यसरी पनि आउँछ, डिस्टिङ्सन

घटना १
एसएलसीमा उनको डिस्टिङ्सन आयो । उनका अभिभावक दंग भए । कक्षा ११ मा प्रवेश गर्दा वाणिज्य (कमर्स) मा भर्ना गरिदिए । १२ सक्दा उनी फेल नै भइन । के गरौं कसो गरौं भएका अभिभावकले छोरी कसरी फेल भइ त भनेर खोजे । निकै अनौठो निष्कर्ष निस्कियो । यो मेरो नाताभित्र नै भएको घटना । एसएलसीमा ९० प्रतिशत ल्याएर १० जोड २ मा फेल हुने विद्यार्थी धेरै हुन थालेका छन् ।
घटना २
पछिल्लो एसएलसी परीक्षाको घटना हो । आफ्ना छोरालाई बिहान साढे छ बजे नै स्कूल पुग्नुपर्ने भनेपछि अर्का एक अभिभावकको टाउको रनक्क तात्यो । उनले स्कूल-प्रशासनलाई भने, ‘मेरो घर परीक्षा-केन्द्र परेको स्कूलकै साँधमा छ । त्यति बिहान किन पठाउनु स्कूल ? म पौने आठतिर परीक्षा-केन्द्रमा पुर्‍याउँछु ।’ स्कूल-प्रशासनले उत्तर दियो, ‘यो अनिवार्य हो । ल्याउनै पर्छ ।’ अभिभावकका मनमा खुल्दुली भयो, ‘किन पो यति बिहानै स्कूल बोलाइयो ?’ उनले यहि प्रश्नका उत्तर खोज्न थाले । यसमा पनि अर्को अनौठा निष्कर्ष निस्कियो ।
घटनाहरू धेरै नै छन् । एसएलसीको रिजल्ट समग्रमा बिग्रिएको छ । उत्तीर्ण प्रतिशत कम हुनुका कारण धेरै छन् । सरकारी स्कूलहरुमा सामान्यतः कोर्स नै पूरा हुन सक्दैन । सबभन्दा ठूलो समस्या भनेको स्कूलमा राजनीति हो । राजनीतिका आड-भरोसहरू सरकारी स्कूलका शिक्षकशिक्षिकालाई बनाइयो । बन्दले स्कूलहरू प्रभावित भएकै छन् । बेलामा किताब पुग्दैनन् । सरकारीका आफ्नै यस्ता धेरै समस्या पनि छन् ।
उता कूल उत्तीर्णमध्ये करिब २० प्रतिशत हिस्सा नीजि स्कूलहरूबाट हुन्छन् । नीजि स्कूलका ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुन्छन्, त्यो पनि उल्लेख्य डिस्टिङ्सनमा । आखिर यी सबै नीजि स्कूल यति योग्य छन् ।
उत्तर सजिलो छैन । समग्रमा भन्नुपर्दा केही योग्य छन् । केही छैनन् । योग्य प्रशंसालायक छन् तर अयोग्य कुन अर्थमा अयोग्य छन् यो भने खोज्नै पर्ने विषय बनेको छ । अयोग्यता अर्को पाटो पनि छ, यो कुन अर्थमा भने रिजल्ट राम्रो ल्याउनका लागि उनीहरुले गर्ने अनियमितता । यहाँ तीनै केही अनियमितताका कुरा ।
यस्ता धेरै स्कूलहरुले कक्षा १० मा पुगेका आफ्ना सबै विद्यार्थीलाई होस्टलमा राख्न प्रस्ताव ल्याउँछन् । वर्षभरको खर्च भनेर, ‘यति खर्चनुहोस् । अवश्य डिस्टिङ्सन’ भन्छन् । यसो हेर्दा कुरा जायज छ । कक्षा ९ सम्म यसै-उसै पढाइएका विद्यार्थीलाई कक्षा १० मा पुगेपछि ‘आइसियु’ मा राख्नुको अर्को गम्भीर कारण छ ।
होस्टलमा बसे वा एसएलसीका हुने दिन बिहानै स्कूल ल्याउँदा हुने एउटा बदमाशी यस्तो छ । आफ्नो स्कूलमा पनि सेन्टर बन्यो भने धेरै सजिलो भएको पाइएको छ । आफूले भनेअनुसारको केन्द्राध्यक्ष भए, पुलिसका आँखा छलेर वा पुलिससँगै मिलेर परीक्षाभन्दा केही घण्टाअघि प्रश्न-पत्र खोलेर सम्बन्धित शिक्षकले पढाउनेसमेत गरेका छन् । यसरी पढाइसकेपछि विद्यार्थीलाई स्कूल-बसमा हालेर परीक्षाकेन्द्र पुर्‍याइन्छ । माथि उल्लेखित घटना २ को जवाफ यही हो ।
केही स्कूलहरूले सिंगै परीक्षाकेन्द्र किन्छन् । केन्द्राध्यक्ष को भयो ? आफ्ना विद्यार्थी परेको केन्द्रमा को को निरिक्षक छन् ? केन्द्राध्यक्षलाई भेट्न के गर्ने ? घर कहाँ हो ? कस्ता मिजासका हुनुहुन्छ ? भनेजस्ता केन्द्राध्यक्ष भए के खर्च लाग्ला ? उहाँले कस-कसलाई निरिक्षक राख्दै हुनुहुन्छ ? सबैका लागि एकमुष्ठ की बेग्लाबेग्लै कति खर्च गर्दा पुग्ला ? केन्द्राध्यक्षको घर पो खुइलिएको छ कि ? रंग लगाएर हुन्छ की पर्खाल बनाइदिएर हुन्छ ? मोटरसाइकल नै बक्सिसमा दिलाउँदा काम बन्छ की ? यो समय काठमाडौंमा देखिने तीजजस्तो हुन्छ । एकदिन एउटा थलामा खायो, अर्का दिन अर्कामा- त्यो पनि प्रशस्त जाँड-पानी । यस्ताबेला प्रिन्सिपल वा संस्थापकका मनमा यस्ता अनेकन प्रश्न छन् । जवाफ पनि छन् किनभने भनेजति पैसा छ ।
नचिनेको अवस्थामा अनेकन समस्या आइपर्छन् । सम्पर्क नै गार्‍हो हुन्छ । पहिलो लक्ष्य केन्द्राध्यक्ष नै हुन्छन् । उहाँसँग सब कुरा मिलेपछि निरिक्षकको पालो । निरिक्षकमा अभिभावक राखेर पनि सजिलो पार्ने गरेका घटनाहरु पनि फेला नपरेका होइनन् । सबै तहमा काम मिलेपछि केन्द्राध्यक्ष र निरिक्षकले के गर्नु पर्‍यो त ?
सिट प्लानिङमा अलि ख्याल गरिदिनुपर्‍यो । हामीले रजिष्ट्रेसन फर्म भर्दा नै जान्ने र नजान्ने मिसाएर राखेका छौं । त्यसैले त्यो क्रम बिगारिदिनुभएन । स्कूलले मिलाउने गरेको क्रमलाई तोड्दै जिल्ला शिक्षा कार्यालयल भन्यो, ‘जे पायो त्यहि नगर्नुहोस् । अल्फाबेटिकल मिलाउनुहोस ।’ यो निर्देशनपछि अल्फाबेटिकल क्रममा मिलाइयो पनि । तर पछि अर्डर चलाखीपूर्ण ढंगले बिगारियो, जस्तो : अमरपछि अनिल आउनु पर्नेमा आरजु नजान्ने भएकाले अर्डर बिगारेर दुवैको बीचमा आरजुलाई राखियो ।
उनीहरूले खर्चेर गर्ने अरु आग्रह यस्ता पनि छन् । परीक्षा अलि खुकुलो गरिदिनुपर्‍यो । केन्द्राध्यक्षले सबै निरिक्षकलाई यहि निर्देशन दिनुपर्‍यो । सबै विषयको परीक्षामा एउटा कोठामा त्यहि निरिक्षक राखिदिनुहोला । त्यसो गर्दा मेरा विद्यार्थी चिन्न सजिलो हुन्छ । कहिलेकाही थप कपि अघिल्लो दिन दिए, भोलीका लागि केही लेखेर ल्याउन पाउँथे । निरिक्षकले विद्यार्थीले अनियमित कार्य गरेको होइन, बाहिरबाट कोही आए-नआएको खबर दिने काम गरिदिएपुग्छ ।
आफ्ना विद्यार्थी परका केन्द्रका केन्द्राध्यक्ष नै आफ्नो पोल्टामा आएपछि काम सजिलो हुन्छ । स्कूलका सञ्चालक/निर्देशक/मालिक घुम्दै पुग्छन् । आफ्ना विद्यार्थीलाई, ‘मलाई नचिनेजस्तो गर्नु’ भनेर सिकाएको हुन्छ । आफू गयो र गाली गरेजस्तो गरी भन्यो, ‘कहाँ बसेका, यता बस ।’ यसरी आफ्नो नजान्ने विद्यार्थीलाई जान्नेसँग राखेका समेत पाइएको छ ।
यसरी राम्रा रिजल्टका लागि नीजि स्कूलहरुमा हुन अनियमिततामाथि छानबिन कसले गर्ने ? विद्यार्थीको आफ्नोपन मार्ने विद्यालयहरुलाई तपाई पगरी गुताउन छाड्नुहुन्छ वा हुन्न ?
(२०६९ साउन २ को ‘नागरिक‘ दैनिकमा प्रकाशित)

Comments posted (4)

७ वर्ष अघि अनामनगर को चियापसलमा सुनेको गफ अहिले नी याद छ. निजि स्कुलका बिद्यार्थी बोइलर कुखुरा जस्ता हुन् दाना हालेर आकर्सक बनाइएका तर टेस्ट नभएका

Ye Dai Kasari thaha pauchhan patrakarle sancha kura haru?

पत्रकारको काम नै यस्ता विषयमा खोज्नु र जनतालाई सूचना दिनु हो । उसले लेख्छ भनेपछि पत्रकारलाई यस्ता विषयमा जानकारी दिन पनि उसका पाठकहरू सधैं इच्छुक हुन्छन् ।

Ho tasaiko parinam ta +2 ma fail ,berojgar , khi garna nasaknu ho ni

Write a comment