परदेशमा बालबालिकाका लागि नेपाली-कक्षा

पश्चिम लण्डनको वाटलिङ कम्युनिटी सेन्टरमा गएको केही सातादेखि नेपाली बालबालिकाहरूले नेपाली भाषा सिकीरहेका छन् । स्थानीय बर्न्टओक नेपाली समाजको सकृयतामा शुरु गरिएको उक्त कक्षा गर्मी बिदाभर हरेक मंगलबार दिउँसो दुई घन्टा सन्चालन भइरहेको छ ।
तीनजना नेपाली युवाले झण्डै पच्चीस जना बालबालिकालाई स्वयमसेवी रूपमा पढाइरहेका थिए । आफ्ना छोराछोरीले नेपाली सिक्ने अवसर पाएकोमा एकजना अभिभावक इन्दिरा खनियाँले खुसी व्यक्त गरिन् । नेपालीहरुको बाक्लो बसोबास रहेका बेलायतका विभिन्न इलाकाहरूमा पनि नेपाली बालबालिकाहरूका लागि कक्षा सन्चालन भइरहेका छन् ।
कक्षा सन्चालन
दक्षिणपूर्वी लण्डनमा सन्चालन भइरहेको नेपाली भाषा कक्षाका एकजना संयोजक फत्त थापाले चार्ल्टन नेपाली समाजको सकृयतामा ती कक्षाहरू सन्चालन भइरहेको बताए । उनले झण्डै साठी जना बालबालिकाले शनिबार बिहान नौ बजेदेखि बाह्र बजेसम्म नेपाली भाषा तथा सांगीतिक कक्षामा भाग लिइरहेको बताए ।
“हामीले विद्यार्थीहरूसँग निकै न्यून शुल्क लिन्छौं । कक्षा सन्चालनका लागि झण्डै चार हजार पौण्डको एउटा कोष पनि खडा गरेका छौं,” थापाले भने ।
विदेशमै जन्म‌िएका वा सानै उमेरमा आफ्ना अभिभावकसँग विदेश आएका बालबालिकाले विद्यालयमा अंग्रेजी वा अन्य भाषा सिके पनि नेपाली लेख्‍न वा पढ्न नसक्दा परिवार तथा समुदायमा घुलमिल हुन नसकेका थुप्रै उदाहरणहरू छन् ।
पश्चिम लण्डनको किङ्सबेरी हाइस्कुलबाट भर्खरै कक्षा नौ पूरा गरेकी दिक्षा गुरुङले नेपालीमा सोधिएका प्रश्नहरूको जवाफ अंग्रेजीमै दिइन् । उनले आफ्ना बाबाआमासँग पनि अंग्रेजीमै कुरा गर्न आफूलाई सजीलो हुने गरेको बताइन् । दिक्षा गुरुङजस्ता किशोर, किशोरीले नेपाली बोल्न, लेख्‍न तथा पढ्न नसक्दा भविष्यमा थुप्रै समस्या बेहोर्नुपर्ने हुनसक्छ ।
स्थानीय प्रयास
यसै कुरालाई मनन गरेर नेपालीहरूको बसोबास रहेका संयुक्त राज्य अमेरिका, क्यानडा, फिनल्याण्ड, बेल्जियमलगायतका मुलुकमा स्थानीय समुदायको प्रयासमा बालबालिकाहरूका लागि नेपाली कक्षाहरू शुरु गरिएका छन् ।
अमेरिकामा नेपाली भाषी भुटानीहरूको पुनर्वाससँगै भुटानी समुदायले पनि नेपाली भाषा कक्षा सन्चालन गरिरहेको न्यू ह्याम्सर राज्यबाट प्रकाशित हुने अक्षरिका न्युजलेटरका सम्पादक राजेश कोइरालाले बताए । “अमेरिकी सरकारको सहयोग भएकाले भुटानीहरूले आफ्ना बालबालिकाकालागि सन्चालन गरेका नेपाली कक्षाहरू बढी दीगो देखिएका छन् तर नेपालीहरूले शुरु गरेका कक्षाहरू चाहिं धेरै ठाउँमा बन्द भएका छन्,” कोइरालाले भने ।
स्थानीय मन्दिर तथा सांस्कृतिक केन्द्रहरुमा बालबालिकाहरूका लागि नेपाली कक्षाहरू शुरु गर्ने प्रचलन बढ्दै गएको पनि उनले बताए ।
त्यसो त स्वयमसेवी रूपमा शुरु गरिएका यस्ता प्रयासहरूलाई संस्थागत रूप दिन नसक्दा बीचैमा बन्द भएका थुप्रै उदाहरणहरू पनि छन् । नेपाली नारी निकुन्जको सकृयतामा मस्कोस्थित नेपाली दूतावासको भुईंतलामा झण्डै आठ वर्ष चलेको नेपाली कक्षा पोहोर सालदेखि बन्द भएको छ । धेरैजसो अभिभावकहरूले आफ्ना छोराछोरी पढाउन भारत पठाएकाले विद्यार्थीको अभावमा नेपाली कक्षा बन्द गर्नुपरेको लामो समयदेखि रुसमा बसोबास गरी नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा खटिरहेका कृष्णप्रकाश श्रेष्ठले बीबीसीलाई बताए ।
विदेशमा नेपाली कक्षाहरूलाई निरन्तरता दिन स्थानीय समुदायको सकृयताका साथै त्यस्ता कक्षाहरुलाई संगीत, नृत्य लगायतका विधाहरूसँग जोडनु पर्ने कतिपयको सुझाव छ ।
अवसर
हाल बेलायतमा बसोबास गरिरहेका युवा गायक विवेक श्रेष्ठले त्यसबाट बालबालिकालाई नेपाली भाषाका साथै गीत, संगीत सिक्ने अवसर पनि मिल्ने बताए । “विशेष गरेर विदेशमा नेपाली भाषालाई मात्रै फोकस गर्दा बच्चाहरूमा रुची कम हुँदै गएको पाइयो । त्यसैले भाषासँगै संगीत र कलालाई पनि जोडेर पढाउँदा ती कक्षाहरू दीगो भएको मैले पाएको छु,” श्रेष्ठले भने ।
नेपाल बाहिर हुर्कंदै गरेको नयाँ पुस्तालाई नेपालसँग जोडन पनि बालबालिकालाई नेपाली लेख्‍न र पढन सिकाउन आवश्यक हुँदै गएको छ । तर त्यसका लागि उपयुक्त शैक्षिक सामग्री, तालीम-प्राप्त शिक्षक र सबैभन्दा बढी अभिभावकहरूकै रुची महत्वपूर्ण हुने भएको विज्ञहरू बताउँछन् ।

२०७० साउन ३२ (सन् २०१३ अगस्त १६) मा बीबीसी नेपाली सेवाको साँझ प्रसारणका लागि ‘परदेशमा बालबालिकाका लागि नेपाली-कक्षा’ विषयमा भगिरथ योगीले तयार पार्नुभएको रिपोर्टमा मेरो कुराकानीको सानो अंश छः

(रिपोर्टको सक्कल-पाठका लागि बीबीसी नेपालीको वेबसाइट हेर्नुहोस् ।)

Write a comment