– राजेश कोइराला
म ताप्लेजुङ जिल्लाको साँघुमा जन्मिएँ । मोरङ जिल्लाको रमाइलो गाउँमा हुर्किएँ । पढाईमा राम्रै भएकाले मैले बनाएको ‘नोट कपि’ राम्रो हुन्थ्यो । ‘नोट कपि’ राम्रो बनाउने बानीले मलाई संकलन गर्ने बानी बसाल्यो । मैले विराटनगरमा विज्ञानमा स्नातक सकें । स्नातकोत्तर पढ्न काठमाडौं आउँदा म दाजू (पत्रका तीर्थ कोइराला) सँग बसें । कहाँको विज्ञानको विध्यार्थी पत्रकारितामा भिज्दै गएँ । यसैमा फँसें ।
मेरो चासो भनेको सामान्यज्ञान, समसामयिक जानकारी हुन थाल्यो । रेडियो, टेलिभिजन र प्रिन्ट मिडियामा करिब एक दर्जन विशेष खालका तालिम पाए पनि म चाहिं दु:खी क्षेत्र- प्रिन्ट मिडियामा आईपुगे । २०५२ सालमा मेरो भेट कवि अर्जुनप्रसाद पराजुलीसँग भयो । अर्जुनजी, म र एकजना सरकारी जागिरे मित्र व्दारिकाप्रसाद ढकाल (धादिङ, हाल : काठमाडौं) मिलेर एउटा पत्रिका ‘विश्वज्ञान मञ्च’ निकाल्यौं । म उक्त पत्रिकाको सम्पादक थिएँ । अर्जुनजीको व्यवसाय सानो थियो । महत्वाकांक्षा ठूलो । पत्रिका नियमित हुन सक्दैनथ्यो । व्दारिका र मेरा भरमा करिब ६० पृष्ठको पत्रिका नियमित गर्ने काम सजिलो थिएन । त्यसमा पनि करिब ४० पृष्ठ म एक्लैले तयार पारेको सामग्रीले भरिन्थ्यो । त्यसैले पनि नियमित हुन सकेन । त्यो कुरा प्रकाशक (प्रकाशकका रुपमा अर्जुनजीको भाइ केशवको नाम दर्ता थियो) ले बुझ्ने कुरै भएन । अर्जुनजीले पत्रिका बन्द गर्दै किताबको व्यवसाय फैलाउनुभयो । व्दारिका र म त्यो गठबन्धनबाट अलग्गियौं । अर्जुनजीसँगको त्यो भेटले उहाँलाई करोडपतिको बाटोमा लग्यो । उहाँ ठूलो प्रकाशक हुनुभयो । व्दारिकाजी त सरकारी जागिरे आमजागिरे झैं उहाँ हराउनुलाई म अनौठो ठान्दिन । तर म मेहनत गर्न पछि नपर्ने मान्छे ।
२०५६ मा मैले कान्तिपुर पब्लिकेसन्स प्रवेश गरें । म पाँच महिना २४ दिन विदेश पृष्ठको काममा लागे । त्यसपछिको करिब साढे चार वर्ष रात्री डेस्क । २०६० चैत १ देखि औपचारिक रुपमा बालकोसेली ‘कोपिला’ का लागि खटिएँ ।
तर यसबीचमा एउटा नयाँ काम सुरु भयो । मेरो सामान्यज्ञान, समसामयिक जानकारीप्रतिको भोक ‘विश्वज्ञान मञ्च’ले जगाएको थियो । २०५९ मंसिरदेखि ‘सर्वज्ञान मञ्च’ निकाल्न थाले । प्रकाशक पनि म आफैं बसेको छु । हो, यहि पत्रिका निकाल्ने क्रममा मैले २०५९ माघ अंकको तयारी चल्दै थियो । मैले एउटा पत्र फेला पारें । त्यो ‘बालपत्रकारिता तथा बालसाहित्य पुरस्कार’ को थियो । उक्त पुरस्कार धेरै विध्यालय मिलेर स्थापना गरेको उल्लेख थियो, त्यो पत्रमा । मैले ‘सर्वज्ञान मञ्च’ मा उक्त पुरस्कारबारे उल्लेख गर्दा सबै विध्यालयको नाम राखें । (हेर्नुहोस्, ‘सर्वज्ञान मञ्च’ को वर्ष १ अंक ३, पृष्ठ ३६)
मैले ‘जमर्को बालपत्रकारिता पुरस्कार’ उपशिर्षकले यस्तो उल्लेख गरेको ‘सर्वज्ञान मञ्च’ मा छ – बाल पत्रकारिता विकासमा लेखन सम्पादन माध्यमबाट उल्लेख्य योगदान दिएवापत कान्तिपुर दैनिकको शुक्रबारे बालकोसेली ‘कोपिला’का संयोजक शाश्वत पराजुलीलाई ‘जमर्को बालपत्रकारिता पुरस्कार- २०५९’ प्रदान गरिएको छ भने बालसाहित्य क्षेत्रमा स्तरीय बालकथा लेखनको माध्यमबाट योगदान दिने कपिल लामिछानेलाई २०५९ साल ‘जमर्को बालसाहित्य पुरस्कार’ प्रदान गरिएको छ ।
बालबालिकाका लागि सक्रिय लेखन तथा सम्पादनका माध्यमबाट बाल हकहितमा समर्पित युवा पिंढीलाई सम्मान दिन अधिराज्यका एघार विध्यालयव्दारा स्थापित पुरस्कारमा जनही दश हजार एक रुपैयाँ तथा प्रमाणपत्र छ । यी पुरस्कार एलआरआई स्कूल (कलंकी, काठमाडौं), जिलेट उच्च मावि (कालीमाटी, काठमाडौं), भक्तपुर इंगलीस स्कूल (गठ्ठाघर, भक्तपुर), पुष्पसदन स्कूल (कीर्तिपुर), कमल अंग्रेजी आवासिय मावि (बल्खु, काठमाडौं), प्रोफिलिक इंगलीस स्कूल (धुम्बाराही, काठमाडौं), मनकामना बोर्डिङ स्कूल (सर्लाही), होली एन्जल्स बोर्डिङ स्कूल (निजगढ), उज्ज्वल शिशु निकेतन (कीर्तिपुर) र निजगढ गाविस परिवारको पहलमा २०५८ सालमा स्थापना गरिएका हुन् ।
करिब तीन वर्ष बितेको छ । ‘बालपत्रकारिता तथा बालसाहित्य पुरस्कार समिति, नेपाल’ को एक पत्र मेरो हात पर्यो । समितिका लागि स्मारिका निकाल्ने विवरणसहितको उक्त पत्रमा प्रोफिलिक इंगलीस स्कूल (धुम्बाराही, काठमाडौं), मनकामना बोर्डिङ स्कूल (सर्लाही), होली एन्जल्स बोर्डिङ स्कूल (निजगढ) र निजगढ गाविस परिवार हटेका रहेछन् । मेगस् इङलिस स्कुल (नयाँ बजार, न्यू आइडियल जिलेट इ स्कुल (स्यूचाटार, काठमाडौं), मनकामना बोर्डिङ स्कूल (हरिवन ९, सर्लाही) र सरस्वती कुञ्ज बोर्डिङ स्कुल (ज्ञानेश्वर, काठमाडौं) थपिएछन् । तर कार्तिकेय घिमिरे त्यहि काममा त्यो बेलाजस्तै यो बेलासम्म सक्रिय भएको पाएँ । खुसी लाग्यो । ‘बालपत्रकारिता तथा बालसाहित्य पुरस्कार समिति, नेपाल’ ले कार्तिकेयको साथ सधैं पाइरहोस् । शुभकामना ।
(कोइराला, कान्तिपुर दैनिकको शुक्रबारे बालकोसेली ‘कोपिला‘का संयोजक हुन्)
(स्वर व्दैमासिकको २०६२ पुष-माघमा प्रकाशित)