उम्मेदवार नं. २०६

म उम्मेदवार नं. २०६ । चुनावमा उम्मेदवारहरू उठ्छन् । म पनि क्षेत्र नं. २०६ बाट चुनाव उठेको । आज बकपत्र जारी गर्ने शुभ-साइत । सबैले घोषणापत्र बनाउँछन्, घोषणा गर्छन् तर काम भने ठ्याम्मै गर्दैनन् । एकजनाले मात्र बक्ने भएकाले पनि यो बकपत्र हो, घोषणापत्र होइन । मेरो बकपत्र जारी गर्दा पत्रकार बोलाउँ भने को आउला र ? एक्लो मान्छेको बकपत्रमा के नै पो होला भन्लान् । त्यसैले यही एउटा निर्विकल्प माध्यमबाट आफ्नो बकपत्र जारी गर्न गइरहेको छु । कबोल गरिदिनु होला । अनि मेरो बकपत्रभन्दा पनि मेरो कूल के हो ? मेरा बाबु-दाजले हिँडेको मार्गमा म पनि हिँडेको छ वा छैन ? म पनि केही क्षमता भएको मान्छे हो वा होइन ? हिङ नभए पनि हिङ बाँधेको टालो हो कि ? त्यो बुझ्नैपर्ला । किनभने मैले आफ्नो जीवनी कतै छापेको वा छपाएको छैन अथवा भनौं कसैले लेख्ने जमर्को नै गरेका छैनन् ।त्यसो त म केटाकेटी छँदा वामपन्थी बनेको मान्छे । कुरा मीठा गर्दैमा जो पनि लोभिइहाल्छन् । सस्ता पाइन्थे चीन र सोभियत संघमा छापिएका किताब । म पनि घरको पैसा चोरेर राता किताब किन्थें । भुँडीमा च्यापेर बोक्थें । दिमागमा के नै च्याप्न सकिन्थ्यो र ? मार्क्सको घोषणापत्र दिमागले च्याप्ने यहाँ कति पो होलान् र वामपन्थी नेता ? हुन पनि काखीमा तस्कर च्याप्नेले दिमागमा नोटको झल्झली छायासिवाय के नै पो च्यापोस् र ? सुरा च्यापोस् कि सुन्दरी ? म त्यसबेला पिताजीको खेतको डेढ पाउ चामलसम्म च्याप्ने भएको थिएँ । माओले लेखेका किताब कुना-कन्तरामा च्याप्नमात्र जानेको थिएँ । राति-राति भेला भएर मुठ्ठी पारेर लालसलाम गरेकै भरमा म वामपन्थी बनेको थिएँ । जवानी आइसकेको थिएन । अनुशासित थिएँ ।
स्कूले जीवन सकिएपछि क्याम्पस पुगियो । ‘राम तेरी गंगा मैली’ मा पातलो कपडा लगाएकी मन्दाकिनी पर्दामा आउँदा मैले आँखा चिम्लेको थिएँ । तर समय रोकिएन । उमेर कतै थामिएन । जवानीले थोरै छुन थालेको थियो । बियर पिउनुपर्ने भो । वामपन्थीजति लोकल पिउँथे । मैले कांग्रेसीको संगत गरें । चप्पल लगाएर क्याम्पस जाने अवस्थाको भए पनि बियर पिउनु मेरो धर्म भो । म पनि परिवर्तन भएको थिएँ । विकास भएको थिएँ । यहाँ भनेजस्तै ।
एकदिन एकजना मन्त्री भइसकेका कम्युनिष्ट नेता बिहानको हावामा घुम्दै थिए । बाटामा कुकुरको छाउरो बोकेर एउटा मान्छे पनि घुम्दै थियो । कुकुरको छाउरो राम्रो थियो, तर सानो थियो । आँखा बन्द थिए । बढो कौतुहलता लाग्यो । नेताजीले सोध्नुभयो, ‘यो कुन जातको कुकुर हो ? बडो राम्रो रहेछ ।’ त्यो मान्छेलाई खुसी लाग्यो । मन्त्री भइसक्या मान्छेले आफ्नो कुकुरका बारेमा सोध्दा किन नभन्ने ? नेताजीलाई खुसी पार्ने विचारले भन्यो, ‘यो सूर्य-छाप कुकुर हो ।’ नेताजीलाई चुनाव लागेको हो । रातमा नै सूर्य देखें भनेर कोही आयो भने पनि पत्याउने गरी चुनाव लागेको थियो । उहाँले पत्याउनुभयो । घर पुगेर श्रीमती कामरेडलाई सुनाउनुभयो । श्रीमती कामरेडलाई पनि सूर्य-छाप कुकुर हेर्न मन लाग्यो । नेता-पत्नीले सोचिन्, ‘मेरा खसमले गरेको मेहनतले अब मात्र काम गरेजस्तो छ । देशमा कुकुरसमेत सूर्य-मार्काका हुन थालेछन् ।’
भोलिपल्ट नेता र नेता-पत्नी दुवै बिहानै बाटामा टहलिन थाले । हिजोको मान्छे आएन । पर्सिपल्ट दुवै गए । फेरि पनि त्यो मान्छे आएन । सूर्य-मार्काका कुकुर हेर्ने रहरमा नेता-पत्नी सधैं बिहान हिँड्न थालिन् । यसरी थुप्रै दिनपछि त्यो मान्छे कुकुर लिएर हिँड्दै गरेको फेला पर्‍यो । नेताजी दंग परे । श्रीमतीलाई सुनाउन हतार-हतार सोधे, ‘यो कुन जातको कुकुर हो ?’ कुकुर-मालिकले भन्यो, ‘यो रूख-छाप कुकुर हो ।’ नेताजीलाई बढो अचम्म लाग्यो र भनेँ, ‘अस्ति त यो छाउरो सूर्य-छाप थियो । कसरी यो रूख छापको भयो ?’ छाउरोको मालिकले भन्यो, ‘अस्ति हजुरले हेर्दा यसका आँखा बन्द थिए । त्यतिबेला यो सूर्य-छापको थियो । अहिले हेर्नुभयो नि, यी यसका आँखा खुलेका छन् । त्यसैले यो रूख-छापको भइसक्यो ।’
बियर मेरा लागि ‘आइड्रप’ भा’थ्यो । बियरकै कुरा हो । त्यसबेला बियरले नछोइकन सुनाउने जोक कस्ता हुन्थे । बियरको मात लागेपछि सुनाउने जोक नेपालमा जति घोषणापत्र जारी भइसके, त्यस्तै हुन्थे । यसरी मेरो जीवनका दिन बियरमा डुब्दै बित्यो । गाउँमा थिएँ र पो स्कूलसम्म पूरा गरें । शहर पसें, बेगारीहरूको संगतमा फँसें । पढाइ रोकियो । पढाइ सिद्धियो । यसरी नेतामा हुने गुण पूरा हुँदै आए ।
अहिले संगत कसैसँग पनि छैन । थुप्रै नेताभन्दा फरक छु । पत्रिकासम्म पढ्छु । कुरासम्म बुझ्छु । रेडियो सुन्छु । रामविलास र धनिया मनपर्छ । सांसद् फोन-इनमा सांसद्ले दिने गरेको उत्तरजति म पनि दिन सक्छु । भाषण गर्न कुन गाह्रो छ । म पनि भाषण गर्न सक्छु । चोक, चिया, चुरोट, चस्का जे होस् चल्छ । कुनै पार्टीको सदस्यता छैन । डेरामा बसेकाले मतदातापत्र पनि पाइएन । नागरिकतासम्म छ । उम्मेद्वारी दिएको छु – क्षेत्र नं. २०६ बाट । तपाईं पनि यही क्षेत्रमा भए, एक भोट दिनुहोला । मत खसाल्ने दिन आउनुअघि मेरो बकपत्र सुन्नुहोला ।
अरू पार्टीकाले जे – जे गर्छु भनेर घोषणापत्रमा उल्लेख गरेका छन्, त्यो मैले किन गर्नुपर्‍यो र ? ती घोषणापत्रमा नभएका कुरा म गर्छु । राजधानी सार्दिन । महिलालाई अंश दिने कुरामा म अलि स्पष्ट भा’छैन । जंगल मास्दिन । खोला बेच्दिन । नाला बरू बेच्छु । ढल पठाएर मल भित्र्याउँला । देशले बेच्ने गरेका कुल्लीलाई देशमा नै काम दिन्छु भनेर म कबुल गर्दिन । चेली बेच्ने भए, किन अर्काको देश पुर्‍याएर बेच्ने ? यही बेच्ने कुरामा म पहल गर्नेछु । आखिर थाइल्याण्डले आफ्ना चेलीको व्यापार आफ्ना देशभित्रै गर्योब । विदेशीलाई पल्कायो । डलर भित्र्यायो । हामी पनि त्यसो गर्दा कसो होला ? बेचिएका चेली र मूर्ति फर्काएर घर र मन्दिर किन बिटुल्याउने ? म कुरामा मन्जुर छैन । असहमतिको सीमा छैन, हजुर । म केही कुरामा सहमत भएर रहनै सक्दिन । एकजनाले कुनै पार्टि खोल्न पाउने भए, मेरो पार्टीको नाम ‘नेपाल असहमत पार्टी’ राख्नुपर्ने हुन्थ्यो । तर जेहोस् म उम्मेदवार बनेको छु । हजुरलाई बिन्ती गरेको छु । त्यसैले मलाई भोट दिनुहोस् । म पनि चुनाव नजितुन्जेल कुरा मीठा गर्छु, जितेपछि देखा’जाला, उही त हो चाला ।
००
(२०५६ वैशाख १० को ‘कान्तिपुर’ दैनिकमा प्रकाशित)

Write a comment