एउटा राम्रो स्कुल

‘घरनजिक एउटा राम्रो स्कुल होस्,’ आम-अभिभावक यही चाहन्छन् । पत्रिकाका पानामा दिनहुँ विज्ञापन छापिएका छन् । भर्ना खुलेको छ । सबै स्कुलका ढोका खुला छन् । यति हुँदाहुँदै पनि सहरिया बाबु-आमालाई कुन स्कुल राम्रो र कुन नराम्रो भन्ने कुराले रात छर्लङ कटाइदिएको छ । हरेक वर्ष पुनः भर्नाको झमेलामा केही हजार रुपैयाँ खर्चनु पर्छ । स्कुल फेरे त झनै मार । नयाँ पोसाक, त्यसमा पनि जाडो र गर्मीका लागि भिन्न लुगा । नयाँ झोला, उस्तै ज्योमिट्री बक्स । नयाँ जुत्ता, भए दुइ वा त्योभन्दा बढी जोर । कहाँबाट बस चढ्ने ? कति बेला बस आइपुग्छ ? दिउँसो खानका लागि स्कुलकै क्यान्टिनमा भर पर्ने कि घरबाट पठाइदिने ? तीन बच्चा भए एउटालाई ट्युसन फि पो तिर्नु नपर्ने हो कि ? अनेकन प्रश्न । शैक्षिक सत्र सुरु हुँदा उब्जने प्रश्नका उत्तर शैक्षिक सत्र सकिँदा पनि पाइँदैनन् । छोराछोरीले फाट्टफुट्ट अंग्रेजी बोलिदिइहाल्छन् । बाबुआमा दंग ! आमघरमा यसै हुन्छ ।
राजधानी उपत्यकामा मात्र डेढ हजार स्कुल छन् । बाटो वारिको स्कुलमा एक हजार विद्यार्थी त बाटो पारिमात्रै उत्तिकै । यत्तिको घना आवादीमा स्कुल पनि चलेकै छन् । धेरैले शिक्षण पेसाबाट ज्यान पालेका छन् । यी भए यावत् कुरा । 
कस्तो स्कुल राम्रो भन्ने यक्ष प्रश्न निरुत्तरित छ । पढेर उसले के गर्नसक्छ ? त्यसमा भर पर्छ कुन स्कुल राम्रो भन्ने कुरा । यही सहरमा अभिभावकको सोच पनि अनेक थरीको भेटिन्छ । एकखाले अभिभावक बिहान गएका छोराछोरी साँझमा घर फर्कुन् भन्ने चाहन्छन् । दिनभर पढेको पढ्यै गरुन् । दिनभर स्कुलमा बिताउन् भन्ने चाहना गर्ने अर्काथरी अभिभावक काममा व्यस्त रहन्छन् । बालबच्चाका लागि समय निकाल्नै भ्याउँदैनन् । यहीबाट गल्ती पनि गरिरहेका छन् । केका लागि व्यस्त हुन्छन्, ती आमाबाबु – आफ्ना सन्तानसँग दुइ शब्द बोल्न फुर्सद निकाल्न गार्‍हो पर्छ भने तिमीले आर्जन गरेको करोड रुपैयाँ एकातिर, खेर गएको तिम्रो सन्तान अर्कातिर । उसको बिग्रेको सोमत अभिभावकले करोडमा किनेर पनि आउँदैन ।
अर्काथरी अभिभावकचाहिँ स्कुललाई बाटो देखाउने मन्दिर ठान्छन् । धेरै समय स्कुलमा बिताउँदैमा ऊ विद्वान् हुँदैन भन्ने बुझेका छन् । केही समय बालबच्चाका लागि छुट्याउँछन् । बालबच्चाका कुरा सुन्छन् र आफ्ना सुनाउँछन् । पीरमर्काका कुरा गर्छन् । पक्कै पनि यस्तरी हेरिएका बालबच्चाले राम्रै गर्छन् । अभिभावक र बालबालिकाबीच ‘दोहोरो संवाद’ जरुरी छ । तपाईंको सन्तान कति कक्षामा पढ्छ ? स्कुलको नामक के हो ? स्कुल कहाँ छ ? ऊ हिंडेर जान्छ कि बसमा ? कति बेला जान्छ र कहिले फर्कन्छ ? के तपाईं छोरा वा छोरीको कक्षा शिक्षकको नाम जान्नुहुन्छ ? उसँग धेरै मिल्ने साथीको नाम थाहा छ ? उसलाई कुन कार्टुन मनपर्छ ? उसलाई कुन खाना मनपर्छ ? कस्तो लुगा लगाउने रुचि छ ? जुकाको औषधि खाएको कति महिना भयो ? पहिलो वा दोस्रो त्रैमासिक भयो ? यस्ता प्रश्नको उत्तरमा तपाईं आधाको उत्तर दिनुहुन्छ भने पनि तपाईंलाई धन्य भन्न सकिएला । यो सहरमा यस्ता प्रश्नका एउटा पनि उत्तर दिन नसक्ने अभिभावक भेटिन्छन् ।
टन्न पैसा बुझाएपछि सबैथोक स्कुलको जिम्मा ठान्नेको जमात ठूलै छ । ‘मेरो बच्चालाई पर्याप्त होमवर्क भएन । थोरै त सकिहाल्छ । टीभी हेर्न थाल्छ,’ केही अभिभावक यही कुरा लिएर स्कुल पुग्छन् । एउटा साधारण कुरा मानव शरीरका लागि कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, भिटामिन, खनिज, पानीजस्ता सबैखाले खाना चाहिन्छ । एउटामात्र खाएर स्वस्थ रहन सकिन्न । त्यसो भए फुर्सदभर होमवर्क गर्दैमा बालबच्चा विद्वान् भएर निस्कलान् र ? उसले खेल्नुपर्छ, बोल्नुपर्छ । टीभी पनि हेर्नुपर्छ । बालबच्चाका लागि विभिन्न च्यानल छन्, कार्यक्रम छन् । पत्रिकामा कार्यक्रमको सूची छापिएको हुन्छ । सही र गलत छुट्याएर हेर्न दिने काम त अभिभावकको हो ।

स्कुलहरूमा सजाय दिने काम अझै बन्द भएको छैन । पिटेर सन्तान तह लाग्छन् भन्ने अभिभावक पनि यो सहरमा फेला पर्छन् । सोचमा थोरै परिवर्तनको खाँचो छ । पिटेर तह लगाइएका बालबच्चाभन्दा सम्झाएर हुर्काइएकाले संसार हाँक्छन् । सम्झाउने वा बुझाउने काम शिक्षक र अभिभावक दुवैको हो । इस्त्री लगाएका लुगा, चिटिक्क कोरिएको कपाल, टलक्क टल्किएका जुत्ता लगाएका बालबालिकाले भरिएका स्कुलहरू ‘विद्याका मन्दिर’ बन्ने जमाना गयो । यो सोच्ने जिम्मेवारी पनि अभिभावककै हो ।
यो अभिभावक दिवस र वाषिर्कोत्सवका कार्यक्रम गर्ने मौसम हो । पत्रिका, टेलिभिजन, स्कुल बसमै भए पनि तुल, पर्चा र पम्प्लेट । चुनाव माग्न हिंडेका नेताझैं आफूले कर्के आँखाले समेत नहेरेका अभिभावकलाई ‘नमस्ते’ । स्कुलहरूले नयाँ भर्नामा प्रभावित पार्न यसो गरेका हुन् । थोरै शिक्षा र धेरै व्यापारमा महत्त्व दिने स्कुलले सोचुन् पनि के ? ‘तीन सय छन् । घाटा-नाफा बराबर । एक सय बढे पनि त्यत्तिको सबै नाफा हुन्थ्यो,’ एकथरी प्रिन्सिपल यसो भन्छन् । अर्काथरी, ‘हाम्रो मापदण्ड एसएलसी हो । अहिलेसम्म यत्तिका ब्याच गए । शतप्रतिशत पास,’ भन्छन् । केही भन्छन्, ‘स्कुल धेरै भए । स्कुल चलाउन गार्‍हो भो ।’ अर्का एक समूह यस्ता छन्, ‘अहिले बालबालिकाका कुरा बुझ्नै गार्‍हो हुन थाल्यो ।’ यी प्रश्नको उत्तर एउटै छ- ‘तपाई स्कुलमा कत्तिको लगनशील भएर लाग्नुभएको छ । त्यसैमा भर पर्छन् यी कुरा । आफैंमा कत्तिको आत्मविश्वास छ ।’ यसकारण यहाँ अन्योल छ । सबै अन्योल चिर्ने जिम्मेवारी अभिभावकको हो । आफू जानिँदैन भने जान्नेसँग सोध्नुपर्छ ।
घरनजिक राम्रो स्कुल नहुनसक्छ । टाढै पठाउनुपर्ने पनि होला । तर स्कुल छान्ने काम अभिभावकको हो । पैसा, धेरै होमवर्क, पाटपिट, हाइफाईले मात्र अबको पुस्ता ठीक नरहला । प्रतिस्पर्धा बढ्दो छ । प्रतिस्पर्धामा उभिनसक्ने चाहिँ बनाउनुपर्छ । धेरै नम्बर ल्याउँदैमा दंग परिहाल्ने अवस्था छैन । क्षमता हो, त्यो पढाइले नै ल्याइदेला भन्ने छैन । चौतर्फी विकास हुन जरुरी छ । त्यो विकासका लागि हात समाएर डोर्‍याउने काम बाबुआमाले धेरै र स्कुलले थोरै गर्ने हो ।
(२०६३ चैत १ को कान्तिपुर दैनिकमा प्रकाशित) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<