अशोक, तिमी केहि गर्न सक्छौं

एउटा उत्साही अनि जिज्ञासु बालक, त्यो पनि स्कूले उमेरको । मलाई लाग्छ, उसँग मेरो पहिलो भेट काठमाडौं, बूढानिलकण्ठमा भएको ‘राष्ट्रिय बालक्लब सम्मेलन’ मा भएको थियो । सेभ द चिल्ड्रेन अलायन्स, कन्सोर्टियम र प्लान नेपालले २०६३ भदौ २०-२२ मा गरेको ‘परिवर्तनका पाइलाहरुमा ……… बालबालिकाको सहभागिताको अधिकार’ नामक उक्त सम्मेलनमा म एउटा कार्यपत्र प्रस्तुत गर्न पुगेको थिएँ । मेरो प्रस्तुति राखिएको २१ गते काठमाडौं अशान्त थियो । यातायात सुचारु थिएनन् । चाबहिलबाट बूढानिलकण्ठको ‘पार्क भिलेज होटल’ पुग्न मलाई निकै हम्मेहम्मे भएको थियो । चाबहिलबाट कसो-कसो गरेर तीन वटा गाडी फेर्दै म त्यहाँ पुगेको थिएँ । यो घम्साघम्सीको परिस्थितिले अशोक र मेरो भेट गराएको थियो । अशोक त्यहाँ आएका ३७ जिल्लाका ८८ बालबालिकामध्ये एक सहभागी थिए । यहाँ अहिलेको मेरो लेखनको केन्द्र बन्दैछन्, अशोक दर्नाल ।
सम्मेलनका सन्दर्भमा एउटा आवरण-कथा भदौ ३० को ‘कोपिला’ (कान्तिपुरको बालकोसेली) मा मैले लेखेको थिएँ । अशोकले मलाई सघाएका थिए । अन्तिम दिन (भदौ २२) मा सम्मेलनका सहभागीले नीति-निर्माता, नेता, पत्रकार आदिसामु आफ्ना धारणा राखेका थिए । धारणा राख्ने तीन प्रतिनिधिमा अशोक पनि थिए । ‘कोपिला’ को उक्त आवरण-कथा यसरी सकिएको थियो – ‘भदौ २२ मा सबैसामु यी पारित धारणा राख्ने जमर्को गरे । सम्मेलनले पारित गरेको ‘राष्ट्रिय योजना र नीतिनिर्माण प्रक्रियामा बालसहभागिता’ विषयक अवधारणापत्र हिमा पोखरेलले प्रस्तुत गरिन् । अजय योञ्जनले ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको कार्यनीति र योजना निर्माण गर्दा बालसहभागिता कसरी बढाउन सकिएला’ विषयक अवधारणा-पत्र सार्वजनिक गरे । अशोक दर्नालले ‘सञ्चारमाध्यममा बालसहभागिता बढाउनका लागि पुर्‍याउनुपर्ने प्रक्रिया’ बारे बताए ।
उनीहरूका कुरा सुन्न भने उत्तिको कसैले चासो देखाएनन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य विभागले उनीहरूका गुनासा सुने । केही गैरसरकारी संस्था र पत्रकार महासंघले पनि त कुरा सुने । तर कांग्रेस, एमाले र माओवादीका कोही पनि कार्यक्रममा आएनन् । उनीहरूका कुरा त्यसै रहे । ……… (साथमा बाल पत्रकार अशोक दर्नाल)’
स्कूल पढ्दापढ्दैको बेला पत्रिकामा नाम छापिएकोमा उनी निकै खुसी भएका थिए । हौसला मिलेको थियो, उनी यसै भन्थे । त्यसपछि अशोक र मेरो सम्पर्क बाक्लिएको थियो ।
यसैबीच मेरो सम्पादनको प्रतियोगिता पत्रिका ‘सर्वज्ञान मञ्च’ का पृष्ठ बनाउन म अनामनगर पुग्दा अर्को रमाइलो भएको थियो । मलाई पृष्ठ-डिजाइनमा ध्रुव बस्नेतले सघाउनु हुन्थ्यो । ध्रुवजी बसेको र भान्साकोठा पश्चिमको थियो । पूर्वका कोठा अशोकका । त्यहिं हो, अशोकले आफ्ना दाजु सुभाषसँग मेरो परिचय गराएको ।
त्यसबेलासम्म अशोक स्कूल नै पढ्थे । एसएलसी दिने बेलामा सम्पर्क अलि पातलिएको थियो । उनले एसएलसीपछि पत्रकारिता पढ्ने बताए र त्यसै गरे ।
जागरण मिडिया सेन्टरले ‘दलन’ बनाउँदा सुटिङका लागि कान्तिपुर दैनिकको एउटा पुरानो अंक चाहिएको रहेछ । पत्रिकाहरु बन्डल बनाएकाले चाहिएको पाना निकाल्न सकिएन । सुटिङ रोक्ने कुरा पनि भएन भन्ने भएपछि म ग्यारेन्टी बसेर पत्रिकाको बन्डल अशोकलाई जिम्मा लगाए । उनी भन्थे, ‘त्यो पानालाई खिचेर फ्लेक्स बनाएर सुटिङ गरेको हो ।’
काम सकेपछि पत्रिका फिर्ता गर्न उनी कान्तिपुर कार्यालय आइपुगेका थिए । ‘दलन’ नेपाल टेलिभिजनबाट प्रसारण गर्नुअघि राजधानीमा गरिएको कार्यक्रममा मलाई अशोक आफैंले बोलाएका थिए र भने, ‘दाजुले मलाई नछुटाउनु भन्नु भएको छ ।’ सुभाषजीले भनेको वा नभनेको जे भए पनि अशोकलाई म आउन सक्दिन भन्न सक्ने थिइन । म गएँ, त्यो एउटा सशक्त प्रस्तुतिमा सुभाषजीको ठूलो योगदान थियो ।
अशोकले ‘दलन’ का बालकलाकारका बारेमा एउटा आवरण-कथा लेखेका थिए । ‘कोपिला’मा छापिएको थियो, त्यो आवरण-कथा ।
अशोक बारम्बार फोन गर्थे । मलाई के याद छ भने उनले फरक फोनबाट एक पटक फोन गर्दा मैले सोधेको थिएँ, ‘नयाँ नम्बर लिएको ?’
उनले भने, ‘दाजु, अमेरिका जानु भा’छ । अनि मैले चलाएको ।’
उनले दाजुको बिहे भएको खबर दिएको जस्तो लाग्छ, मलाई । कहिले ‘नयाँ पत्रिका’मा आर्टिकल छापिएको सुनाउन फोन गर्थे ।
म अशोकलाई उठाउन चाहन्थे । केहि सके । केहि सकिन । जे गरे, उनले भलै ठानेका होलान् । एउटा दाजुको जस्तो भूमिका थियो । अशोकजस्ता अरु भाईहरुलाई पनि हौशला दिने अवस्था रहन्थ्यो । सबैलाई सकेको सहयोग गरियो होला भन्नेमा छु ।
अशोक, यतिबेला दाजु गुमाएको क्षणमा छन् ।
म अमेरिका आएपछि अशोक र मेरो नाता ‘फेसबुक’ले मात्र जोडिदिएको छ ।
काठमाडौंमा भएजस्तो अवस्था छैन ।
काठमाडौंमा म उनको खुशीका समाचार सुन्न तयार हुन्थे ।
यतिबेला उनलाई दु:ख परेको छ । म यहाँ छु ।
तर मलाई के आशा छ भने तिमीले हिम्मत जुटाउनु पर्छ । तिमी पाकेका छौं । जान्ने पनि भएका छौं ।
मलाई विश्वास र आशा छ, ‘तिमी केहि गर्न सक्छौं । तिमी पछि हट्ने छैनौं ।’

Comments posted (7)

Very nice, Rajesh Jee….
Touchy n’ inspiring…

Safal Ghimire
Pokhara

Inspiring !

Rajesh ji, This is so damn good and inspiring article…. my deep condolence to Ahook ji too….

emotional piece sir! RIP Subash sir. Heartfelt condolence to Aashok!

प्रस्तुती राम्रो लाग्यो । अशोकले अवश्य नै केही गर्नेछन् ।

I felt so great to read about Ashok. I have known him as a very active and ever active youth. Knowing more about his enthusiasm and leadership skills, I have more respect and Hope for him.
All the best Ashok !! You will do Amazing.

really really worthy to read…

Write a comment