शरणार्थीपछिको नागरिक

तेह्र अंक र शुक्रबारबारे त्यसै पनि अमेरिकी अनेक तर्क-वितर्क गरिरहन्छन् । कतै केही हुँदैन भन्ने मान्छे छन् भने कतै यी दुई कुरा एक साथ लोकप्रिय छैनन् भन्ने पनि छन् ।
सन् २०१२ मा तीन शुक्रबार १३ तारिख थिए, जनवरी १३, अप्रिल १३ र जुलाई १३ । ‘युएसए टुडे’ ले सन् २०१२ का यी शुक्रबार १३ तारिखका विषयमा पहिलो पानाका लागि ‘एंकर न्युज’ नै तयार पारेको थियो । त्यसो त सन् २०१३ मा सेप्टेम्बर १३ र डिसेम्बर १३ शुक्रबार छन् । शुक्रबारका कुरा एकातिर भए, १३ का अर्कातिर । आजको सन्दर्भ १३ तर्फमात्र। नेपाली समाजमा १३ दिनको अन्तिम-कर्मले कता-कता झस्काउँदो हो । तर, अमेरिकामा पुनर्स्थापित नेपाली-भाषी भुटानीका लागि सन् २०१३ निकै सुखानुभूति लिएर आएको छ । करिब दुई दशकअघि शरणार्थी बनेका भुटानी ‘नागरिक’ बन्न सुरु गर्दै छन् ।
‘खुसीको कुरा हो। हामीमध्ये एकथरी अमेरिका आउनुलाई भाग्य भन्छौं भने अर्को थरी परिस्थिति भन्छौं । जे भए पनि आएका छौं र नागरिकता लिँदै छौं,’ युनाइटेड नेसनल फ्रन्ट फर डेमोक्रेसी इन भुटानका परराष्ट्र-प्रमुख रहेका नारद अधिकारीले भने, ‘मानव जाति कसैले पनि कुनै कालमा नागरिकताविहीन भएर बस्नु नपरोस् । त्योभन्दा ठूलो पीडा केही नहुने रहेछ । यो मेरो मात्र निजी अनुभव होइन । सबै शरणार्थीको हो । परिचय दिने बेलामा ‘शरणार्थी’ भन्ने शब्द आउने गर्थ्यो र मान्छे हुनुको गौरव गुमेको अनुभव हुन्थ्यो ।’ शरणार्थीको परिचय दिएर अमेरिका ल्याइने व्यक्तिले अमेरिका भित्रिएको पाँच वर्षमा नागरिकता प्राप्त गर्न सक्छन् । उनीहरूलाई दिइएको ‘आई-९४’ कार्ड एक वर्षका लागि परिचय-पत्र जस्तो रहन्छ । अमेरिका आएको एक वर्षपछि उनीहरूले ग्रीनकार्डका लागि आवेदन दिन पाउँछन् र ग्रीनकार्ड पाउँछन् ।अमेरिकामा जन्मेका बालबालिका स्वतः नागरिक बन्छन् । यो संख्या पुनर्स्थापित हुनेको संख्यामा समावेश पनि छैन । बाँकी आएकामध्ये १८ वर्ष पुगेका वा सोभन्दा बढी उमेर भएकाले नागरिकता लिन पाउँछन् । नागरिक हुन शरणार्थीले अमेरिका प्रवेश गरेको ४ वर्ष ९ महिना भएपछि आवेदन दिन सक्छन् । आवेदनपछि उनका विभिन्न रेकर्ड हेरिन्छ । उनका रेकर्ड राम्रा भए, नागरिकताका लागि लिने परीक्षा (सिभिक टेस्ट) मा सहभागी हुन पाइन्छ । यो परीक्षामा उत्तीर्ण भएपछि नागरिकता प्रदान गरिने समारोहमा सहभागी भई शपथ लिनुपर्छ । अमेरिकी नागरिक बन्ने प्रक्रियालाई ‘नेचुरलाइजेसन’ भनिन्छ । ग्रीनकार्ड भएका व्यक्तिभन्दा नागरिकका केही धेर अधिकार र जिम्मेवारी हुन्छन् । शरणर्थी परिचय भएकाहरूका लागि नागरिक भएपछि मात्र चुँडिएको चंगा फेरि धागोमा जोडिएको अनुभव हुन्छ ।
न्यु ह्याक्सर राज्यको भुट्निज कम्युनिटी अफ न्यु ह्याम्सर (बिसिएनएच) ले नागरिकता लिने परीक्षाको तयारीका लागि कक्षा चलाउँदै आएको छ । नागरिक बन्ने यो सुअवसरले धेरैमा खुसीयाली छ । यत्रतत्र सक्दो प्रयास जारी छ । अब लाग्छ- कति भुटानी शरणार्थी अमेरिका बसाइए ? भुटानीको १ सय २१ जनाको पहिलो समूह सन् २००८ मार्च अन्तिम साता अमेरिका आएको हो ।
तीनै करिब सवा सयबाट नागरिक बन्ने क्रम सुरू हुनेछ । अनि त्यसपछि विस्तारै अरूको पालो । पुनर्स्थापना थाल्दाको १ लाख ७ हजार भुटानीमध्ये अमेरिकाले सुरुमै ६० हजारलाई पुनर्स्थापना गर्ने बताएको थियो । पुनर्स्थापनाको पहिलो वर्ष (सन् २००८) मा ५ हजार ३ सय २० अमेरिका आए भने सन् २००९ मा १३ हजार ४ सय ३२, सन् २०१० मा १२ हजार ३ सय ६३ आए । अमेरिकी आर्थिक वर्ष अक्टोबर १ मा सुरू भएर सेप्टेम्बर ३० मा सकिन्छ । अमेरिकाले ६० हजारमा सीमित नगर्ने विचार गरेको अहिलेको तथ्यांकले त स्पष्ट गरेकै छ । यसको छनक सन् २०१० डिसेम्बरमा पाइएको थियो ।
तत्कालीन अमेरिकी राजदूत स्कट एच डेलिसीले ६० हजार भने पनि त्यतिमा सीमित नहुने बताएका थिए । डेलिसीको उक्त भनाईपछि पनि सन् २०११ मा १४ हजार ९ सय ९९ र सन् २०१२ मा १५ हजार ७० जनाको पुनर्स्थापना भयो । यस हिसाबले सन् २००८ देखि सन् २०१२ सेप्टेम्बरसम्ममा ६१ हजार १ सय ८४ जना पुनर्स्थापित भए भने त्यस यता पनि पुर्नस्थापनाको लागि आउने क्रम जारी छ ।
(कोइराला अमेरिकामा निस्कने ‘अक्षरिका’ नामक नेपाली न्युजलेटरका सम्पादक हुन् । यो लेख २०६९ फागुन १४/२०१३ फेब्रुअरी २५ मा ‘नागरिक‘ दैनिकमा प्रकाशित भएको हो ।)

Comments posted (1)

हामी चै नागरिक पछिको शरणार्थी । राम्रो छ सर ।

Write a comment