नोबेल कीर्तिमानमा महिला


नोबेल समितिले
यो वर्ष (सन् २००९) पाँच महिलालाई प्रतिष्ठित नोबेल पुरस्कारका लागि छनौट गर्‍यो । नोबेल पुरस्कारको इतिहासमा सबैभन्दा बढी महिला पुरस्कृत भएको यो पहिलो अवसर हो । यसअघि सन् २००४ मा तीन महिलाले विभिन्न विषयमा नोबेल पुरस्कार पाएका थिए । नोबेलमा महिला पुरस्कृत हुने बढ्दो क्रमको प्रशंसा गर्नैपर्छ ।
सन् २००९ का नोबेल पुरस्कार र महिलाको सन्दर्भ कीर्तिमानका हिसाबले निकै उल्लेख्य छ । नोबेल पुरस्कारको १०८ वर्षे इतिहासमा पाँच महिला पुरस्कृत भएको पहिलो हो भने अर्थशास्त्रमा महिला पुरस्कृत भएको यो दोस्रो अवसर हो । सन् १९६९ मा स्थापित अर्थशास्त्रतर्फको नोबेल पुरस्कार यसपटक अमेरिकी अर्थशास्त्री इलिनोर ओस्त्रमले पाएकी हुन् । उनीसँग नेपालको नाता पुरस्कार दिएपछि खुलेको थियो । उनले नेपालमा गरेको सूक्ष्म-अर्थशास्त्रको अध्ययन पुरस्कारको एउटा पाटो बनेपछि हामीले उनलाई निकट मानेका हौं ।
नोबेल पुरस्कार पाउने महिलाको संख्या ४१ पुगेको छ । पोल्याण्डकी मेरी क्युरी सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रमा नोबेल पुरस्कार पाएर दुवै विषयमा पुरस्कृत हुने प्रथम महिला बनेकी थिइन् ।
महिला र नोबेल
प्रत्येक वर्ष प्रदान गरिने नोबेल पुरस्कारको सूचीमा साहित्य, भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र वा शरीर विज्ञान, अर्थशास्त्र र शान्ति सम्मिलित छ । यसमा गणितको कमी सबैले महसुस गरेको कुरा हो । यसका बारेमा नोबेलकै भनाइ त कतै पाइँदैन ।
एउटा कुरा के उल्लेख गर्न आवश्यक छ भने सन् १९२४ मा टोरन्टोस्थित ‘इन्टरनेसनल कंग्रेस अफ म्याथम्याटिसियन’ ले हरेक काँग्रेसको बैठकमा गणितमा कुनै खास योगदान पुर्‍याउने व्यक्तित्वलाई दुईटा स्वर्णपदक दिने निर्णय गरेको थियो । एउटा प्रश्न सर्वत्र उठेको पाइन्छ-अरू विषयमा पुरस्कार घोषणा गर्ने नोबेल फाउण्डेशनले किन गणितको पुरस्कार घोषणा गरेन ?
पुरस्कारको स्थापनामा नै गणितका लागि पुरस्कार नछुट्याएकाले एउटा शंका गर्ने ठाउँ के छ भने नोबेलले प्रेम प्रस्ताव राखेकी महिलासँग गोस्ता मित्ताग-लेफलरले विवाह गरेका थिए र गोस्ता गणितज्ञ रहेको बताइन्छ । यद्यपि यही कारणले नोबेल पुरस्कार गुठीमा गणितमा पुरस्कार दिने प्रारम्भिक निर्णय नगरिएको भन्न सकिने यथेष्ठ प्रमाण भने छैन । यसलाई प्रमाणित गर्ने तत्कालीन अवस्थाको कुनै कथा पनि छैन । यहाँ के कुरा दोहोर्‍याउन आवश्यक छ भने नोबेलले कहिल्यै विवाह गरेनन् ।
अर्को कारण के पनि हुनसक्छ भने नोबेल आफै पनि गणितमा त्यति चासो दिने मानिस होइनन् । त्यसैले यसको कुनै अनुसन्धान र खोजले मानिसको जीवनमा कुनै ठूलो उद्धार गर्ने पनि होइन भन्ने लागेको हुनसक्छ ।
नोबेल – २००९
सन् २००९ मा नोबेल पुरस्कार पाउने १३ मध्ये ५ महिलामा इलिनोर ओस्त्रम, एलिजाबेथ एच ब्ल्याकबर्न, अदा इ योनाथ, हेर्टा म्युलर र क्यारोल डब्ल्यु ग्रिडर छन् । चिकित्साशास्त्र वा शरीर विज्ञानमा अहिलेसम्म १० महिलाले नोबेल पुरस्कार पाएकोमा यस वर्षमात्र २ महिलाले यो विषयमा पुरस्कार पाएका छन् । यो पनि पहिलो कीर्तिमान नै हो ।
कस्ता छन् त यस वर्षका विजेता महिलाः
अर्थशास्त्र
७६ वर्षीया इलिनोर ओस्त्रमलाई अमेरिकी नागरिक ओलिभर विलियम्ससँगै आर्थिक सुशासनका लागि महत्वपूर्ण काम गरेवापत् अर्थशास्त्र विज्ञानमा नोबेल स्मृति पुरस्कार प्रदान गरिएको हो । सम्भवतः पहिलोपटक अर्थशास्त्रमा सुशासनको अध्ययन र अनुसन्धान गर्नेलाई यो पुरस्कार प्रदान गरिएको छ ।
कम्पनीहरूको द्वन्द्व मस्यौदाको संरचनाको अध्ययनमा विशेष योगदान पुर्‍याउने ओलिभर विलियम्ससँगै ओस्त्रमलाई यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । साझा स्रोतहरूमा समुदायहरूको साझेदारी कसरी हुनसक्छ भन्ने विषयमा महत्वपूर्ण अध्ययन गरेवापत् उनलाई यो पुरस्कारका लागि छनौट गरिएको नोबेल समितिले बताएको छ । उनले बजारको अध्ययन गरेकी होइनन्, आर्थिक सुशासन कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा खोज गरेकी हुन् । आर्थिक सुशासनमा गहन विश्लेषण गरेकीले उनी करिब १५ लाख अमेरिकी डलर पुरस्कारमा बराबरीको हकदार बनेकी छिन् । कम्पनीहरू, समुदायहरू र अन्य समूहभित्र कसरी आर्थिक गतिविधि बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरेकीले ओस्त्रमसँगै अर्का विज्ञ विलियम्सलाई यो पुरस्कार दिइएको हो ।
ब्लुमिङ्टनस्थित इन्डियाना विश्वविद्यालयमा राजनीतिशास्त्र र सार्वजनिक तथा वातावरण मामिलाका एक प्रोफेसरसमेत रहेकी ओस्त्रमले पाएको यो सम्मान अब अर्थशास्त्रमा अध्ययन र प्रशिक्षणमा मात्रै सीमित रहेन । आजको अर्थशास्त्रको सिद्धान्तले निजी अथवा सार्वजनिक क्षेत्रमा असल स्रोतहरूको व्यवस्थापनमा जोड दिएको छ । यसलाई नमानेर स्व-चाहनाबाट आर्थिक व्यवस्थापन गरिए स्रोतहरूमा समुदायको साझेदारी भताभुंग हुनसक्छ ।
‘साझेदारीको दुःख’ भनेर १९६८ मै वातावरणविज्ञ ग्यारेट हार्दिनले यो सिद्धान्तलाई अघि सारेका थिए । यही सिद्धान्तलाई पछ्याउँदै इलिनोर ओस्त्रमले स्थानीयस्तरमा निर्णय गर्नेलाई कसरी अप्ठ्यारोमा पार्न सक्दोरहेछ भन्ने विषयमा खोजपूर्ण अध्ययन गरिन् ।
उनको अनुसन्धान एउटै स्रोतमा निर्भर हुनेसँग जनताको आवश्यकता कसरी सन्तुलित हुन्छ भन्ने कुरा बुझ्न कोशेढुंगा साबित भएको छ । उनले समुदायमा साझा जल आपूर्तिमा अमेरिकाको दक्षिणी क्यालिफोर्नियाका कृषकहरू कसरी निर्भर हुँदा रहेछन् भन्ने विषयमा केन्द्रित रहेर अध्ययन गरेकी थिइन् ।
विकाससँगै स्रोतहरूको प्रयोगमा कसरी उनीहरूको साझेदारी हुँदो रहेछ भन्ने ओस्त्रमको अनुसन्धान दस्तावेजमा उल्लेख छ । उनले उदाहरणका लागि वन व्यवस्थापनलाई आफ्नो अध्ययनको विषय बनाइन् ।
‘स्थानीय बासिन्दाहरू एक-अर्कासँग मिलेर आ-आफ्ना आवश्यकताको पूर्ति मात्र गर्दैनन् वनजंगललाई हराभरा राख्दै त्यसको पर्यवेक्षणसमेत गर्न उनीहरू कसरी सक्षम हुँदा रहेछन्’ भन्ने विषय आफैंमा महत्वपूर्ण रहेको उनको मत छ । यही मूलमन्त्र बुझेर होला, ‘दि रोयल स्वीडिस एकेडेमी अफ साइन्स’ ले ओस्त्रमलाई नोबेल पुरस्कारको हकदार भएको निक्र्यौल निकालेको छ । सन् १९३३ अगस्तमा लसएन्जलसमा जन्मेकी ओस्त्रमले सन् १९६५ मा लसएन्जेलसस्थित क्यालिफोर्निया विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पीएचडी गरेकी हुन् । ओस्त्रम अमेरिकाको इन्डियाना विश्वविद्यालयमा राजनीतिशास्त्र पढाउँछिन् ।
चिकित्साशास्त्र
६० वर्षीया एजिलाबेथ एच ब्ल्याकबर्न तथा ४८ वर्षीया क्यारोल डब्ल्यु ग्रिडरलाई ज्याक डब्ल्युसँगै क्रोमोजोमका सम्बन्धमा महत्वपूर्ण अध्ययन गरेवापत् यो वर्षको फिजियोलजी अथवा चिकित्साशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको छ । ग्रिडर अमेरिकी र ब्ल्याकबर्न अमेरिकी-अस्ट्रेलियाली नागरिक हुन् । विज्ञानको अध्ययनमा महत्वपूर्ण मानिएको क्रोमोजोमसम्बन्धी अनुसन्धानमा संलग्न एक पुरूष वैज्ञानिकसँगै ब्ल्याकबर्न र ग्रिडरले नोबेल पुरस्कार पाएका हुन् । चिकित्सा विज्ञानमा पहिलोपटक दुई महिलालाई नोबेल पुरस्कार दिने घोषणा गरिएको हो । सन् १९४८ नोभेम्बर २६ मा अस्ट्रेलियामा जन्मिएकी एलिजाबेथ युनिभर्सिटी अफ क्यालिफोर्नियामा अध्यापनरत छिन् । त्यस्तै सन् १९६१ अप्रिल १५ मा अमेरिकामा क्यारोल बाल्टिमोरस्थित जोन्स हप्किन्स विश्वविद्यालयमा पढाउँछिन् । हाल उनी बोस्टनस्थित म्यासाचुसेट्स जनरल हस्पिटलमा कार्यरत छिन् ।
रसायनशास्त्र
७० वर्षीया अदा इ योनाथलाई राइबोसोमहरूबाट महत्वपूर्ण खोज गरेवापत् अमेरिकी नागरिक वेन्कटरमन र थोमस स्टिजसँगै संयुक्तरूपमा यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । एन्टिबायटिकको कारक तत्व राइबोसोममाथि महत्वपूर्ण अध्ययन गरेवापत् दुई अमेरिकी वैज्ञानिकसँगै इ योनाथलाई संयुक्तरूपमा पुरस्कार दिने घोषणा रोयल स्वीडिस एकेडमी अफ साइन्सेसले गर्‍यो । राइबोसोम जीवन प्रणालीका लागि मात्र महत्वपूर्ण नभएर एन्टिबायटिक्सको क्षेत्रमा समेत अहं भूमिका निर्वाह गर्ने विषयमा महत्वपूर्ण योजना पुर्‍याएकोमा इजरायली वैज्ञानिक इ योनाथलाई रसायनशास्त्रमा यो वर्षको नोबेल पुरस्कारका लागि छनौट गरियो । सन् १९३९ जून २२ मा जेरुसेलममा जन्मिएकी अदा योनाथ इजरायलको विजम्यान इस्न्टिच्युटमा स्ट्रक्चरल बायोलोजीकी प्राध्यापक हुन् र उनी रसायनशास्त्रमा नोबेल पुरस्कार पाउने चौथो महिला बनेकी छिन् ।
साहित्य
५६ वर्षीया जर्मन लेखिका हेर्टा म्युलरलाई यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । म्युलरले आफ्नो जन्मभूमि रोमानियामा तानाशाहको शासनकालका कष्टप्रद जीवनका भोगाइलाई काव्यात्मक र मार्मिक शैलीमा प्रस्तुत गर्न सफल उनको रचनालाई स्वीडिस नोबेल समितिले पुरस्कारका लागि छनौट गरेको हो । रोमानियाका तानाशाहले म्युलरको जागिर खोसेपछि गास, बास र कपासका लागि उनी जर्मनीमा बसाइ सरेकी हुन् । सन् १९५३ अगस्त १७ मा रोमानियाको नित्स्किडार्फमा जन्मिएकी म्युलरले स्कुले शिक्षा समाप्त गरेपछि टेमेश्ररस्थित युनिभर्सिटी अफ वेस्टमा जर्मन तथा रोमानियाली साहित्यको अध्ययन गरिन् ।
नोबेल, महिला र रोचक तथ्य
n पियरे क्युरी र मेरी क्युरीले क्रमशः सन् १९०३ मा भौतिकशास्त्र र मेरी क्युरीले सन् १९११ मा रसायनशास्त्रमा यो पुरस्कार प्राप्त गरेका थिए । उनीहरू श्रीमान्-श्रीमती हुन् ।
n कार्ल एफ् कोरी र गेर्टी टी. कोरीले सन् १९४७ मा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरूपमा प्राप्त गरे । उनीहरू श्रीमान्-श्रीमती हुन् ।
n गुनार मिर्दाल र अल्भा मिर्दाल श्रीमान्-श्रीमतीले क्रमशः सन् १९७४ मा अर्थशास्त्र र सन् १९८२ मा शान्तितर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
n श्रीमती माइरेड कोरिगान सबैभन्दा कम उमेर (३२ वर्ष) मा नोबेल पुरस्कार प्राप्त गर्ने महिला हुन् । उनले सन् १९७६ को नोबेल शान्ति पुरस्कार पाएकी हुन् ।
n मेरी क्युरीले दुईपटक फरक-फरक विषयमा (सन् १९०३) भौतिकशास्त्र र (सन् १९११) रसायनशास्त्रमा यो पुरस्कार प्राप्त गरेकी थिइन् ।
हालसम्म नोबेल पुरस्कार पाउने महिला
भौतिकशास्त्र (२ जना)
सन् १९०३ : मेरी क्युरी
सन् १९६३ : मारिया गोयप्पर्ट मायर
रसायनशास्त्र (४ जना)
सन् १९११ : मेरी क्युरी
सन् १९३५ : इरिन जोलियट क्युरी
सन् १९६४ : डोरोथी क्रफुट होज्किन
सन् २००९ : अदा इ योनाथ
चिकित्साशास्त्र (१० जना)
सन् १९४७ : गर्टी कोरी
सन् १९७७ : रोसालिन यालो
सन् १९८३ : बार्बरा म्याकक्लिन्टोक
सन् १९८६ : रिटा लेभी-मोन्टाल्सीनी
सन् १९८८ : गेट्रेड बी इलियन
सन् १९९५ : क्रिस्टिन नुस्सलेन-भल्हार्ड
सन् २००४ : लिन्डा बी बक
सन् २००८ : फ्रान्कस् बार्रे-सिनौस्सी
सन् २००९ : एलिजाबेथ एच ब्ल्याकबर्न
सन् २००९ : क्यारोल डब्ल्यु ग्रिडर
साहित्य (१२ जना)
सन् १९०६ : सेल्मा लागर्लोफ
सन् १९२६ : ग्राजिया डेलेड्डा
सन् १९२८ : सिग्रिद उन्डसेट
सन् १९३८ : पर्ल एस बक
सन् १९४५ : ग्याब्रियल मिस्ट्रल
सन् १९६६ : नेल्ली सास्चस्
सन् १९९१ : नादिने गोर्डिमर
सन् १९९३ : टोनी मोरिसन
सन् १९९६ : विस्लावा स्त्रोम्बोक्सर्का
सन् २००४ : अल्फेइद जेलिनेक
सन् २००७ : डोरिस लेस्सिङ
सन् २००९ : हेर्टा म्युलर
शान्ति (१२ जना)
सन् १९०५ : बर्था भान सट्टनर
सन् १९३१ : जेन एड्डाम्स्
सन् १९४६ : इमिली ग्रिन बाल्ख
सन् १९७६ : बेट्टी विलियम्स्
सन् १९७६ : मेरिड कोर्रिगन
सन् १९७९ : मदर टेरेसा
सन् १९८२ : अल्भा मिर्दाल
सन् १९९१ : आङ सान सुकी
सन् १९९२ : रिगोबेर्ता मेन्चु तुम
सन् १९९७ : जोडी विलियम्स्
सन् २००३ : सिरिन इबादी
सन् २००४ : वान्गारी माथाई
अर्थशास्त्र (१ जना)
सन् २००९ : इलिनोर ओस्त्रम ।

(सन् २००९ मा ‘नारी’ मासिकमा प्रकाशित ।)

Write a comment