कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले दिनभर समाचारको भिडमा हराउँछन। समाचार कुनै रसीला हुन्छन, कुनै निरश। तर जब उनी साहिय लेखनमा घोत्लीन्छन, बेग्लै संसारमा पुग्छन। समाचारहरुको भिडबाट केही क्षण उम्कीएर उनले ‘पल्पसा क्याफे’ लेखे। जसले मदन पुरस्कार पायो। सक्रिय पत्रकारितामा आउनुअघि पनि वाग्लेसहित अरु दुई स्रष्टाहरुको ‘झ्याल’ नामको संयुक्त कविता संग्रह प्रकाशित भएको थियो। ‘साहित्यलाई निरन्तरता दिने धोको त छ। तर, समाचार पस्कनुपर्ने व्यस्ततताले भ्याइएको छैन’, वाग्ले भन्छन्।
हो, पत्रकारहरुको ठूलै जमात पत्रकारिता र साहित्यमा एकैसाथ लागेको छ। साहित्यका लगभग सबै विधाहरुमा कलम चलाउने कतिपय पत्रकारहरुले आफूलाई परिस्कृत सर्जकका रुपमा स्थापित गरिसकेका छन्। उपनामबाट चिनिने पत्रकारिताका अधिकांश नामहरुको साहित्यसँग पनि उत्तिकै गहिरो सम्बन्ध छ। पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी र उपसभापति शिव गाउँले पनि साहित्यिक पृष्ठभूमिबाटै पत्रकारितामा आएका हुन्। निष्ठुरी इलामका जल्दाबल्दा साहित्यकारका रुपमा चिनिन्थे भने विद्यार्थी जीवनमा गाउँलेले अनगिन्ती क्रान्तिकारी कविताहरु सिर्जना गरेका थिए। शासक–प्रशासकहरुले नचिनून भनेरै शिव गाउँले ‘कोइराला’ थरको साटो ‘गाउँले’ लेखेका थिए। वरिष्ठ पत्रकार हरिहर विरहीको पृष्ठभूमि पनि साहित्य नै हो। बसन्त थापा ‘ऋतुराज’ गीतकार, कवि र नियात्राकार हुन्।
धेरैजसो पत्रकारका सिर्जनाहरु फुट्कर रुपमा प्रकाशित हुँदै आएका छन्। कथा लेखनमा छुट्टै पहिचान बनाइसकेका सरोजराज अधिकारीका कथाहरु थुप्रै पत्रपत्रिकाहरुमा सरोज शार्दूलको नाममा छरपष्ट छन्। पत्रकार यशोदा तिम्सिनाका कविताहरु पनि बेला–बेलामा पत्र–पत्रिकाहरुमा पढ्न पाइन्छन्। कुनै बेला नाटकमा लागेका रमण घिमिरे राम्रा गीतकार हुन। अश्विनी कोइराला गीतकार पनि हुन्।
पत्रकार कुशुम भट्टराईले त गीति एल्वम नै निकालिसकेका छन्। विवश वस्ती, अमृत भादगाउँले, राजेश कोइराला, देवेन्द्र भट्टराई र फूलमान वल साहित्यका राम्रै हस्ताक्षरमा गनिन्छन्। यी चारै जनाका कृतिहरु प्रकाशित भइसकेको छ। पिटर जे कार्थकको पुस्तक ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ पाठकको हातमा परिसकेको छ। अनमोलमणि पौडेलको ‘नदी किनारमा उभिएर’, राजेन्द्र पराजुलीको ‘जाडोमा भोक’, अनामिका र गोवर्द्धन पूजाको पीडा पत्रकारका साहित्यिक कोसेली बन्न पुगेका छन्।
डम्बरकृष्ण श्रेष्ठ, मनोज दाहाल, छत्र कार्की, राजकुमार दिक्पाल, व्याकुल पाठक, पदम गौतम पनि समाचारसँगै साहित्य रचना गर्ने व्यक्तित्व हुन्। डम्बरकृष्ण श्रेष्ठको साहित्यिक नाम अनुशील हो। उनको ‘अनुशिल’ नाम जनगायक रामेशले जुराइदिएका हुन्। विमला स्मृति पुस्तकालय धरानले उनलाई ‘युवा प्रतिभा’ पुरस्कार प्रदान गरिसकेको छ। अनुशिल भन्छन्– ‘जीविकोपार्जन पत्रकारिता भएकाले म पहिला पत्रकार अनि साहित्यकार हुँ।’ त्यस्तै मनोज दाहालको साहित्यिक नाम ‘विवश मनोज’ र छत्र कार्कीको ‘छत्र क्षितिज’ हो।
झलक सुवेदी, कपिल काफ्ले र विजय चालिसेले पनि साहित्य र पत्रकारितामा उत्तिकै उचाइ भेटेका छन्। पत्रकार हरि अधिकारीको कविता संग्रह हालै प्रकाशित भएको छ। कृष्णज्वाला देवकोटाको निवन्ध लेखनले छुट्टै स्यावासी पाएको छ। लोकतन्त्र नेपालका शशी लुमुम्बुको ‘पहाड बूढो’ शीर्षकको कविता संग्रह प्रकाशीत छ। साहित्यमा बढी सुनिने नारायण ढकाल, कृष्ण धाराबासी, अग्निशिखा, चंकी श्रेष्ठ आदि नामहरु पत्रकारितामा पनि उत्तिकै सक्रिय थिए र छन्। कृष्ण धाराबासी साहित्यमा आउनुअघि पत्रकारिता गर्थे। चंकी श्रेष्ठ दि राइजिङ नेपालका भाषा सम्पादक हुन्।
समाचार र साहित्यलाई एकैसाथ अगाडि बढाउने पत्रकारहरुको संख्या मोफसलमा अझ बढी छ। पूर्वका प्रदिप मोयाङ्गबोको ‘पुरुष गन्ध’, प्रतिभा विवश राईको ‘जूनसित बिलाएको एक रात’चर्चित कृति हुन्। शंकर खरेल, जनक ऋषि राई, जसकुमार राई, राजेश विद्रोही, गोपाल देवान, गणेश साम्पाङ्ग, भूपेन्द्र तिम्सिना, बिमला तुम्खेवा आदि पत्रकारको सम्बन्ध साहित्यसँग पनि उत्तिकै गाढा छ। केही वर्षअघि पूर्वका १५ जना पत्रकारहरुको सामूहिक कविता संग्रह ‘सप्तकोशीको किनारबाट’ प्रकाशित भएको थियो। धरानबाट प्रकाशित ‘ब्लाष्ट’ दैनिकका सम्पादक राजकुमार कार्की कविता पनि लेख्छन्।
– सन्तोष बराइलीले लेखेको यो स्तम्भको पढ्न यो लिंकमा जानुहोस् । पेजमा दोस्रो लेखका रुपमा छ ।