सकियो तेस्रो मुलुक पुनर्स्थापना

सन् २०१७ सकिएसँगै भूटानी शरणार्थीको तेस्रो मुलुक पुनर्स्थापना पनि औपचारिक रूपमा सकिएको छ । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) का अनुसार, गएको डिसेम्बर ३१ सम्ममा अमेरिकालगायत विश्वका आठ देशमा १ लाख १२ हजारभन्दा बढी भूटानी शरणार्थी पुनर्स्थापित भइसकेका छन् । कार्यालयले यूएनएचसीआरले डिसेम्बर ३१ अघि दर्ता गरेका एकदमै कम शरणार्थीलाई पुनर्स्थापनामा पठाउन चिकित्सा जाँच तथा अन्य आवश्यक मूल्याङ्कन भइरहेको जनाएको छ ।
पाँच वर्षमा सक्ने लक्ष्य लिइएको पुनर्स्थापना कार्यक्रमका लागि दश वर्ष लागेको छ । शुरूमा ६० हजारलाई पुनर्स्थापना गराउने घोषणा गरेको अमेरिकाले सबैभन्दा बढी ९५ हजार ४४९ जनालाई भित्र्यायो । क्यानडा र अष्ट्रेलियामा क्रमशः ६ हजार ८२६ र ६ हजार ७२८ जना पुनर्स्थापित भए । न्युजिल्याण्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्याण्डस्ले क्रमशः १ हजार ९४, ८७५, ५७०, ३५८ र ३१९ जनालाई बसोबास गराए ।
“अब ७ हजार ५०० का हाराहारीमा नेपालका दुई शिविरहरूमा हुनुहुन्छ । कोही भूटान फर्कने त कोही नेपालमै बस्ने पक्षमा देखिनुहुन्छ” सिनियर एक्स्टर्नल रिलेसन्स एशोसिएट दिपेश श्रेष्ठ भन्छन्, “नेपालमै बस्न चाहनेका लागि बन्दोबस्त मिलाउन नेपाल सरकारले कुनै निर्णय त गरेको छैन । स्थानीय निकायसँग भने सकारात्मक रूपमा काम भइरहेको छ ।”
पुनर्स्थापना कार्यक्रम शुरू हुनुअघि सात वटा शिविर कायम थिएः झपाका बेलडाँगी (तीन वटा), खुदुनाबारी, टिमाई र गोलधापका तथा मोरङको शनिश्चरे/पथरी । सबै शिविरमा गरी करीब १ लाख ६ हजार शरणार्थीको बसोबास थियो । महिला–पुरुषको अनुपात पाँच शिविरमा ४९:५१ र दुइटामा ५०:५० थियो । चार वर्षसम्मका बच्चाहरू ७.३ प्रतिशत, ५ देखि १७ वर्षका ३५ प्रतिशत, १८ देखि ५९ वर्षका ५१.४ प्रतिशत र ६० वा सोभन्दा बढी उमेरका ६.३ प्रतिशतको हाराहारीमा थिए । शिविरमा बसोबास गर्नेमध्ये करीब ६० प्रतिशत हिन्दू, २७ प्रतिशत बौद्ध, १० प्रतिशत किराँत र बाँकी इसाई थिए ।
सुस्त गति
Data1सन् २०१५ अप्रिल १० मा न्यूयोर्कका २८ वर्षीय गुरु धिमाल (२८) ले प्रहरीको ९११ मा फोन गरेर आफू अलकायदाको सदस्य भएको र बसमा ह्वाइट हाउसमा पड्काउन बम लगिंदै गरेको बताए । धिमाल मामा भगिरथ कोइराला (६७) लाई पुर्याहउन त्यही बसमा न्यूयोर्कबाट ओहायो जाँदै थिए । यी दुवै शरणार्थी पुनर्स्थापना कार्यक्रमअन्तर्गत नै विभिन्न मितिमा अमेरिका पुगेका थिए ।
ग्रेहाउण्ड कम्पनीको उक्त बसमा ३० जना यात्रु थिए । बस बफेलो, न्यूयोर्कबाट क्लिभल्याण्ड, ओहायोतर्फ गुडिरहेको थियो । बमको सूचना पाएलगत्तै दुईतर्फी यातायात बन्द गरियो । बस ओहायो राज्य छिरिसकेको थियो । प्रहरीले रोकिएको बसमा बम खोज्यो । तर फेला परेन । प्रहरीले गलत सूचना दिएको थाहा पाएपछि धिमाल र कोइरालालाई नियन्त्रणमा लियो । धरौटीमा छुटेका धिमाललाई मानसिक जाँचका लागि पठाइयो । कोइरालालाई तोकिएको धरौटी फिर्ता गरियो र जमानतमा छाडियो ।
तर, त्यसलगत्तै मेमा अमेरिकामा एकजना पनि भूटानी शरणार्थीको पुनर्स्थापना भएन । सन् २००८ मार्चयता कुनै महीना पनि भूटानी शरणार्थीको पुनर्स्थापना शून्य भएको थिएन ।
सामान्यतया सरकारको नीति तथा कार्यक्रम पारित हुन नसकेर ‘सट डाउन’ हुँदा वा अन्य गम्भीर कारणमा पुनर्स्थापना सुस्त भएको देखिन्छ । २०१३ अक्टोबर १–१६ मा सरकार ‘सट डाउन’ भएकाले शरणार्थी पुनर्स्थापनामा कमी आएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प आएलगत्तै शरणार्थी भित्र्याउन कडाइ गरिंदा भूटानी शरणार्थी समेत प्रभावित बने ।
आधाभन्दा बढी शरणार्थी पुनर्स्थापित भइसकेपछि सन् २०१२/१३ यता भने पुनर्स्थापना विस्तारै कम हुँदै गएको तथ्याङ्कले देखाउँछ ।
नेपालीभाषी दोस्रो
अमेरिकी विदेश मन्त्रालयको रेफ्युजी प्रोसेसिङ्ग सेन्टरका अनुसार, अमेरिका भित्रिएका शरणार्थीको सूचीमा नेपालीभाषी दोस्रोमा रह्यो । मूलतः भूटानी शरणार्थीकै कारण यो संख्या बढेको हो ।
तर, २००७ देखि २०१२ सम्म कुल शरणार्थीमा नेपाली भाषी पहिलो स्थानमा थिए । २०१३ देखि भने अरबी भाषीले उछिनेका हुन् । सोमाली भाषी तेस्रोमा छन् भने करेन (तिब्बती–बर्मेली मूलको भाषा) बोल्नेहरू चौथो स्थानमा ।
शिविरका २७ वर्ष
भूटानको शाही सरकारको चरम दमन खेप्न नसकी सन् १९९० को अन्त्यदेखि नेपाली भाषी भूटानी नेपालको पूर्वी सीमा झापामा ओइरिन थाले । कारण थियो– नागरिकतासम्बन्धी नयाँ कानूनले अधिकार कटौती भन्दै नेपाली भाषीले थालेको आन्दोलन ।
केही वर्षमै नेपाल भित्रिने शरणार्थीको संख्या एक लाख नाघ्यो । नेपाल र भूटान सरकारबीच शरणार्थी फिर्तीबारे पटकपटक वार्तासमेत भयो । तर, आफ्ना नागरिकलाई देश नफर्काउने भूटानी शासकको अड्डीका कारण समस्या समाधान हुन सकेन ।
सन् २००६–०७ मा बल्ल आएर भूटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्स्थापना गर्न छलफल चल्न थाल्यो । अमेरिकाले राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर), अन्तर्राष्ट्रिय आप्रवास संगठन (आईओएम) र अन्य ७ मुलुक (क्यानडा, अष्ट्रेलिया, नर्वे, न्युजिल्यान्ड, नेदरल्यान्डस्, बेलायत र डेनमार्क) को सहकार्यमा पुनर्स्थापना थाल्ने निर्णय गर्यो । जसमा, शिविरका करीब १ लाख ७ हजारमध्ये करीब ५० हजार मात्र पुनर्स्थापनामा जान सहमत देखिए । तत्कालीन अमेरिकाका सहायक विदेश–मन्त्री एलेन सावरब्रेले अमेरिकामा ६० हजार भूटानी पुनर्स्थापना गर्न चाहेको घोषणा नै गरे । अष्ट्रेलियाले ५ हजार, क्यानडाले ५ हजार र अरू मुलुक (डेनमार्क, नेदरल्यान्डस्, न्युजिल्यान्ड र नर्वे) ले केही सयको अनुपातमा शरणार्थी बसोबास गराउनेमा मञ्जुर भए । २००८ मार्चमा पहिलोपटक पुनर्वासका लागि भूटानी शरणार्थी अमेरिका उडे । २०१० सेप्टेम्बरमा अमेरिका टेक्ने शरणार्थीको संख्या ३० हजार पुगिसकेको थियो ।
२०१० डिसेम्बर १३ मा नेपालका लागि अमेरिकी राजदूत स्कट एच. डेलिसीले शरणार्थी पुनर्स्थापनामा यसअघिको ६० हजारको सीमा अब नरहेको बताए । तेस्रो मुलुक पुनर्स्थापना हुने शरणार्थीको संख्या बढ्न थालेपछि २०११/१२ मा बेलडाँगी र शनिश्चरे/पथरी शिविरमा मात्र बाँकी रह्यो । बाँकी शिविर बन्द गरिए ।
२०१५ डिसेम्बरसम्ममा एक लाख भूटानी शरणार्थी विभिन्न आठ मुलुकमा पुनर्स्थापित गरिसकिएको थियो । जसमा, अमेरिकामा मात्र करीब ८५ हजार पुनर्स्थापित भए । २०१७ डिसेम्बर ३१ मा भने औपचारिक रुपमा शरणार्थीको तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम सकियो ।
∙∙∙∙
(कोइराला अमेरिकी न्यूजलेटर ‘अक्षरिका’ का सम्पादक हुन् । यो लेख ‘हिमाल खबर-पत्रिका‘ १४-२० माघ २०७४ / 28 Jan – 3 Feb 2018 अंकमा प्रकाशित भएको हो ।)

Write a comment