वृद्धाश्रमबाट छोरालाई नपठाएको चिट्ठी

Envelope_01
(सन्दर्भः अन्तर्राष्ट्रीय वृद्ध दिवस/ १ अक्टोबर)


प्यारो छोरो गन्तव्य
तलाईं आर्शिवाद
बाबु खाना खाइस् ? अस्ति मलाई छोड्या बेलासम्म, ‘खान भ्याएको छैन’ भन्थिस् । धत्, म बूढी पनि के भा’की ? साता-दश दिन भइसक्यो । यतिका दिन पनि नखाई कोही बाँच्छ र ? बुहारीलाई ख्वाई हाली होला नि । नाति भुन्टे के गर्छ कुन्नि ?
फेरि तिमीहरु कहाँ हो जाने भन्थ्यो, नातिले । पुग्यौं त ? बाटामा खायौं होला की ? बसमा गयौं की हिंडेर गयौं ? बस भन्दा एउटा कुरा सम्झे, सानो छादा तलाईं बस चढ्नु हुन्थेन । उल्टी गर्थीस् । उस बेला प्लास्टिकका झोला पाइँदैन थे । अरु केही बोक्न पनि सुद्धि-बुद्धिले कहाँ काम गर्थ्यो र ? तलाईं बान्ता भएपछि मलाई पनि हुन्थ्यो । बान्ताले आमा-छोरा आलस-तालस हुन्थ्यौं । ङ्यास्याक्क परेको अनुहार लिएर मामाघर पुग्थ्यौं । हजुरीले तात्तातो काँडा-पानी ख्वाएपछि यसो सास आउँथ्यो । काँडा-पानी भन्दा आज मलाई निकै भोक लागेको छ । आज बिहानैदेखि कसैले खान दिएका छैनन् । चामल सकियो, दाल पनि छैन भनेर हल्ला-खल्ला गरेको सुन्दै थिएँ, होला पनि । यत्रा मान्छेलाई के ले पो पुग्थ्यो र ? यी यस्तै हुन् । ठट्टै पो हो की पनि भन्ठान्छु । कहिले ठट्टा पनि गर्छन् । त्यही त के के भनिरहन्छन् ? अढाई सयका हजार थरी कुरा । ‘तिमीहरू मर्‍यौं भने पैसा छैन, केले दाउरा किन्नु ?,’ कहिलेकाहीं यसो पनि भन्छन् । मलाई त जिस्काएका हुन् की भने जस्तो पनि लाग्छ । एउटी पौडेल्नी आमै छिन् । तिनले सुनाउँथिन, ‘भारतमा बूढाबूढी मरे भने बोरामा हालेर खोलामा फ्याँक्छन् ।’ उनका कुरा कति ठेगानका हुन् कुन्नी ? वृन्दावनमा त्यस्तै भयो रे । त्यहाँ पनि नेपालका बूढाबूढी छन् रे । लौ, यहाँ पनि त्यसै गर्लान् की भन्ने डर छ, बाबु । हाम्रा त यत्रा वन छन्, दुई-चार भारी दाउरा कसो नल्याउलान् । गाउँमा भए, यस्ता कुराका चिन्तै थिएनन् । चिन्ताभन्दा मलाई त्यो भुक्के नातिको खुब चिन्ता लाग्या छ । के गर्छ ? मेरो लौरो लुकाएर हैरान पार्थ्यो । एकदिन सिरानी लगेछ । राती सुत्ने बेलामा हेर्छु त छैन । लौ न, मलाई बित्यास परेन र ? तिमीहरूका चोठाकोठामा साँचो लगाएको थियो । त्यसदिन म भुसुक्क निदाएँ । भोलिपल्ट गर्धन दुखेर सहीनसक्नु भयो । कति चकचक गर्थ्यो, अनुजे काले ।
अनुजे भन्थ्यो, तिमीहरू कतै जाँदैछौं । के पो भन्यो, बाबुले ? मैले बिर्से । ‘नर्के, नर्बे’ के भने जस्तो लाग्छ । भन्थ्यो, ‘बाबाले ठूला ठूला सुटकेस ल्याइ’स्यो । सबै कुरा हालि’स्यो । मामुले सघाइ’स्यो ।’ घर होइन, कोठा हो, छाडेर हिंड्न कति सजिलो थियो । तिमीहरू हिड्यौं की त्यहीं छौं ? घरभन्दा यो हामी बस्ने बूढो घरका कुरा अर्का छन् । कहिले त, ‘यो बूढाबूढी बस्ने घर डेढ सय वर्षको भयो । अब भत्काउँछन्,’ पनि भन्छन् । भत्काए भने यत्रा बर्गेल्ती बूढाबूढीलाई कहाँ लगेर राख्ने हुन् कुन्नि ? मन्दिरका घन्टी बज्ने ठाउँभन्दा टाढा पो लाने हुन् की ? मेरो ठेगान नहोला जस्तो भो ।
म त्यहि दिन बेठेगान भा’की जस्तो लाग्छ, जुन दिन तैले मलाई यता ल्याएर छाडिस् । पशुपतिको तल्लापट्टि रहेछ । ‘यहाँ उभिनुहोस् । म गाडी उता राखेर आउँछु,’ भनेको थिइस् । अनि ता गाडी राख्न गइस् भन्ठाने । म निकैबेर उभिंदा पनि ता आइनस् । मिलेट बित्यो । घन्टा पनि बित्यो । अधेँरो भो । खुब छट्पटि भइरा’थ्यो । लौराको भरमा निकैबेर उभिएँ । थाकेकी पनि थिएँ । एक जना नानी आए, तेरै उमेरका होलान् र सोधे, ‘आमा कता जानु पर्ने हो ?’
मैले भने, ‘छोराले गाडीमा ल्यायो । एकछिन पख्नु भन्यो । घाम लाग्या थिए । अहिले अस्ताए । त्यो त आएन, बाबु ।’
नानीले भने, ‘लौ न कहाँ बस्नुहुन्छ ?’
मैले भने, ‘म पनि नयाँ हुँ । काठमान्डू आएको कहाँ धेर भा’छ र बाबु । कहाँ हो कहाँ ? बसुन्जेल कोठाभित्र बसे । बूढीमान्छे । छोराले यहाँ ल्याएर छाड्यो । मन्दिरछेउ जस्तो छ । घन्टी बज्या सुन्छु । मान्छे मर्‍या पनि यतै लग्या जस्तो लाग्यो । कता हो कता ?’
ती नानी पनि नयाँ रहेछन् । पढ्न भनी काठमान्डू आएका । यतै बाट हिँड्दै डेरा पुग्दा रहेछन् । उनले भने, ‘म पनि नयाँ हुँ, आमा । कलेज पढ्छु । आफन्तकहाँ बस्छु । घरको काम सघाएकाले पढाइदिएका छन् । के गरौं ? म आफैं पाहुना छु । यहाँ हजुरको माया लाग्यो । लैजाऔं कहाँ लैजाऔं ? तपाईंलाई यहाँ बूढाबूढी बस्ने घरमा लगेर छाड्छु ।’
तैले छाडिस् । ती नानीले छाडे । यहाँ धेरै बूढाबूढी छन् । कोही सासै जान लागेका छन् । अस्तिका दिनमात्रै खड्का बाबै मरे । जेनतेन पशुपतिमा संस्कार गरे भन्थे । हामीलाई, ‘तपाईहरूमध्ये ७० कटेका चाहिं नजानुहोस्’ भने । म गइँन । जान पाउने गए, रुँदै फिरे । मर्ने त मरिगए, मरेपछि यीनको सराद्धे कसले गर्दो हो ? सराद्धेभन्दा सोह्र सराद पनि मुखमा आयो भन्छन् । बाको सराद्धे गर्नुपर्ने थ्यो । तैले तिथि त बिर्सेको छैनस् नि ? अनुजे काले चाहिं मासु भनेपछि मरिहत्ते गर्छ । ठूलाले माछा-मासु नखानु भन्छन्, यसो ख्याल गरेस् है बाबु ?
चिसो बढ्न थालेछ । राती दिएको ओड्नेले कति दिन थाम्ने होला ? सोह्र सराद सकिएपछि विस्तारै दशैं लाग्छ । दशैंमा टिको लगाउन आउँछस् होला नि बाबु ? यत्रा बूढाबूढीका छोराछोरी आए भने कति रमाइलो हुँदो हो, यो आश्रममा । यी बिष्टीनी आमै भन्थिन्, ‘छोरा-बुहारीले घरबाट उनलाई निकाला गरे । त्यसपछि कहिले मैले उनको अनुहार देख्न पाएकी छैन । दशैंका त के कुरा दिदी ।’
मनमा कति कुरा छन् । कसलाई भँनु ? कसलाई भँनु ? भइरहन्छ । तलाईं पनि सुनाउन मन छ । लेख्न जान्या भए, लेख्थे । यी नानी आएछन्, ‘समाचार लेख्न आएको आमै,’ भन्थे । मैल मेरा छोरालाई चिट्ठी लेखिदउ न बाबु भनेँ । उनले लेखिसके । आमा, ‘छोराका ठेगाना चाहीं के नि भनें ?’ उनले पनि के सुरमा लेखे ? सारा कुरा भनेकी छु । माथि लेखेका छन् । बेला-बेला अप्ठ्यारो मान्थे । रोकिएझै गर्थे । त्यही त ठेगाना मलाई पनि कहाँ थाहा छ र ? त्यसै हुने भो यो चिट्ठी । चिट्ठी नपठाउन सके पनि मनमा त तँ छस् नि । बुहारी छे । नाति छ । म पो कहाँ छु ? भन्ने भाको’छ । ता आउँदैनस् भन्ने लाग्न थालेको छ । मन अलि आत्तिन थालेको छ । ए, नानी- ए बाबु, सुन त । ता आउँछस् ? कि साँच्चै आउँदैनस्, अब ? मलाई लग्दैनस्, आफूसँग राख्न ?
तेरी आमा
दिवेश्वरी


Envelope_02

Comments posted (1)

मनै छुने आमाको चिठी धन्यवाद छ कोइराला ज्यूलाई जसले प्रत्यक छोराहरूको आत्मामा आफ्नो जन्म दिने आमा प्रति सत्भाव पैदा गर्ने छ ।

Write a comment