बूढा मरे, भाषा कता परे ?

Buda-Mare_Bhasa-Kata-pare_2014-Oct-20_2071-Kartik-03अमेरिकी भूमीमा नेपाली-भाषी हजुरबुबा-हजुरआमा र बुबा-आमाको संख्या भूटानीको पुनर्स्थापनासँगै ह्वात्तै बढ्यो । नेपाली परिवारहरूमा अधिकांश बुबा-आमा हुनुहुन्छ भने नेपाली-भाषी भूटानी परिवारमा हजुरबुबा-हजुरआमा र बुबा-आमा हुनुहुन्छ । किन पनि भने शरणार्थी पुनर्स्थापना गर्दा परिवार एक ढिक्का आउँछ अर्थात दुई/तीन पुस्ता पुनर्स्थापित हुन्छ । नेपालबाट आउँदा सामान्यतयाः एक पुस्ता र/वा उनका सन्तान आउँछन् । अनि हजुरआमा-हजुरआमा पछि थपिनुहुन्छ, त्यो पनि कमै मात्रामा ।
नेपाली र भूटानीको पहिलो र दोस्रो पुस्तामा शैक्षिक-स्तर तुलना गर्दा फरक तथ्यांक सामुन्ने आउँछन् । नेपाली बुबा-आमाका समयमा शिक्षाको अवस्था नेपालमा केही अघिबढेको भए पनि भूटानी हजुरबुबा-हजुरआमाका पालामा शिक्षा करिब उपलब्ध थिएन भने बुबा-आमाका पालामा बढेको भए पनि निकै कम थियो । भारत पसेर शिक्षा लिने खासगरी बुबाहरू साक्षर हुनुहुन्छ, धेरै संस्कृत, नेपाली र कम अंग्रेजीमा । नेपालीहरूको तथ्यांक स्पष्ट नभए पनि अनुमान (?) मा दुई लाख भनिन्छ । ‘चुच्चे ढुंगो, उही टुंगो’ भनेझै जनगणना २०१० मा देखिएको ५९ हजार ४ सय ९० नेपालीको कुरा दोहोर्‍याउनुपर्ने हुन्छ । भूटानी सन् २०१४ सेप्टेम्बरमा सकिएको आर्थिक वर्षमा ७८ हजार ७ सय ७२ पुनस्र्थापित हुनुभएको छ । यहाँ पुनर्स्थापितमध्ये करिब ६० प्रतिशत १५-४४ वर्ष उमेर, १५ प्रतिशत ४५-६४ वर्ष उमेर, ५ प्रतिशत ६५ वा सोभन्दा बढी उमेर र बाँकी १५ वर्षभन्दा कमका हुनुहुन्छ ।
भाषाको कुरा आउँदा शरणार्थी पुनर्स्थापनापछि तत्काल बेहोर्नुपर्ने ठूलो समस्या नै भाषाको हुन्छ । सरकारले पुनर्स्थापना गराउँदा बसोबास दिन्छ र स्थानीय संस्थाले कामका लागि तयार पार्न तथा काम खोज्न सघाउँछन् । तर भाषाले धोका दिन्छ, धेरैलाई ।
अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड जस्ता देशमा पुनर्स्थापितलाई अंग्रेजीको भरोसा छ । आफूले नबुझे नाति-नातीनासम्मले त बुझ्छन् । डेनमार्कमा पुनर्स्थापितलाई अंग्रेजीकै अक्षर भएको डेनिस भाषाले ठूलै दुःख दियो, जसको उच्चारण नै फरक छ । तथापि गैर-अंग्रेजी भाषा बोलिने डेनमार्क, नर्वे, निदरल्यान्डमा केही सयको संख्यामा मात्र पुनर्स्थापित हुनुहुन्छ ।
अमेरिकामा पुनर्स्थापितहरू गत वर्षदेखि नागरिक बन्न थाल्नुभएको छ । तर साक्षरता कम भएकाले अंग्रेजी पढाउने र नागरिकता दिने परीक्षामा उभ्याउने प्रयासमा यहाँका भूटानी अग्रज र संस्था लागिपरेका छन् । पत्रकार तथा ‘जर्नालिज्म इन एक्जाइल’ का लेखक टिपी मिश्रको भन्नुहुन्छ, ‘अलि उमेर कटेका र उनको परिवारलाई नागरिकता झन आवश्यक छ ।’ ङन सुवेदी थप्नुहुन्छ, ‘४० वर्ष माथिका धेरैलाई अंग्रेजी आउँदैन । आएदेखि अंग्रेजी पढ्दा पनि यसमा खासै सुधार नदेखिएका धेरै जना हुनुहुन्छ ।’ मिश्र र सुवेदी नर्थ क्यारोलाइनामा बस्नुहुन्छ । उता युटाका घन दुलालले भने प्रयास जारी राखेको र पाको उमेरकालाई नागरिकता दिलाउन सफल भएको बताउनुभयो । यो प्रयास पश्चिममा वासिंगटन राज्यदेखि पूर्वमा म्यासाच्युसेट्ससम्म जारी छ । नागरिकता लिन नसक्दा धेरै सुविधाबाट टाढा हुने डर हुन्छ ।
नागरिकता लिन आप्रवास मन्त्रालय ‘होमल्यान्ड सेक्युरिटी’ को विभाग ‘युएससिआइएस’ ले तयार पारेको एक सय प्रश्नको पुस्तक पढ्नुपर्छ । परीक्षामा १० प्रश्न सोधिन्छन्, जसमा ६ प्रश्नको सही उत्तर अंग्रेजीमा र अंग्रेजी भाषाज्ञानको जवाफ लिखित वा मौखिक दिनुपर्छ ।
एकातर्फ काममा जान नपाएको पुस्तालाई अंग्रेजी नजान्दाको चिन्ता जति छ, त्यति नै चिन्ता छोरा-छोरी र नाति-नातीनाले नेपाली बिर्सेकोमा छ । अरूलाई पाको उमेरकाहरूको कुरा सुन्ने फुर्सद छैन । पुस्तान्तरको दूरी बढ्दो देखिन्छ । छोरा-बुहारी कामका निस्कने बाजे-बज्यैका कुरै नाति-नातीनाले नसुनिदिने र अंग्रेजी मात्र बोलिदिने समस्या बेलायतमा पुनर्स्थापित पूर्वगोर्खाका परिवारमा देखिएकै हो । अमेरिकामा यसै भइरहेछ, नेपाली होस् वा नेपाली-भाषी भूटानी ।
अर्कातर्फ नेपाली समुदायले पाकाहरूलाई गुमाउँदै छ । पृथ्वीनारायणको ‘दिव्योपदेश’मा भनेझैं ‘बूढा मरे, भाषा सरे’ को क्रम यहाा विचलित भएको छ । पाकाले आफूमा न यहााको भाषा सार्न सकेका छन्, न आफ्नो (नेपाली) भाषा छोरा-छोरी र नाति-नातीनालाई । ‘बूढा मरे, भाषा कता परे ?’ को परिस्थिति ठिङ्ग उभिएको छ ।
(अमेरिकामा निस्कने ‘अक्षरिका’ नेपाली न्युजलेटरका सम्पादक । २०७१ कार्तिक ३ / सन् २०१४ अक्टोबर २० मा ‘नागरिक दैनिक’ मा प्रकाशित)

Write a comment