दुई वर्ष बितेछ

 

२०६५ को स्काउट पत्रकारिता पुरस्कार तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका हातबाट पाएको थिएँ । प्रधानमन्त्री नेपाल स्काउटका प्रमुख हुन्छन् । पुरस्कार लिँदाको दिन मेरा लागि रोमाञ्चक थियो र अविस्मरणीय पनि बन्यो । किनभने पुरस्कार दिएको दुई वर्ष नबित्दै गिरिजाबाबुको निधन भयो । उनको निधन भएको पनि दुई वर्ष बिती पो सकेछ । 

त्यो दिन २०६५ असार ५ थियो । पुरस्कार लिन मञ्चमा पुग्दा स्काउटका प्रमुख-आयुक्त श्रीराम लामिछानेले मलाई देखाउँदै, ‘उनी पनि कोइराला’ भने । अनि गिरिजाबाबुले ठट्टा गर्दै भने, ‘यो पैसा चाहिं म लैजाऔं कि ?’ मैले भने, ‘एउटै घरको सम्पत्ति हो । राखे हुन्छ ।’ दश हजार रुपैयाँको थैलो र प्रमाणपत्र दिएपछि उनले नै मलाई क्यामरातिर फर्काए । त्यसपछि क्लिक क्लिक ………
उनले सबैजसो कार्यक्रममा उनले ठट्टा गरेको पाइन्थ्यो । यो मैले अनुभव गरेको थिएँ । फोटो खिचाउन पनि कहिल्यै अप्ठ्यारो नमानेको जस्तो लाग्थ्यो । अनि बालबालिकासँगको भेटघाटपछिका साना चियापानमा पनि उनी बालबालिकाले खाए/खाएनन् भनेर चासो दिन्थे । सोध्थे, ‘खाजा खायौं ? चिया खायौं ?’
गिरिजाबाबुको निधनपछि उनलाई बालबालिकाको निकट भएको धेरैले लेखेका छन् । प्रष्ट्याएका छन् । यो बानी कोइराला परिवारको संस्कारसँगै हुर्केको थियो । बालबालिकासग सामिप्य रहेकैले उनी ‘बालमैत्री’ (चाइल्ड फ्र्यान्डली) थिए । यसका प्रशस्त उदाहरण पाइन्छन् ।
त्यसका एउटा उदाहरण हुन्, राजु राउत । छोरी सुजाताको घर जाँदा आउँदा बाटोमा बिरामी देखेका राजुबारे जानकारी लिनु । बिरामी भएको थाहा पाएपछि औषधोपचारका लागि खर्च दिनु । बाटो पर्दा फेरि पनि जानकारी लिनु । उसको पढाईसमेतमा सहयोग गर्नु ।
गिरिजा बालबालिकासँगै खेल्थे । चल्थे । पैसा दिएर सामान किन्न पठाउँथे । यो बालबालिकाको परीक्षा नै हुन्थ्यो । काम लगाएर पुरस्कृत गर्थे । सानालाई सोधेर ठूलाको विश्लेषण सुन्थे । आफूसँग पैसा नहुँदा अरुसँग मागेर दिन्थे । यसबाट उनलाई आनन्द आउँथ्यो । तिहारमा पटाका किन्न पैसा बाँढिदिन्थे । ‘के पटाका जोगबनीबाट झिकाइदिउँ,’ भन्थे । यस्तै वातावरणले गिरिजालाई ‘बालमैत्री’ बनाएको हुनुपर्छ ।
मैले केही कार्यक्रममा उनलाई नजिकबाट हेर्ने मौका पाएको थिएँ । बालबालिकाका अगाडी आएपछि उमेरअनुसार उनीहरुलाई के भन्ने कुरामा गिरिजा सचेत हुन्थे । राजनीतिमा त्यत्रो वर्ष बिताएका मान्छेले राजनीतिका शब्द थोपरेर दिक्क लगाउने होलान् जस्तो लाग्थ्यो । तर कुनै बेला त्यस्तो भएन । बालमनोविज्ञान बुझेर उनी आफ्ना कुरा राख्थे ।
२०६३ भदौमा सहिद धर्मभक्त अध्ययन प्रतिष्ठान, नेपाल तथा प्रजातन्त्र र विकासका लागि समाज, नेपालले प्रधानमन्त्री कोइरालालाई बालुवाटारमै बालबालिकासँग भेट गराएको थियो । वर्षा त्यति पातलिएको थिएन । त्यो दिन कार्यक्रम भइरहँदा पनि झरि परेको थियो । देश बाढी र पहिरोको चपेटामा थियो । उनले विभिन्न जिल्लाबाट आएका करिब डेढ सय बालबालिकालाई कस्तो कुरा गर्दा बुझाउन सकिएला भन्ने सोचेर बाढी र पहिरोकै विषय झिके । ‘म सानो छँदा एक वर्षमा कि त धेरै पानी परेर पहिरो जान्थ्यो । बाढी आउँथ्यो कि खडेरी पर्थ्यो । यो वर्ष त देशमा खडेरी पर्‍यो । बाढी पनि आयो,’ उनले भनेका थिए । भेटघाटमा १० देखि १६ वर्षका बालबालिका सहभागी थिए । करिब ४५ मिनेट समय दिन्छु भनेका प्रधानमन्त्रीले बालबालिकासँग दुई घन्टा बिताए । उनले धेरै प्रश्नको उत्तर दिए । अधिकांश बालबालिकाले प्रधानमन्त्रीलाई बुबा, बाजे, हजुरबा भनेर सम्बोधन गरेका थिए । उनीहरूले शिक्षा, स्वास्थ्य, राजनीति, र द्वन्द्वलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि २०६४ कै बालदिवसमा बालसंगठनले बालुवाटारमै यस्तै अर्को भेटघाट कार्यक्रम राख्यो । संविधानसभा निर्वाचनमा देश जुटिसकेको अवस्थामा प्रधानमन्त्री कोइरालाले बालबालिकालाई गहन जिम्मेवारी दिए । उनले भने ‘संविधानसभाको निर्वाचनमा तिमीहरूले त भाग लिन पाउँदैनौं । १८ वर्ष नपुगी मत हाल्न नपाउने नियम छ । तर निर्वाचन हुने दिन बिहान आफ्ना बाबुआमालाई सम्झाइदेऊ । मतदान गरेर फर्केपछि हातमा लगाएको मसी छ/छैन हेर । यसरी तिमीहरूले संविधानसभाको निर्वाचनमा मद्दत गर्नसक्छौं ।’ यो भेटमा भने उनले प्रधानमन्त्री र सम्माननीयजस्तो शब्द प्रयोग नगर्न भने । उनले, ‘मलाई गिरिजा दाजु भने पुग्छ,’ समेत भने ।
यस्ता भेटमा उनी आफू सानो छँदाका घटना संस्मरण गर्थे । आफू सानो छँदा घोडा चढ्ने हाजीसाहेबलाई ‘ठूलो मानिस’ लागेको बताउँथे । गान्धी आउँदा हाजी र आफूसँगै बसेकाले हाजी र आफू उस्तै लागेर राजनीतिमा लाग्ने प्रेरणा मिलेको बताउँथे ।
सानोमा ‘नौटंगी’ हेर्न भागीभागी फारबिसगञ्ज पुगेको एउटा घटनाले कोइराला परिवारको एउटा अनौठो संस्कार स्पष्ट पार्छ । यो घटना उनले बालबालिकालाई सुनाएका हुन् । आफू नौटंगी हेर्न गएको पिताजीलाई थाहा नपाएको भनेर उनी दंग परेका रहेछन् । पिताजी के कम ? सबै थाहा रहेछ । यसको सजायमा पिताजीले उनलाई पन्ध्र दिन फूलमा पानी हाल्ने काम दिए । शारिरीक दण्ड कुनै हालतमा ठिक होइन भन्ने कुरा त्यो परिवारमा गिरिजा सानै हुँदा रहेछ ।
(लामो समय बालबालिकाका लागि पत्रकारिता गरेको र गिरिजाबाबुलाई गुमाएको दुई वर्षमा एउटा रहर पूरा गर्न यो संस्मरण तयार पारेको हुँ ।)

Comments posted (1)

राम्रो लाग्यो । बालबालिकासँग गिरिजाको प्रेम मीठो ।

Write a comment