मीठो धुन बजाउने ‘आइसक्रिम ट्रक’

निकै मीठो धुन बजाउँदै एउटा ‘ट्रक’ टोलतिर पस्यो । ट्रक रहेछ, आइसक्रिम बेच्ने । निकै सिंगारिएको ट्रक देख्दा ठूलैलाई आइसक्रिम किनौं-किनौं लाग्छ । घरका लालाबाला एउटा वा दुईटा क्वार्टर (एक डलरको चौथाइ) चाहन्छन् । पाए, एक डलर नै सहि । किनभने यसबेला नानीहरूको स्कूल बिदा छ । जून महिनामा यहाँका स्कूलहरुको शैक्षिक सत्र सकिन्छ । करिब ३ महिना लामो बिदापछि नयाँ शैक्षिक-सत्र शुरू हुन्छ । अरु घरमा जस्तै मेरा दुईटा साना भान्जा पनि घरमा छन् । टोलमा उनीहरुका उमेरका दर्जनभन्दा बढी भुराभुरी छन् । आइसक्रिम ट्रक किन पो नआओस् यतातिर !?
भान्जाहरु- सुभासिष र शिखर आचार्यसँगै डम्बर दाईकी छोरी सब्रिना नजिकैको ग्रिन एकर्स स्कूलमा पढ्छन् । उमेरले भाई भए पनि बहिनी र ज्वाईंले दाई भनेकाले मेरा मुखमा पनि डम्बर दाई (कडरिया) झुन्डिएको छ । बोलाउँदा ‘डम्बर दाई’ नै भन्छु । यी तीन जना नानीहरु पढ्ने पाँच कक्षासम्मको यो स्कूल न्यु ह्याम्सर राज्यको म्यानचेस्टरमा छ ।
सन्दर्भ, स्कुले नानी-बाबुहरुको । शैक्षिक-सत्र सकिनु केहि दिनअघि मात्र अमेरिकामा बाबुको मुख हेर्ने जस्तो चाड पर्छ, जून महिनाको तेस्रो आइतबार । यस वर्ष जून १९ मा परेको थियो, चाड ‘फादर्स डे’ । ‘फादर्स डे’ का दिन सब्रिनालाई स्कूलमा ‘शब्द-खोज’ खेलको एक पाना दिइएको रहेछ । त्यहाँ खोज्नु पर्ने शब्दहरुको एउटै अर्थ थियो, पिता । विभिन्न भाषामा ‘पिता’ लाई के भनिन्छ, ती शब्द अंग्रेजी उच्चारणका आधारमा लेखिएका थिए ।
अमेरिका ‘आप्रवासीहरुको देश’ (कन्ट्री अफ इमिग्रेन्ट्स) भएकाले धेरै भाषा बोल्नेको प्रतिनिधित्व गराइएको यो अभ्यासले मलाई नेपालमा पनि यस्तै गर्न राम्रो होला जस्तो लाग्यो । नेपालको राजधानी काठमान्डौंमा ७५ जिल्लाका मानिस बस्छन् । विभिन्न जातिका मानिस छन् । विभिन्न भाषा बोल्छन् । प्रत्येक स्कुलले आफ्नो तरिकाले स्कुलमा पढ्ने जातिगत आधारमा गणना गरेर सबैका लागि उपयुक्त खालको यस्तै ‘शब्द-खोज’ बनाउन सक्दैनन् ? पत्रिकाले ‘शब्द-खोज’ मा यस्तो अभ्यास दिंन मिल्दैन ? समावेशी भनेको यो पनि त हो । समावेशी हुनुपर्छ भनेर सिकाउनै नपर्ने एउटा काइदाले कम्तिमा साना नानीहरूबाटै यो ज्ञान त दियो । यो सन्दर्भ यति नै ।
शैक्षिक सत्र सकिनुअघि स्कूलले एउटा अभिभावक दिवस राखेको थियो । सांस्कृतिक कार्यक्रम भनेर दुई घन्टा समय लिइएको थियो । स्कूल कक्षा ५ सम्मको भएकाले त्यहि कक्षाका नानी-बाबुहरुले मात्र एउटा नाटक देखाए, करिब सवा घन्टाको । नाटक थियो, ‘अल्लादिन’ ।
सुभासिष पहिलो दिन स्वर-समुहमा थिए र दोस्रो दिन ‘सुल्तान’ बने । ‘अल्लादिन’ म्युजिकलको किताब बोकेर हि‌डेको देख्थें । बेलाबेला आएर ‘युट्युब’ मा अरुले ‘अल्लादिन’ को नाटक पोष्टिङ गरेको हेरेको देख्थें ।
नाटकमा कक्षाका सबै नानी-बाबुहरू सहभागी थिए, कुनै न कुनै रुपमा । नाटक लगातार दुई दिन भयो । मुख्यपात्रका रुपमा पहिलो दिन आएका नानी-बाबुहरू अर्को दिन आएनन् । अरूलाई मुख्यपात्रका रूपमा तयार पारिएको थियो । नानीहरुले राम्रो अभिनय गरेका थिए । बेलाबखत कसैले डायलग बिर्से पनि मलाई मनप-यो, उनीहरुको प्रयास । त्यो वेशभूषा, त्यो स्रोत-साधन परिपक्वता थियो, अभिनयमा ।
नाटक हेर्न कक्षा ५ का अभिभावक मात्र बोलाइएका थिए । तस्बिर खिच्ने अभिभावकले आफ्नो कुर्सी छाडेनन् । मञ्चको सामुन्ने संगीत-शिक्षिका बसेकी थिइन र नानी-बाबुहरूलाई सिकाउँथिन् । यसरी बिदा हुने कक्षा मात्रको प्रस्तुतिले अभिभावक दिवस अलि रोचक हुने रहेछ ।
नाटक सकिएपछि एउटा पावरप्वाइन्ट देखाइयो । कक्षा ५ का सबै नानी-बाबुहरुको वर्षभरका गतिविधिका फोटाहरु समेटेको त्यो पावरप्वाइन्ट भने मेरा लागि नौलो थियो ।
अभिभावक दिवस अलि सहज तरिकाले गर्न सकिंदो रहेछ भन्ने नमुना हो, यो । मैले हेरेका नेपाली स्कूलका धेरै अभिभावक दिवसभन्दा फरक लाग्यो !!

Comments posted (1)

Nice article Rajesh dai.

Write a comment