अमेरिकी तिहारलाई सिस्नुपानी !

आज काग भेटिएन । यसै भात छुट्याएर आफूले खानु सिवायको विकल्प रहेन । कि त आफैं ‘काग काग’ भनेर कराएर कागको भाग पनि हसुर्नु पर्ने भो ! अमेरिकामा पनि काग पाइने रहेछन्, तर यो हिउँ पर्ने राज्यतिर जाडो सुरु भएर होला, खै देखिएनन् । अमेरिकामा पूर्व, पश्चिम, फ्लोरिडा र दक्षीणमा काग पाइँदा रहेछन् । तीनको नाम रहेछ, पूर्वी काग, पश्चिमी काग, फ्लोरिडा काग र दक्षिणी काग । ती पनि ‘वेस्ट नाइल भाइरस’ का शिकार हुँदा रहेछन् । जे भए पनि ‘कागभन्दा कोइली बाठो, कोइलीभन्दा अमेरिकाका सब मान्छे बाठो’ भन्ने नयाँ उखानका सामु ‘काग’को पूजा किन पो गर्नु ?
कुकुर-तिहारलाई कुकुर कसरी फेला पार्नु ? आफैंले पालेको भए त ठिकै छ । अरूका कुकुरलाई माला लगाइदिनु कसरी ? यहाँ कुकुर भनेर हेला गर्न मिल्दैन । जे पायो त्यही खान दिन पनि हुँदैन । कुकुर छाडा छाड्ने त कुरै भएन । आफूले लिएर हिंड्दा पनि बाँधिएको हुनुपर्छ, कुकुर । हातमा प्लास्टिक बोकेको हुनुपर्छ । कुकुरले बाटोमा फोहोर ग-यो भने झोलामा हालेर घर फिर्नु पर्छ । नुहाइदिनु त कुकुरका लागि गरिदिने नित्य-कर्म नै भयो । कुकुर बाँध्ने पनि डोरी विशेष खालको हुन्छ । मान्छेसँगै कारमा गुड्छ, कुकुर । सोफामा मान्छेसँगै बस्छ, कुकुर । कुरा बुझ्नु भो’नि, कुकुरलाई कुकुर भन्नु पनि अमेरिकामा कुकुरभन्दा गिर्नु बराबर हुन्छ । किनभने अन्तरिक्षमा कुकुर पठाउने देश यही हो ।
अब आयो, लक्ष्मी-पूजा त मान्छे जहाँ पनि गर्छन् । पैसा भनेपछि मरिहत्ते । डलर पूज्न पाउँदा किन दंग नपर्नु ! अझ ‘स्ल्याङ वर्ड’ मा डलरलाई ‘बक’ भनिदिन्छन्, यो ठाउँमा । अनि भएन- एक बक, दुई बक्स । लक्ष्मी-पूजाका दिन बिहान मिर्मिरे उज्यालोमा तेल लगाएर नुहाउने र नजिकको नदीमा गई जलप्रवाहमा टपरीमा बत्ती राखी बगाउने चलन छ । तेल त घस्न कसले छेक्ला र ? नदीमा टपरीमा बत्ती राखी बगाउन चाही संभव छैन । नदी फोहोर गर्न पाइँदैन । बुबा वा आमा श्राद्ध गरेर पिण्ड सेलाउन नै धौ धौ हुन्छ । टपरीमा बत्ती राखी बगाउने कुरा चाही छाडिदिउँ ।
नेपाली देउसी खेल्न त निस्कन्छन्, कोही सामूहिक कोशका लागि त कोही रमाइलोका लागि । यता ‘हलोविन’ मा नानीहरू देउसी जस्तै घर–घर घुम्छन् । भट्याउँछन्, तर तीन अक्षर, ‘ट्रिक ओर ट्रिट’ । उता धान, चामल, पैसा, रोटी, फलफूल र गच्छे अनुसारको दक्षिणा दिने गरिन्छ । यता भने चकलेट बढी हुन्छ । ‘हलोविन’ ठूलाहरू नानीहरूका साथीका रूपमा हिड्छन् । ‘ट्रिक ओर ट्रिट’ गर्न हिंडेका हुँदैनन् ।बत्ती त हजुर ‘हलोविन’ देखि बाल्न थालेको हुन्छ । नयाँ वर्ष (जनवरी १) सम्म बत्ती बालेको भेटिन्छन् । हामी आकाशदीप बाल्छौं र दशैं-तिहारमा बाल्छौं । यता बिजुली जाँदैन र पो बत्ती बाल्नुको रमाइलो पनि छ । अमेरिकामा बस्ने अफ्रिकीहरूले ‘क्वान्जा’मा र यहुदीको ‘हनुका’ पर्वमा दीप बाल्ने रहेछन् भन्ने थाहा पाएँ ।
गाई पूजा पनि म संभव देख्दिन । कसका घरमा गाई हुन्छ र, पूज्नु । बजारमा दूध किन्न पाइन्छ । त्यो दूध कहाँबाट आयो, धेरैलाई थाहा हुन्न । फार्मतिर गएर गाई पूजा गरौं न भने पनि कसले मान्ला ? पिठोलाई पानी र रंग मिसाएर गाईका शरीरभरी रंग लगाउन कसले देला ? सेल पकाएर खान त दिनै मिल्दैन । गाई बिरामी प-यो भने तपाईंको कति दिनको आम्दानी गाईको उपचारले लिन्छ । ‘बिफ’ खाने ठाउँमा ‘म चाहीं गाईको पूजा गर्छु’ भन्दा अनौठै होला !
अब आयो भाइटिकाको कुरा । भाई हुने दिदी-बहिनीलाई त रमाइलै हुन्छ । डिभी परेर होस् वा अरू कारणले परिवारका को-कता को-कता भएको हाम्रो पारिवारिक अवस्थामा भाइटिका पनि सजिलो छैन । थर मिले दिदी-बहिनी, दाजु-भाई खोज्न सकिन्छ । सन् २००८ यता नेपाली-भाषी भूटानी अमेरिका आउन थालेपछि थर मिल्ने दिदी-बहिनी, दाजु-भाई खोज्नु पर्ने हो । कस-कसले गरे ? कस-कसले गरेनन् ? यो चाही गरे ठिकै हो । कस-कसका घैंटामा घाम लाग्या होला ?
नेपालमा दिदीबहिनी नभएका दाजुभाइले काठमाण्डूको रानीपोखरीको बीचमा रहेको मन्दिर गई दर्शन गर्छन् । यो मन्दिर हरेक वर्ष भाइटीकाकै दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । अब यहाँ न रानीपोखरी छ, न त त्यसको बीचमा कुनै मन्दिर ! परेन फसाद ! पटाका पड्काउन चाही सुरक्षित तरिका अपनाउनु पर्छ । यहाँका घर पक्कि छैनन् । पक्कि यस अर्थमा छैनन्, तातो-चिसो र भूँइचालोको कुरा सोच्दा-सोच्दै यी घर ढोडका जस्ता छन् ।
अनि तास खेल्ने कुरा । तास त हजुर फुर्सद भो’की खाल जमी हाल्छ । नेपालको राष्ट्रिय-खेल बनाउनु पर्ने भएको यो खेल नेपालीमाझ यहाँ पनि उत्तिकै लोकप्रिय छ । जुवा पनि खेल्ने मान्छे फेला नपरेका होइनन् । र, अन्त्यमा आयो- जाड-रक्सी । यहाँ उमेर पुगेकाले खाए हुन्छ । उमेर नपुगेकाले गाडीमा बोक्नसमेत मिल्दैन । पेटमा बोक्ने त कुरा परै जाओस् । यो परदेशमा तिहार सजिलो छैन । विचरो तिहार सिस्नुपानी सहन्छ ।
(२०६९ सालको तिहारलगत्तै ‘अनलाइन खबर’ का लागि लेखिएको व्यङ्ग्य)

Write a comment