका बारेमा सुनाउँथिन् । मीनाका दाजूभाई थिए । सबैको त नाम मलाई याद छैन । कसैको याद छ- मदनमान, महेशमान, मञ्जुलमान ।
रेलयात्रामा आएका गरिब नेपाली देख्दा देशभरी नै यस्तै मानिस होलान् जस्तो लाग्थ्यो । तर १३ वर्षको सानै उमेरमा बिहे भएर म नेपाल आएँ । यहाँको शहर जस्तो थियो, भारतको पनि त्यस्तै थियो । त्यहि त जयनगरमा मान्छे पढ्न जान्थे । अलि गाउँतिर पढ्ने चलन थिएन् । गाउँ पस्यो भने भारतमा पनि गरिब थिए । नेपालका गाउँमा पनि गरिबी थियो । अहिले पनि पनि त्यस्तै छ ।
हामीले काठको फल्याक छेडेर लेख्ने बनाएका थियौं । त्यसमा कराईको पिंधको कालो पोत्थ्यौं र सेतो कमेरोले लेख्थ्यौं । पछिपछि मसीका चक्कि आए । तीनै चक्की पानीमा घोलेर बाँसको कलमले लेख्न थाल्यौं । भारतमा होस् वा नेपालमा त्यसबेला लेख्ने सामग्री त्यस्तै हुन् ।
म सानो छँदा शिक्षिका बन्न चाहन्थे । बुबा ब्रजनन्दनले आमाको निधन भएपछि अर्को विवाह गर्नुभयो । दुवैतिरबाट हामी दश सन्तान हौं । तीन भाई र ७ बहिनी छोरी । म चाहिं जेठी हुँ । बुबा हेडमास्टर हुनुहुन्थ्यो । हामी स्कुलको क्वार्टरमा बस्थ्यौं । बुबाले नै पढ्न उत्साहित गर्नुभयो । बुबाले हामीलाई मात्र होइन्, त्यहाँका गरिब-दुःखीलाई पनि पढाउन हरेक प्रयास गर्नुहुन्थ्यो । चन्दा उठाएर गरिबहरूलाई पढाउने काममा उहाँ सधैं लागिरहनुहुन्थ्यो । बुबा बिहानदेखि बेलुकासम्म स्कुलमै बिताउनुहुन्थ्यो । उहाँले पढाएका नेपालकै धेरै मानिस अहिले माथिल्लो तहमा छन् ।
म पहिले जमुनाधर बालिका विद्यालयमा पढें । उक्त विद्यालय प्राथमिक विद्यालय थियो । त्यसपछि म जयनगर उच्च मा.वि.मा पढें । त्यहाँ कक्षा ११ पढेपछि मेरो विद्यालयको पढाई सकिएको हो । जयनगर उच्च मा.वि.मै बुबा हेडमास्टर हुनुहुन्थ्यो । उक्त विद्यालयमा डा. रामबहादुर सिंह, शमशेरजंग राणा, पूर्वप्रधानमन्त्री तुल्सी गिरीले पढेका हुन् ।
शनिबारका कुरा त्यत्तिकै रमाइला छन् । त्यसदिन हामी गुरुलाई दक्षिणा दिन जान्थ्यौं । हामी फिभन्दा पनि चामल, तरकारी दिन्थ्यौं । उहाँहरू भिजाएको चामल र गुँड हामीलाई बाढ्नुहुन्थ्यो । गुरुहरूलाई देवता नै ठान्ने जमाना थियो ।
शमशेरजंग राणा चाहिं काठमाडौंबाट जयनगर जाँदा हामीलाई गुदपाक लगिदिनुहुन्थ्यो । उनीहरू बुबासँग ट्युसन पढ्थे । बुबा अंग्रेजीका शिक्षक हुनुहुन्थ्यो । बुबा भन्नुहुन्थ्यो, ‘नेपालीहरू सार्है इमान्दार हुन्छन् । मैले ट्युसन पढाएको फि तिर्छन् । कहिल्यै छैनन् भन्दैनन् । तर यहाँका विद्यार्थीहरू उत्तिको कहाँ इमान्दार छन् र ?’ त्यसो त बुबा सधैं महात्मा गान्धीका कुरा गर्नुहुन्थ्यो । अनुशासनमा म सधैं एक नम्बर थिएँ । हेडमास्टरकी छोरी भएर मैले सधैं आफूलाई असल बानीमा बस्ने मानिस बनाएँ । मैले चकचक र बदमासी गरिन ।
एकपटकको कुरा हो । मैलै बाटोमा खसेको पैसा टिपेर घर ल्याएँ । त्यो कुरा बुबाले थाहा पाउनु भयो । उहाँले कान समातेर गाली गर्नुभयो । आइतबार सधैं भिखारी आउँथे । मैले त्यहि पैसाले खानेकुरा किनेर भिखारीले खुवाएँ ।
हामी स्कुलमा पढ्दा अंग्रेजी, गणित, हिन्दी, भूगोल, विज्ञान जस्ता आठ विषय पढ्थ्यौं । मैथिली ऐच्छिक विषय थियो । मलाई गृहविज्ञान र हिन्दी विषय मनपर्थ्यो । मैले लामो समय शिक्षण गर्दा पनि गृहविज्ञान नै पढाएँ ।
मलाई ब्याडमिन्टन, क्यारेम, टेनिस, रिङ, कपर्दी, डोरी नाघ्ने खेल मनपर्थ्यो । म नेसनल क्याडेट क्रप्स (एनसीसी) मा भाग लिन्थे । त्यो स्काउटजस्तै हो । हामी स्कुल जाँदा कुर्ता र सुरुवाल लाउथ्यौं । त्यसबेला स्कुलका किताब प्रशस्त पाइन्थे । स्कुलबाट कहिलेकाहीं शैक्षिकभ्रमण जान्थ्यौं ।
स्कुलमा हुने प्रतियोगितामा पनि म भाग लिन्थे । स्कुलमा चम्चादौड, अन्धो दौड, म्युजिकल चियर, वादविवाद हुन्थे । हामी नाटकमा पनि सहभागी हुन्थ्यौं । तर केटा र केटी नाटकमा भाग लिंदैनथे । सबै केटी हुन्थे । केटीलाई नै केटा बनाइन्थ्यो । मलाई ‘बालक ध्रुव’ को नाटकमा सुनितीको भूमिका दिइएको थियो । स्कुलमा राम्रो मैथिली बोल्दा पुरस्कार पाएको पनि मलाई याद छ ।
आमा म नौ वर्षकी हुँदा बित्नु भएकाले म नै साना भाईबहिनीको अभिभावक भएँ । सबैलाई पढाउने र स्याहार गर्ने काम मैले गरें । आमाले अर्को विवाह गरेपछि मैले कान्छी आमालाई समेत पढाएँ । उहाँ सानै हुनुहुन्थ्यो ।
एकपटकको कुरा हो । एकजना महिलाको सन्तान भएनन् । मैले ती महिलाका बारेमा डाक्टरलाई सबै कुरा सुनाएँ । डाक्टरले दिएको औषधी ती महिलालाई दिएँ । त्यो पनि काखीमा लुकाएर लगेर दिएकी हुँ । उनकी सासू कडा स्वभावकी थिइन् । उनकी सासूले उनलाई औषधी खान दिन्न थिइन् । सासूलाई अन्यत्र पठाएर मैले उनलाई औषधी दिएँ । उनले औषधी बाकसमा लुकाईन् । सासू बाहिर गएको मौका पारेर औषधी नियमित खाइन् । उनका सन्तान जन्मे । समाजमा सासू र बुहारीको सम्बन्ध पहिले यस्तै थियो । सासूहरू बुहारीलाई राम्रो व्यवहार गर्दैनथे । बुहारीहरूले मुख छोपेर बस्नुपर्थ्यो । अहिले परिवर्तन भइसक्यो ।
अर्को एउटा रमाइलो घटना छ । मेरो विवाह भइसकेको थियो । म माइत जान्थे । तर पनि त चौध वर्षकै थिएँ । मेरै छिमेकमा एकजना भाउजू हुनुहुन्थ्यो । उहाँका पति काम गर्न कलकत्ता जानुभएको थियो । कमाएर पठाएको पैसा सबै सासूले पाउँदि रहिछन् । ती भाउजूले मलाई भनिन् । मैले एउटा पत्र लेखेर ती दाईकहाँ पठाईदिएँ । त्यसपछि ती भाउजूले एकैपटक दुई सय रुपैयाँ पाइन् । यो कुरा उनकी सासूले थाहा पाइन् । मलाई गाल पर्यो ।
बेलाबेला हामी पिकनिक पनि जान्थ्यौं । गफगाफ गथ्र्यौं । रमाइलो हुन्थ्यो ।
त्यसबेला त्यहाँ रेल र बस चल्थ्यो । तर अहिलेजस्तो धेरै थिएनन् ।
गर्मी बिदामा हामी गाउँ जान्थ्यौं । आँप र जामुन फलेको हुन्थ्यो । हामी खुब खान्थ्यौं । गाउँ जाँदा त्यहाँका दुःख सुनेर आउँथे । पछि फेरि त्यहाँ पुग्दा म तीनै कुरा लेखेर लान्थे । गाउँलेहरूलाई सुनाउँथे । गाउँलेहरू हाम्रा दुःख यसले कसरी थाहा पाई ? भनेर छक्क पर्थे । मलाई त देवता ठान्थे । कस्तो थियो त्यो संसार ?
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ साउन १८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)