तमसोमा ज्योतिर्गमय

 

पन्ध्र वर्षभन्दा अघिको कुरा हो । भक्तपुरको दत्तात्रेयछेउ एउटा होमियोप्याथीको क्लिनिक थियो । अहिले छ वा छैन, थाहा छैन । म एउटा बिरामीका रूपमा त्यहाँ पुगेको थिएँ । पालो पाएपछि डाक्टरको कोठामा म पसे । त्यहाँ अर्को बत्ती थियो वा थिएन, त्यो ख्याल भएन । त्यहाँ मैनबत्ती बालेको थियो । डाक्टरले मलाई मेरो बिमारको बारेमा सोधीरहँदा म त्यो मैनबत्तीमा पनि आँखा पु-याउँथे । मलाई त्यो शान्त बत्तीले बेला-बेला तानिरहन्थ्यो । मलाई बिमारको उपचार नै पो यसै बत्तीले गरिरहेको छ जस्तो लाग्थ्यो ।

उता ‘क्यान्डल लाइट डिनर’मा मान्छे त्यसै लोभिएका होइन रहेछन् । बत्तीमा झुमिएका पुतलीहरूझैं । कति ठूलो महत्व ! चाड-पर्व मिल्दा
यता अमेरिका आएर ‘अक्षरिका’ सुरु गरेपछि मैले नेपाली र अमेरिकी चाड-पर्वको जानकारी दिन एउटा स्तम्भ थालियो । स्तम्भमा आउने दिनका चाड-पर्वको चर्चा रहन्थ्यो । १५-१५ दिनमा ‘अक्षरिका’ निकाल्दा आउने १५ दिनका र महिनामा निकाल्दा एक महिनामा पर्ने चाड-पर्वको चर्चा गरियो । यस क्रममा अमेरिकामा बस्ने अफ्रिकीहरूले ‘क्वान्जा’मा र यहुदीको ‘हनुका’ पर्वमा दीप बाल्ने रहेछन् भन्ने थाहा पाएँ । यी दुई पर्वका बारेमा मैले नदेखेको र पढेको मात्र कुरा भयो । उता हिन्दूहरूले तिहारमा दीप तथा आकाशदीप बालेको त आफ्ना लागि अनौठो भएन । यता थ्याङ्कसगिभिङदेखि क्रिसमस हुँदै नयाँ वर्ष (इस्वी संवत्) मा झलल दीप बालेको पढियो, देखियो ।
अनि सन् २०१० मा मैले फेसबुकमा एउटा स्ट्याटस् लेखें, ‘हिन्दूहरूले तिहारमा दीप तथा आकाशदीप, यहुदीको हनुका पर्वमा दिप, थ्याङ्कसगिभिङदेखि क्रिसमस हुँदै नयाँ वर्षमा दीप (इस्वी संवत), अमेरिकामा बस्ने अफ्रिकीहरूले क्वान्जामा दीप जहाँ पनि उज्यालोको महिमा छ । कतै सबै दीप बाल्ने चलन एकै पटक सुरु भएको त थिएन । पछि मान्छे जता पुगे, उतै आफ्ना ढंगले बाल्न थालेका त होइनन ?’ फेसबुकमा केशव कोइरालाले कमेन्ट लेखे, ‘तमसोमा ज्योतिर्गमय’ । हो त, तमसोमा ज्योतिर्गमय (अँध्यारोबाट प्रकाशतर्फ हिँड वा जाउ वा लाग) ।
चाड-पर्वकै कुरा गर्दा हिन्दूहरूले बाबुको मुख हेर्ने र आमाको मुख हेर्ने चाड मनाउँछन् । अमेरिकामा पनि छ, फादर्स डे र मदर्स डे । तिथि-मितिको कुरा गर्दा पनि करिब-करिब उस्तै बेलामा पर्छ । २०६९ सालकै पात्रो पल्टाउँदा वैशाख ९ गते (अप्रिल २१) मातातीर्थ औंसी (आमाको मुख हेर्ने) र भदौ १ गते (अगस्त १७) बाबुको मुख हेर्ने (कुसे औंसी) मा मनाइएको थियो । सन् २०१२ को पात्रोअनुसार अमेरिकाको मदर्स डे मे १३ (वैशाख ३१ गते) र फादर्स डे जून १७ (असार ३ गते) मा थियो । अमेरिकाको बदलिंदो पारिवारिक संरचनाका कारण फादर्स डे र मदर्स डे मनाउनुको सट्टा ‘प्यारेन्टस् डे’ को मनाइन्छ । ‘प्यारेन्टस् डे’ जुलाईको चौथो आइतबार मनाइन्छ । यो नेपालको पात्रोअनुसार असारमा पर्छ ।
तिहारमा देउसी-भैलो खेल्नेहरू भट्याउँछन् :
आहै भन मेरा भाई हो
देउसी रे
आहै राम्ररी भन
देउसी रे
आहै स्वर मिलाइकन
देउसी रे
आहै भन न भन
देउसी रे
देउसी रे भन
देउसी रे
यता हलोविनमा केटाकेटीहरू भट्याउँछन्, ‘ट्रिक अर ट्रिट’ । ठाउँ, जेथाअनुसारको दक्षिणा दुवैतिर दिइन्छ । हलोविनमा नानीहरू रमाउँछन् । देउसी-भैलोमा ठूला पनि आउँछन् । ठूलाले यसरी आउनु नहुने थियो की ! वा यता ठूलाले आफू जाने क्रम कम गरेका हुन् की !
फर्सी महात्म्य
सानो छँदाको एउटा संस्मरण छ, मेरा फुपाजूले मलाई बिहेमा ‘खाँडो जगाउँदा’ फलाक्ने कवित्तहरू सुनाउनु भएको थियो । मैले कपिमा लेखेर राखेको थिएँ । तर त्यो कपि हरायो । ती कवित्तहरूमा एउटा रमाइलो श्लोक थियो, ‘बारीका कान्लामा काँक्रा-फर्सी, मेरी बूढी देख्दा तेरी बूढी तर्सी’ । मलाई अमेरिकामा फर्सी राखेर हलोविनमा तर्साएको देख्दा त्यही कवित्तको सम्झना भयो ।
खाँडोका बारेमा नेपाली विकिपिडिया भन्छ, ‘विवाह-विधिअन्तर्गत गरिने खड्ग पूजन प्रथा । ‘खड्ग’ शब्दबाटै ‘खाँडो’ बनेको हो । विवाहमा बेहुली बनेकी केटीलाई अपहरण गर्न आउने सम्भावनाबाट सचेत भई हतियार तयार पारेर बस्ने कार्य हो । ‘खाँडो जगाउने’ काम । परम्पराअनुसार खाँडोमा प्रशस्ति गाइन्छ र कुहिरेलाई गाली गरिन्छ । जसबाट नेपाल-अङ्ग्रेज युद्ध भएपछि यो खड्ग पुजन प्रथाले खाँडीको रूपमा लिएको हो भनेर अनुमान गर्न सकिन्छ ।’
यता फर्सी खोपेको देख्दा मलाई बाल्यकालको एउटा अर्को सम्झना छ । मोरङको रमाइलो गाउँमा चौथी मनाउने दाईहरूले काँक्रा र फर्सी टिपेर काटेका, फालेका हुन्थे । बोट नै सखाप पारेका हुन्थे । एउटा चौथीमा त फर्सी खोपेछन् र फर्सीमा ‍—- गरिदिएछन् । त्यो वर्ष भने गाउँले सबै मिलेर चौथी खेल्नेलाई माफ मगाएका थिए ।
खाँडोको फर्सी र चौथीका कुरा एकातिर, अर्कातिर फर्सीकै महिमा गर्दै हलोविन २०१२ का बेला अमृता लम्सालले फेसबुकमा लेख्नुभयो, ‘नेपालमा सस्तै, सजिलै पाइने फर्सीको मोल त अम्रीकानेहरूले धेरै पो लगाउँदा रहेछन त ! मैले आजसम्म विचारै गरेकी रहेनछु !
आज बिहान कसैले चर्चमा ‘पम्पकिन’ बेचेर ‘फन्ड रेज’ गर्न लागेको भनेर फर्सीका थुप्रा देखाएपछी मैले सबैभन्दा महँगो फर्सी/पम्पकिनको कति पर्छ ? भनेर सोधेको, उसले ७५ डलरसम्मको थियो त्यहाँ भन्यो । आश्चर्य ! एउटा फर्सीको ७५ डलर ? हाम्रातिर ता पाखामा यत्तिकै उमार्न सकिन्थ्यो नि ! भनेर ।
त्यसपछि ग्रोसरी स्टोरभित्र छिरेको त ढोकैमा बढेमानको फर्सी फिँजाएर राखेको रहेछ; यसो पैसा हेरेको त “९९।९९” डलर रे ! साँच्चै ?
व्यापार गर्न जानेपछि जे पनि हुने रहेछ भनेको यही हो । ‘हलोविन’ मनाउने चलनको सुरुवातसँगै ‘ज्याक-ओ-ल्यान्टर्न’ पनि सुरुवात गरेछन्, ब्रिटिश आइलका बुढापाकाहरूले । हाम्रा समाजमा रहेका भूत-प्रेतका कथा जस्तै उनिहरूले पनि त्यस्ता आत्माहरूबाट रक्षा गर्न फर्सीलाई विभिन्न आकृतिका रूप दिएर, भित्रको गुदी खुर्किएर फाली, त्यसभित्र बत्ति बालेर घरबाहिर राख्ने चलन चलाएका रहेछन् । यो दिन (अक्टोबर महिनाको ३१ तारिख) दिन मनाइने भए पनि करिब पुरै अक्टोबर महिना भरि नै यो रित मनाउनेका घर बाहिर डरलाग्दा आकृति, माकुरोको जालो र विशेष पात्र बत्ति बालिएका फर्सी देखिन्छन् ।
यो सबै देखेपछि अनि फर्सीको भाउ सुनेपछी लाग्यो, ठाउँमा जन्मिएपछी त फर्सीले पनि मान पाउने रहेछ त हौ ! यदि नेपालको फर्सी ट्रकमा हालेर यहाँ ल्याउन पाउने भए किसानहरूले यो बेला कति धेरै कारोवार गर्थे होलान है !’
अमृता दिदीकै विष्णु शितलको कमेन्ट मलाई चित्तबुझ्दो लाग्यो, ‘यो हलोविन र हाम्रो गाईजात्रा दुवैमा मृतात्मालाई सम्झदा रहेछन् । यी दुई संस्कृतिबीच केही अन्तरसम्बन्ध छ कि भनेर कुनै संस्कृतिविद्सँग छलफल गर्न पाए केही नयाँ कुरा पो भेटिन्थ्यो कि भन्ने लाग्या छ है ।’
अमृता दिदीकै फर्काउनु हुन्छ, ‘हलोविनको सुरुवात त्यस्तै आत्माहरूलाई घरको छेउछाउमा भड्किन नदिने परम्परा या पुरातन सोचाईबाटै सुरु भएको रहेछ; जसरी हाम्रो गाइजात्रा । अर्को चाड थ्याङ्कसगिभिङ र हाम्रो ‘न्वागी खाने’ (नयाँ चामल भित्र्याएपछी चामल र दही मुछेर/माडेर) खाने चलन पनि त कता/कता मिले जस्तो लाग्छ नि, हैन र ?’
थ्याङ्कसगिभिङको कथा (अक्षरिकाबाट)
नोभेम्बरको चौथो बिहिवार अमेरिकामा थ्याङ्कसगिभिङ मनाइन्छ । सन् १८६३ देखि औपचारिक पर्व बनेको थ्याङ्कसगिभिङ सार्वजनिक बिदाको दिन हो । थ्याङ्कसगिभिङ दुई ठूला पर्वहरू- क्रिसमस र नयाँ वर्षकै हाराहारीको पर्व हो । यो पर्व परिवार, इष्टमित्र र साथीभाईको भेटघाट गर्ने पर्व पनि हो ।
पहिलो थ्याङ्कसगिभिङ सन् १६२१ मा मनाइएको इतिहास छ । अमेरिकामा यहाँका रैथाने अमेरिकीहरू मात्र बस्थे । सन् १६२१ अघि युरोपबाट केही मानिस यहाँ आए । ती आगन्तुकले, ‘आफूलाई नयाँ सुरक्षित संसारमा ल्याइपुर्याकएकोमा ईश्वरप्रति धन्यवाद-ज्ञापन गर्न’ पहिलो थ्याङ्कसगिभिङ ३ दिन मनाइयो ।
पहिलो थ्याङ्कसगिभिङमा ५३ आगन्तुक र ९० रैथाने अमेरिकी थिए । उनीहरूले आफूलाई पुग्ने खाना जुटाएका थिए । खानामा विभिन्न जातका माछा, सिपी भएको जल-जन्तु (घुँगी, झिँगेमाछा आदि), जंगली चरा (हाँस, टर्की आदि), मृगको मासु, फलफूल, तरकारी (केराउ, फर्सी, सखरखण्ड, प्याज), गहुँ, जौं, मकै आदि थियो ।
यहाँ प्रश्न उठ्छ, युरोपेलीहरू किन आए ? युरोपेलीहरू धार्मिक स्वतन्त्रताको खोजीमा त्यहाँबाट हिँडेका थिए । पहिले उनीहरू निदरल्यान्ड्स गए । अनि आफ्नो बस्ती बनाउन उनीहरू सन् १६२० मा उत्तर अमेरिका आए । उनीहरू आएको त्यो ठाउँ मासाचुसेट्स राज्यको ‘प्लिमिथ’का नामले चिनिन्छ ।
उनीहरूको सामुद्रिक-यात्रा कठिन थियो । अमेरिका आइपुगेको पहिलो महिना पनि उत्तिकै कठिन रह्यो । करिब एक सय युरोपेली शरद ऋतु सकिएर जाडो शुरु हुने बेलामा यहाँ आइपुगेका थिए ।
जाडो शुरू भयो, आधा मानिसको ज्यान चिसोले लग्यो । जब वसन्त ऋतु आयो, उनीहरूले बालीनाली लगाए । स्क्वान्टो नामका एक रैथाने अमेरिकीले उनीहरूलाई मद्दत गरे । गर्मी सकियो, मकै र जौं राम्ररी उब्जियो । जाडोलाई पुग्ने खाना भयो । उनीहरु खुसी भएर थ्याङ्कसगिभिङ मनाउने निर्णय गरे ।
उनीहरूका अगुवा विलियम ब्राडफोर्डले पर्वको मिति तय गरे । नजिकै बस्ने रैथाने अमेरिकीहरूलाई पनि बोलाए । युरोपबाट मान्छे आउँदै गर्दा बस्ती बाक्लिदै गयो र थ्याङ्कसगिभिङ व्यापकता भयो ।
त्यतिअघि देखि मनाएको भए पनि यो पर्व औपचारिक पर्व थिएन । सन् १८२० मा सराह जोसेफा हेल नामकी लेखिकाले यो पर्वलाई औपचारिक पर्व बनाउन आवाज उठाइन् । सन् १८६३ मा अमेरिकामा उत्तर र दक्षिणका राज्यहरुबीच गृहयुद्ध चलिरहेको थियो । राष्ट्रपति अब्राहम लिङ्कनले यसलाई औपचारिक पर्वका रुपमा राष्ट्रिय दिवस घोषणा गर्नुभयो । त्यसपछि धेरै राष्ट्रपतिका पालासम्म यस पर्वलाई नोभेम्बरको अन्तिम बिहिवार मनाइयो ।
सन् १९३९ मा राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजबेल्टले यो पर्व पाँचौं बिहिवारको सट्टा चौथो बिहिवार मनाउने घोषणा गर्नुभयो । त्यसपछि यो चौथो बिहिवार नै कायम छ ।

त्यसदिन छर्लङ उज्यालो हुनेछ
दिप बाल्ने प्रसंगमा मैले माथि भनेजस्तो, ‘कतै सबै दीप बाल्ने चलन एकै पटक सुरु भएको त थिएन । पछि मान्छे जता पुगे, उतै आफ्ना ढंगले बाल्न थालेका त होइनन ?’ हामी यो धर्म र त्यो धर्म भन्छौं । गोरा र काला भन्छौं । यताका र उताका भन्छौं ।
यी भ्रमहरू हुन् । एकदिन त हट्नेछ । त्यो काम ‘विकिपिडिया’ले गर्छ, जसको भाँडो सधैं खाली छ । हामी, तपाईं जोकोहीले भरेका (पोस्टिङ गरेका) छौं । मैले पनि ‘नेपाली विकिपिडिया’ मा केही सय सामग्री राखेको छु । हो, यो संकलनकै क्रममा कुनै दिन हाम्रा यी जात, धर्म, छाला आदिका भ्रमहरू तोडिनेछन् । हाम्रो उद्गम एउटै हो भन्ने निष्कर्ष निस्कन सक्छ । त्यसदिन छर्लङ उज्यालो हुनेछ ।

Comments posted (4)

ज्यादै राम्रेा लेख ।

जानकारीमूलक ब्लग ।

Nicely knitted piece. Loved reading Rajesh-ji.

oh! what a inspiration ! what a lovely connection ! it might be true Rajesh sir!

Write a comment