गाउँतिरको यो पत्रकारिता, कहाँसम्म पुग्ला हजुर ?

Yeti-Points-of-viewbfअमेरिका बस्ने र यहाँ पत्रकारिता गर्ने रहर यता भित्रिने जोकोही पत्रकारलाई जाग्दो होला । मलाई पनि त्यस्तै भयो । अंग्रेजीमा त्यति दक्ष नहुँदा अमेरिकामा पत्रकारिता संभव होला र ? भन्ने शुरूको अनुमान पछि मत्थर हुँदै गयो । किनभने केही संभव भयो । केही गर्न सकियो । सबैको आशिर्वाद, माया, हौसला मिले अझ थप नयाँ केही गर्न सकिएला भन्ने आशा छ ।
नेपालीपन बचाउन सकिएला ?
चेतनाको स्तरको कुरा हो । नेपालमा हामी जातभातका कुरा गर्छौं । यसका विपरित विकसित देशहरू आफ्नो मुलुकलाई बहुसांस्कृतिक, बहुभाषिक आदि बनाउने विचारमा लागिरहन्छन् । बहुभाषा, बहुसंस्कृतिको कुरा अब यस्तै विकसित देशमा संभव हुने त भए जस्तो लाग्छ ।
त्यसैले हामी नेपालीमूलका मानिस यहाँ अटाउन सकेका हौंला । हाम्रो पनि कला, संस्कृति, परम्परा, भाषा आदि संरक्षण गर्न अमेरिकामा संभव हुन सक्छ जस्तो लाग्या छ । जर्मनकी चान्सलर एन्जेला मार्कलले जर्मनी बहुसांस्कृतिक मुलुक हुन नसकेका बताएकी छन् । बहुसांस्कृतिक मुलुक बन्न अमेरिका सफल हुन सक्छ, उनको अनुमान छ । यस्ता धेरै अवयव जीवित रहने सक्ने अमेरिकामा नेपाली–भाषाको पत्रकारिता संभव छ, यो मेरो व्यक्तिगत बुझाइ मात्र पनि हुनसक्छ ।
को नेपाली ?
यो जोकोहीका मनमा उब्जने प्रश्न हो । नेपालको सिमाबाहिर नेपाली–मुलको जो पनि नेपाली हो । अमेरिकामा नेपालबाट आएको, भूटानी शरणार्थीका रूपमा अमेरिकामा पुनर्स्थापित, बर्माबाट नेपाल नगई अमेरिका आएको, भारतबाट अमेरिका आएको आदि सबै नेपाली–मुलका नेपाली हुन् । अमेरिकामा यसो भन्नुपर्छ । यो संभव पनि छ ।
सन् २०१० को अमेरिकी जनगणनाले अमेरिकामा नेपालबाट आएका नेपाली–मुलका मानिसको संख्या ५९ हजार ४ सय ९० देखिएको छ । जनगणनालगत्तै अमेरिका भित्रिएपछि ‘द काठमान्डू पोस्ट’ का लागि एउटा सानो स्तम्भ तयार पार्दा न्युयोर्कस्थित ‘अधिकार’ नामक संस्थाकी सञ्चार–अधिकृत नर्वदा क्षत्रीले भन्नुभएको थियो, ‘५० हजारसम्म पुगे हामी खुसी हुने थियौं ।’ उहाँ काम गर्ने संस्थासमेत जनगणनामा सक्रिय भइ लागेको थियो । उहाँका अनुसार नेपालीलाई पनि गणनामा समावेश गर्न सरकारले निकै प्रयास गरेको थियो । तर धेरैको अनुमानमा नेपालबाट आएको नेपाली एक लाखभन्दा बढी हुनुपर्छ । उहाँको अनुमान करिब ठहर्‍यो।
अमेरिकामा नेपालबाट आएको नेपालीबाहेक ठूलो संख्या नेपाली–भाषी भूटानी छन् । नेपाली–भाषी भूटानीको संख्या ५० हजारभन्दा माथि उक्लिएको छ । यो लेख तयार पार्दा (सन् २०१२ जून) सम्म अमेरिकामा नेपाली–भाषी भूटानीको संख्या करिब ५४ हजार पुगका छ । नेपाली–भाषी भूटानीलाई अमरिका ल्याउन शुरू गर्दा ६० हजारसम्मका अधिकतम् संख्या ताकिएकामा या बढ्न संकत अमरिकी सरकारल दिएका छ । नेपालबाट भित्रिएको नेपाली वा भूटानी शरणार्थीबाहेक अरुको संख्या पनि केही छ ।
अमेरिकामा नेपाली–भाषी भूटानी मात्र शरणार्थी ?
शरणार्थीका रूपमा अमेरिकाले वर्षका बढीमा असी हजार मानिस भित्र्याउने गर्छ । सन् २०१२ फेब्रुअरीसम्म ३० लाखौं शरणार्थीको स्वागत गर्‍यो । सन् १९७५ पछि अमेरिकामा वर्षेनि बढीमा ८० हजार शरणार्थीलाई बसोबास गराइँदै आएको छ । यसको अर्थ सन् १९७५ पछि अमेरिकामा पुनस्र्थापित गराइएका शरणर्थीको संख्या ३० लाख पुगेको छ । अमेरिकाको जनसंख्या ३१ करोडको हाराहारीमा छ ।
अमेरिकाले शरणार्थीलाई नयाँ जीवन, नयाँ आवास र नयाँ समुदाय प्रदान गर्दै आएको छ । सन् १९८० को दशकमा भियतानाम, लाओस तथा सोभियत संघ (अहिलेको रूस तथा अन्य विभाजित मुलुक) बाट शरणार्थी अमेरिका ल्याइन्थे । सन् १९९० को दशकमा पूर्व–युगोस्लाभियामा युद्ध भएपछि धेरै बोस्नियाली शरणार्थीहरू अमेरिका आए । २१ शताब्दी शुरू भएपछि बर्मा, भुटान, इरान, इराक र सोमालियाबाट शरणार्थी ल्याएर अमेरिकामा पुनर्स्थापित गरिएको छ ।
गत वर्ष (सन् २०११) मात्र अमेरिकामा ५६ हजार शरणार्थीलाई पुनर्स्थापित गरियो । ५६ हजारमध्ये १४ हजार ९ सय ९९ भूटानी शरणार्थीलाई अमेरिका ल्याइएको थियो । सन् २००८ मा शुरू भएको नेपाली–भाषी भूटानी शरणार्थीको पुनस्र्थापना सन् २०१२ मार्च अन्तिमसम्म ५२ हजार ५२ पुगेको छ ।
एउटा न्युजलेटर
भाषा जानिहाल्छु, ‘जे पर्छ, सो टर्छ’ कै लहडमा अमेरिका आउने जोकोहीले यही सोच्छ । यहाँको पद्धति वा प्रणालीका बारेमा दुई अक्षर मात्र पढ्न भ्याए, उसले अमेरिका आएर त्यसैका लागि थप ऊर्जा वा समय खर्चनु पर्दैन ।
अमेरिकामा नेपाली–भाषी पत्रपत्रिका धेरै छन् । वेबसाइट झन धेरै । तर अमेरिका भित्रिने जोकोही नेपाली–भाषीलाई यहाँ बसोबास गर्न सहज पार्न कस्ता सामग्री चाहिन्छन् ? अंग्रेजी बोल्न जान्दैमा सबैथोक फटाफट जानिन्छ त ? के नेपालमा स्नातक गर्दैमा अमेरिकी समुदायमा आफूलाई उसले समायोजन गर्न सक्ला ? यस्तै प्रश्नका उत्तरका रूपमा ‘अक्षरिका’ नेपाली न्युजलेटर शुरू गरिएको हो ।
यसमा थप के पनि हो भने नेपाली–भाषी भूटानी शरणार्थी ल्याइँदा परिवारका सबै सदस्य अमेरिका आउने भएकाले नेपालीमा निकालिएका सामग्री उहाँहरूलाई बढी काम लाग्ने देखिन्छ । अमेरिकी आप्रवास नियमअनुसार नेपालबाट अमेरिका आउने बहुसंख्यक मानिस अंग्रेजी जान्ने हुन्छ । उसले ढिलो–चाँडो यहाँका पद्धति वा प्रणालीका बारे पक्कै सिक्छ । तर नेपाली–भाषी भूटानी शरणार्थी परिवारमा मुख्यतः हजुरबुबा–हजुरआमा, बुबा–आमाको पुस्तामा भाषाको समस्या छ । हजुरबुबा–हजुरआमा, बुबा–आमाको पुस्ता वा भाषाको समस्या हुने जोकोही नेपाली–भाषीलाई ‘अक्षरिका’ काम लागेको छ ।
शरणार्थी भिœयाउने काम अमेरिकी सरकारले गर्छ भने बसोबास गराउने काममा पुनर्वास संस्था (रिस्याटलम्यान्ट एजेन्सी) ले सहयोग गर्छन । यी संस्था भन्नाले नगर कार्यालय, गैरसरकारी संस्था, धार्मिक संस्था आदि हुन्छन् । यस्ता संस्थाले नै शरणार्थीहरूलाई शुरूवाती भाषाज्ञान, तालिम आदि दिन्छन् । यस्ता तालिम आदिमा पनि ‘अक्षरिका’ सन्दर्भ सामग्री बन्दै आएको छ ।
‘अक्षरिका’ कसरी थालियो ?
सतन आचार्य, मेरो ज्वाई, सन् २००५ मा डाइभर्जिटी भिसामा सपरिवार अमेरिका आउनु भयो । केही महिना न्युयोर्क बसेपछि उहाँ न्यु ह्याम्सर सर्नुभयो । न्यु ह्याम्सरको म्यानचेस्टरमा ‘म्यानचस्टर कम्युनिटी रिसोर्स सेन्टर’ मा काम गर्नुभयो । यो सेन्टरले नेपाली–भाषी भूटानीहरूलाई पुनस्र्थापनाका लागि तालिम आदि दिंन्थ्यो । म्यानचेस्टर आइपुग्ने नेपाली–भाषी भूटानीहरूलाइ सतनजीको ठूलो साथ मिलेको थियो । मान्छेपिच्छे आफूले जानेको कुरा भन्नुभन्दा उहाँले नेपालीमा केही सामग्री हुन सके कति राम्रो हुन्थ्यो भन्ने सोच्नु भयो । तर यसलाई कसरी बनाउन सकिएला भन्ने चाहि गाह्रो थियो । उहाँ आफू बजार–व्यवस्थापनमा राम्रो अनुभव भएको व्यक्ति यो पत्रकारिताका काम सहज थिएन, तथापी बहिनी ताराले रत्नराज्य क्याम्पसबाट पत्रकारितामा स्नातक गरेकी थिइन । तर ‘प्रिन्ट’ जर्नालिज्ममा केही अनुभव लिन मात्र पाएको थियो । बिहे भयो । यी पाठ्य–सामग्रीको अवधारणालाई मूर्त दिन उनले भ्याइनन्, सकिनन् । यसबीचमा सतनजीले पत्रकारिता जान्ने नातेदारहरूलाई नभन्नु भएको होइन । ती नातेदारमध्ये म पनि थिएँ । तर एकपटक पनि अमेरिका नपुगी, त्यहोका बारेमा थोरै नजानी काम गर्न सजिलो थिएन ।
सन् २०१० जुनमा म एउटा कार्यक्रममा सहभागी हुन न्युयोर्क आएँ । अगस्त १५ देखि ‘अक्षरिका’ निस्कन थाल्यो । कुनै पनि सामग्री अनुवाद गरेर फटाफट बाँढ्नुभन्दा न्युजलेटरका रुप दिंदा राम्रो हुने ठानेर यसलाई चार पृष्ठको न्युजलेटर बनाइयो । यसको नाम भने मज्जाले जुराइयो । अक्षरिका नामकरण अक्षर र अमेरिकाको संयोजनबाट भयो । त्यसैले यसको उद्देश्य अमेरिकामा बस्ने नेपाली–भाषी समुदायलाई शिक्षा, जानकारी, हौसला दिनु र सक्षम बनाउनु तोकियो ।
यसलाई शुरूमा पाक्षिक गरियो । सन् २०११ मा मलाई एउटा सहयोगी–किताब (नेपाली–अंग्रेजी गाइड बुक) संयाजन गर्ने मौका मिल्यो । सन् १९६० को दशकको अन्त्यतिर नेपालमा पिसकोर स्वयंसेवक भएर फिरेका डगलस हलले उक्त किताबका प्रस्ताव ल्याउनुभयो । उहाँ नै किताबको अंग्रेजीतर्फका संयोजक हुनुभयो । किताब तयार पार्ने र नेपाल जाने कामले अक्षरिकालाई मासिक बनाइयो । यसलाई पुनः पाक्षिकमा फर्काउन निकै गाह्रो भइरहेको छ ।
अक्षरिका कसरी वितरण हुन्छ ?
अक्षरिका निस्कँदा हामी नेपालीभाषी केही हजार पाठकलाई इमेल गर्छौं । नेपाली–भाषी भूटानीलाई पुनर्वास गराउने अमेरिकाभरका केही सय संस्थामा पनि इमेल गर्छौ । यसका ३५ वटा अंक (एउटा नमुनासहित ३६ अंक) निस्केका छन् । हामीले यो न्युजलेटरलाई ज्ञानज्योति केन्द्रका वेबसाइटमा राखेका छौं । स्मरणरहोस्, माथि उल्लेखित पुस्तक ‘अमेरिकामा बसोबास’ (ह्यान्डबुक फर लिभिङ इन द युनाइटेड स्टेट्स) पनि ज्ञानज्योति केन्द्रको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।
ज्ञानज्योति केन्द्रको जन्म
अक्षरिका न्युजलेटर प्रकाशन थाल्दा त्यो न्यु ह्याम्सर राज्यको म्यानचेस्टरस्थित एस एन्ड टी कम्युनिकेसन्सको स्वयंसेवी प्रयास थियो । डगलस हलले भूटानी शरणार्थीलाई मद्दत पुगोस् भनेर ‘संक्षिप्त अंग्रेजी–नेपाली, नेपाली अंग्रेजी शब्दकोष’ (डिक्सनरी) निकाल्न थालेको ४ वर्ष बितिसकेको छ । उहाँले उक्त डिक्सनरी, अक्षरिका, अमेरिकामा बसोबास आदिलाई एउटै छातामुनि राख्न ‘ज्ञान ज्योति केन्द्र’ स्थापनाको प्रस्ताव ल्याउनुभयो । उहाँको प्रस्तावलाई साकार बनाइयो । अहिले यो संस्था यस्तै सामग्रीका निर्माण, प्रकाशन र वितरणमा सक्रिय छ ।
र, अन्त्यमा
सेवा सबै नेपाली–भाषीको गरेको आशा गरिएको त छ । तर यो ठूला शहरको अखबार जस्तो होइन । कता–कता छ, नेपालमा भएको भए, यसलाई मोफसलको पत्रिका भनिन्थ्यो । संख्यामा गणना गर्नुपरेको भए, अल्पसंख्यक हुन्थ्यो ।
त्यहि त अक्षरिका छ, ज्ञानज्योति केन्द्र छ । गाउँतिर छ । बेलाबेला भन्नु परेको छ, हामी पनि छौं, हजुर । तर लाग्छ, यो शहरका चमक–दमकभन्दा पर थालिएको प्रयास कहाँसम्म पुग्ला हजुर ?
००००
(राजेश, अमेरिकामा प्रकाशित हुने ‘अक्षरिका’ नेपाली न्युजलेटरका सम्पादक हुन् । उनका केही लेख www.koirala.com.np मा पढ्न सकिन्छ । यो लेख आन्मा, ANMA तथा नाजिआ, NASeA नामक अमेरिकास्थित दुई संस्थाको बुलेटिन Yeti Viewpoints 2012 मा प्रकाशित भएको थियो ।)

Write a comment