उसबेला यसरी जर्मन गाडी नेपाल ल्याउँथ्यौं

German Vehicle to Nepal _ Both Pagesयो सन् १९६०-७० को कुरा हो । एक युग बितेजस्तो भएको छ । नेपाल आइपुग्ने जर्मन गाडीहरू गुडाएरै यहाँ ल्याइन्थ्यो भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । त्यस्तै हुन्थ्यो । सम्भव थियो । हामीले पार गर्नुपर्ने सबै देशमा निकै शान्ति थियो । अहिले छैन । त्यसैले यो लामो यात्रा सम्भव थियो ।
हाम्रो यात्रा जर्मनीको ह्यामवर्गबाट सुरु हुन्थ्यो । त्यसपछि अस्ट्रिया, युगोस्लाभिया, ग्रिस, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान र भारत हुँदै नेपाल आइपुग्थ्यो ।
लगातार ड्राइभ गर्ने हो भने त एक महिनामा त्यहाँबाट यहाँ आइपुग्ने हो । तर बीचमा विभिन्न ठाउँमा बस्दै, आफूले ल्याएका सामान बेच्दै यहाँ आइपुगिन्थ्यो ।
त्यो दौरान ३ देखि ४ हजार गाडी ल्याएर बेचियो होला । हामीले गाडी मात्र ल्याएनौं । उता काम नलाग्ने भनिएका र यता काम लाग्ने सामान पनि ल्याउँथ्यौं । बाटोमा बेच्दै आउँदा समय लागेको हो ।जर्मनमय भक्तपुर
सुरुमा साना गाडी ल्याउँथ्यौं र पछि ठूला गाडी ल्यायौं । भक्तपुर-काठमाडौं चल्ने केही मिनीबस हामीले ल्याएका हौं । जर्मनीमा बनेका ‘मर्सिडिज-बेन्ज’का केही मिनीबसहरू अझै पनि चलिरहेका छन् । ती चार-पाँच दशक पुराना त भइसके । ती सरल छन् । कुनै पनि मेकानिकले समस्या सजिलै बुझ्न सक्छ । बलियो, छरितो र साना भएकाले यी प्रख्यात पनि छन् ।
पछि ल्याइएका गाडीमा ३ हजार किलोग्रामसम्म तौल बोक्ने क्षमता थियो । त्यसो हुँदा अझ बढी सामान ल्याउन पाइयो । यहाँ कसलाई के चाहिएको छ ? त्यसको अर्डर हुन्थ्यो । त्यहि अर्डरको लिस्टअनुसार ल्याए बेच्न पनि सजिलो हुन्थ्यो ।
त्यहाँ पुराना पाइन्ट (विशेष गरी जिन्स) एक किलोको २ डच मार्क पर्थ्यो । इरान आइपुग्दा एउटा पाइन्ट २० डच मार्कमा बिक्थ्यो । विन्टरकोट त किलोको ५ डच मार्कमा पाइन्थ्यो । पाइन्टभन्दा बढी मोलमा कोट बिक्थ्यो ।
प्लेब्वाय पत्रिकाको करामत
बाटोमा भन्सारको अलि झमेला त हुन्थ्यो नै । इरानको एउटा रोचक घटना छ । त्यहाँको भन्सारमा हामी निकै रमाइलो गर्थ्यौं । त्यहाँ रक्सी र नग्न वा अर्धनग्न महिलाका तस्बिर भएका पत्रिका प्रतिबन्धित छ र थियो । हामी चाहिा भन्सारमा बस्ने हाकिमलाई एक बोतल ‘ह्विस्की’ र एउटा ‘प्लेब्वाय’ पत्रिका दिन्थ्यौं । उसले हामीलाई भन्सारबाट पठाइदिन्थ्यो । ह्विस्कीको बोतल लुकाएर नग्न वा अर्धनग्न महिलाका तस्बिर हेर्न प्लेब्वाय लिएर बाथरुम छिर्थ्यो ।
भारत-पाकिस्तान सिमामा भारततर्फ अटारी रोड र पाकिस्तानतर्फ नागा बोर्डरमा आएपछि नेपाली मित्रहरू पुग्थे । त्यहाँ भन्सार चुकाउन भारतीय रुपैयाँ चाहिन्थ्यो । त्यसैले त्यसको बन्दोबस्त गरेर नेपाली साथीहरू त्यहाँ पुग्नुपर्थ्यो । यात्रामा सबभन्दा रमाइलो अफगानिस्तानमा हुन्थ्यो । त्यहाँका मानिस सरल स्वभावका थिए । टर्कीमा मेरो एउटा क्रेता थियो । ऊ मैले ल्याएका सबैजसो पोर्टेबल टेलिभिजन किन्थ्यो । त्यो पनि मेरा लागि फाइदाजनक थियो ।
यात्राका लागि हामी धेरैजसो खाना जर्मनीबाट नै ल्याउँथ्यौं । इन्धन त बाटोका पेट्रोलपम्पहरूकै भरमा हुन्थ्यो ।
सन् १९७९ पछि बलुचिस्तान जानुपरेकाले अलि यात्रा गाह्रो भयो । हामी पाकिस्तानको दक्षिणतर्फ हुँदै आउन थाल्यौं ।
काठमाडौंभन्दा पहिले पोखरा
भारतबाट सुनौली हुँदै नेपाल भित्रिन्थ्यौं । त्यसबेला पूर्व-पश्चिम राजमार्ग थिएन । बुटवल आएर नुहायो । विश्वकै सुन्दर देश आएको अनुभव ग-यो । अनि कुनै भयबिना यात्रा सुरु ग-यो । हामी काठमाडौं नआएर पोखरा जान्थ्यौं । हाम्रा धेरै सामान तिब्बती शरणार्थीहरूले किन्थे । उनीहरूसँग प्रशस्त नगद हुन्थ्यो ।
पोखराबाट काठमाडौं आउँथ्यौं । वसन्तपुरको नौतले दरबार अगाडि ‘फर सेल’ राखेको तुल टाँगेर बस्थ्यौं । के के सामान ल्याएछन् ? भनेर हेर्नेको भीड हुन्थ्यो । हेर्ने त हुन्थे हुन्थे । सामान किन्नेको उत्तिकै भीड लाग्थ्यो । हामीले ल्याउने त्यस्ता सामानमा फ्रिज, चुलो, वासिङ मसिन, गाडीका स्पेयर पार्ट्स, राम्रा लुगा, इलेक्ट्रिक सामान, साउन्ड इक्विपमेन्ट आदि हुन्थे । अथवा भनौं न जे पनि बिक्थ्यो ।
जे पनि बिक्नुको अर्थ यो थियो- हामी जे पायो त्यहीं ल्याउँदैनथ्यौं । जे ल्याउँथ्यौं, राम्रो ल्याउँथ्यौं । राम्रो चिज ल्यायो भने अर्को वर्ष खुसी भएर मानिसहरू किन्न आउँथे । यहाँ कसलाई के चाहिएको छ, त्यो अर्डर घनश्यामजीले लिनुहुन्थ्यो ।
गाडी नेपालमै बेचिन्थ्यो
गाडी इरान र अफगानिस्तानमा बेच्न पाइँदैनथ्यो । त्यसैले त्यो नेपालमै बेच्नुपथ्र्यो । नेपालमा बिक्री हुनुको हामीलाई फाइदा पनि थियो । नत्र हामी बाटैबाट फर्कन्थ्यौं । आउँदा गाडी साथमा धेरैजसो श्रीमती । अनि नेपाल आउन चाहने ३/४ जर्मन पर्यटक हुन्थे । एक पर्यटकसँग ३ देखि ४ सय डच मार्क भाडा लिइन्थ्यो ।
यति लामो यात्रामा नौबिसेदेखि थानकोटसम्मको बाटो सबैभन्दा खतरनाक थियो । साँघुरो, करिब-करिब कच्ची, बाङ्गो-टेडो (घुमाउरो) । यसो भएपछि जोखिमपूर्ण । थानकोट आएपछि म गाडीको स्टार्ट बन्द गर्थे । ओरालो थियो । गाडी सरर आउँथ्यो ।
त्यसबेला ठमेल पर्यटकको स्थल थिएन । ताहाचल थियो । पर्यटक त्यहाँ बस्थे र त्यो पर्यटकको केन्द्र नै थियो ।
मैले भनिहाले सामान त ३ हजार किलोग्राम हुन्थ्यो नै । मानिस, गाडी सबै चिजले गर्दा यात्रा भारी हुन्थ्यो । नेपाल आएर सबै सामान सकेपछि गाडी बेचिन्थ्यो । करिब ११ हजार ६ सय ८० किलोमिटर यात्रा पनि सकिन्थ्यो । त्यसपछि गाडीको भन्सार क्लियर गरिन्थ्यो ।
फर्कदा एक व्यक्ति बराबर २० किलोग्राम सामान हुन्थ्यो र साथमा ३०-४० हजार डच मार्क । त्यसपछि त आरामले हवाइजहाज चढ्यो र घर पुग्यो ।
यो यात्राको सबभन्दा रमाइलो कुरा के भने अन्त्यमा एउटा सुन्दर देश आइपुगिन्थ्यो । पैसामात्र सबथोक होइन । हामीले चाहेको भए अवैधानिक काम गरेर धेरै कमाउन सक्थ्यौं । तर हामीले कहिल्यै त्यसो गरेनौं । वैध काममै प्रशस्त कमाउन सकिने अवस्थामा रिस्क कसले लिने ?
सधैंका लागि बन्द
सन् १९८० दशकको सुरुमा आर्थिक संकट आयो । जर्मनीमा लाखौं मानिस बेरोजगार भए । हामीले गरेको व्यवसाय उनीहरूले पनि गर्ने विचार गरे । जे पायो त्यही ल्याएर बेच्न थालेपछि हाम्रो पनि व्यवसाय धराशायी भयो । हामीमाथि यहाँका मानिसले गरेको विश्वास टुट्यो । त्यसपछि व्यवसाय बन्द भयो ।
अहिले त त्यस्ता गाडी ल्याएर यहाँ बेच्न पाइँदैन । ल्याए पनि फर्काउनुपर्छ ।
(पर्यटन व्यवसायी घनश्याम श्रेष्ठ र नाम खुलाउन नचाहने उनका एक जर्मन साथीका साथीसँग गरिएको कुराकानीमा आधारित/ ‘नयाँ अटो नेपाल’ पत्रिकाको २०७० असोज अंकमा प्रकाशित)

Write a comment