बोल्दाबोल्दै बुबा जानुभयो

 

त्यो वैशाख १४ को दिन । २०६९ वैशाख १४ । काठमाडौंको दैनिक जीवन । म घर थिएँ, कपनमा । बिहानका धेरै काम एकोरिइँदै गर्दा ठूली बहिनी किरणले फोन गरी, ‘बुबा-आमा मधेशबाट हिजो आउनु भएको । पुराणको प्रसाद होला । बुबालाई अलि बिसन्चो पनि छ ।’ किरण र साहिली बहिनी ज्योति घरबाट हिंडिसकेका थिए । बाटैबाट किरणले फोन गरेकी हो । मैले भनें, ‘हुन्छ नि ।’ 

हामी बुढा-बुढीबीच कुरा भयो । म भन्थे, ‘म मात्र जान्छु ।’
बन्दना (मेरी श्रीमती) को कुरो, ‘म पनि जान्छु ।’
यसो गर्दागर्दै हामी दुवै जाने भयौं, साथमा सानी छोरी । ठूली छोरी स्कूल गएकी ।
बुबा-आमाको मधेश यात्रा
बुबा-आमा २०६८ चैतको मध्य कटेपछि मधेश जानु भएको थियो, १९ गते । आफ्नो करिब ३७ वर्ष बिताएको गाउँठाउँमा नातागोता, साथीभाई, छरछिमेकीसँग भेटघाट गर्ने विचार रहेछ । मंसिर-पुसदेखि बुबाले मधेश जान इच्छाएको । तर दाजु (तीर्थ) को मनसाय बुबा-आमा मात्र जान हुन्न । बुबा ८४ र आमा ६९ वर्षको । साथमा कोही हुनुपर्छ । दाजुले टार्दा-टार्दै जाडो कट्यो । बेला ठिकै थियो । तर मधेशको गर्मी छँदै थियो ।
बुबा-आमा जाने हुनुभयो । जानुभयो । साथमा भाई (गोपाल) गयो । उसका छोराहरू : सामर्थ्य, संभव र भान्जा गौरव (बहिनी ज्योतिको जेठो छोरो) गएका थिए ।
रमाइलो गाउँ, बयरवन (मोरङ) मा हाम्रो घरसँगै ठूला भानिज-दाजु घर छ । हामी बोलीचालीमा भान्दाजु र मास्तिरपट्टिको उहाँको घरलाई माथ्ला-घर भन्छौं । भाउजु बितेको वर्ष-दिन भएको थियो । चैत १९ मै बरखी थियो । बुबा-आमा त्यही दिन पुग्नुभयो ।
त्यस्तै गत चैतको शुरुमा कान्छी सानिमाको कान्छो छोरो सुवास भण्डारी, ३१ वर्ष (जन्म : २०३७ साल) ले आफ्नो जीवनलीला समाप्त गरेको थियो । चैत २२ मा मात्र लण्डनमा उसको दाहसंस्कार भएको थियो । सानिमा (दुर्गा) – सानुबुबा (मित्रप्रसाद) को रासोबासो मोरङको लेटाङमा थियो । दाहसंस्कारपछि लेटाङमा काजक्रिया शुरु भएको थियो । बुबा-आमालाई समवेदना प्रकट गर्ने इच्छा पनि थियो ।
यही क्रममा बुबा-आमा लेटाङ, इटहरी, विराटनगर जानुभयो । विराटनगर गएपछि भाईले त्यतैबाट काठमाडौं फिर्ने कुरा ग-यो । चैत सकिन लागेको थियो । बुबाले काठमाडौं जानुको सट्टा गाउँ फिर्ने इच्छा प्रकट गर्नुभयो । त्यसै गर्ने भइयो । केटा-केटीको स्कूल लाग्ने बेला थियो । भाई आफ्ना छोराहरू र भान्जा लिएर काठमाडौं आयो । अनि फेरी रमाइलो गाउँ फर्कियो ।
बुबा अलि गल्नु भएको थियो
बुबालाई गत मंसिरमा चिसो लागेछ । न्युमोनियाजस्तो भएछ । त्यसबेला भतिजी प्रतिष्ठा (दाजु तीर्थकी छोरी) लाई भन्नुभएछ, ‘तेरा बाबुहरूलाई यो जाडामा ननङ्ग्याउँ भनेको । खै !’
ठूली बहिनीले मसँग फोन (नेपाल-अमेरिका) मा कुरा हुँदा पनि बुबा अलि गल्नु भएको छ भन्ने गर्थी ।
बुबा-आमाले लगाएको पुराणमा कान्छी सानिमाले भन्नुभएको रहेछ, ‘भिनाजु अलि गल्नु पो भएछ ।’ पुराणमा केही काम बुबा आफैंले गर्न सक्नु भएन । बुबा आफैंले गर्नुपर्ने नान्यिक श्राध्दसमेत दाजु दिबाकर (साहिला ठूलो-बुबा चित्राखरका कान्छा छोरा) ले गर्नु भएको थियो ।
माथिका यी ३ सन्दर्भ बुबा बितेपछि हामीलाई चित्त बुझाउने कुरा मात्र पनि हुन सक्छन् । तर बुबाको आयु आफ्ना ५ दाजुहरूभन्दा धेरै वर्षको रह्यो । यो सकारात्मक पक्ष हो ।
बुबाका ती क्षणहरू
हामी बुबा-आमा भएका ठाउँ (कौशलटार, भक्तपुर) आइपुग्दा ११ बजिसकेको’थ्यो, वैशाख १४, २०६९ । दाजु बुबाका लागि थप डाक्टरी सल्लाह लिन चोकतिर जाँदै हुनुहुन्थ्यो । एकजना चिकित्सा-सहायक साथै लिएर दाजु फर्कनुभयो । ती प्राविधिकले बुबालाई कफ जमेकाले रमाइलो गाउँमा दिएको औषधी फेर्ने सल्लाह दिए । हाम्रो अनुमान बुबाको शरीरमा पानीको कमी (डिहाइड्रेसन) भयो की भन्ने थियो । त्यो चाही रहेन’छ । कफ भएकाले पानी चढाउन (स्लाइन दिन) उपर्युक्त हुन्न भन्ने भयो । एन्टिबायोटिक दिने कुरा भयो ।
बुबा बाथरुम जान खोज्नु भयो । दाजु र मैले समातेर लग्यौं । केही आएन । फर्काएर ल्याउँदा ‘कता जाऔं ?’ भन्नुभयो, दाजुले । ‘जता हावा छ, उतै लग’, बुबाले भन्नुभयो । बुबा-आमा कोठा पहिलो तला छ । बुबालाई कोठा वा बैठक-कोठाको खाट छान्नु भन्ने प्रसंगमा सोधिएको थियो । बैठक-कोठा अलि खुला छ । हामीले बैठक-कोठाकै पलंगमा फर्कायौं, जहाँ बुबा सुतिरहनु भएको थियो ।
बुबालाई औषधी ख्वाइयो । गौतम भान्जा (ज्योतिको कान्छा छोरो) ले चकलेट खान दिए । त्यो पनि खानुभयो । बुबालाई छट्पटी भइरहेको रहेछ । फेरि बाथरुम जान खोज्नुभयो । दुई जनाले समातेर लान गाह्रो भएकाले मैले बोके । पहिलो तलाकै कमड भएको बाथरुम लगियो, अलि सजिलो होला भनेर । बाथरुममा दाजुले रूङ्नु भयो । आमाले टिस्यु-पेपर दिंदा, ‘आएकै छैन, के पुछ्नु ?!’ बुबाले भन्नुभयो । यो पटक बुबा अलिबेर बस्नुभयो । फेरि पनि केही आएन । दाजुले समात्दै ल्याउनुभयो । ओछ्यानमा सुत्न खोज्दा बुबाको हात मैले समाए । सुत्दासुत्दै बुबाको अनुहार एकाएक कस्तो-कस्तो भयो ! मेरा मनमा लाग्यो, ‘बुबाले हामीलाई छाडेर जानुभयो । यो जीवनको अन्तिम क्षण हो ।’ सबैजना आत्तियौं । ज्योति, बन्दना हस्याङ्फस्याङ् गर्न थाले । मेरी सानी छोरी अनन्या रोई । बुबा देब्रे फर्केर सुत्न भएको’थ्यो । त्यसपछि पनि बुबा चर्पटाउनु भयो । मनमनमा फेरि लाग्यो, ‘ए, बुबालाई केही भएको रहेनछ ।’ त्यसपछि बुबा दाहिने फर्कनु खोज्नु भो । दुईटा तकिया टाँढे परेका थिए । एउटा झिकिदिएँ । बुबा सुत्नुभयो ।
बुबा सुत्नुभयो भन्ने भयो । त्यसपछिको समय अन्यौलमा बित्यो । फेरि ती चिकित्सा-सहायकलाई बोलाइयो । उनी आए, हेरे । नाडी छामे । स्टेथोस्कोप लगाएनन् । न ज्वरो नापे, न त प्रेसर नै नापे र भने, ‘लानु हस्पिटल ।’
दाजुको प्रश्न थियो, ‘के गठ्ठाघरको नागरिक अस्पताल लानु ?’
चिकित्सा-सहायकले भने, ‘हैन । भेन्टिलेटर भएका ठाउँमा लानु । पाटन हस्पिटल लानु ।’
दाजुले एम्बुलेन्स बोलाउनु भयो ।
बुबा सुत्नु भएकै होला भन्ने थियो । आमाले आएर यसो फर्काउनु भयो र भन्नुभयो, ‘बुबा हेर्नु त राम आए, राम ।’ आमाको आशय, ‘भगवान राम आए,’ भन्ने थियो । बुबाले कुनै प्रतिक्रिया थिएन ।
बुबालाई गंगाजल खुवायौं । त्यो निलिएन । बुबा हल न चल हुनुहुन्थ्यो ।
यत्तिकैमा एम्बुलेन्स आयो । आमाले भन्नुभयो, ‘नलैजाऔं । हल्लाउँछ । शरीर घोचेर छियाछिया पार्छन् । भै’गो ।’
एम्बुलेन्सले आफ्नो शुल्क लियो । फर्कीयो ।
फेरि पनि बुबा सुत्नु भएकै होला भन्ने थियो । केहिबेरपछि आमाले बुबाका हत्केला र पैताला देखाउँदै भन्नुभयो, ‘हेर त हत्केला-पैताला नीला भएका । तिमीहरू के भन्छौं हँ ।’ म पैतालालाई हातले तताउन थाले । पैतालाको नीलो त हरायो । हातको हराएन ।
यी सबै घटनाले मेरो मनमा चिसो पस्यो । शायद सबैको मनमा चिसो पस्यो । सबैले आ-आफ्नो ढंगले बुझ्यौं । कसैले कसैलाई बुबा नरहेको हो की भन्न सकेनौं । होइन भन्नेमा नै थियौं । दाजु एक अर्थको आफ्नो बुझाईमा अड्नुभयो । आमाले पनि मानसिक रूपमा आफूलाई तयार पार्नुभयो । म आधा-आधा रहे । होइन होला ।
बुबा हलचल गर्नु भएन । आमाले अस्पताल नलगौं भन्नुभयो । चिकित्सा-सहायकले राम्ररी जाचेनन् र भेन्टिलेटरमा राख्न लानु बताए । यी अवस्थामा दाजुले फोन गर्दै आफन्तलाई बोलाउन थालियो ।
नजिकैका सबै आफन्त आएपछि सबैले बुबा बित्नुभएको निर्क्यौल निकाल्नुभयो । हो, बुबा रहनुभएन । ८४ पुगेर ८५ लागेकै भोलिपल्ट हामी ७ छोराछोरी, ३ बुहारी, ४ ज्वाईं, १४ नातिनातिनालाई छाडेर बुबाले बिदा लिनुभयो । मधेशबाट फर्केको भोलिपल्टै बुबाले नफर्किने गरी महाप्रस्थान गर्नुभयो ।
हो, अझै सपना जस्तो लाग्छ । बुबा हुनुहुन्न भन्ने नै लाग्दैन ।

Comments posted (3)

मैले हजुरका शब्द शब्द सास रोकेर पढ़े/ मेरा परमपूज्य हजुरबा प्रति पुनः पुनः श्रद्धांजलि /

Rajesh sir, Tapai ko Buwa ko bare ma padhe , tapai haru ta lucky hunudo rachaya6 . Tetaka 6ora join, buhari, natinatina herna paunu vo buwa le, umer pani bahyako theyeo , yeso aausadhi mulo pani gerna paunu vo mero pida nikai dukha lagdo6 . Mero buba ko voli 1 month hudei6 , bharkar 50 bersa hununtheyeo, dinbhari kam gareyera beluka khana khanu bhanda agadi fent va ko hosnai na aaune gari gaye6. Jesto bahyapani vognu perne , Tapai ta Lucky ho sir, ekpatak sabai janu nai per6 . Kamti ma ma mero jesto ta va ko 6ena . Uhako aatma le santi payeos

Janme pachi ek din marnai parchha ! 84 barsha bachera bitna pauda (pariwarlai) samet chitta bujhna sakcha bhanne mero bujhai chha !

-Prem (nefej)

Write a comment