नेपाली-भाषीलाई सजिलो

अमेरिकामा बसोबास
लेखक/सम्पादक : राजेश कोइराला/डग हल
प्रकाशक ज्ञान ज्योति केन्द्र, अमेरिका
मूल्य : १४ डलर, पृष्ठ : २२४+४
अमेरिकाले अप्रिल २०१२ सम्ममा ५३ हजार ३३२ जना नेपाली मूलका भुटानी शरणार्थीलाई आफ्नो भूमिमा पुनर्वास गराएको छ । अन्य प्रयोजन र प्रक्रियाबाट अमेरिका पुग्ने नेपालीको संख्या पनि निरन्तर बढिरहेको छ । तीमध्ये शिक्षितहरूलाई अमेरिकामा घुलमिल हुन, त्यहाँको संस्कृति र तौरतरिका बुझ्न गाह्रो नभए पनि अल्पशिक्षित र निरक्षरहरूलाई निकै समस्या पर्छ । यही कुरालाई ध्यानमा राखेर म्यानचेस्टरको न्यु ह्याम्पसायरस्थित पत्रकार राजेश कोइराला र समाजसेवी डग हलले अमेरिकामा बसोबास नामको सहयोगी पुस्तक निकालेका छन् ।
१९ खण्डको पुस्तक प्रकाशनमा सतन आचार्य, तारा आचार्य, होम क्षेत्री र संस्थागत रूपमा लुथरन सोसल सर्भिसेज् तथा न्यू ह्याम्पसायर च्यारिटेबल फाउन्डेसनको विशेष सहयोग रहेको छ । किताबको नेपाली खण्ड न्यू ह्याम्पसायरबाट ‘अक्षरिका’ न्यूजलेटर प्रकाशित गरिरहेका पत्रकार कोइरालाले लेखेका हुन् भने अंग्रेजी खण्ड डग हलले । शरणार्थी पुनर्स्थापनामा संलग्न संघ-संस्थाहरूले आफूले पनि बुझ्ने भाषामा लेखिएका सामग्री बाँड्न बढी तत्पर हुने र अंग्रेजी भाषा सिक्दै गरेका नेपाली-भाषी पाठकका लागि शैक्षिक-सामग्री समेत हुने हिसाबले पुस्तकमा अंग्रेजी खण्ड पनि राखिएको लेखक सम्पादक कोइरालाले खुलाएका छन् । किताब लेख्नुअघि सतन, राजेश र डगले न्यू ह्याम्पसायर र नर्थ क्यारोलाइना पुगेका भुटानी शरणार्थीहरूसँग छलफल गरेका तथा छलफलका सहभागीले अमेरिकामा बसोबास गर्न के कस्ता कुरा लेखिनुपर्छ भनेर ६०० भन्दा बढी सुझाव दिएका थिए ।
अमेरिकामा बसोबास गर्न गइसकेका वा जान लागेका, खासगरी अंग्रेजी कमजोर भएका, नेपाली-भाषीलाई उपयोगी हुने किताब सित्तैमा पढ्न, सार्न वा प्रिन्ट गर्न मिल्ने गरी इन्टरनेटको साझा डोमेनमा पनि राखिएको छ ।
(हिमाल पाक्षिकको २०६९ साउन १-१५ अंकको ५८ पृष्ठमा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<