गत जुलाई २३ मा ‘बोस्टन ग्लोब’ दैनिकले आफ्नो सम्पादकीय र विज्ञापन शाखाका केही कर्मचारीलाई बिदा दियो । बिदा दिन सकिनेको संख्या पनि उल्लेख गर्दै उसले भन्यो, ‘न्यु इंगल्याण्डबाट निस्कने दैनिक पत्रिकामा अझै हाम्रो न्युज रूम सबभन्दा ठूलो छ । हाम्रो हौसला उस्तै छ ।’ प्रकाशक क्रिस्टोफर मायरले बिदा दिएका कर्मचारीलाई मीठो भाषामा पत्र लेख्दै आफ्नो कार्यटोलीमा कटौती गरेको बताएका छन् ।
अमेरिकाको उत्तरपूर्वमा पर्ने छ राज्यहरू : ‘मेन’, ‘न्यु ह्याम्सर’, ‘भर्मन्ट’, ‘म्यासाचुसेट्स’, ‘रोड आइल्यान्ड’ र ‘कनेटीकट’ लाई सामूहिक रूपमा ‘न्यु इंगल्याण्ड’ भनिन्छ । ‘बोस्टन ग्लोब’का कुल कर्मचारी संख्या अझै १ हजार आठ सय ८१ छन् । ‘बोस्टन ग्लोब’ न्युयोर्क टाइम्सको सम्पत्ति हो । टाइम्सले यो पत्रिकालाई सन् १९९३ मा किनेको थियो ।
आफू बसेनजिक भएकाले यसको गतिविधि मैले नियालेको छु । विकसित देशहरूमा पत्रपत्रिकाको बिक्री घट्ने समस्याले यसलाई पनि पिरोलेको छ । यही समस्याले गर्दा ‘बोस्टन ग्लोब’ले गत सेप्टेम्बरदेखि आफ्ना अनलाइन पाठकलाई शुल्क लगायो । ‘बोस्टन ग्लोब’ अमेरिकाभर बिक्री हुने पत्रिकाको सूचीमा २५ औं छ । यसको दैनिक बिक्री करिब २ लाख २० हजार छ भने आइतबार करिब ३ लाख ५७ हजार छ ।
म्यासाचुसेट्सको राजधानी बोस्टन अमेरिकाको २१ औं ठूलो चर्चित शहर पनि। सन् २०१० को जनगणनाअनुसार बोस्टनमा ६ लाख १७ हजार ५ सय ९४ जना बस्छन् । ‘बोस्टन ग्लोब’ भने सहरमात्र सीमित छैन । बोस्टन आफैँ न्यु इंगल्यान्डका राजधानीको हैसियत राख्छ र न्यु इंगल्यान्डभर ‘बोस्टन ग्लोब’ लाई राम्रै अखबारका रूपमा हेरिन्छ । न्यु इंगल्यान्डमा कुल डेढ करोड मानिस बस्छन् । यहाँ के उल्लेख गर्न जरूरी छ भने अमेरिकाको कुल जनसंख्या करिब ३१ करोड छ । (जनसंख्यामा नेपालभन्दा करिब दस गुणा र क्षेत्रफलमा चाहिँ ६७ गुणा ठूलो छ, अमेरिका ।)
‘बोस्टन ग्लोब’ का मात्र के कुरा यसको कम्पनी ‘न्युयोर्क टाइम्स’ आफैँ विज्ञापन दाताभन्दा पाठकका भरमा बाँचेको तथ्य सार्वजनिक भएको छ । जुलाई २६ का दिन ‘न्युयोर्क टाइम्स’ को अनलाइनमा ‘जो कास्कारेल्ली’ को एउटा स्तम्भ पोस्टिङ गरिएको छ, ‘द न्युयोर्क टाइम्स इज नाव सपोर्टेड बाई रिडर्स, नट एड्भर्टाइजर्स’ (न्युयोर्क टाइम्स अब पाठकमा निर्भर छ, विज्ञापन-दातामा हैन) । उक्त स्तम्भमा भनिएको छ, ‘विज्ञापनको आय नियमितरूपमा घट्दो छ । यस वर्षको दोस्रो चौमासिक घाटा ८ करोड ८१ लाख डलर पुगेको छ। प्रिन्ट संस्करणको मूल्य बढाएको र अनलाइन सशुल्क गरेकाले मात्र अलि सहुलियत पुगेको छ ।’ न्युयोर्क टाइम्स आफैँले भने सन् २०११ मार्चमा अनलाइन पाठकहरूलाई शुल्क लिन थालेको हो । यस प्रकाशन गृहका डिजिटल पाठक ५ लाख ९ हजार छन्, यो संख्या गत मार्चमा ४ लाख ५४ हजार थियो । यही वर्षको सुरुमा यसले आफ्नो छापा संस्करणको मूल्य पनि बढाएको हो ।
‘न्युयोर्क टाइम्स’का पाठक पनि मूल्य वृद्धिसँगै यता र उता भइरहेको पाइन्छ । सन् २०११ मार्चमा अनलाइन सशुल्क गर्दा पाठक अनलाइनका सट्टा छापा संस्करणतिर लागे । त्यस बेला अनलाइनमा पुग्ने पाठक ५ दखि १ प्रतिशत घटेका थिए । अहिले छापा संस्करणको मूल्य बढाएपछि अनलाइनमा जाने बढेका छन् ।
‘न्युयोर्क टाइम्स’ अमेरिकाका सहरी पाठकमाझ लोकप्रिय भए पनि समग्र छापा संस्करण बिक्रीमा ‘वाल स्ट्रिट जर्नल’ र ‘युएसए टुडे’ पछि रहेर बढी बिक्री हुनेमा तेस्रो छ । ‘वाल स्ट्रिट जर्नल’का समाचार वा अन्य सामग्री पढ्न सन् १९९७ देखि नै शुल्क तिर्नुपर्थ्यो । ‘युएसए टुडे’का धेरैजसो समाचार वा अन्य सामग्री अनलाइनमा अहिलेसम्म निःशुल्क पाइराखिएको छ । टाइम्सअन्तर्गतका मुख्य अखबारहरू : ‘न्युयोर्क टाइम्स’, ‘इन्टरनेसनल हेराल्ड ट्रिब्युन’ र ‘बोस्टन ग्लोब’ हुन् ।
प्रविधिका कारण हाताहात समाचार पाइन थालेपछि अमेरिकाका सानाठूला सहरहरूमा निस्कने कैयौँ पत्रिकाहरू चाउरिएका छन् । कैयौँ बन्द भएका छन् । पछिल्लोपटकको आर्थिक संकटले पनि पत्रिकाउद्योगलाई निकै नराम्ररी थिल्थिल्याएको छ । सन् २००९ सुरूदेखि प्रविधि र आर्थिक संकटको असर पत्रिकामा परेको स्पष्ट देखिन्छ । अमेरिकाका सहरी क्षेत्रका कैयौ पत्रिका बन्द भएका छन् भने कैयौं कर्मचारी कटौती गरेर जेनतेन धानिइरहेका छन् ।
समाचार-स्रोतका रूपमा केबुल-टिभी, रेडियोको प्रभावकारिता बढेको छैन । तिनले धानेका मात्र छन् । ‘म्यागाजिन’ हरूको हालत पनि उस्तै छ । इन्टरनेटको भोक भने बढेको छ । समाचार स्रोतका रूपमा इन्टरनेट अबको आधार बन्दै गएको छ । अखबारका कुरा भने ‘क्षितिजमा उज्यालो होइन, अध्याँरो ।’
अमेरिकामात्र होइन, विश्वका अन्य विकसित देशमा यो क्रम बढ्दो छ । आखिर यसको अन्त्य के भन्ने प्रश्न चाहिँ यथावतै छ । अमेरिकाको नर्थ क्यारोलाइना युनिभर्सिटीका प्राध्यापक फिलिप मायरले आफ्ना जीवनका करिब आधा समय पत्रपत्रिका उद्योगको अध्ययनमा बिताएका छन् । उनले भनेका छन् – ‘पत्रपत्रिकाका पाठक यसरी नै घट्दै जाने हो भने संसारको अन्तिम पत्रिका सन् २०४४ अक्टोबरमा निस्कने छ । त्यसपछि डाइनोसर ।’ उनले यसो भन्दा पनि यो प्रश्न यथावतै छ ।
(लेखक, अमेरिकाको न्यु ह्याम्सर राज्य, म्यानचेस्टरबाट निस्कने ‘अक्षरिका’ नामक नेपाली न्युजलेटरका सम्पादक हुन् । यो लेख नागरिक दैनिकको २०६९ साउन २५, सन् २०१२ अगस्त ९ मा प्रकाशित भएको हो ।)