छोरीले पढ्न पाउनुपर्छ एउटा विद्रोह
जलेश्वरी श्रेष्ठ साहित्यकार हुनुहुन्छ । उहाँले बालसाहित्यका क्षेत्रमा पनि धेरै काम गर्नुभएको छ । उहाँले ‘परीको घर’ (बालकथासंग्रह, २०६०), ‘मेहनती गौरी’ (बालउपन्यास, २०६०) र ‘तीसाको जन्मदिन’ (बालकथासंग्रह, २०६१) जस्ता बालसाहित्यका आधा दर्जन कृतिसमेत प्रकाशित गर्नुभएको छ । उहाँले ‘देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार’, ‘गोमा स्मृति पुरस्कार’ र ‘नवप्रतिभा पुरस्कार’ स्थापना गर्नुभएको छ । उहाँ २००३ फागुनमा काठमाडौंको वटुटोलमा पिता शरणलाल र माता हरिदेवीकी छोरीका रूपमा जन्मनुभएको हो । यसपल्ट उहाँको बालककालका केही सम्झना प्रस्तुत छः
मैले थाहा पाउँदा हाम्रो घरमा पनि पढ्ने चलन थियो । छोरीहरूले घरबाहिर गएर पढ्न गार्हो हुने भएकाले घरमै गुरु राखिएको थियो । काठमाडौंमा भए पनि हाम्रो संयुक्त परिवार थियो । काका र हाम्रो परिवार सँगै बस्थ्यो । सबै दिदीबहिनी, दाजुभाइलाई एउटै गुरुले पढाउनुहुन्थ्यो । मलाई ‘बच्चुमामा’ ले क ख पढाउनुभएको हो । ‘साहिला वैद्य बा’ले पनि पढाउनुभयो ।
ठूला भएपछि दाजुभाइलाई मात्र स्कुल भर्ना गरियो । हामीलाई स्कुल पठाइएन । म र दिदीबहिनी घरमै बस्थ्यौं । त्यत्तिकैमा १/२ वर्ष बित्यो । त्यसबेला महाँकालमा स्कुल खुल्यो । दिदीहरूलाई दाइहरूले भर्ना गरिदिए । आमा र काकीलाई काम सघाउनु परेकाले दिदीहरूको पढाइ छुट्यो । यसैबीचमा मैले छोरीले पनि पढ्न पाउनुपर्छ भनेर विरोध गरेँ । कसैले पनि छोरी पढाउन त्यति चासो दिएनन् । मलाई पढ्ने इच्छा थियो । पछि आमासँग २ रुपैयाँ मागेर महाँकाल स्कुलमा भर्ना भएँ । म त्यसबेला ७/८ वर्षकी हुँदी हुँ ।
त्यसबेलाको एउटा रमाइलो कुरा याद छ । तेन्जिङ शेर्पा सगरमाथा चढेर काठमाडौं आएका थिए । हामी ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा….’ भन्ने गीत गाउँदै झण्डा हल्लाउँदै सडकछेउ उभिएका थियौँ ।
म धेरै राम्ररी पढ्न चाहन्थेँ । अलिपछि बोर्डिङ स्कुल खुल्यो । मलाई बोर्डिङ स्कुल पढ्ने मौका मिल्यो । म स्कुल जान थालेपछि काकाका छोरीहरू पनि स्कुल जान थाले । उनीहरूलाई न्ह्योखास्थित कन्या मन्दिरमा पठाइयो । पछि ठूल्दाइ मधुवनलालले मरुटोलस्थित शान्ति निकुञ्ज स्कुलमा कक्षा ४ भर्ना गरिदिनुभयो । कक्षा ६ सम्म त्यहीँ पढेँ । कक्षा ७ देखि कन्या मन्दिरमा सरेँ । कक्षा ७ मा पढ्दा मैले नेपाल भाषा (नेवार समुदायको भाषा) मा कविता लेखेको याद छ । त्यसबेला साहित्यको छुट्टै कक्षा हुन्थ्यो । ध्रुवलाल श्रेष्ठले कविता सिकाउनुहुन्थ्यो । त्यसबेला टोलटोलमा बर्सेनि विराट नेपाल भाषा साहित्य सम्मेलन हुन्थ्यो । गणबहालमा भएको एउटा सम्मेलनमा मैले नेपाल भाषामा लेखेको एउटा कविता सुनाएँ । कविताको शीर्षक ‘सुथ’ (बिहान) थियो । मैले त पुरस्कार पनि पाएँ ।
त्यो बेला हाम्रो मनोरन्जन गर्ने उपाय केही थिएन । हामी दाजुभाइ, दिदीबहिनी र साथीभाइ एउटै घरमा भेला हुन्थ्यौँ । सबै एकै ठाउँमा पढ्थ्यौँ । आ-आफैं कविता लेखेर सुनाउँथ्यौँ । रमाइलो गर्थ्यौं । बहिनी मीनाले मैले कविता लेखेको कागज कुकुरको पुच्छरमा बाँधिदिन्थी । कुकुर कुद्थ्यो । हामी खुब हाँस्थ्यौँ । मीना भन्थी- ‘तिम्रो कविता त कुकुरको पुच्छरमा ।’ म त्यसबेला नै निकै राम्रा कथा लेख्थी रहेछु । किनभने मेरा कथा सुनेर आमा, काकी, बज्यै (हजुरआमा) हरू कहिले रुन्थे त कहिले हाँस्थे ।
एउटा राम्रो घटना छ । मेरी ठूली फुपूका छोरीमात्र जन्मिए । छोरीमात्र जन्मिएकाले उहाँ रुनुभयो । छोरी भनेपछि अलि हेप्ने चलन थियो । मलाई, ‘हामी छोरी त सन्तान होइनौँ कि क्या हो ?’ जस्तो लाग्यो । अनि छोराछोरीमा पनि एउटैमात्र छोरी होस् जस्तो पनि लाग्यो । एउटीसम्म छोरीले राम्रो व्यवहार पाउँछन् जस्तो लाग्यो । फुपूका धेरै छोरीको घटनाले मलाई धेरै सोच्न बाध्य गर्यो । मैले एउटा नाटक बनाए । एउटा राजाले छोरी नजन्मिउन् र छोरामात्र जन्मिउन् भन्छ । वास्तवमा छोराले मात्र संसार चल्दैन । यो नाटक देखाउँदा आमाहरूलाई ‘कुरा सही हो’ भन्ने भएछ । मैले यो नाटकलाई पछि ‘छोराछोरी बराबर’ शीर्षकमा कथा बनाएँ । यो कथा मेरो बालकथासंग्रह ‘परीको घर’ मा छ ।
मेरो भाइ मभन्दा दुई वर्षले सानो थियो । ऊ अलि बढी खान खोज्थ्यो । मेरो भागसमेत झिकेर दिनुहुन्थ्यो । मेरा दाजुहरूलाई चाहियो भने पनि हामी दिदीबहिनीको झिकेर दिनुहुन्थ्यो । हामीलाई छोरा भएर जन्मनु पर्थ्यो कि जस्तो पनि लाग्थ्यो । छोराहरूलाई मात्र माया गर्दा हामी झगडा गर्थ्यौं । म त्यो सहन सक्दिनथें । म त विवाद गरिहाल्थेँ । अन्तमा म ‘नजाती’ हुन्थेँ ।
धेरैपछिको कुरा हो । बज्यैको निधन भयो । अनि बाजे (हजुरबुबा)ले अर्को बिहे गर्नुभयो । काकाहरूको निधनपछि घरमा काकीहरूमात्र हुनुहुन्थ्यो । काकीहरूले चाहिँ किन बिहे नगर्ने ? मैले यसै विषयमा विद्रोह गर्न खोज्दा बाजेले एक थप्पड हिर्काउँदै भन्नुभयो- ‘सानो मान्छे भएर यति ठूला कुरा गर्ने हो ?’
हामी साथीभाइ भेला भएर ‘तधँ बहाल’ जान्थ्यौं । त्यो बहाल पार्कजस्तो थियो । कहिले हिंडेरै स्वयम्भू पुग्थ्यौँ । साउनभर स्वयम्भू दर्शन गर्न जाने पर्व हुन्थ्यो । हामी पौडी खेल्न वाग्मती र विष्णुमती पुग्थ्यौँ । बालुवामा सुनका कणजस्ता कण भेटिन्थे । हामी ती कण बटुल्थ्यौँ । वाग्मती र विष्णुमतीको पानी सफा थियो । अञ्जुलीमा उठाएर पिउँथ्यौँ ।
भर्खर-भर्खर रञ्जना सिनेमा हल बनेको थियो । कहिलेकाहीँ स्कुल नगई सिनेमा हेर्न पुग्थ्यौँ । किताब-कापी जामाभित्र लुकाउँथ्यौँ । हामी त्यत्तिका जुत्ता-चप्पल लाउँदैनथ्यौँ ।
म स्कुलमा हुने खेलकुदमा भाग लिन्थेँ । दौडमा भाग लिन्थेँ । यो मेरो रहरमात्र थियो । म त्यति राम्रो खेलाडी होइन । पढाइमा ठिक्क मात्र थियो । त्यसबेला अंग्रेजी, नेपाली, नेपाल भाषा (ऐच्छिक विषय), गणित, भूगोल, इतिहासजस्ता विषय पढ्नुपर्थ्यो । कृष्णचन्द्रसिंह प्रधानले नेपाल भाषा पढाउनुहुन्थ्यो । भीमदर्शन रोकायाले अंग्रेजी पढाउनुहुन्थ्यो । केदारनाथ न्यौपाने ‘हेड टिचर’ हुनुहुन्थ्यो । ठूल्दाइ भन्ने सरले गणित र नेपाल भाषाका लेखक समरमान तुलाधरले नागरिक शिक्षा पढाउनुहुन्थ्यो । उता शान्ति निकुञ्जमा गजसुन्दर मल्लले अंग्रेजी पढाउनुहुन्थ्यो ।
चोलाक्षेँ गल्लीमा मेरो मामाघर थियो । एकपटक म मामाघर गएकी थिएँ । अजी (बज्यै) ले सानीमालाई २० पैसा दिनुभयो । त्यो पैसा सानिमाले लिनु भएन र भुइँमा फाली दिनुभयो । सबै हिंडेपछि मैले टिपेँ । त्यसबेला म १०/११ वर्षकी हुँदी हुँ । पैसा लिएर बारा र चटामारी किनेँ । घरमा ल्याएँ । आमा, दिदी-बहिनी सबैलाई बाँढेर खाएँ । आमाले पैसा कहाँ पायौँ भनेर सोध्नुभयो । मैले बाटोमा भेटेको भनेँ । पछि आमा मामाघर जाँदा कुरा खुल्यो । मैले पैसा ल्याएको आमाले थाहा पाउनुभयो । घर फर्केपछि बेस्सरी चुट्नुभयो ।
मेरी फुपूको घर पशुपतिमा थियो । हामी हिंडेर जान्थ्यौँ । त्यसबेला गाडी चल्दैनथ्यो । म डोरी नाघ्दै त्यहाँ पुग्थेँ र त्यसरी नै फर्कन्थेँ ।
मेरी मितिनीको घर बाङ्गेमुढामा थियो । चाडपर्वमा मलाई त्यहाँ बोलाउँथे । एउटा भोजजस्तै थियो । हामी खाइरहेका थियौं । भाँडामा धेरै रसवरी राखिएको थियो । मितआमा काम गर्न भित्र गएको मौका छोपी मैले कप्याककुपुक धेरै रसवरी खाइदिएँ । रक्सी पनि खाएँ । नेवार समुदायमा सत्कार गर्न रक्सी राखिएको हुन्छ । म त धेरै मातेछु । मलाई बोकेर घर ल्याउनुपर्यो ।
त्यसबेलाका यस्ता धेरै सम्झना छन् । गल्ती पनि धेरैपटक गरिएको छ । एक्लै सिनेमा हेर्न जाने, पैसा टिप्ने जस्ता खराब काम गरेकी छु । यस्तो गर्नुहुन्न ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६३ साउन ५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)