राजधानी एक्सप्रेस

अहिले राजधानीमा मान्छेको अनुपातमा गाडि बढेका छन् अर्थात् पहिले मान्छे जुन अनुपातमा बढ्थे, अहिले त्यो छैन । गाडि बढ्ने क्रम भने बढ्दो छ । तै पनि राजधानीमा बस यात्रा कठिन नै छ, त्यसमा पनि कार्यालय जाँदा र आउँदा । खलासी मान्छे कोच्न नजान्ने छ भने यसले त्यो काम नगरे हुन्छ । ड्राइभर अघिल्लो जन्ममा बकुल्लाका रुपमा जन्मिएको हुनुपर्छ, उ ढुकिरहन्छ । यहाँका बसका लागि यात्रु होइन, एक बराबर पाँच रुपैयाँ हुन्छ । सात किलोमिटर पार गर्न आधा घण्टा त लागिहाल्छ । तराईमा धान किन्ने साहुले निकै तगडा मोटामोटा पाखुरा भएको ‘मटिया’ राख्या हुन्छन् । यसको काम बोरामा धान हालेर ढाकढाक ढुकढुक पारेर बढी धान हाल्ने काम गर्नुहुन्छ । तीनै ‘मटिया’को जस्तै काम हो, राजधानीमा चल्ने बसका खलासीको । खलासी बलले कोच्दैन, गाली गरेरै भए पनि कोच्छ । अर्को तथ्य के पनि छ भने उठ्या पैसा जति गाडि साहुले लान्छ, कसरी हुन्छ खलासी मोटामोटा पाखुरा भएको ।
बसयात्रा कहिले काँही रोमान्चक हुन्छ । पानी पर्‍या बेला भित्रै छाता ओड्नुपर्छ । झ्यालमा शिशा हुँदैन । सिट छाडेर उभिनुपर्छ । मान्छेले साग बोकेर चढ्यो भने त्यो साग गुन्द्रुक हुन्छ भन्ने भनाई तपाई, हामी गुन्द्रुके नेपालीलाई कसैले भन्नै पर्ने कुरा हो र ? राजधानीको बसयात्रा मेरा लागि मात्र अनौठो होइन । हास्यव्यङ्ग्यका हस्ती भैरव अर्यालले ‘जयभुँडि’ निबन्ध संग्रहमा आदिकवि भानुभक्त आचार्यलाई अमरावती घुमाएर आफ्नो ‘अमरावती कान्तिपुरी नगरी’ शिर्षकको निबन्धमा राजधानीका बसको वर्णन गर्‍या’ छन्, यसरीः
पथ सात फुटे, बस नौ गजको,
सिट बीस भए भिड सौतकको ।
छ त अन्त कतै सुविधा यसरी ?
अमरावती कान्तिपुरी नगरी ।।
भैरव अर्याल (१९९४ साल असोज ५- २०३३ साल असोज १९) उर्फ तीर्थनाथ अर्यालले त्यसबेला नै यत्तिको अनुभव गरेका थिए भने यो यस्तो यात्राको ऐतिहासिक पृष्ठभूमि कति पूरानो हो, त्यसै अनुमान गर्न सकिन्छ ।
राजधानीको बस यात्राको व्याख्या धेरै लेखकले आ-आफ्नै ढंगले गरेका छन् । आदिकविको कान्तिपुरीको अनुभव बस बाहिरै बसेर लेखेको जस्तो भए पनि दाताराम शर्मा पौडेलले आफ्नो कृति ‘सिस्नु ९७’ मा बसभित्रको वर्णनमा यसरी लेख्छन्ः
ती बस्न पाउँछन् जो जो अगाडि भित्र पस्तछन्
भलादमी बन्न खोज्ने उभिनै पछि पस्तछन् ।
कोही धक्का मिठोमानी ढोकामै रल्ल पर्दछन् ।
खल्ती खाली गरी कोही रुन्चे मूख लगाउँछन् ।
घडी हराउँछन् कोही कोही कलम छाम्दछन् ।
केरा चपाउँछन् कोही कोही राल चुहाउँछन् ।
कोही भन्टा समातेर आलु प्याज गुडाउँछन् ।
उता चामलका पोका यता छन् तेलका टिन
न शिष्टता बस्छ न ता बस्छ त्यहाँ घिन ।
छाद बग्छ कतै राल सिँघानसित नाच्दछ ।
उता तान्छ करौंतिले यताको जाँड तात्तछ
छेडपेच तहीं चल्छन् फुरौला पनि फल्दछन्
ठेलाठेली सधैंको छ पैसा तिर्दा कसाकस
काठमाडौं खाडलमा यस्तै छ बसको रस ।
दाताराम शर्मा (वि. सं. १९७० साल भाद्र- २०४४ साल) उर्फ दूर्गानाथ शर्मा (न्वारानको नाम) को ‘सिस्नु ९७’ को पहिलो संस्करण २०३७ साल भदौ १३ गते कौवा प्रकाशनले प्रकाशित गरेको हो । दातारामले गरेको वर्णनमा त्यसबेलाको अर्थात् भैरव अर्यालको भन्दा पछिको वर्णन छ । दातारामको यस वर्णनमा जुनजुन रस पाइए पनि जाडोमा रसिलो हुने काठमाडौंको बसयात्रा गर्मीमा बढी कसिलो हुन्छ, अलि नरमाइलो हुन्छ । होइन त ? अब अहिलेका कुरा गरौं । साझा बस चढेर कस्को यात्रा कहाँसम्म पुग्यो, त्यो यात्रा भ्रष्टाचार, कमिसन वा अर्थोक केहीको होस् । त्यसको चर्चा यहाँ गरेर साध्ये छैन् । तर आममान्छे गर्ने अहिले राजधानीको साझा बसयात्रा वर्णनको नयाँ संस्करण मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र जीवा लामिछानेको ‘फिलिम’ नामक चलचित्रको गित ‘साझा बसमा जो ….. ‘ जस्तै हो ।
००
(२०५७ मंसिर १८ को ‘कान्तिपुर’ दैनिकमा प्रकाशित)

Write a comment