अमेरिकामा नेपाली-भाषी

काठमाडौंस्थित अमेरिकी दूतावासले भदौ १९ मा एउटा विज्ञप्ति जारी गर्दै भन्यो, ‘नेपालबाट अमेरिका प्रस्थान गर्ने भूटानी शरणार्थीको संख्या ६० हजार पुगेको छ ।’
अमेरिकालगायत अस्ट्रेलिया, क्यानडा, निदरल्यान्डस्, डेनमार्क, नर्वे, न्युजील्यान्ड, र संयुक्त अधिराज्यमा गरी करिब ७१ हजार नेपाली-भाषी भूटानी शरणार्थी पुनर्स्थापना भइसकेको छ ।
यो संख्यामा करिब ८३ प्रतिशत भूटानी शरणार्थीलाई अमेरिकाले एक्लै पुनर्स्थापना गराएको छ ।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको कार्यालय (युएनएचसिआर) र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) सँगको सहकार्यमा पुनर्स्थापना थालिएको करिब साढे चार वर्ष भइसकेको छ । पछिल्लो तथ्यांकअनुसार अस्ट्रेलियामा ३ हजार ६ सय, क्यानडामा ४ हजार ८ सय, निदरल्यान्डस्मा ३ सय, डेनमार्कमा ६ सय, नर्वेमा ५ सय, न्युजील्यान्डमा साढे ६ सय, र संयुक्त अधिराज्यमा २ सयको हाराहारीमा पुनर्स्थापना भएको छ ।
अमेरिकामा नेपाली
ठूलो संख्यामा भूटानी शरणार्थी पुनर्स्थापना गराएको अमेरिकामा नेपाली मुलका मानिसको । एउटा प्रश्न, आखिर अमेरिकामा नेपाली को ? कागजी कुरामा नअल्मलिने हो भने यहाँ मुल रुपमा दुई खालका नेपाली छन् । पहिलो नेपालबाट आएका नेपाली र नेपाली-भाषी भूटानी । यसबाहेक भारत, बर्मा आदिबाट आएका केही नेपाली-भाषी पनि अमेरिकामा छन् ।
त्यसो भए नेपालबाट आएका नेपालीको अवस्था ? नेपालीहरु बीसौं शताब्दीको सुरुमा अमेरिका आउन थालेको अनुमान छ । नेपाली मुलको मानिस नेपालबाहेक अन्यत्रबाट अमेरिका आएका पनि हुनसक्छन् । सन् १९५० सम्म नेपालले बाहिरी संसारसँग कुनै सम्पर्क राखेन । राणाशासनको अन्त्यका बेला भारतसँग जोडिएर आएका प्रसंग, सगरमाथाको पहिलो आरोहण जस्ता घटनापछि नेपाल अलि बाहिर चिनिदै आयो । राणाकालमा एकदम न्युन संख्यामा आएका नेपाली पनि अमेरिका छन् । जनगणना जस्ता कामका लागि ‘नेपाली’ भनेर पहिचान पाएको सन् १९७४ मा हो । त्यसअघि ‘अन्य एसियन’ (अदर एजियन) भनेर गणना गरेको पाइन्छ । अमेरिकामा नेपालीको संख्या सन् १९९० को जनगणनाले २ हजार ६ सय १६ र सन् २००० को जनगणनाले ९ हजार ३ सय ९९ थियो । नेपालका आन्तरिक कलह र सन् २००० पछिका दश वर्षमा नेपालीका संख्या ह्वात्तै बढ्यो ।
अब प्रश्न उठ्छ, कुन कुन ठाउँमा नेपाली होलान् ? न्युयोर्क, क्यालिफोर्नियाका विभिन्न शहर, वासिंगटन डिसी र यस आसपासका क्षेत्र, बाल्टिमोर, बोस्टन, सिकागो, डल्लास, डेन्वर, गन्सभिल्ल, फ्लोरिडा, पोर्टल्यान्ड, ओरेगन, अटलान्टा, ह्युस्टन, फिलाडेल्फिया, सेन्ट पल, मिनेसोटा आदि ठाउँमा नेपाली बाक्लै छन् । अमेरिकास्थित नेपाली संघ-संगठनका अनुसार अमेरिकाका सबै राज्यमा नेपाली छन् ।
भूटानी आगमन
सन् २००८ शुरुदेखि अमेरिकामा भूटानी शरणार्थी पुनर्स्थापना थालियो । सन् २००८ मा ५ हजार ३ सय २०, सन् २००९ मा १३ हजार ४ सय ३२, सन् २०१० मा १२ हजार ३ सय ६३ र सन् २०११ मा १४ हजार ९ सय ९९ का अमेरिकामा पुनर्स्थापना भए । सन् २००८ देखि सन् आर्थिक वर्ष २०११ का अन्त्यमा पुनस्र्थापितको संख्या कूल ४६ हजार १ सय १४ रह्यो । अमेरिकी आर्थिक वर्ष अक्टोबर १ मा शुरु भई सेप्टेम्बर ३० मा सकिन्छ । त्यस हिसाबले आर्थिक वर्ष २०१२ का बितेका महिना (अक्टोबर २०११ पछि) मा करिब १३ हजार ८ सय ८६ का पुनर्स्थापना भइसकेको छ ।
स्टेट डिपार्टमन्टका तथ्यांकअनुसार भूटानीहरूलाई अमेरिकी सरकारले ४१ राज्यमा ल्याएर राखेको छ । पचास राज्यमध्ये बढी भूटानी शरणार्थी पुनर्स्थापित पाँच राज्यहरु पेन्सलभेनिया, टेक्सास, न्युयोर्क, जर्जिया र ओहायो हुन् । अलाबामा, डेलावर, हवाई, मेन, मिसिसिपी, मोन्टाना, ओक्लहामा, वेस्ट भर्जिनिया र वायोमिङ राज्यमा भूटानी शरणार्थी पुनर्स्थापित गरिएको छैन । आन्तरिक बसाई-सराई कानुनी र सहज भएकाले सरकारले ल्याएर पुनर्स्थापना गरेका ठाउँबाट केही शरणार्थी अन्य स्थानमा सरेको पाइन्छ ।
नेपाली-भाषीको स्थिति
जनसंख्यामा विश्वको तेस्रो ठूलो मुलुक अमेरिका आइपुग्ने जोकोही नेपालीका मनमा एउटा प्रश्न उब्जन्छ, ‘यहाँ कति होलान्, नेपाली-भाषी ? जनगणना २०१० अनुसार नेपालबाट आएका नेपाली-मुलका मानिसको संख्या ५९ हजार ४ सय ९० छ र नेपाली-भाषी भूटानी ६० हजार गरी अमेरिकामा कूल १ लाख १९ हजार ४ सय ९० नेपाली-भाषी भएका छन् ।
नेपाली भन्दा धेरै अलमलमा परेका घटना पनि छन् । जनगणनामा देखिएका ५९ हजार ४ सय ९० नेपाली मुलका मानिसले जनगणनामा सहभागी भएकाले देखिएका हुन् । जनगणनामा सहभागी नभएका र गैरकानुनी रुपमा बसेका यसमा देखिदैनन् ।
अर्को रोचक पक्ष के पनि छ भने भूटानबाट नेपाल आएका नेपाली-भाषीमध्ये भूटानमै जन्मेकाले अमेरिकी जनगणनामा आफूलाई भूटानी वा अन्य एसियाली भनेर जनाए भने नेपालमा जन्मे-हुर्केकाले आफूलाई ‘नेपाली’ भनेर लेखेको बताएका थिए ।
अहिलेको आधिकारिक तथ्यांक हेर्ने हो भने नेपालबाट आएका नेपाली-मुलका मानिसलाई भूटानी शरणार्थीका रुपमा अमेरिकामा बसाइएका नेपाली-भाषीको संख्याले उछिनेको छ । तर नेपालबाट आएको नेपालीका संख्या जनगणनाले देखाएकोको दोब्बरभन्दा बढी छ ।

(लेखक अमेरिकामा निस्कने ‘अक्षरिका’ नामक नेपाली न्युजलेटरका सम्पादक हुन् । यो लेख २०६९ असोज १ अर्थात् २०१२ सेप्टेम्बर १७ मा ‘नागरिक‘ दैनिकमा प्रकाशित भएको हो ।)

One thought on “अमेरिकामा नेपाली-भाषी

  1. I highly appreciate for your work on factual figures of Nepali speaking people in USA ,but I don’t think it’s accurate data . I have no clues where how you got this Info,but I have been residing in this country for almost one and half decades and I am sure that there are more than 200,000.00 Nepalese living in this country .Don’t you think they speak Nepali ?
    It’s just my 2 cents .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<