नेपाल-अमेरिका सम्बन्ध २०१२

वर्ष सकिन लाग्दा नेपाल-अमेरिका सम्बन्ध कस्तो रह्यो भन्ने प्रश्नको उत्तर खोज्न मन लाग्दो रहेछ । २०१२ सधैंजस्तो अलि भएन । केही उपलब्धीहरू भए, यस वर्ष । केही थप काम, परिवर्तन र केही कीर्तिमानहरू ।
वर्षको सुरुमा निकै उपलब्धीपूर्ण खबर आयो । त्यो खबर, लामो समयको कूटनीतिक प्रयासपछि पिसकोर स्वयंसेवक नेपाल फिर्ने निर्णयको थियो । यसमा पनि वासिंगटनस्थित नेपाली दूतावासको मुख्य भूमिका रह्यो । एकोहोरो लागेको-लाग्यै नेपाली राजदूत शंकरप्रसाद शर्मा (पीएचडी) लाई पिसकोर नेपाल फर्काउनका लागि सफल भएको मान्नुपर्छ ।सन् १९६२ मा यस संस्थाका स्वयंसेवक विभिन्न २७ मुलुकमा जाँदा नेपाल पनि गएका थिए । यस संस्थाले सन् २००४ सम्म नेपालमा काम ग-यो । सन् २००४ सेप्टेम्बरमा काठमाडौंस्थित अमेरिकन सेन्टरमा माओवादीले दुई बम विस्फोट गराएपछि पिसकोरले नेपालमा आफ्नो काम बन्द ग-यो । संस्था अमेरिका फर्कियो । संस्था रहुन्जेलको करिब ४२ वर्षमा ४ हजार स्वयंसेवकले नेपालको सेवा गरेका थिए ।
यसपटकका पिसकोर तयार हुँदा वर्षले डाँडो काट्न लागेको थियो । वर्षको सुरुमा फिर्ने निर्णय गरेका पिसकोरका स्वयंसेवक नेपाल पुगेर तयार हुन समय लाग्यो । सेप्टेम्बरमा २० पिसकोर स्वयंसेवक नेपाल पुगे । स्वयंसेवकले सिन्धुपाल्चोक जिल्लामा १२ हप्ता लामो नेपाली भाषा, संस्कृति तथा प्राविधिक तालिम पूरा गरे । ती स्वयंसेवकले नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु. बोडीबाट मंसिर १५ (नोभेम्बर ३०) एक कार्यक्रममाझ सपथ ग्रहण गरे । पिसकोर स्वयंसेवकले खाद्य सुरक्षाको प्रवर्द्धनका लागि पश्चिमाञ्चल क्षेत्रका बाग्लुङ्ग, स्याङ्जा र पर्वत जिल्लाका गाउँहरूमा कृषि, सरसफाई र स्वास्थ्यको क्षेत्रमा नेपाली समकक्षीहरूसँग सहकार्य गर्ने लक्ष्य लिएका छन् ।
अर्को रोचक पक्ष के पनि रह्यो भने सन् २०१२ पिसकोर नेपाल आएको ५० औं वाषिर्कोत्सव हो । सन् १९६२ मा पिसकोरका स्थापनामा ठूलो योगदान दिएका सार्जेन्ट श्रीभर नेपाल पुगेका थिए । योगदान दिएभन्दा अलि पुग्दैन । राष्ट्रपति नहुँदै जोन एफ केनेडीले घोषणा गरे पनि राष्ट्रपति भएपछि पिसकोरको स्थापना सार्जेन्ट श्रीभरकै नेतृत्वमा भएको थियो । त्यसपछि उनी पिसकोरका प्रथम निर्देशक रहे । श्रीभर नेपाल पुगेको पनि ५० वर्ष नै भयो ।
नेपालस्थित अमेरिकी राजदूत पिटर डब्लु. बोडी यसै वर्ष नेपाल गएका हुन् । उनी जूनमा नियुक्त भएर सेप्टेम्बरमा नेपाल पुगेका थिए । उता बोडीअघिका राजदूत स्कट एच डेलिसीले जूनमा युगान्डाका लागि राजदूत बनेर नेपाल छाडे । ‘फेसबुक एम्बासडर’ले चिनिएका डेलिसीको व्यक्तित्व निकै प्रभावशाली रह्यो । उनलाई नेपालमा भिन्न क्षेत्र, उमेर, दल, उनका फेसबुकका फ्यानले शायदै बिर्सेलान !? यता अमेरिकास्थित नेपाली दूतावासमा नेतृत्व परिवर्तन भएको छैन । राजदूत शर्मा सन् २००९ नोभेम्बरदेखि पदमा छन् ।
बोडि नेपाल पुग्नु केही दिनअघि मात्र अमेरिकाले एकीकृत माओवादीलाई आतंकवादीको सूचीबाट हटायो । सन् २००४ देखि अमेरिकाले इमिग्रेसन एन्ड नेसनालिटी एक्ट (आइएनए) अनुसार माओवादीलाई बाह्य आतंककारी सूची र एक्जुकेटिभ अर्डर १३२२४ अनुसार विश्व आतंककारी सूचीमा राखेको थियो ।
राजदूतहरूकै सन्दर्भमा वासुदेव ढुंगाना (पुस १९८७ – असोज २०६९) लाई बिर्सन मिल्दैन । यसै वर्ष उनको निधन भयो । उनले अमेरिकाका लागि नेपाली राजदूत भएर काम गरेका थिए ।
सन् १९५२ मा अमेरिकामा पहिलो नेपालीले ग्रिनकार्ड पाएका थिए । उनको परिचय नखुलेको भए पनि त्यो वर्ष एक मात्र नेपालीले ग्रिनकार्ड पाएको इतिहास छ । त्यस वर्ष २ लाख ६५ हजार ५ सय २० आप्रवासीले ग्रिनकार्ड पाएका थिए । त्यस हिसाबले नेपालीले ‘ग्रिनकार्ड’ पाएको ठ्याक्कै ६० वर्ष पुगेको छ । सन् २०११ मा करिब ११ हजार नेपालीले ‘ग्रिनकार्ड’ पाएको तथ्यांक छ ।
यस वर्ष नै अमेरिकामा बसोबास गराइएका नेपाली-भाषी भूटानीको संख्या ६० हजार कट्यो । अमेरिकी आर्थिक वर्ष २०११-१२ को अन्त्यसम्म (सेप्टेम्बर ३०) मा अमेरिकामा भूटानीको संख्या ६१ हजार १ सय ८४ पुग्यो । अहिले ६३ हजार नाघेको छ । सन् २००८ शुरुदेखि अमेरिकालगायत विश्वका अन्य ८ मुलुकमा भूटानी शरणार्थी पुनर्स्थापना थालिएको हो । सबैभन्दा बढी (करिब ८७ प्रतिशत) अमेरिकामा पुनर्स्थापना भएको छ ।
त्यसो त अमेरिकाले नेपालमा गर्ने आर्थिक सहयोगको काम जारी रह्यो र विशेष महत्वका व्यक्तिहरूको दुई तर्फी आवतजावत पनि भयो । लाग्छ यी काम त सधैं हुने खालका हुन् । तर यी कामहरूमध्ये केही हरेक वर्ष हुने सामान्यभन्दा थोरै भिन्न पनि छन् । आशा गरौं, आउँदा वर्षमा यस्तै केही काम हुने छन् ।
(२३ डिसेम्बर २०१२ मा नेपाली पोष्टमा पोष्टिङ गरिएको लेख)

Write a comment