सवाल जवाफ

तिमीलाई राजनीति मन पर्छ कि पर्दैन ? भन्ने प्रश्नमा सुजन गिरी र रेश्मा श्रेष्ठले मन नपर्ने बताए । स्नेहा केसी र प्राप्ति काफ्लेले आफूलाई राजनीति मन पर्ने बताए । यतिबेला ‘नयाँ नेपाल’ का कुरा भइरहेका छन् । नेपाल त पहिलेकै हो । तर धेरै काम नयाँ गरिने बताइन्छ । त्यसरी गरिने काममा बालबालिकाका लागि के होला ? बालबालिका के चाहन्छन् ? बालश्रम गर्नेहरूको भविष्य कस्तो होला ? किन बालबालिकाका विषय सधैं ओझेलमा पर्छन् ? १२ वर्षे युद्धबाट प्रभावित बालबालिकालाई के गर्नुपर्ला ? यस्तै धेरै सवालको जवाफ खोज्न बीबीसी (ब्रिटिस बोर्डकास्टिङ सर्भिस) ले प्रयास गरेको छ । बीबीसी ट्रस्टले आफ्नो ‘साझा सवाल’ नामक कार्यक्रममा यसपटक बालबालिकाका विषय लिएको छ ।
त्यही कार्यक्रमका लागि राजधानीको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको सभाकक्षमा हालै ८० बालबालिका भेला भए । उनीहरू सबै १६ वर्षभन्दा कमका थिए । कोही स्कुलमा पढ्ने त कोही +२ का विद्यार्थी थिए । उक्त कार्यक्रमका सञ्चालक नारायण श्रेष्ठसँगै चलचित्रका नायक राजेश हमाल, कोपिला संयोजक राजेश कोइराला र युवा संविधानसभामा सहभागी विद्यार्थी नेता एन्जिला न्यौपाने बसेका थिए ।
कार्यक्रम सुरु भयो । मनिका पोखरेलले ‘राजनीतिबाट शिक्षा प्रभावित’ भएकामा गुनासो गरिन् । उत्सव रसाइली भने कानुन त भए तर कागजमा मात्र भए भन्दै थिए । मनीष वज्राचार्य लोडसेडिङ, पेट्रोलको अभाव, अशान्ति आदि भएकामा गुनासो गर्दै थिए । यस्ता गुनासामा नायक हमाल केन्द्रबिन्दुमा बालबालिका राखेर काम गर्न आग्रह गर्दै हुनुहुन्थ्यो । पत्रकार कोइरालाले पछिपरेको मुलुकमा यस् तै हुन्छ । तर आवाज उठाइरहँदा अर्को पुस्तामा राम्रो हुने बताउँदै थिए । विद्यार्थी नेता न्यौपाने भने नयाँ नेपालमा बालबालिकाको सहभागितामा जोड दिँदै थिइन् ।
बेलाबेला कार्यक्रम सञ्चालक श्रेष्ठ विभिन्न तथ्यांक दिन्थे । कहिले कसैको अन्तर्वार्ता सुनाउँथे । अन्तर्वार्ता दिएका रोशन थापा मगर भन्दै थिए, ‘म शिक्षक बन्न चाहन्छु । दुर्गममा सबैलाई पढाउँछु ।’
रोमी पौडेलले शिक्षा उपयोगी नभएको बताइन् । उज्ज्वलराज घिमिरे भने एउटै प्रश्नपत्रबाट सहर र गाउँमा परीक्षा लिने तरिकाबाट दिक्क भएका रहेछन् । अञ्जु वज्राचार्यलाई गाउँका बालबालिका पढ्न नपाएकामा दुःख लागेको रहेछ । सबैका कुरा सुनेपछि पत्रकार कोइरालाले सीप विकास गर्नमा जोड दिए । आफूमा भएको रुचिअनुसार अघि बढ्दा त्यही भविष्य हुने उनको तर्क थियो । विद्यार्थी नेता न्यौपानेले बजारमुखी शिक्षाको विरोध गरिन् । नायक हमाल बुबा-आमा र बालबालिकाको रुचि एकै होस् भन्ने चाहेको बताउँदै थिए । गाउँको पढाइ राम्रो पार्न उनको जोड थियो ।
‘आफू के बन्न चाहन्छौ ?’ भन्ने प्रश्नमा सुदर्शन पुडासैनी खेलाडी बन्ने सपना देखिरहेका थिए । स्नेहा केसीले बुबाआमाको सपना पूरा गर्न पत्रकार बन्ने बताइन् । रवि शाह भने श्रमिक बालबालिकाको हितमा काम गर्ने निधो गर्दै थिए । तीनैजनाको इच्छा सुनेपछि नायक हमाल भन्दै थिए, ‘एउटा क्षेत्रमा लागेको मानिसलाई प्रोत्साहन गर्नुपर्छ ।’ विद्यार्थी नेता न्यौपानेले बेग्लाबेग्लै पुस्तामा सोच्ने शैली फरक हुने भएकाले बुबा-आमालाई रिझाउने सल्लाह दिँदै थिइन् । पत्रकार कोइरालाले भने, ‘आफूलाई जे बन्ने विचार छ, त्यसका लागि काम थालिहाल्नु है । ढिलो होला ।’
कार्यक्रमको अर्को खण्ड सशस्त्र गतिविधिमा लागेका र कामदार बालबालिकाका कुरा हुन थाले । यस क्षेत्रमा काम गर्ने संस्थाका विचार पनि सुनाइयो । विद्यार्थी नेता न्यौपानेले यस् ता बालबालिकालाई राज्यले हेर्नुपर्नेमा जोड दिँदै थिइन् । पत्रकार कोइराला यस्ता बालबालिकामा समाचार लेख्न, उनीहरूबारे चासो दिन घच्याउनुपर्छ भन्दै थिए । नायक हमाल ‘युद्ध सकिए पनि घाउ निको हुन समय लाग्छ । सरकारले ध्यान दिनुपर्छ’ भन्दै थिए ।
त्यसपछि वीरगन्जका केही बालबालिकाले तराई समस्याबारे टेलिफोनमा बताए । तराईमा जातजातिको झगडाबारे पत्रकार कोइरालाले स्कुलमा पढाउँदा नै हामी नेपाली मात्र हौं भनेर पढाउन सल्लाह दिँदै थिए । यसैबीच सञ्जीव खनाल, विद्यार्थी नेता न्यौपानेले सबै जात-जाति बराबर हुनुपर्ने बताए ।
घरेलु बालश्रमिकबारे नायक हमाल ‘काम दिँदा अधिकारको र काम नदिँदा भोकको कुरा आउने’ समस्या देखाउँदै थिए । बालश्रमिक सानु तामाङ, दीपक मगरले आफ्नो श्रमबारे बताए । ‘एक परिवार, एक रोजगार दिनुपर्छ, निःशुल्क शिक्षा हुनुपर्छ,’ भन्नेमा सबैको जोड थियो ।
‘तिमी प्रधानमन्त्री भए के गर्छौं ?’ प्रश्नमा कोपिला दंगाल, गोपालप्रसाद खनाल, रज कौरले धेरै योजना सुनाए । कृष्ण तामाङ, शिवकुमार श्रेष्ठ सुन्दर देशको कल्पना गर्दै थिए । कार्यक्रम सकियो ।
कार्यक्रम सकेर सभाकक्ष बाहिर आएका साना साथीहरू नायक हमालसँग अटोग्राफ लिन र तस्बिर खिचाउन व्यस्त देखिन्थे ।
(२०६४ चैत २२, कान्तिपुर दैनिकको बालकोसेली ‘कोपिला’ बाट)

Write a comment