परदेशमा नानीलाई भाषा सिकाउने धोको

Kids-Creation-Bal-Sirjana2BFअमेरिकाको तथ्याङ्क विभागले अगस्त, सन् २०१३ मा अमेरिकी घरमा बोलिने भाषासम्बन्धी एउटा सर्वेक्षण सार्वजनिक गर्‍यो । तथ्याङ्क भन्छ, ‘दशमध्ये एक घरमा अंग्रेजी मुख्य भाषा होइन । त्यो अवस्था यहाँका एक चौथाई काउन्टिमा भेटिएको छ । अंग्रेजीबाहेक घरमा बोलिने मुख्य भाषा स्पेनिश हो । यहाँका ७ सय ८ काउन्टीमा स्पेनिश, २९ काउन्टीमा रैथाने अमेरिकी भाषाहरू, २१ काउन्टीमा जर्मन, १५ मा फ्रेन्च, प्रशान्त द्विपका भाषाहरू १२ काउन्टीमा र अन्य भाषाहरू ११ काउन्टीमा बोलेको पाइयो । अंग्रेजी मुख्य भाषाका रूपमा बाँकी २ हजार ३ सय ४७ काउन्टीका ९० प्रतिशत घरहरूमा बोलिन्छ ।’
अमेरिकामा ५० राज्य र यी राज्यमा करिब ३ हजार १ सय ४१ काउन्टी वा काउन्टीसरहका साना भागहरू छन् । घरमा बोलिने भाषाको सूचीमा नेपाली अन्य भाषामा परेको हुनसक्छ । १६ पृष्ठको ‘ल्याङ्वेज युज इन दि युनाइटेड स्टेट्स २०११’ नामक रिपोर्टको मुख्य पुस्तिकामा नेपाली–भाषा भेटिदैन । अहिलेसम्म आधिकारिक रूपमा ८० हजार (सन् २०१४ डिसेम्बर अन्त्यसम्ममा) नेपाली–भाषी भूटानी र अनौपचारिक रूपमा करिब २ लाख नेपाली (अमेरिकी जनगणना २०१० ले अमेरिकामा ५९ हजार ४ सय ९० नेपाली देखाएको छ) यहाँका अल्पसंख्यक नै हुन् ।
यो अल्पसंख्यक नेपाली–भाषीमाझ एउटा चिन्ता र चासोको विषय छ, नानीहरूलाई कसरी नेपाली भाषा सिकाउने । अब यहाँ दुई थरी नेपाली–भाषी भए, नेपाली र नेपाली–भाषी भूटानी । चिन्ता र चासो दुवैको भए पनि सजिला र अप्ठ्यारा करिब उस्तै र भिन्न छन् ।
अगस्त, २०१३ मा यसै विषयमा बीबीसी नेपाली सेवाका लागि भगिरथ योगीले एउटा रिपोर्ट तयार पार्नुभयो । अमेरिकामा मैले जे देखेको थिएँ, सुनाएँ । सुनाए जति प्रसारण हुने कुरा भएन । मेरो खोजको बाँकी अंश रोचक छ । एकपटक त्यो चहारौं ।
पुरानो इतिहास
अमेरिकामा नेपाली–कक्षाको आकार ठूलो र पुरानो छ । नेपाली नै पढ्ने – पढाउने प्रयास ठूला मान्छेका लागि भएको सन् १९६० को दशकमा तथ्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो वेबसाइटमा लेखेको छ । सन् १९५३ मा सगरमाथाको आरोहणपछि नेपाललाई पश्चिमको संसारले निकै राम्ररी चिनेको हो । त्यस हिसाबले अनेसासले लेखेको तथ्यलाई सत्य (त्योभन्दा पहिले नेपाली पढाइ भएको इतिहास फेला नपरून्जेल) मान्न सकिन्छ ।
सन् १९५२ मा पहिलो नेपालीले ग्रिनकार्ड पाएको इतिहास हेर्दा त्यो दशकमा त्यस्तो काम पक्कै नभएको हुनसक्छ । सन् १९६० को दशकमा अमेरिकी स्वयंसेवी संस्था ‘पिसकोर’ नेपाल गयो । त्यसपछि अमेरिकीले नेपाल पुगेरै पक्कै नेपाल पढे । उनीहरूले लिएको आधारभूत ज्ञान मात्र मान्नुपर्छ । स्वयंसेवकहरूले भाषा, संस्कृति आदिको तालिम लिने गरेका छन् ।
नेपाली र नेपाली–भाषी बढेपछि
नेपालीको संख्या बढ्दै जाँदा नानीहरूलाई भाषा सिकाउने विचारहरू आउन थालेका पाइन्छन् । नेपालीहरू विस्तारै बढ्दै गए । नेपालीहरूले आफ्नो प्रयासमा नेपाली पढाउने प्रयास गरे । अहिले पनि नेपाली पढाउने क्रम जारी छ ।
नेपाली–भाषी भूटानी भाषा र वेशभूषाकै एकदमै साधारण कारण बनाएर भूटानबाट लखेटिए । त्यसैले नेपाली–भाषाप्रति उनीहरूको लगाव नेपालबाट आएकाको भन्दा गाढा देखिन्छ । उहाँहरूलाई सरकारी वा संस्थागत सहायता जुट्न सजिलो देखिन्छ । उहाँहरूले चाहे, नेपाली–भाषा नानीलाई सिकाउने काम सहज हुनसक्छ र भएका उदाहरण पनि छन् ।
पढाउनका लागि समय, पैसा, स्थान, सामग्री, पढाउने व्यक्ति आदि खाँचो हुन्छ । नानीहरूका नेपालीका कक्षाहरू दुवै थरीले चलाएका छन् । सामान्यतः यहाँ हुने दुई दिने बिदा (शनिबार र आइतबार) त्यो पनि स्कूलको करिब ३ महिनाको गर्मी बिदाबाहेक दिनमा, कसैको त्यही तीन महिना मात्र, हिउँ पर्ने राज्यहरूमा हिउँ पर्ने महिनाबाहेक गरेर कक्षाहरू भएका पाइन्छन् ।
समस्या भने पाठ्य–सामग्रीको भएको अनुभव शिक्षणमा संलग्न व्यक्तिहरू बताउँछन् । हो पनि औंलाले सरसर्ती सारेर टच–स्क्रिन चलाउने बानी परेका नानीहरूलाई किताब पढ्न गाह्रै हुन्छ । नेपालको सरकारी स्कूलका लागि तयार पारिएको किताब आकर्षक छैनन् । केही निजी प्रकाशनका किताब भने यहाँका नानीहरूलाई पढाउन सजिला छन् । कनेटिकटमा नेपाली समुदायले चलाएको नेपाली–कक्षामा पढाइरहेका गोपाल गौतमले भने, ‘नेपालका किताबले नानीहरू आकर्षण नै गर्न सकेनन् ।’
धार्मिक थलो बनाउने र त्यहाँ एउटा सांस्कृतिक केन्द्र विकास गरेर नेपाली पढाउने चलन अरू आप्रवासीको पनि छ । नेपालीहरूले मन्दिर बनाउने प्रयास गरेका छन् । त्यहाँको त्यस्तो केन्द्रमा नेपाली भाषाका किताब राखेर पुस्तकालयसमेत बनाउने सोच राख्छन् ।
फाइदा
दुई भाषा जान्दा धेरै फाइदा हुने वैज्ञानिकहरूले पुष्टि गरेका छन् । पछिल्लो अनुसन्धानबारे टाइम पत्रिकाले सन् २०१३ जुलाईमा जेफ्रि क्लनरको एउटा रोचक लेख प्रकाशित गरेको छ । यस्ता निष्कर्ष अन्त पनि पाइन्छन् र प्रशस्त पाइन्छन् । विश्वमा ६ हजार ८ सय भाषा छन् । भाषा हराउँछन् । ती हराएर बचेका भाषाका कुरा हुन् ।
संसारको राजधानी भनिएको न्युयोर्कमा ८ सय भाषा बोलिन्छन् । नेपालीबाहेक अन्य एक दर्जनभन्दा बढी नेपालका भाषा बोल्ने मान्छे न्युयोर्कमा छन् । त्यस हिसाबमा अमेरिकामा अन्य राज्यमा नेपाली र नेपालका अन्य भाषा बोलिन्छन् ।
अमेरिकामा धेरै भाषामा अनुवाद गर्ने मानिस भेटिन्छन् । यो जागिरका रूपमा छ । धेरैको आम्दानीको स्रोत बनेको छ । यो पुस्ताले अनुवाद वा दोभाषेको काम गरेको छ । अर्को पुस्तालाई यस्तो शिपको विकास गर्न जरूरी छ ।
अरू देशमा
भाषा–कक्षा अमेरिकाबाहेक बेलायत, बेल्जियम, अष्ट्रेलिया, क्यानडा आदि देशमा भएका छन् । तर नियमितता पाउन नसक्नु सबैतिरको रोग हो । भाषा सिकाउँछु वा संरक्षण गर्छु भन्ने पनि यीनै देशमा मात्र सफल हुन सक्छ । किनभने यी मुलुक ‘विविधता’ मा मात्र संभव छ ।
अन्त्यमा
हामीले त्यसैले पनि आफ्ना नानीहरूसँग घरमा नेपाली वा नेपालका आफ्ना भाषा सिकाऔं वा उनीहरूसँग भाषा बोल्ने गरौं । धर्म, संस्कृति संरक्षण महँगो हुनसक्छ । तर भाषा सजिलै सिकाउने सकिन्छ । त्यसैले भाषा संरक्षण गर्न सकिन्छ र गरौं ।
००००
(यो लेख ‘अल्टरनेटिभ ग्रुप, युएसए’बाट प्रकाशित ‘किड्स क्रियसन: बाल सिर्जना – २’ मा प्रकाशित भएको थियो । यो पुस्तक सन् २०१४ मा प्रकाशित भएको हो ।)

Write a comment