राता, पहेंला रूखहरू

एक बथान परेवाहरू यताबाट उता उड्छन् । मैले देखेको मन्दिरको शहर काठमाडौंका परेवा मान्छेले छरेका अन्न खान्छन् । यहाँ चर्चमा पुग्छन् । त्यतै बस्छन् । मन्दिरमा जस्तो ह्वारह्वार अन्न नछरे पनि मान्छे चरा, लोखर्केलाई ख्वाउन रुचि राख्छन् ।

ह्विल-चियरमा हि‌डेका स्थानिय एक मित्रले आफ्नो बास्केटमा बदाम बोकेका थिए । उनलाई मैले सोधें, ‘किन बोक्यौं ?’ उनले भने, ‘लोखर्केलाई ख्वाउँछु नि ।’
परेवा मात्र एक्ला छैनन्, म्यानचेस्टरको आकाशमा उड्ने । शहरको मध्य हुँदै सिगुल चराहरू यता र उता गर्छन् । यीनको बथान छैन । एक्लाएक्लै लाग्छन् ।
परेवा मेरा लागि नयाँ होइनन् । तर यहाँका परेवाका लागि म नयाँ हुँ । परेवाहरू त्यसरी नै गुर्छन् । भालेले पोथी रिजाउने तरिका उस्तै लाग्छ । मनलाग्दा बिस्ट्याउँछन्, जहाँ पायो त्यहिं । बानी त उस्तै रहेछ । तर मानिस यहाँका सफा रूचाउँछन् । सफा गर्छन् ।
सिगुलहरू मेरा लागि नयाँ हुन् । उनीहरूका लागि म पनि नयाँ हुँ । यहाँका बासिन्दाका लागि पानीको स्रोत म्यासाबेसिक तालमा उड्ने र पानीमा मज्जा लिने सिगुलहरू देखेर म रमाइलो मान्छु । तर मलाई देखेर सिगुल अनौठो मान्दैनन् । मान्छेकै नजिक भएर उड्छन् । पटक्कै डराउँदैनन् । चरा मार्न गुलेली, बन्दुक बोकेर हिंडेको कसैलाई मैले देखिन । लाग्दो हो, ‘कसका लागि डराउनु छ र ?’
यी चराहरू यता-उता गर्दागर्दै मोबाइलका रिले टावरमा चढ्छन् । म्यानचेस्टरलाई नियाल्छन् । मान्छे नियाल्ने उचाईमा पुग्ने चराहरू कति होलान् ? मान्छे भने यो शहरमा १ लाख ९ हजार ५ सय ६५ जना बस्छन् । उत्तर-पूर्वी अमेरिकाको न्यु ह्याम्सर राज्यको यो शहरमा त्यहि १ लाख र केहिमा म पनि छु ।
सन् २०१० मा मात्र अमेरिकाले जनगणना गरेको थियो । अमेरिकाको जनसंख्या ३०८, ७४५, ५३८ (३० करोड ८७ लाख ४५ हजार ५ सय ३८) पुगेको छ । यो जनसंख्या सन् २०१० अप्रिल १ का दिनको हो । म बस्ने यो ‘न्यु ह्याम्सर’ राज्य १३ लाख १६ हजार ४ सय ७० मानिस बस्छन् (सन् २०११ को जनगणनाअनुसार काठमाडौंमा १७ लाख ४० हजार ७ सय ९९ मानिस छन्) ।
न्यु ह्याम्सरको कूल जनसंख्यामा म ३१ प्रतिशत ओगट्नेमा छु । ३१ प्रतिशत २९-४५ वर्षका छन् । यहाँ ११ दशमलव २ प्रतिशत दश वर्षमुनिका छन् । ३० दशमलव ७ प्रतिशत ४५-६५, ६५ कटेका १३ दशमलव ६ प्रतिशत छन् ।
उमेरको कुरा गर्दा ‘यो राज्यलाई युवाहरूको आवश्यकता छ,’ जनगणनालाई विश्लेषण गर्दै स्थानिय पत्रिकाहरूले हालै लेखेका थिए । युवाहरू ठूला शहर ताक्ने बानीले पुरै अमेरिका प्रभावित भएको जनगणनाकै विश्लेषणले भनेका छन् । म्यानचेस्टर ठूलो शहर हैन । न त यहाँको राजधानी कंकर्ड हो । नासुआ पनि सानै छ । अरु सानाका के कुरा !!
राजधानी कंकर्डभन्दा म्यानचेस्टर ठूलो छ । लमतन्न यो शहरमा ट्राफिक-जाम देखिदैन । शहर सुनसान हुँदा शहरको बीचमा बग्ने मेरिम्याक सुसाएको सुनिन्छ ।
यसबेला मेरिम्याक सुसाउनुको कारण अर्को पनि छ । आफूछेउ उभिएका रूखहरूमा लाली चढेको छ । रूखहरू रंगीविरंगी भएका छन् । हुने क्रममा छन् । राता, पहेंला – कस्ता रमाइला !! मनै लोभ्याउने !!

मेरो आफ्नै कामका लागि

गत वर्ष अगस्तदेखि अमेरिकामा नेपाली न्युजलेटर ‘अक्षरिका’ सम्पादन गर्ने अवसर मिल्यो । अक्षरिका नेपाली पाक्षिक (पन्ध्रदिने) न्यूजलेटर हो । अक्षरिका नामकरण अक्षर र अमेरिकाको संयोजनबाट भएको हो । त्यसैले यसको उद्देश्य अमेरिकामा बस्ने नेपालीभाषी समुदायलाई शिक्षा,जानकारी, हौसला दिनु र सक्षम बनाउनु हो । यो पत्रिका एस एन्ड टी कम्युनिकेसन्स, म्यानचेस्टर (न्यु ह्याम्सर) को स्वयंसेवी प्रयास हो । न्युजलेटरकै काम गर्दा मलाई पनि लाग्यो- यी रूखहरू किन रंग फेर्छन ?
मैले २०१० नोभेम्बर पहिलो अंकमा प्रश्न समावेश गरें – रुखले किन रंग फेरे ?
जवाफ लेखें – हिउँ पर्ने ठाउँतिर शरद ऋतु (फल) मा पातहरू राता र पहेंला हुन्छन् । किन होला?
यसमा विज्ञानको कुरा गर्नुपर्ने हुन्छ । यस्ता रुखका पातको रंगका लागि तीन खालका रसायन चाहिन्छन् । हरियो राख्न क्लोरोफिल चाहिन्छ । अरु रंगका लागि बिरुवामा क्यारोटेन्वाइडस् र एन्थोसाएनिन्स् चाहिन्छन्।
गर्मीमा दिन लामा हुन्छन् । क्लोरोफिलले सूर्यको उज्यालोमा मात्र काम गर्छ र त्यस्ता दिनमा उसलाई काम गर्न समय पुग्छ । जाडोका दिन छोटा हुन्छन्। क्लोरोफिल निस्क्रिय हुन्छ ।
क्यारोटेन्वाइडस् र एन्थोसाएनिन्स् फूर्तिला हुन्छन् । हरियोका ठाउँमा अरु रंग बन्न थाल्छन् र ती बिरुवाले रंग फेर्छन् । तर दिन र रात करिब सधैंबराबर हुने ठाउँमा पातहरू सधै हरिया रहन्छन् ।
हलोविनको स्वागत गर्न फर्सि, बुख्याँचाहरू, मुर्कुटाहरू राख्न थालिएका छन्, घरघरमा, चोकचोकमा । उता दशैं आएकै बेलातिर यता हलोविन आउँछ । चाडपर्वका दिनहरू यता पनि शुरू भएका छन् । यता बस्ने नेपालीहरूलाई दुवैतर्फका चाडहरूले छोप्छन्, छपक्कै । उताबाट आएको पुस्ता उतैको पर्वमा अलि बढी अल्मलिन्छ । यता हुर्केको जन्मेको पुस्ता यतैका पर्वमा अलि रमाउन चाहन्छन् । यस राज्यमा २८ हजार ४ सय ७ एशियाली छन् । नेपाली र नेपाली-भाषी भूटानी गरी करिब २ हजार हुनुपर्छ । मार्च २३ मा स्टेट डिपार्टमेन्टले १२ सय ७७ नेपाली-भाषी भूटानीलाई यस राज्यमा पुनर्स्थापित गरेको तथ्यांक सार्वजनिक गरेको थियो । अहिले अरू थपिइसक्नु भएको छ । समयको कुरा हो ।
हो, समयको कुरा हो । रूखहरू रंगिएका छन् । यीनका पातहरू झर्छन् । चिसो बढेको छ । मेरा साथी परेवा र सिगुलहरू डराउन थालेका छन् । हराउन पनि थालेका छन् । अब विस्तारै हिउँ पर्छ । निकै बाक्लो हिउँ पर्छ । सल्लाजस्ता केहि रूखहरू मात्र हरिया रहन्छन् । अरू सबै मरेतुल्य हुन्छन् । अनि चार महिनालाई परेवाहरू लुक्छन् । सिगुलहरू हराउँछन् । म खुरुरु गाडिमा हिंड्छु । मेरो खबर उनीहरूलाई हुन्न । उनीहरूको खबर मलाई हुन्न । मार्चसम्म उनीहरूसँगको मेरो नाता टुट्छ ।
तर खुसीको कुरा रूखहरू राता, पहेंला —
अहो सुन्दर भएका छन् ।
अहिलेलाई ‘हेर, परेवाहरू र सिगुलहरू, मेरा साथी बनेका छन्, राता, पहेंला — रूखहरू ।’

Comments posted (12)

LIked the article .

along wid the info…
pictures r so touchy ….

ramro lekhko lagi thank u….

Rata Pahenla rukhaharu and Halloween are really interesting and exciting things to see. And the description of nature is really commendable.

राम्रो लग्यो अतिनै राम्रो लग्यो ,अरु ले अझ सम्म यस्तो राम्रो फोटो पठाएको थाह थिएन,के के जात का बिरुवा हरु हुन् यी ,नेपाल मा हुन सक्दैनन र ?

rajesh sir

tapaie ko blog ma samatiyaka article and pic haru dharai ramro lago…ma pani tapaie ko blog ko pathak hunachanchu ..

ok thank you very much for nice article and pic.
Risap gautam

राम्रो लग्यो अतिनै राम्रो लग्यो ,अरु ले अझ सम्म यस्तो राम्रो फोटो पठाएको थाह थिएन,के के जात का बिरुवा हरु हुन् यी ,नेपाल मा हुन सक्दैनन र ?
+1

मामा , लेख राम्रो लाग्यो …..

rajesh jee ,malai lekh man paryo

But Goldsworthy works with nature, with the nature of things, to illustrate change.

Ma facebook ma lama lekh haru teti paddina, tara tapaika lekh haru chhutaunai mann lagdaina. Dherai ramro chha yo lekh,Dhanyabbad !!!

Padda maja ayo. Tapaisangai ghume jastai gari.

Write a comment