परदेशमा नेपाली शिक्षण

Pardesh-ma-Nepali-Sikshan_2014-Sep-18_2071-Asoj-02सेप्टेम्बर लाग्दा अमेरिकाका सबैजसो स्कूल–कलेज नयाँ शैक्षिकसत्रका लागि खुल्छन् । नानीहरु अंग्रेजी पढ्छन् । आफ्नो मातृभाषाको चिन्ता सबै आप्रवासीलाई हुन्छ ।
क्यालिफोर्निया राज्यको किन्डरगार्टनदेखि कक्षा १२ सम्म पढ्ने विद्यार्थीमध्ये ४५ प्रतिशतले अंग्रेजीबाहेक अर्को भाषा पनि बोल्छन् । क्यालिफोर्नियामा मात्र के कुरा, घरमा बोल्ने बानीले मातृभाषा बचाउन सजिलो पनि हुन्छ ।
अमेरिकाको तथ्याङ्क विभागले सन् २०१३ अगस्टमा अमेरिकी घरमा बोलिने भाषासम्बन्धी एउटा सर्वेक्षण सार्वजनिक गर्योट । तथ्याङ्क भन्छ, ‘दशमध्ये एक घरमा अंग्रेजी मुख्य भाषा होइन । त्यो अवस्था यहाँका एक चौथाई काउन्टिमा भेटिएको छ । अंग्रेजीबाहेक घरमा बोलिने मुख्य भाषा स्पेनिस हो ।’
घरमा बोलिने भाषाको सूचीमा नेपाली भाषा ‘अन्य’को सूचीमा परेको हुनसक्छ । १६ पृष्ठको ‘ल्याङ्वेज युज इन दि युनाइटेड स्टेट्स २०११’ रिपोर्टको मुख्य पुस्तिकामा नेपाली–भाषा भेटिदैन । आधिकारिकरूपमा ७७ हजार (सन् २०१४ अगस्त अन्त्यसम्ममा) नेपाली–भाषी भुटानी र अनौपचारिकरूपमा करिब २ लाख नेपाली (जनगणना २०१० ले ५९ हजार ४ सय ९० नेपाली मात्र देखाएको छ) यहाँका अल्पसंख्यक हुन् ।
यो अल्पसंख्यक नेपाली–भाषीमाझ एउटा चिन्ता र चासोको विषय छ, नानीलाई कसरी नेपाली भाषा सिकाउने । यहाँ दुई थरी नेपाली–भाषी भए, नेपाली र नेपाली–भाषी भुटानी । चिन्ता र चासो दुवैको भए पनि सजिला र अप्ठ्यारा करिब उस्तै र भिन्न छन् । पुराना वासिन्दा नयाँ आप्रवासीलाई आफ्नो भाषा नबिर्स है भनेर सचेत गराइरहन्छन् र भन्छन्, ‘घरमा आफ्नो भाषा बोल्ने गर ।’
अमेरिकामा नेपाली–कक्षाको आकार ठूलो र पुरानो छ । नेपाली नै पढ्ने-पढाउने प्रयास सन् १९६० को दशकमा ठूला मान्छेका लागि भएको तथ्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो वेबसाइटमा लेखेको छ। अनेसासले लेखेको तथ्यलाई सत्य (अर्को इतिहास फेला नपरून्जेल) मान्न सकिन्छ ।सन् १९५२ मा पहिलो नेपालीले ग्रिनकार्ड पाएको इतिहास हेर्दा त्यो दशकमा त्यस्तो काम पक्कै नभएको हुनसक्छ । सन् १९६० को दशकमा अमेरिकी स्वयंसेवी संस्था ‘पिसकोर’ नेपाल गयो। त्यसपछि अमेरिकीले नेपाल पुगेरै पक्कै नेपाली पढे । स्वयंसेवकले भाषा, संस्कृति आदिको तालिम लिएका पनि हुन्छन् ।
नेपालीको संख्या बढ्दै जाँदा नानीलाई भाषा सिकाउने विचार आउन थालेको पाइन्छ । अमेरिकामा नेपाली विस्तारै बढ्दै गए । नेपालीले आफ्नो प्रयासमा नेपाली पढाउने प्रयास गरे । अहिले पनि नेपाली पढाउनेक्रम जारी छ । नेपालीका कक्षा दुवैथरीले चलाएका छन् ।
नेपाली–भाषी भुटानी भाषा र भेषभुषाकै कारण भूटानबाट लखेटिए । त्यसैले नेपाली–भाषाप्रति उनीहरूको लगाव नेपालबाट आएकाको भन्दा गाढा देखिन्छ । यसैकारण उनीहरूलाई सरकारी वा संस्थागत सहायता जुटाउन सजिलो देखिन्छ । उनीहरूले चाहे, नेपाली–भाषा नानीलाई सिकाउने काम सहज हुनसक्छ र भएका उदाहरण पनि छन् ।
पढाउनका लागि समय, पैसा, स्थान, सामग्री, पढाउने व्यक्तिको खाँचो हुन्छ । सामान्यतः यहाँ हुने दुई दिने बिदा (शनिबार र आइतबार) त्यो पनि स्कूलको करिब ३ महिनाको गर्मी बिदाबाहेक दिनमा, कसैको त्यही तीन महिना मात्र, हिउँ पर्ने राज्यमा हिउँ पर्ने महिनाबाहेक गरेर नेपाली भाषा कक्षा भएका पाइन्छ ।
पाठ्य–सामग्रीको समस्या भएको अनुभव शिक्षणमा संलग्नहरू बताउँछन् । हो पनि औंलाले सरसर्ती सारेर टच–स्क्रिन चलाउने बानी परेका नानीलाई किताब पढ्न गाह्रै हुन्छ । नेपालको सरकारी स्कुलका लागि तयार पारिएको किताब आकर्षक छैनन् । केही निजी प्रकाशनका किताब भने यहाँका नानीलाई पढाउन सजिला छन् । कनेटिकटमा नेपाली पढाइरहेका गोपाल गौतमले भने, ‘नेपालका किताबले नानीहरू आकर्षण नै गर्न सकेन ।’
दुई भाषा जान्दा धेरै फाइदा हुने वैज्ञानिकले पुष्टि गरेका छन् । पछिल्ला अनुसन्धानबारे टाइम पत्रिकाले सन् २०१३ जुलाईमा जेफ्री क्लनरको एउटा रोचक लेख प्रकाशित गरेको छ । यस्ता निष्कर्ष अन्त पनि पाइन्छन् । विश्वमा ६ हजार ८ सय भाषा छन् । न्युयोर्कमा ८ सय भाषा बोलिन्छन् । नेपालीबाहेक अन्य एक दर्जन बढी नेपालका भाषा बोल्ने न्युयोर्कमा छन् । त्यस हिसाबमा अमेरिकामा अन्य राज्यमा नेपाली र नेपालका अन्य भाषा बोलिन्छन् ।
अमेरिकामा धेरै भाषामा अनुवाद गर्ने मानिस भेटिन्छन् । यो जागिरका रूपमा सीमित छ । धेरैको आम्दानीको स्रोत पनि बनेको छ । अनुवाद वा दोभाषे गर्ने अर्को पुस्ता यतै तयार हुन्छ कि भन्ने आशा गरौं ।
(कोइराला, अमेरिकामा निस्कने ‘अक्षरिका’ न्युजलेटरका सम्पादक / २०१४ सेप्टेम्बर १८ / २०७१ असोज २ को ‘नागरिक दैनिक’ मा प्रकाशित)

Comments posted (1)

राजेशजी
नेपाली भाषी केटाकेटीहरुलाई नेपालका साहित्यकारहरु चिनाउने उद्देश्यले यस पटक http://www.guruonline.edu.np ले मोतिराम भट्टको रेखाचित्र वेबपेजमा राखेको छ। त्यहाँ अमेरिकामा बस्ने केटाकेटीहरुलाई पनि यो फोटो डाउनलोड गरी रंग भराउने गर्न सके नेपाली साहित्यकारहरुको चिनारी विदेशमा रहेका नेपालीहरुमा पनि हुन सक्ने थियो कि?

Write a comment