​’ग्रिनकार्ड’ प्राप्तिको ६० वर्ष

अमेरिका आउने पहिलो नेपाली को थियो होला ? मनमा प्रश्न उब्जेसँगै जवाफका विकल्पहरू आफैं आउँछन् । नेपालको आर्थिक अवस्थाका कारण धेरै राष्ट्रले सुरू-सरूमा नेपालीहरूलाई शिक्षा दिन वा कुनै तालिमका लागि आफ्नो राष्ट्र जाने वा भित्रिने सुविधा दिएको पाइन्छ । त्यसैले अमेरिका आउने पहिलो नेपाली कुनै तालिमे नै हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । किनभने त्यसबेला नेपालको शिक्षाले कुनै विद्यार्थीलाई अमेरिका ल्याउने गरी शायदै तयार पारेको थियो । त्यसो भए पहिलो नेपाली अमेरिका कहिले आयो ? भन्ने चाहीं अलि नाजवाफकै अवस्थामा नै रहन्छ । तालिमे थियो भने नेपाल फर्कियो की यतै बस्यो ? यतै बसेको भए, त्यो कानुनी तरिकाले बस्यो वा बसेन ? बस्यो भने त्यो यहाँको स्थायी वासिन्दा भएको हुनुपर्छ । उ नबसेको भए अमेरिका बस्ने गरी आएको पहिलो नेपाली को थियो ? भनौं न ‘ग्रिनकार्ड’ वा स्थायी वासिन्दाको प्रमाणपत्र पाउने पहिलो नेपाली को थियो ?
यस्ता प्रश्नको जवाफ खोज्नुअघि यहाँ अलिकति के स्पष्ट गर्न जरूरी छ भने त्यसबेला विश्वसामु नेपालको पहिचान कस्तो थियो ? नेपाल कुनै ‘कोलम्बसअघिको अमेरिका’ जस्तो त थिएन । तर पनि सूचनाको संसारमा ‘दुर्गम’ थियो । भारतको ब्रिटिश राजसँग लडेको र ‘गुर्खा’भनेर फौजमा नाम कमाएकाले नेपालको थोरै नाम थियो । राणाशासन, राणाहरूको भारतमा रहेको बेलायती शासकसँगको सम्बन्धका कारण ‘नेपाल’ भन्ने नाम फैलँदै थियो । नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध सन् १९४७ अप्रिल २५ मा स्थापना भयो । नेपालले आरोहणका लागि हिमाल खुला गरेको एक वर्षमै सन् १९५० मा अन्नपूर्ण आरोहण भएको थियो । नेपालले अर्को विश्व-परिचय बनाउन सुरु ग-यो । राणाशासनको अन्त्य र सगरमाथाको प्रथम आरोहण (सन् १९५३) पछि नेपाललाई चिनाउन गाह्रो हुन छाडेको मान्नुपर्छ ।
यसै ताका कुनै नेपालीले अमेरिकाको ‘कानुनी स्थायी बासिन्दाको प्रमाण-पत्र’ (ग्रिनकार्ड) रमेशकुमार ढुङ्गेलले लेखेका छन् । सन् १९९९ मा ‘सिनास’ का तयार पारेको ‘नेप्लिज इमिग्रेन्ट्स इन द युनाइटेड स्टेट्स’ मा ढुङ्गेलले लेखेका छन्, ‘अरू एसियाली वा दक्षिण एसियालीको तुलनामा नेपाली आप्रवासनमा जाने क्रम ढिलो सुरु भएको हो ।’ उनका अनुसार सन् १९४० को दशकमा पहिलो नेपाली अमेरिका पुगेका हो ।
सन् १९५२ मा अमेरिकामा नेपालीलाई पहिलो ग्रिनकार्ड दिइएको हो । त्यस वर्ष २ लाख ६५ हजार ५ सय २० आप्रवासीले ग्रिनकार्ड पाएका थिए । त्यस हिसाबले नेपालीले ‘ग्रिनकार्ड’ पाएको ठ्याक्कै ६० वर्ष पुगेको छ । त्यसबेला ‘ग्रिनकार्ड’ पाए पनि सन् १९५६-५७ पछि मात्र नेपालीहरू अमेरिका भित्रने क्रम विस्तारै बढ्यो । र, धेरैपछि अर्थात् पहिलो जनआन्दोलन (२०४६) पछि नेपालीहरू अमेरिका आउने गति द्रुत भयो ।
‘आप्रवासीको मुलुक’ अमेरिकामा आप्रवासीलाई स्थायी बनाउन ‘कानुनी स्थायी बासिन्दाको प्रमाण-पत्र’ चाहिन्छ । सन् १८२० देखि अमेरिकाले ‘कानुनी स्थायी बासिन्दाको प्रमाण-पत्र’ दिन थालेको रेकर्ड छ । त्यस वर्ष ८ हजार ३ सय ८५ लाई ‘कानुनी स्थायी बासिन्दाको प्रमाण-पत्र’ दिएको थियो । सन् १९९१ सबभन्दा धेरै १८ लाख २६ हजार ५ सय ९५ लाई अमेरिकाले उक्त प्रमाण-पत्र दियो । ‘ग्रिनकार्ड’ यहाँ बस्न र वैध रूपमा काम गर्न दिइएको परिचय-पत्र हो । सामान्यतः ‘ग्रिनकार्ड’ पाएको पाँच वर्षमा अमेरिकी नागरिकता लिन सकिन्छ । अमेरिका बस्ने नेपाली मूलका कति मानिससँग ‘ग्रिनकार्ड’ होला भन्ने प्रश्नको उत्तर भने सहज छैन । सन् २०१० जनवरीमा १ करोड २६ लाखसँग ‘ग्रिनकार्ड’ छ । त्यसमध्ये करिब १ प्रतिशत नेपाली मुलका मानिससँग ‘ग्रिनकार्ड’ रहेको अनुमान गर्न सकिन्छ ।
आप्रवासन मामिला हेर्ने मन्त्रालय ‘होमल्याण्ड सेक्युरिटी’ को पछिल्लो प्रतिवेदनअनुसार बढी ‘ग्रिनकार्ड’ पाउने सूचीमा नेपाली २० औं मुलुकभन्दा तल छन् । सन् २०११ को उक्त प्रतिवेदन भन्छ, ‘सन् २०११ मा १० लाख ६२ हजार ४० ग्रिनकार्ड पाउनेमध्ये १० हजार १ सय ६६ नेपाली छन् । सबभन्दा बढी ग्रिनकार्ड पाउने माथिका २० मा नेपाली छैनन् । २० औं मुलुक क्यानडाका १२ हजार ८ सयले ग्रिनकार्ड पाएका हुन् । सबभन्दा बढी ग्रिनकार्ड पाउने पहिला तीन देशमा मेक्सिको, चीन र भारत मूल भएका मानिस छन् । त्यहाँका क्रमशः १ लाख ४३ हजार ४४६, ८७ हजार १६ र ६९ हजार १३ ले ग्रिनकार्ड पाएका छन् ।’
त्यसअघि सन् २०१० मा ७ हजार १ सय १५, सन् २००९ मा ४ हजार ५ सय १४, सन् २००८ मा ४ हजार ९३, सन् २००७ मा ३ हजार ४ सय ७२, सन् २००६ मा ३ हजार ७ सय ३३ जना, सन् २००५ मा ३ हजार १ सय ५८ जना, सन् २००४ मा २ हजार ८ सय ७८ जना, सन् २००३ मा २ हजार ९५ जना र सन् २००२ मा १ हजार १ सय ३७ नेपालीले ‘ग्रिनकार्ड’ पाएको तथ्यांक छ । सन् २००२ देखि २०११ सम्म कूल ४२ हजार ३ सय ६१ नेपालीले ‘ग्रिनकार्ड’ पाएको देखिन्छ ।
नेपालीले चिट्ठा अर्थात् डाइभर्सिटी भिसाबाट स-सम्मान अमेरिका आउने र ‘ग्रिनकार्ड’ पाउने मौका पाएका छन् । त्यसो भए यो प्रक्रियाले कति नेपालीलाई ‘ग्रिनकार्ड’ दिलाएको छ ? सन् १९९० मा कानुन ल्याएपछि डिभी चिट्ठाको सुरुवात सन् १९९५ मा भएको हो । तर नेपालीले डिभी चिट्ठा भर्न थालेको अलिपछि हो । सन् २००१ को चिट्ठामा सहभागी हुन थालेयता करिब ३० हजार नेपालीलाई यसमाध्यमबाट अमेरिका आएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांकअनुसार सन् २००१ लागि भरिएको डिभी चिठ्ठा जम्मा २४ जना नेपालीलाई परेको थियो । सन् २००२ मा ७२९ जना, सन् २००३ मा २ हजार ३ सय २० जना, सन् २००४ मा ४ हजार २ सय ५९ जना, सन् २००५ मा २ हजार ६ सय ९८ नेपाली अमेरिका आए । त्यसैगरी सन् २००६ मा १ हजार ९ सय ३४ जना, सन् २००७ मा १ हजार ५ सय २९ जना, सन् २००८ मा २ हजार ५ सय ६२ जना, सन् २००९ मा १ हजार ८ सय ९१ जना, सन् २०१० मा २ हजार १ सय ३२ जना र सन् २०११ मा २ हजार १ सय ८९ जना, सन् २०१२ मा ३ हजार २ सय ५८ जना र सन् २०१३ मा ४ हजार ३ सय ७० नेपाली अमेरिका आउन पाए । यो संख्या २९ हजार ८ सय ९५ हुन्छ ।
यसबाहेक नेपालीले ‘ग्रिनकार्ड’ पाउने अरू आधारहरू- पारिवारिक सम्बन्ध, रोजगारमा आधारिकता, अमेरिकी नागरिकता लिएका नेपाली मुलका मानिसका नातेदार, धर्म-सन्तानका रूपमा अमेरिका ल्याइएका बालबालिका, शरण माग्ने आदि हुन् ।
अमेरिका आउने विद्यार्थी पनि यस वर्गमा पर्छन् । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाको ‘ओपन डुअर्स’ प्रतिवेदनमा सन् १९९५-९६ देखि नेपाली विद्यार्थी अमेरिका आएको तथ्यांक छ । सन् १९९५-९६ मा १ हजार २ सय १९ नेपाली अमेरिकामा पढिरहेका थिए । यो संख्या बढेर सन् २००८-०९ मा ११ हजार ५ सय ८१ सम्म पुग्यो । तर सन् २००८-०९ पछि घट्दै आएर सन् २०११-१२ मा ९ हजार ६ सय २१ पुगेको छ । कुनै विद्यार्थी सिधै ‘ग्रिनकार्ड’का हकदार त हुँदैनन् । उच्च शिक्षा र गतिलो रोजगारीपछि उनीहरूलाई ‘ग्रिनकार्ड’ लिन भने सजिलो पनि हुन्छ । यसले पनि ‘ग्रिनकार्ड’ लिने नेपालीको संख्यामा केही थपेको छ ।
(कोइराला, अमेरिकामा निस्कने ‘अक्षरिका’ नेपाली न्युजलेटरका सम्पादक हुन् । यो लेख २०६९ पुस ३, २०१२ डिसेम्बर १८ को नागरिक दैनिकमा प्रकाशित भएको हो ।)

 

Comments posted (3)

ramo lago

Research ramrai garnu bhaeko rahechh. Congratulation.

लेख निकै रोचक लाग्यो !

Write a comment