आन्दोलनका अभिभावक

आन्दोलनका अभिभावक आन्दोलन सुरु भएको छ । शैक्षिक क्षेत्र त्यसै पनि प्रभावित भइहाल्छ । त्यसमा पनि स्कुल खुल्ने/नखुल्ने वा बाटोमा हुने अवरोधका कारण अभिभावकलाई बढी नै चिन्ता हुन्छ । पढाइमा त बाधा भयो भयो, दिनहुँको ‘आन्दोलन रुटिन’ कहाँबाट थाहा पाउने ? स्कुलका लागि नानीहरू तयार पार्ने कि नपार्ने ? यस्तो विषयमा पनि राजधानीमा जानकारी पाउने सुविस्ता देखिन्छ तर बाहिर कहाँबाट पाउनु ?
सबै पत्रपत्रिकाले बन्दबारे अग्रिम जनाउ दिँदैनन् । बन्दजस्तो अराजकताको विज्ञापन गर्नु हुँदैन भन्ने मान्यता देखाइन्छ । तर जानकारी नदिँदा आमजनतालाई ठूलो सास्ती भएको छ । बन्द वा राजनीतिक गतिविधिका कारण पढाइ प्रभावित भएका, स्कुल पुग्न ढिलो भएको र फर्काउने बेलामा कठिनाइ भएका घटना प्रशस्त छन् । अराजक भीडको आक्रमणमा परी नानीहरू घाइते वा आतंकित भएका घटना पनि उत्तिकै छन् । सबभन्दा पहिले त आफ्ना कान र आँखा खुला राख्नुपर्छ । चासो दिइरहनुपर्छ । छरछिमेकमा यसो कुराकानी गर्ने, चनाखो भएर अरूका कुरा सुन्ने बानी सहायक हुन्छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन वा आन्दोलन आयोजक दलका निकटस्थ वा विश्वासिला कार्यकर्ता यसका लागि सहयोगी बन्न सक्छन् ।
यसपटककै कुरा गरौं । माओवादीको पछिल्लो सडक आन्दोलनमा कुन दिन के हुँदैछ ? क्यालेन्डरमा टिपेर राख्दा करिब स्पष्ट हुन सकिन्छ । जस्तो : उनीहरूले कात्तिक २६ र २७ मा सिंहदरबार घेराउ भनेका छन् । त्यसपछि सिंहदरबारका तीन गेट क्षेत्र प्रभावित हुन्छ । त्यहाँका बाटा भएर जाने स्कुल बस पक्कै रोकिने छन् । कात्तिक २४ मा उपत्यका नाकाबन्दी भनिएको छ, त्यो दिन के हुन सक्छ ? सधैंजसो एफएम वा टेलिभिजनले बिहान प्रसारण गर्ने समाचारले पनि यस्ता आन्दोलनबारे बताउन सक्छन् । आन्दोलनको आयोजक निकटस्थ ठानिएका सञ्चारमाध्यम यस्ता विषयमा शतप्रतिशत सत्य हुन्छन् । त्यो विचार गरे हुन्छ ।
एउटा वेबसाइट प्रचलनमा छ : नेपालबन्द डट कम । यो वेबसाइटले पनि बन्दबारे अग्रिम जानकारी दिन्छ ।
कोटेश्वरमा दुइटा र गौशालामा एउटा क्यामरा जडान गरिएको छ । त्यहाँ के भइरहेछ भन्ने जानकारी स्थानीय केबुलहरूबाट राजधानीका केही स्थानका टेलिभिजनहरूमा ‘लाइभ’ प्रसारण गरिन्छ । यसले बाटो खुला छ कि छैन, बुझ्न मद्दत गर्छ । आफ्ना नानीहरू जाने चोक वा बाटोमा पसल वा घर भएका नातेदारलाई सम्पर्क गरी बाटोको स्थिति थाहा पाउन सकिन्छ । कोही छैन भने साथी बनाउन सक्नुहुन्छ ।
ट्राफिक प्रहरीले सडकको स्थितिबारे जानकारी लिन दुइटा माध्यम उपयोग गर्दै आएको छ । ‘जेएएम’ (जाम) लेखेर ४३२१ मा ‘टेक्स्ट म्यासेज’ पढाउँदा राजधानीको सडकजामको स्थिति तत्काल थाहा हुन्छ । त्यसैगरी १०३ मा फोन गरेर पनि सहरको सडकको स्थिति जान्न सकिन्छ ।
अभिभावकले स्कुल, प्रिन्सिपल, को-अर्डिनेटर, कक्षा-शिक्षक आदिको टेलिफोन नम्बर राख्नैपर्छ । त्यसमा पनि नानी-बाबुका साथीहरूको घर र उनका अभिभावकलाई सम्पर्क गर्ने उपाय स्थापित गर्नुपर्छ । यो निकटताले अरू बेला पनि काम दिन्छ ।
नेपाल दूरसञ्चारले ‘नोटिस बोर्ड’ प्रचलनमा ल्याएको छ । यसमा कुनै नोटिस रेकर्ड गरिन्छ । नम्बर डायल गरेपछि स्कुल खुल्ने वा नखुल्ने वा अन्य केही सूचना पाउन सकिन्छ । स्कुल, प्रिन्सिपल, को-अर्डिनेटर, कक्षा-शिक्षकलाई फोन गर्दा धेरैले समय खेर फाल्नुपर्ने हुन्छ । त्यसै पनि फोन व्यस्त हुन्छन् । व्यक्तिगत जीवन पनि त प्रभावित हुन्छ । ‘नोटिस बोर्ड’ व्यस्त हुँदैन । एकैपटकमा फोन गर्नेजतिले जानकारी पाउँछन् । ‘नोटिस बोर्ड’ राखेका विद्यालयले स्कुलको तयारीअघि एकपटक फोन गर्न सबैलाई सूचित गर्ने गर्छन् ।
राजधानीका केही विद्यालयले ‘टेलिफोन ट्री’ को थिति बसाएका छन् । कुनै कुनै विद्यालयका लागि यो थिति पुरानो भइसकेको पनि छ । यसमा कुनै कक्षाको रोल नम्बर १ भएको विद्यार्थीलाई स्कुलले जानकारी दिन्छ । त्यो जानकारी रोल नम्बर १ ले २ लाई दिन्छ । रोल नम्बर २ ले ३ लाई दिन्छ । यसो गर्दा सबैले जानकारी पाउँछन् । यस्तो ‘टेलिफोन ट्री’ अभिभावकै बनाए पनि हुन्छ । आर्थिक रूपमा विद्यालय वा कुनै एक व्यक्तिलाई भार पर्दैन ।
(२०६६ कार्तिक २४ कान्तिपुर दैनिकमा प्रकाशित) 

Write a comment