आफ्नो ठान्दाठान्दै कुराको गाँठो पर्‍यो

सन्दर्भ : दक्षिण सुडानको स्वतन्त्रता दिवस (जुलाई ९)

 

देशबाट धेरै टाढा । परदेशमा ‘आफ्नो’ भन्ने अर्थ भिन्न हुन्छ । नाताको जो कोही आफ्नो भइगयो । अनि नेपाली देख्दा आफ्नो लाग्छ । नेपाली बोल्ने भूटानी दाजू-भाई आफ्नो लाग्छ । आफूनजिकको भारतीय आफ्नो लाग्छ । अलि-अलि बोलेको बुझ्ने भएकाले पाकिस्तानी आफ्नो लाग्छ । बोलेको नबुझे पनि चीनका मान्छेलाई छिमेकी ठान्छ मनले । भियतनामी, कम्बोडियाली, बंगाली आदि जो पनि एशियन आफ्नो लाग्छ । अमेरिकीहरू भिन्न भन्ने लागेर यसो भएको होइन । टाढा बस्दा मनले कता-कता रेखा कोर्छ । तर यी रेखाहरू धेरै दिनका लागि होइनन् भन्ने पनि छ । 

यही ‘आफ्नो’ लाग्ने क्रममा मलाई गत वर्ष दक्षिण सुडानका मान्छे आफ्नो लाग्यो । यो आफ्नो लाग्नुको अर्थ अनौठो छ । यही भएर मैले न्यु ह्याम्सरको म्यानचेस्टरमा बस्ने एक दक्षिण सुडानीसँग गफ पनि गरें ।
‘थाहा छ नि, उनी नेपालका हुन् । यहाँ पनि मैले धेरै नेपाली चिनेको छु,’ पिटर माल्वलले भने । उनलाई मैले, ‘म नेपालबाट आएको हुँ । के तिमीले भोजराज पोखरेललाई चिनेका छौ ?’ सोधेको थिएँ । पिटर दक्षिण सुडानबाट अमेरिका आएका हुन्, शरणार्थीका रूपमा । नेपालका पूर्वनिर्वाचन प्रमुख भोजराज पोखरेलका नाताले पिटर मात्र के यहाँ बस्ने दक्षिण सुडानी आफ्ना भए । पोखरेल सुडानको जनमत संग्रहको पर्यवेक्षणका लागि बनेको तीन सदस्यीय टोलीमा परेका थिए । उनी संयुक्त राष्ट्रसंघीय पर्यवेक्षक समूहको सदस्यमा २०१० सेप्टेम्बर २१ मा नियुक्त भएका थिए । राष्ट्रसंघीय महासचिव बान कि मुनले दक्षिणी सुडानको अबाई क्षेत्रमा सन् २०११ जनवरीमा आत्मनिर्णयका लागि भएको जनमतसंग्रहको पर्यवेक्षणका लागि गठित तीनसदस्यीय ‘राष्ट्रसंघीय प्यानल’ मा पोखरेललाई राखेका थिए ।
नेपाली-भाषी भूटानी र दक्षिण सुडानीको कार्यालय
दक्षिण सुडानका शरणार्थीको संस्था ‘साउदर्न सुडान कम्युनिटी अफ न्यु ह्याम्सर’ (एसएससिएनएच) को कार्यालय म्यानचेस्टरमा छ । उनीहरूकै कार्यालयसँगै नेपाली-भाषी भूटानीहरूको संस्था ‘भूटनीज कम्युनिटी अफ न्यु ह्याम्सर (बिसिएनएच)’ को कार्यालय छ । मैले र डगलस हलले तयार पारेको किताब ‘अमेरिकामा बसोबास (सहयोगी पुस्तक)’ को पहिलो समूहगत छलफल त्यहीं भएको थियो । हामीले छलफल गरेका मिति (२०११ मार्च १) सम्म बिसिएनएचको कार्यालय खोल्ने तय भएको मात्र थियो । पोखरेलबाहेक बिसिएनएच र एसएससिएनएचको कार्यालयसँगै हुनुले पनि दक्षिण सुडानी नजिक लागे ।
स्वतन्त्रता दिवस
दक्षिण सुडानीले गत वर्ष शनिबार परेकाले जुलाई ९ मा उनीहरूले म्यानचेस्टरको भेटेरन्स पार्कमा ‘दक्षिण सुडानको स्वतन्त्रता दिवस’ मनाएका थिए । यस वर्ष के गरे बुझ्न भ्याएको छैन । त्यसमा पनि जुलाई ९ यस वर्ष सोमबार परेको थियो ।
पिटर र कर परिवारका कुरा
पिटर माल्वल अलि राजनीतिमा चासो दिंदा रहेछन् । सात सन्तानका पिता माल्वल अमेरिका बसेको दश वर्ष भएछ । उनले भने, ‘जे पनि छ, दक्षिण सुडानमा । तेल त भर्खर मात्र फेला परेको हो ।’ नयाँ देश बनेको र आफ्नो मेहनत खेर नगएकोमा उनले खुसी व्यक्त गरे । दक्षिण सुडान स्वतन्त्र हुन विश्वका धेरै देशको समर्थन पाउनु अर्को एउटा कारण हो भन्ने उनको बुझाई रहेछ । उनी सन् २०१० मा मात्रै सुडान गएर फिरेका रहेछन् ।
सुडानमा उनले जनता राम्रा भए पनि सरकार राम्रो नबनेको बताए । भ्रष्टाचार पनि व्यापक भएको उनले बुझेका रहेछन् । देश बन्छ भन्ने विश्वास गरेका उनले भने, ‘विकास त गाउँ-गाउँमा लानुपर्छ ।’ र कुराको बिट मार्दै थपे, ‘विकास हुन्छ । राम्रो हुन्छ । मेरा अलि ठूला छोराछोरी चाहीं दक्षिण सुडान फर्कन चाहन्छन् ।’
पिटरको कथाभन्दा फरक कथा भएका आमा-छोरा आयन डाक र सिबित करलाई पनि मैले भेटेको थिएँ । सिबित स्थानीय सेन्ट्रल हाइस्कुलमा पढ्दा रहेछन् । उनका दुई बहिनी रहेछन् । परिवारमा आमा, सिबित र दुई बहिनी रहेछन् । आयन पति कर राङकोको निधनपछि अमेरिका आएकी रहिछन् । ४ वर्ष भएछ, आएको ।
सिबितले मलाई भने, ‘तिम्रो इंगलिश राम्रो रहेछ ।’ मैले भने, ‘अलि अलि छ । मैले त अंग्रेजी स्कूलमा पढिन । तर अंग्रेजी स्कूलहरूमा र कलेजमा पढाएँ ।’
मलाई भेटेपछि सिबितले हौसिंदै सुनाए, ‘मेरा धेरै नेपाली साथीहरू छन् ।’
अमेरिकामा शरणार्थी
न्यु ह्याम्सरमा भएका कूल शरणार्थीमध्ये करिब १३ प्रतिशत शरणार्थी दक्षिण सुडानका छन् । दक्षिण सुडानीहरू बढी बसाइएका क्षेत्रहरू : बोस्टन, डेन्भर, सिकागो र ह्युस्टन हुन् भने न्यु ह्याम्सर थोरै बसाइएका क्षेत्रमा पर्छ । दक्षिण सुडानीबाहेक अमेरिकामा धेरै देशका मानिसहरू भेटिन्छन् । अनि धेरै शरणार्थीका रूपमा पनि बसाइएका छन् ।
अमेरिकाले शरणार्थी ल्याउने गरेको ३७ वर्ष भएको छ । सन् २०१२ फेब्रुअरीमा अमेरिकाले ३० लाखौं शरणार्थीको स्वागत गर्‍यो अर्थात् यो मितिसम्म ३० लाख शरणार्थी अमेरिकामा पुनर्स्थापित गरिए । सन् १९७५ देखि अमेरिकाले शरणार्थी पुनर्स्थापना थालेको हो । अहिले पनि वर्षेनि बढीमा ८० हजार शरणार्थीलाई बसोबास गराउँदै आएको छ । अमेरिकाको जनसंख्या ३१ करोडको हाराहारीमा छ । अमेरिकाले शरणार्थीलाई नयाँ जीवन, नयाँ आवास र नयाँ समुदाय प्रदान गर्दै आएको छ ।
सन् १९८० को दशकमा भियतानाम, लाओस तथा सोभियत संघ (अहिलेको रुस तथा अन्य विभाजित मुलुक) बाट शरणार्थी अमेरिका ल्याइन्थे । सन् १९९० को दशकमा पूर्व-युगोस्लाभियामा युद्ध भएपछि धेरै बोस्नियाली शरणार्थीहरू अमेरिका आए । २१ शताब्दी शुरु भएपछि बर्मा, भुटान, इरान, इराक र सोमालियाबाट शरणार्थी ल्याएर अमेरिकामा पुनर्स्थापित गरिएको छ ।
गत वर्ष (सन् २०११) मात्र अमेरिकामा ५६ हजार शरणार्थीलाई पुनर्स्थापित गरियो । ५६ हजारमध्ये १४ हजार ९ सय ९९ भूटानी शरणार्थीलाई अमेरिका ल्याइएको थियो ।
नेपालसँग दाँज्ने प्रयास
सन् २०११ जुलाई ९ मा म्यानचेस्टरमा दक्षिण सुडानीहरूले स्वतन्त्रता दिवस मनाइरहेका बेला मैले नेपालमा पनि अब संविधान बन्ने छ भन्ने आशा गरेको थिएँ । अरू कुरा छाडौं, दक्षिण सुडान र नेपालको देश-निर्माणको आरम्भ एकै बिन्दुबाट हुने भएछ भन्ने पनि ठानेको थिएँ । दक्षिण सुडान-नेपाल दाँज्ने कोशिश गरेको थिएँ । ठिक त्यसबेला भनौं वा अहिलेसम्म पनि यी तथ्य-तथ्यांकमा खास अन्तर छैन । नेपाललाई यही बिन्दुबाट उठाए, को अघि जाला ? को पछि पर्ला ? भन्ने लागेको थियो ।
पाँच दशक लामो युद्ध र २० लाख मृत्यु । विश्वको कान्छोका रूपमा अफ्रिकाको ५४ औं राष्ट्र ‘दक्षिण सुडान’ को जन्म । त्यो ‘रिपब्लिक अफ साउद सुडान’ र ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ । नेपालजस्तै एउटा भूपरिवेष्ठित मुलुक । क्षेत्रफलमा नेपालको करिब आधा । आकारमा नेपाल विश्वको ९५ औं र दक्षिण सुडान ४२ औं । ३ करोड नेपालीको अनुमान छ । सन् २००८ गरिएको जनगणनाअनुसार दक्षिण सुडानमा ८२ लाख मानिस बस्छन् (अहिले ९० लाख भएको अनुमान) । यस हिसाबले जनसंख्याका आधारमा नेपाल विश्वको ४० औं हो भने दक्षिण सुडान ९४ औं छ ।
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), संरासंघीय विकास कार्यक्रम (युएनडिपी) का तथ्यांक केलाउने हो भने मानव विकास सूचकांकका अनुसार सन् २०१० मा समग्र सुडान १५४ औं रह्यो भने नेपाल १३८ औं । त्यहाँ प्रत्येक नागरिक दिनको एक डलरभन्दा कम आम्दानी गर्छन् । नेपाली एक डलर कमाउँछ । धेरै बालबालिकाले आफ्नो पाँचौं जन्मदिन देख्न पाउँदैनन् । बालमृत्युदरमा नेपालले सुधारको संकेत देखाएको छ । दक्षिण सुडानमा तीन चौथाई वयस्क निरक्षर छन् । एक प्रतिशत घरको मात्र बैंक-खाता छ । नेपालभन्दा दुई-चार कित्ता फरकमा मात्र छ, दक्षिण सुडान । त्यहाँ दश वटा राज्य छन्, नेपाल अझै त १४ अञ्चल भन्दैछ । उसले विकासशिल मुलुकको सूचीमा आफूलाई सबभन्दा पुच्छरमा राखेको छ । त्यसो हुँदा नेपाली विकासशिलकै सूचीमा त्योभन्दा केहि माथि मात्र छन् ।
दक्षिण सुडानमा २ सय जनजाति समूह छन् । ६० किलोमिटर मात्र कालोपत्र सडक छ । २०५३ प्रति एक लाख मातृ मृत्युदर छ । यो संसारको उच्च हो । १ डाक्टर प्रति ५ लाख जनसंख्याका लागि हो । औसत आयु ४२ वर्ष हो भने १ शिक्षक प्रति हजार विद्यार्थी पढाउनु पर्छ ।
दक्षिणी सुडानमा लामो समय चलेको संघर्षपछि अन्तर्राष्ट्रिय निगरानीमा सन् २००५ जनवरी ६ मा बृहत शान्ति सम्झौता भएको थियो भने हाम्रो सन् २००६ नोभेम्बर २१ मा भएको । त्यहि सम्झौताअनुसार गत जनवरी ९-१५ मा जनमत संग्रह भएको थियो । ९९ प्रतिशतले दक्षिण सुडान स्वतन्त्र बनाउने पक्षमा गयो ।
उत्तर र दक्षिण सुडानको कुरा गर्ने हो भने त्यहाँ आकाश-जमीनकै अन्तर छ । दक्षिण सुडान उर्बर छ, त्यहाँ हरियाली छ, उत्पादकत्व बढी छ । उत्तर सुडान प्राय मरुभूमि छ, उत्पादकत्व कम छ । नेपालसँग पनि छ, उर्बर भूमी । दक्षिणी सुडानसाग तेल छ, नेपालसँग पानी । नेपालसँग दाँजेर हेर्दा दक्षिण सुडानीहरू दृढ देखिन्छन् । त्यसैले होला नेपालको जस्तै बृहत शान्ति सम्झौतापछि राष्ट्रलाई अगाडी बढाउन उसले गति लियो । त्यो हिसाबमा नेपालले चालेको गति निकै सुस्त छ ।
उसका अगाडी राज्यको संरचना निर्माणमा नेपालभन्दा धेरै चुनौति छन् । नेपालका जस्तै छन्, उसका समस्या । दक्षिण सुडानले अन्तर्राष्ट्रिय समर्थन जुटाउन थाल्यो । जुलाई ९, २०११ मा स्वतन्त्र भएको घोषणा भएकै दिनसम्म तीन दर्जन देशले स्वतन्त्र मुलुकको मान्यता दिए । स्वतन्त्र भएलगत्तै राष्ट्रसंघले शान्तिसेना पठाउने निर्णय गरेको थियो, त्यहीबेला नेपालले राष्ट्रसंघीय नियोग (अनमिन) लाई फर्काएको थियो ।
दक्षिण सुडानको कुरा यहिं छाड्ने हो भने सन् १९९९ मा उदाएको पूर्वी टिमौरकै समानान्तर नेपाललाई अगाडी बढाएको भए पनि केहि हुन्थ्यो । टिमोर मानव विकासमा १२० औं भइसकेको छ ।
दोस्रो विश्वयुद्ध ताका न नेपाल सचेत भएको भए पनि त केहि हुन्थ्यो । सन् १९४५ मा जापान ध्वस्त भयो, सन् १९४७ मा भारत स्वतन्त्र भयो, चीनमा नयाँ व्यवस्था आयो । उनीहरू कहाँ पुगे । नेपालीले सन् १९५० मा राणाशासन हटाए । त्यहींबाट पनि गति लिएको भए, केहि भइसक्थ्यो । खै केहि भएन । ल भैगो प्रजातन्त्र थिएन, हुन सकेन । अब त प्रजातन्त्र (अझ भनौं न गणतन्त्र) छ नि मुलुकमा, दक्षिण सुडानको जस्तै ।
दक्षिण सुडानका तथ्यहरू हेर्दा नेपालभन्दा कहि फरक भए पनि आउने दिनमा हाम्रा र उसका समस्या उस्तै देखिन्छन् । अझ भयंकर देखिन्छन् । उसले नेपाललाई उछिन्न बेर लाउँदैन । त्यसैले के नेपालले अहिलेसम्मका सबै कुरालाई बिर्सेर नयाँ थालनी गर्न सक्दैन ? नेपालले आफूलाई दक्षिण सुडानकै समानान्तर अगाडी लान सक्दैन ?
मेरा गनथन
यी मेरा गनथन र गनगन मात्र हुन् । खसखस लागि रह्यो । मनको बह कसैले नकह भन्न नसकेर मात्र लेखेको हुँ । (ब्लग भनेकै यही त हो नि ! हैन र ?)

Comments posted (4)

Ramro cha Rajesh Je.
NH tira bhayeka bhutanese haru Ko bare ma pani lekhnu hola. tapainko mulyankan ramroo lagcha.
Dhanyabad

Rajesh ji,

Very nice analysis. I agree with you that if the political situation does not improve in Nepal, Nepal will stagnate where it is and other countries will overtake it in terms of development.

Thank you for sending the link.

Rajesh jee
you did excelllent analysis . thank other days for publishing NRNA establishment news in South Sudan and realte with this article .

rgds

Hikmat Thapa
Lagos, Nigeria

Hello Rajesh ji,

It is nice to read your article where you have made comparison between south sudan and Nepal’s political situation including other aspects. We had celebrated s sudan independance in Kathmandu on its eve by coming together around 20 nepali who had served in s sudan. I have been in this country since 2005 and I have many southern sudanese friends. They are people with good heart and very proud of being s sudanese. Every one of them have amazing stories of their life. I left UNDP in 2007 to start my own business here. Some of my local friends are now leading businessman here, some of them are in high level government positions and some are even ministers in the states.

I love to visit them during my trip to USA in mid October if you can organize it.

Best

Biswash Gauchan
President, NRNA NCC South Sudan

Write a comment