भाषाका संवाहक ‘खित्खिते’हरू

Bhasa-Sambhahak-Khitkhite-Haru_2014-Dec-1अमेरिकाका विभिन्न सहरमा २८ वटा सो गरेर महजात्रा (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतको कार्यक्रम) क्यानडा छिरेको छ । अमेरिकामा नेपाली र नेपालीभाषी भूटानीले उनीहरूको प्रस्तुतिको निकै सराहना गरे । त्यही अपेक्षा क्यानडामा पनि गरिएको छ।
उता २ महिना जतिअघि मनोज गजुरेल बीबीसीको हिन्दी सेवामा क्यारिकेचर गर्दै थिए, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको । सन्दर्भ, नेपाली हाँस्यकलाकारको परदेश–प्रभाव ।
सञ्चारका विभिन्न माध्यमले परदेशिएका सबैलाई देशनजिक महसुस गराउँछन् । समाचार, समाचारसम्बन्धी विषय, टेलिशृंखला, चलचित्र आदिले हामीलाई मुलुकका विषय र सन्दर्भबाट टाढिन दिँदैनन् । यसोभन्दा नेपालबाट बाहिरिएका नेपालीको मात्र सन्दर्भ आउँछ ।
तर, अरू देशमा रहेका नेपाली भाषीहरूलाई भने समाचार, समाचारसम्बन्धी विषय त्यति चासोका विषय नहुन सक्छन् । विदेशमा रहेका नागरिकलाई नेपाल र नेपालीसँग टेलिशृंखला, चलचित्र आदिले जोड्न सक्छन् । साहित्य र नेपालमा रहेका नातेदारका कारण पनि जोडिएको पाइन्छ ।
यसरी जोडिने काममा सबैभन्दा सजिलो माध्यमचाहिँ हास्यव्यंग्य हुन्छ । लोकदोहोरी पनि चर्चित रहन्छन्, परदेशमा एक्लो बस्नेहरूका लागि । पशुपति शर्मा चलिरहेका होलान्, कतारी मरूभूमिमा । क्यानडाको एउटा घरमा दीपकराज र दीपाको हाँस्यव्यंग्य रूचाइँदो हो ।
युट्युबबाट नेपाली चलचित्रहरू (निःशुल्क राखिएका वा गैरकानुनी ढंगले राखिएका सबै) हेरिँदा हुन् । केही चलचित्र प्रदर्शनकै लागि अमेरिका, क्यानडा, अस्ट्रेलिया पुर्‍याइन्छन् । दुई–चार पैसा चलचित्रकर्मीका हातमा पुग्छ ।
हाँस्यकलाकारहरू परदेशमा बढी नै कार्यक्रम देखाउन पुग्छन् । उनीहरूको कला हेरिन्छ, तिनको कला बिक्छ परदेशमा । यसबाट उनीहरूको जीविकोपार्जनमा ठूलो सहायता पुग्छ ।
यसो गर्दा ‘राता मकै’ किरण केसी, परदेशका सभ्यतामा निकै अभद्र लागे पनि ‘मुखमा हान्नु जस्तो’ शिवहरि पौडेल तथा ‘अईले लात्तले हानेर बारीको पाटामा पुर्‍याउँछु अनि….’ माग्ने बुढाको संवाद धेरैलाई कण्ठै छ । धेरैका लागि राजेश हमालको संवाद ‘साथीको लागि यो हात सलाम हो, शत्रुको लागि यो हात फलाम हो…’ रमाइलो लाग्छ । अलि सस्तो भए पनि आफ्नो लाग्छ ।
उनीहरूलाई परदेशमा धेरै हेरिन्छ, सुनिन्छ र दोहोर्‍याइन्छ। अरू मुलुकका हाँस्यव्यंग्यको बाटो पनि यही हो । मुलुकबाहिर अनेकौँ नेपाली तथा अंग्रेजी वेबसाइट खुलेका छन्, तिनको काम नै कसरी हुन्छ चाँडो हाँस्यव्यंग्य शृंखलाहरू आफ्नो वेबसाइटमा हाल्नु र बढी क्लिक पाउनु । विभिन्न उपकरण जोडेर नेपाली टेलिभिजन प्रशारण हेरिने घरहरूमा ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’ का कुरा पनि हुन्छन् । यो सबैका घरमा नहोला ।
परदेशिएकाहरूको चिन्ता भनेको नानीहरूले आफ्नो भाषा नबिर्सियून् भन्ने हो । नानीहरूले सुन्ने र दोहोर्या उने भनेको करिव त्यस्तै संवाद हुन्, जो सजिलै सञ्चारमाध्यममा फेला पर्छन् । यो सबै नानीहरूले नगर्लान् । यसमा हाम्रो दोष के छ भने, हामीले हाम्रो भाषा परदेशसम्म लैजाने अरू आकर्षक माध्यम बनाएनौँ । बनाउने कसले हो ? पत्ता लगाएनौँ, थाहा पाएनौँ । सायदै पाउँछौँ, कुनै दिन ! अंग्रेजीमा राइम्स छन्, नेपालीमा यस्ता गीतहरूलाई नयाँ माध्यममा प्रशस्त मात्रामा उतारिएका छैनन्, जसले परदेशमा हाम्रो जिब्रो बचाओस्, हाम्रा नानीमा नेपाली भाषा जीवन्त राख्न मद्दत गरोस् । नानीहरूलाई नेपालीका गतिला पुस्तक पढ्ने बनाउन सकिएन भने हामीले भाषाका लागि यस्तै भाषामा त्वम्शरणम गर्नुबाहेक के नै पो छ र उपाय ?
पत्रकार विजयकुमार पाण्डेले आफ्नो पुस्तक खुसीमा हाँस्यकलाकारलाई खित्खितेको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘टेलिभिजन खित्खिते (हाँस्य) कार्यक्रमले भरिए, यो त्यस्तो देश हो जहाँ नायकभन्दा खित्खितेहरू चर्चित भए ।’
परदेशमा धेरै रूचाइने यी हाँस्यकलाकारहरू एक अर्थमा भाषाका संवाहक हुन् । भाषाका प्रभावकारी बाहक नै हुन् । हाम्रा लागि ती नेपाली व्याकरण हुन्छन्, भाषाका पुस्तक हुन्छन्, पाठ्यपुस्तक हुन्छन् । समयले महाकवि, आदिकवि, कविशिरोमणि, युवाकवि, बालकवि जन्माउँछ । भलै सृजना काँचो होला !
पत्रकार पाण्डेले लिएका अन्तर्वार्ताभन्दा बढी हेरिन्छन्, हाँस्यव्यंग्य शृंखला । यी शृंखलाहरू बुझ्न सजिला छन्, अन्तर्वार्ता जटिल छन्, राजनीति जटिल छ, समाधान नदिने वार्ताहरूको अर्थ के नै हुन्छ र ? तर, ठाडो शब्दमा भन्नुभन्दा पत्रकारिताले हाँस्यव्यंग्य निखार्न पक्कै मद्दत गर्न सक्छ ।
होला, यो क्रम एउटा पुस्तामा सीमित रहला । अर्कोमा पुग्दा हामीले भाषा बचाउन सक्यौँ वा हामी भाषा बचाइरहने सामग्री निर्माणमा लाग्यौँ भने लैजान सकौँला, हाँस्यव्यंग्य शृंखला वा पत्रकार पाण्डेहरूलाई सीमाबाहिर, सीमाभन्दा निकै परसम्म, आउँदा पुस्ताहरूमा ।
(कोइराला अमेरिकामा निस्कने ‘अक्षरिका’ न्युजलेटरका सम्पादक हुन् । यो लेख २०७१ मंसिर १५ / सन् २०१४ डिसेम्बर १ मा ‘नागरिक दैनिक’ मा प्रकाशित भएको हो ।)

Comments posted (1)

मन पर्याे

Write a comment