समाचारमा कोरिएका सीमारेखा

Samachar-ma-Korieka-Simarekhaअमेरिकाको कन्सासमा गत जुलाई २ को सडक दुर्घटनामा उर्मिला शर्माको निधन भयो । ‘एक कान दुई कान मैदान’ भएर फैलिने खबरलाई सामाजिक सञ्जालले सबै नेपाली–भाषीसामु पुर्‍याए । अमेरिकाका नेपाली र नेपाली–भाषी भुटानीले आफ्नै शैलीमा फेसबुक, टि्वटरमा खबर राखे । घटनाको क्षणभरमा नेपालीले उनलाई नेपाली ठाने र नेपाली–भाषी भुटानीले भुटानी । उर्मिला नेपाली–भाषी भुटानी हुन् । यो नठम्याउन्जेल उनी नेपाली पनि भइन् र नेपाली–भाषी भुटानी भइन् । तथापि उनलाई चिन्ने भुटानीहरुले ‘हाम्रै चेली’ हुन् भन्ने निर्क्योल निकालिसकेका थिए । उनलाई विभिन्न सञ्चारमाध्यमले नेपाली भनेर पनि लेखिदिए ।
यो घटना समेटेर स्तम्भ लेख्ने क्रममा ‘नेपाली, नेपाली…’ भनी दोहोर्‍याइएको कसलाई हो ? भन्ने स्वयं स्तम्भकारले महसुस गरिरहेको छ । अमेरिकामा नेपाली नेपालबाट आएकालाई र नेपाली–भाषी भुटानीलाई भुटानी भनिन्छ । हामी मूलतः दुई थरीका नेपाली भयौं, यहाँ । अमेरिकामा नेपाली बोल्ने मुख्य दुई समूह छन् । भारत, बर्मा आदिबाट अमेरिका भित्रेका नेपाली पनि छन् । जनगणना २०१० अनुसार नेपालबाट आएका नेपाली–मूलका मानिसको संख्या ५९ हजार ४ सय ९० छन् र नेपाली–भाषी भुटानी ७७ हजार ७ सय ३२ गरी अमेरिकामा कुल १ लाख ३७ हजार २ सय २२ नेपाली–भाषी भएका छन् । तर नेपालबाट आएका नेपाली–मूलका मानिसको संख्या भने जनगणना देखिएभन्दा तीन वा चार गुणा भएको अनुमान पनि गरिन्छ ।
सानाभन्दा साना विषयमा एकथलो भेला हुन सकेका उदाहरण कमै भेटिन्छन् । एउटै नगरमा दुई थरी भानु जयन्ती हुन्छ । उनै भानुलाई सम्झन किन फरक प्रयास गरिन्छ? दशैं आउँछ, तिहार आउँछ । लक्ष्मी जयन्ती किन फरक हलमा गरिन्छ ? भाषा एउटै, साहित्यकार उही, किन गाइन्छ फरक स्तुति ? अमेरिकामा विश्वका सबैजसो देशमा मान्छे छन् । जहाँबाट आएको हो वा जुन देशमा जन्मेको हो, त्यसलाई उत्पत्ति राष्ट्र (कन्ट्री अफ ओरिजिन) भनिन्छ । हो, यहाँको परिभाषामा कन्ट्री अफ ओरिजिनमा भलै हामी फरक हौं । तर जीव–विज्ञानको हिसाबले कन्ट्री अफ ओरिजिन एउटै हो, नेपाल । त्यस अर्थमा धेरै हिसाबले हामी एक हौं ।
हामी भाषा, धर्म, संस्कृति, परम्परा आदिले एक भए पनि एउटै बाजेका सन्तान कोही नेपाल र कोही भुटानमा जन्मे–बढे पनि हामी अमेरिकामा लक्ष्मण–रेखा कोरिरहेका छौं । यसरी थर, जात मिलेपछि बेलाबेला हुने असमञ्जस्य आफ्ना थलामा होला। नेपाल र नेपालीले ठूलो छाती पार्नै पर्छ । नेपाली–भाषी भुटानीलाई देशमा अटाउन नसके पनि छातीमा अटाउनुपर्छ । यसरी अटाउन सकेनौं भने यस्तो भइरहन्छ । नेपालीभाषी भुटानीलाई पनि नेपालभित्र राम्रो प्लेटफर्म आवश्यक हुन्छ । पुस्तक छाप्न भुटानी नेपाल पुग्छन् । गीत रेकर्ड गर्न नेपाल पुग्छन् । विमोचन नेपालमा गराउँछन् । यस्ता विमोचनका समाचार पनि आउन् भन्ने चाहन्छन् । यो नेपाली सञ्चारमाध्यमले बुझ्न आवश्यक पनि छ ।
यो पुस्ता वा अवस्थामा भएको दूरी आउँदो पुस्ता वा अवस्था पक्कै रहँदैन । भेद बालबालिकामाझ हुन्न । ठूलाले गर्छन्, भेद । ठूलाले सिकाउँछन्, भेद । यो नेपालको कुरा हो, भुटानको कुरा हो । यहाँ भेद सिकिँदैन, अनि गरिँदैन । त्यो पनि नेपाली र नेपाली–भाषी भुटानीबीच ।
हामी नेपाली–भाषी भुटानीका मात्र कुरा गर्दैछौं । समय बित्दै जाँदा अन्तर्देशीय विवाह भएका नेपालीलाई हाम्रा समाचारले पराई ठान्न सक्छन् । सन् २०११ फेब्रुअरीमा मिनेसोटामा एउटा बन्दुकधारीको गोलीबाट नौ वर्षे बालकको मृत्यु भयो । थर नेपाली थियो । नाममा नेपालीपन थिएन । उनी नेपाली–अमेरिकीको विवाहबाट जन्मिएका थिए । उनको समाचार यता देखिए । उता लेख्न हामी आफैं अन्कनायौं ।
(यो लेख २०७१ भदौ १/२०१४ अगस्त १७ का दिन नेपालमा निस्कने ‘नागरिक दैनिक‘ मा प्रकाशित भएको थियो ।)

Write a comment