स्नेह पोखरेल सानो छँदा

आरु टिप्दा एउटा हातमा आरु, अर्को हात हाँगामा

स्नेह पोखरेल समाजसेवी हुनुहुन्छ । उहाँ विराटनगरमा बस्नुहुन्छ । त्यहाँका करिब डेढ दर्जन विभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आउनुभएको छ । उहाँ वि.सं. १९९८ साउन गुरु पूर्णिमाका दिन ललितपुरको कुपन्डोलमा जन्मनुभएको हो । पिता लोकराज र माता दुर्गादेवीकी छोरी स्नेह सानैमा विवाह भएर विराटनगर जानुभयो । उहाँको परिवारले पढ्न मद्दत गर्‍यो । एस.एल.सी. विवाहपछि पूरा गर्नुभयो । त्यसपछि समाजसेवामा लाग्नुभयो । उहाँले बालसाहित्यमा कलम चलाउन थाल्नुभएको छ । बालबालिकाका लागि लेखेको एउटा पुस्तक (बालकथासंग्रह) चाँडै बजारमा आउँदैछ । यसपटक स्नेह पोखरेलका बाल्यकालका केही सम्झना समेटिएको छः
मेरो पढाइ प्रगति शिक्षा सदन (कुपन्डोल) मा सुरु भयो । त्यसपछि मदन मेमोरियल स्कुल (पुल्चोक) मा पढेँ । यसैबीच मेरो बिहे भयो । बिहेपछि मेरो घर विराटनगर भयो । मैले बालिका विद्यालय (विराटनगर) बाट एस.एल.सी. पास गरेँ । उसबेला सानैमा विवाह हुन्थ्यो । यो प्रथा अत्यन्त खराब हो । आजकल त्यस्तो हुँदैन । अठार-बीस नभई विवाह भए कानुन लाग्छ ।
हामी प्रगति शिक्षा सदनमा पढ्दा हुल बाँधेर वाग्मती पुग्थ्यौं । बाढी आएका बेला वाग्मती हेरौं-हेरौं हुन्थ्यो । बाढीमा हाम्रा साथीहरू पौडँदै वारपार गर्थें । अरु बेला सफा पानी हुन्थ्यो ।
कहिलेकाही हामी घरमाथिको पाखोमा जान्थ्यौं । ठूलाबडाहरू त्यो पाखोमा ‘भूत छ’ भन्नुहुन्थ्यो । हामी केटाकेटीलाई भूतको के मतलब !? त्यो पाखोमा सल्लाघारी थियो । हामी ७ जना दाजुभाइ-दिदीबहिनी थियौं । मिश्र परिवारकै केटाकेटी भेला हुँदा त निकै हुन्थ्यौं । अझ छरछिमेकका के कुरा ? हामी उमेर मिल्ने भने ४/५ जना थियौं । उमेर मिल्ने जति खुबै मिल्थ्यौं र त्यो पाखोमा भएको ढिस्कोमा पुग्थ्यौं । त्यहाँबाट पूरै काठमाडौं देखिन्थ्यो । अहिले त्यो पाखो छैन । त्यही ठाउँमा अनगिन्ती घर बनेका छन् । मन्त्रीहरूको निवास त्यहीं छ । समिट होटल पनि त्यतै बनेको छ ।
एकपटकको कुरा हो । म ९/१० वर्षकी हुँदी हुँ । मेरो कोठाको झ्यालमा आरुको हाँगो आइपुग्थ्यो । आरु फलेका बेला म तन्किएर आरु टिप्न खोज्थे । एकपटक झ्यालबाट आरु टिप्दा मेरा घर आएकी साथीले मलाई ठेलिदिई । म हुत्तिएँ । एउटा हातमा आरु थियो भने अर्को हातले आरुको हाँगो समाएकी थिएँ । त्यसपटक मलाई चोट लागेन ।
सात सालको क्रान्ति केही सम्झना छन् । हामीले जुलुसहरू देख्यौं । सार्‍है साना भएकाले जुलुसमा चाहिँ गएनौं । जुलुसबाट लखेटिएका मानिस घरमा लुक्न आइपुग्थे । टुँडिखेलमा बालकृष्ण सम र उनका छोरीहरू विरोध गर्न बसेको पनि मैले देखेकी थिएँ ।
भाइ, बहिनी र ममध्ये भाइ सोझो थियो । बहिनी निकै चलाख थिई । बदमासी गर्थी । गाली खाने बेलामा भाइ पर्थ्यो । भाइलाई बचाउन खोज्दा मैले पनि गाली खानुपर्थ्यो ।
हामी साँझ-बिहान पढ्न भनेर काकाघर जान्थ्यौं । हाम्रा काकाका छोरा इन्द्रराज मिश्र हामीलाई पढाउनुहुन्थ्यो । उहाँ कडा स्वभावका हुनुहुन्थ्यो । माया भने गर्नु हुन्थ्यो । उहाँकी श्रीमती भने हामीभन्दा २/३ वर्षमात्र जेठी हुनुहुन्थ्यो । त्यति सानी भएकाले हाम्रै साथी जस्ती हुनुहुन्थ्यो । एकपटक हामीले राम्रो पढेको भए, सुन्तला पुरस्कार दिन ठिक्क पारिएको रहेछ । विचरी भाउजूले कपालको रौं देखाएर सुन्तला देखाइदिनुभयो । उता दाजु इन्द्रले यो कुरा थाहा पाउनुभयो र भाउजूले गाली खानुभयो । हामीले पाठ पढेका थियौं । सुन्तला पुरस्कार त पायौं नै । म त्यति घोक्न सक्दिनथेँ । बहिनी भने घोक्थी । दाइलाई कण्ठ पारेको मन पर्दैनथ्यो ।
कौसीमा अचार सुकाएर राख्या हुन्थ्यो । त्यो अचार हाकिमहरूलाई दिन भनेर राखिएको हुन्थ्यो । हामी साना केटाकेटी भेला हुन्थ्यौं र बार्दलीबाट छानामा चढेर त्यहाँ पुगी अचार खाइदिन्थ्यौं ।
म रुख चढ्न जान्दथेँ । फलफूल चोर्थेँ । फलफूल खसाल्यो । सबैले पाउँथे । उत्रेर तल आउँदा म चाहिँ रित्तै हुन्थेँ ।
यत्तिको उपद्रो गर्दा पनि हामीले पिटाई खाएनौं । हाम्रो घरमा सम्झाइ-बुझाई गर्ने चलन थियो । साढे चार बज्दा घर आइपुग्नु पर्थ्यो । म हिसाबमा जान्ने थिएँ । १०० मा ९९ ल्याउँथेँ । म कक्षामा दोस्रा हुन्थेँ । म गीत गाउँथेँ । गीत गाउने इच्छा थियो । उस्ताद राखेरै हामीलाई संगीत सिकाइन्थ्यो । म सितार बजाउँथेँ । म स्कुलमा नाटकमा भाग लिन्थेँ । हाजिरीजवाफमा भाग लिन्थेँ । उसबेलाका छोरी भए पनि धेरै प्रतियोगितामा सहभागी हुन्थेँ ।
राज्यमन्त्री भएका सिंहध्वज खड्का हाम्रा अग्रज हुनुहुन्थ्यो । हामी ट्युसन पढ्न अमात्य परिवारकहाँ पुग्थ्यौं । ईश्वरी अमात्यका पिताजी हामीलाई पढाउनुहुन्थ्यो । उहाँ बैंकका कर्मचारी हुनुहुन्थ्यो । उहाँका भतिजा कर्ण अमात्य भने अलि बढी पढ्न चाहन्थे । सबैभन्दा पहिले पुगेर घडीलाई आधा घण्टा ढिलो पारिदिन्थे । साढे आठ बजेको भन्ठानेर उहाँ हामीलाई बिदा गरी वाग्मतीमा नुहाउन जानुहुन्थ्यो । आएर खाना खाएर बैंक जानुहुन्थ्यो । त्यही घडीका भरमा सधैं ढिलो हुन्थ्यो । एकपटक मैले कर्णको बदमासी फेला पारेँ । त्यसपछि उसले कहिल्यै घडी ढिलो पारेन ।
हाम्रो टोलमा हाम्रै उमेरमा १०/११ जना छोरीहरू थियौं । सबै लस्करै बसेर एकाघरमा खाजा खान्थ्यौं । खुब रमाइलो हुन्थ्यो । हाम्रो घर वरपर धान रोपिन्थ्यो । तर धान खेतीको काम अरुलाई दिएको थियो । धान रोप्ने बेलामा हामीलाई लस्करै राखेर खाजा दिइन्थ्यो । त्यो खेती गर्नेहरूले नै खाजा खुवाउँथे । उनीहरू नेवार थिए । उनीहरूको खाजामा छोयला, कचिला हुन्थ्यो । त्यो पनि मैले खाएकी छु । धान रोप्दा हिलो खेल्थ्यौं । निकै रमाइलो हुन्थ्यो ।
हामी खुब रमाइलोसँग होली खेल्थ्यौं । बिहान पानीमा रंग मिसाएर होली खेल्यो । खाना खायो । लुगा फेर्‍यो र सेता लुगा लगाएर फेरि अबिर खेल्थ्यौं । एकपटक होलीका दिन बुबाको एकजना साथी आउनुभयो । उहाँले सेता लुगा लगाउनुभएको थियो । होली खेल्न आउनुभएको रहेछ भनेर हामीले अबिर खन्याइदियौं । त्यसो होइन रहेछ । उहाँले बरखी बार्नुभएको रहेछ । त्यो कुरा थाहा पाउने बित्तिकै हामी छिंडीमा गएर बस्यौं । त्यहाँबाट दुई घण्टापछि मात्र निस्क्यौं । तर हामीले अबिर खन्याएको कुरा ढाकछोप गरियो । हामीलाई बचाइयो । बुबाका साथी फर्केपछि मात्र हामी छिंडीबाट निस्क्यौं ।
त्यसबेला कुपण्डोलछेउसम्म गाडी पुग्थ्यो । भित्री भागसम्म जाँदैनथ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६३ भदौ २३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<