एक सय १२ पटक रक्तदान

Arjun Mainali_2070 Bhadra 22_2013 Sep 07तिम्रो रक्तदान गर्ने उमेर अझै भएको छैन होला । रक्तदान गर्न सामान्यतः १८ वर्ष पुगेको हुनुपर्छ । त्यसो नभए, करिब ५० किलोग्राम (१ सय १० पाउन्ड) तौल साथै केटा भए ५ फिट र केटी भए ५ फिट ६ इन्च अग्लो हुनुपर्छ । रक्तदान गर्न जाँदा यस्ता आधारका साथै ब्लड-प्रेसर, रोग आदि लागे/नलागेको पनि हेरिन्छ ।
अब भन त मैले यस्ता जाँच कतिपटक गरें होला ? किनभने मैले अहिलेसम्म १ सय १२ पटक रक्तदान गरिसकेँ । मैले सन् १९८७ मा पहिलोपटक नेपालमा रक्तदान गरेको थिएँ । अस्ति मात्र १ सय १२ औं पटक अमेरिकामा गरें । म नेपालको काभ्रेपलाञ्चोकको सिपालीमा जन्मेको हुँ । अहिले अमेरिकाको न्युयोर्कमा बस्छु ।सन् १९६८ मा जन्मेको म सानो छँदा त्यहाँ गतिला स्कुल थिएनन् । सिपाली लेकमा थियो । घरमाथि अग्ला डाँडा । फेदीमा हाम्रो घर । भनौं न अग्ला-अग्ला पहाडको खोँचमा हाम्रो घर थियो ।
बुबा गाउँको प्रधानपञ्च हुनुहुन्थ्यो । आमा-बुबाका सात सन्तानमध्ये हामी चार बाँच्यौं । यस्तो विकटमा बसे पनि बुबा-आमालाई सन्तानले शिक्षा पाउनुपर्छ भन्ने थियो । यही भएर सन् १९७४ तिर हाम्रो गाउाबाट करिब ४ किलोमिटर टाढाको गाउँ अर्चलेमा बुबाले पढ्ने व्यवस्था मिलाइदिनु भएछ । अर्चले पुग्न डेढ घन्टा लाग्थ्यो । यो किलोमिटरको हिसाब मेरो अनुमान हो । सानो मान्छेको हिडाईको डेढ घन्टा हो । तर त्यहाँ कक्षा ३ सम्म मात्र पढाइ हुने स्कुल थियो ।
अर्चलेमा पढाइ सकिएपछि कहाँ पढ्ने भन्ने समस्या भयो ।बुबाले त्यहाँबाट करिब २ कि.मि. टाढाको रोशी निम्न माद्यमिक विद्यालय, कटुन्जेमा पढ्ने व्यवस्था मिलाई दिनुभयो । एक वर्ष अर्चलेमा बसेर ४५- ५० मिनेट हिड्दै रोशी निमावी गएँ ।
त्यहाँ कक्षा ६ सम्म मात्र पढाइ हुन्थ्यो । त्यहाँको पढाइ सकियो । सात कक्षा पढ्नु थियो । कटुन्जेमा नै कक्षा ७ आउँछ भन्ने थियो । टुंगो थिएन । आउने कक्षा कुर्नुभन्दा अन्त जानु वेश थियो ।
बुबाले काठमाडौंमा पढाउने विचार गर्नुभएको रहेछ । कटुन्जेलाई बाई बाई गरियो र काठमाडौं आएँ । पुतलीसडकको पद्मोदय हाइस्कुलमा पढ्न थालेँ । २०४० मा एस. एल. सी. दिइयो । पढाई राम्रो थिएन । फेल भएँ । मलाई नेपाली र अंग्रेजीमा लागेका थिए ।
म एसएलसी फेल भएर बसेको थिएँ । अनामनगरमा हाम्रो घर थियो । घरमा पाहुना टुट्दैनथे । सिपालीका धेरै मानिस आइपुग्थे । एकताकाको कुरा हो । गाउँले दाजुभाई, दिदीबहिनीहरू नागरिकता बनाउन चाहिने सहयोगका लागि अनामनगर आइपुगेका थिए । त्यसबेला नागरिकता बनाउन कुनै सरकारी कार्यालयको शाखा अधिकृतको सिफारिस चाहिन्थ्यो । मैले आँट गरें । सिफारिस लिन म गृह मन्त्रालय पुगे । स्कूल पढ्दाका साथीका काका हुनुहुन्थ्यो, गणेश राई । गृहका यी अधिकारी निकै फरासिला । उहाँकै सहयोगमा मैले गाउँलेहरूको सिफारिश गराएँ र गाउँलेसँगै धुलिखेल गएँ । नागरिकता बन्यो, मेरो छाती गर्वले फुल्यो । गाउँलेका मुखबाट आशिर्वाद पाउँदा मैले, ‘म पनि केही गर्न सक्दो रहेँछु’ भन्ने लाग्यो । यो घटना मेरो जीवनको मोडको घटना थियो । बाल्यकालको म छुल्याहा फुच्चे केटो एकाएक जिम्मेवार बन्दै गएँ ।
म २०४१ एक्जाम्टेडबाट एसएलसी पास भएँ ।
म नेपाल कमर्श क्याम्पस, मीनभवन (वानेश्वर) मा पढ्थें । कलेजमा प्रमाणपत्र तहको अंग्रेजी पाठ्यपुस्तक ‘इंगलिश फर कलेज’ मा ‘द ब्लड डोनर’ भन्ने पाठ थियो । ‘द ब्लड डोनर’ पाठमा एक अमेरिकीले आफ्नो रगत दिएर धेरैलाई बचाएको कुरा मलाइ घत लागेको थियो ।
सन् १९८७ अगष्ट २० को दिन । काठमाडौं । म घुम्दै काठमाडौं विशाल बजार पुगेको थियो । त्यहाँ थियो, लायन्स क्लबको रक्तदान कार्यक्रम । मैले त्यहि दिन पहिलोपटक रक्तदान गरें । र, अहिलेसम्म गर्दै आएको छु ।
रगतका समूह
मानिसमा आठ प्रकारका रगत समूह हुन्छन् । तीमध्ये ‘ओ पोजेटिभ’ भएको ३८ प्रतिशत र ‘ओ नेगेटिभ’ भएका सात प्रतिशत मानिस छन् भने ‘ए पोजेटिभ’ भएको सङ्ख्या ३४ प्रतिशत छ । त्यस्तै ‘ए नेगेटिभ’ हुने ६ प्रतिशतमात्र छन् । ‘बी पोजेटिभ’ रगत समूह हुनेको सङख्या नौ प्रतिशत छ भने ‘बी नेगेटिभ’ हुनेको सङख्या दुई प्रतिशत मात्र छ । ‘एबी पाजेटिभ’ रगत हुने तीन प्रतिशत छन् भने ‘एबी नेगेटिभ’ रगत समूह हुने एक प्रतिशत छन् ।
‘ओ नेगेटिभ’ समूह भएकाले सबै रगत समूह भएका व्यक्तिलाई रगत दिन मिल्छ भने ‘एबी पोजेटिभ’ रगत समूह हुनेले सबै रगत समूहको लिन सक्छन् ।
रगतको ज्ञान
हरेक नसा तथा मुटुमार्फत दौडिने रातो तरल पदार्थ रगत हो । रगतले मांसपेशीमा आवश्यक तत्वहरू पु-याउँछ । अनावश्यक विकार फाल्न र अरु महत्वपूर्ण काममा मद्दत गर्छ ।
एउटा सामान्य स्वस्थ व्यक्तिको शरीरमा ४ देखि ५ लिटर रगत हुन्छ । रक्तदान गर्दा एक पिन्ट दान गरिन्छ । एक पिन्ट भनेको ३ सय मिलिलिटरभन्दा केही बढी हुन्छ ।
दुर्घटना, प्रसुति, शल्यक्रिया तथा अन्य रोगका कारण शरीरमा रगतको कमी भएका बिरामीलाई यो रगत सञ्चार गरि बचाउन सहयोग गरिन्छ । यसरि रक्तदान गरेर मृत्युशैयामा पुगेका व्यक्तिको ज्यान बचाउन सकिन्छ ।
मानिसको शरीरमा रगत बोनम्यारोमा बन्छ । शरीरमा नयाँ रगत बन्दै जाने र पुराना रगत नष्ट हुँदै जाने प्रक्रिया चलिरहन्छ । स्वस्थ मानिसले एक पिन्ट रगत सजिलै दान गर्न सक्छ । दान गरेको रगतको परिमाण कुनै पनि पेय पदार्थबाट र अन्य पदार्थ केहि दिनमा दैनिक खानपिनबाट आफैं बनेर पूर्ति हुन्छ ।
(२०७० भदौ २२ / सन् २०१३ सेप्टेम्बर ७ को नागरिक दैनिकको बाल परिशिष्टाङ्क ‘जुनकिरी’मा प्रकाशित)

Write a comment