अभिभावकले के सम्म गरिदिने ?

‘दशैंबिदा भयो । त्यसैको तयारीमा बित्यो । दशैं आयो र गयो । छोराछोरीको दशैं होमवर्क त त्यसै रहेछ । त्यहि पो गराइरहेछु,’ एक मित्रलाई खबर सोद्धा पाएको उत्तर यहि हो ।
‘होइन आफैं गर्न सक्दैनन् र ?,’ मैले भने ।
‘अरु त यसै गर्छन् । नेपाली चाहिं ठ्याप्पै छ । आफैं लेखेर सार्न लाउँछु,’ उनले भने ।
यो कुराकानी लम्बियो । मैले जानेका र बुझेका कुरा भनें । उनलाई भनेका कुराहरु केवल उनका लागि होइन्, सबैका लागि उपयोगी हुन सक्छन् ।
एउटा चीनियाँ उखान बारम्बार हामी प्रयोग गर्छौं – ‘बल्छि दिने कि माछा मारेर दिने ?’ बालबालिकालाई आफैं गर्न सक्ने बनाउनुपर्छ । बल्छि दिनुपर्छ । सिप सिकाउनुपर्छ, माछा आफैं मार्छन् । ठिक्क पारिदिने वा वातावरण तयार पार्ने हो, बाँकी उनलाई गर्न दिने हो । छलफल गर्ने हो, निकास निकाल्ने पनि हो ।
मैले कान्तिपुरको बालकोसेली ‘कोपिला’ संयोजक भएर करिब ६ वर्ष बिताएँ । हामीले केहीसमय अघिसम्म ‘कोठेपद प्रतियोगिता’ स्तम्भ चलाएका थियौं । हामीलाई प्राप्त हुने भरिएका सयौं कोठेपदमध्ये धेरै अभिभावकले भरिएका पाइए । कोठाहरुमा एक खालका अक्षर, नाम, ठेगाना आदिमा अर्कै अक्षर । आफूले पेन्सिलले लेखेर उनीहरुलाई कलम वा डटपेनले लेख्न लगाइएका कोठेपद पनि हुन्थे । अभिभावकले भरेका कोठेपद राख्नुभन्दा हामीले स्तम्भ रोक्नु ठिक ठान्यौं ।
धेरै अभिभावक झोला बोकेर बसस्टप आउँछन् र बेलुका लिन पुगेका भेटिन्छन् । म नजानुस् भन्दिनँ । तर झोला बोक्ने काम नगर्नुहोस् । उ बिरामी वा असक्त भए, ठिकै हो । उसैलाई बोक्न दिनुहोस् । जिम्मेवारी दिनुहोस् ।
होमवर्क गरिदिनु हुन्न । यसो भए हुन्छ की ? उस्तो हो की ? मलाई त यस्तो लाग्छ ? भनेर भन्नसम्म सकिन्छ । नभए कहिं खोज भनेर पुस्तक, इन्टरनेट आदि उपलब्ध गराउन सकिन्छ । म त भन्छु, होमवर्क गर्दा सँगै बस्ने बानीले विस्तारै उनलाई परनिर्भर बनाउने परिस्थिति सिर्जना गर्छ । आत्मनिर्भर बनाउने हो भने आफू जति बेला पनि ‘…. मा घुम्ने झिंगा’ जस्तो किन हुने ?
राम्रो शिक्षा अभिभावकको जिम्मेवारी हो । त्यो चाहिं हरहालतमा दिनुपर्छ । त्यसका लागि जे पनि गर्न तयार हुनु अभिभावकको मुल दायित्व हो ।
तपाईंले धन कमाएर राखिदिएपछि उसले के गर्न बाँकी रह्यो र ? सिप सिकाए उसले गर्ने कुरा धेरै हुन्छन् । यसमा ध्यान दिनैपर्छ । जिम्मेवारीले सिप विकास गराउँछ । यो पनि उनीहरुको उमेरअनुसार हुन्छ । उमेरअनुसार जिम्मेवारी पनि बढाउन सकिन्छ ।
रिडर्स डाइजेष्टले आफ्ना स्तम्भहरुमा लेख्ने गरेको छ, ‘तपाईं अर्बपति भए पनि आफ्ना सन्तानलाई खानापछि डाइनिङ टेबुल पुछ्न लगाउनुहोस् । काम चिनाउनुहोस् ।’
विश्वका दोस्रो धनी वारेन एडवार्ड बफेटले सन् २००६ जूनमा आफ्नो सम्पत्तिको ८५ प्रतिशत अंश दान गरे । दान गर्दा उनको कूल सम्पत्ति ४४ अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो । उनले दिएको दानको अधिकांश अंश विश्वकै धनी व्यक्ति बिल गेट्सले खोलेको सामाजिक संस्थामा गयो । उनले दिएको दान अमेरिकी इतिहासमा सबैभन्दा धेरै हो । गेट्सको संस्थाको कूल सम्पत्तिको दोब्बरभन्दा बढी सम्पत्ति उनले दिएका हुन् । त्यसबेला उनको जीवनशैलीबारे खुब चर्चा भएको थियो । वास्तवमा त्यो अनौठो थियो । त्यसबेला पत्रपत्रिकाले लेखे, ‘उनी सन् १९५८ मा किनेको करिब ३१ हजार ५ सय डलरको घरमा (ओमाहा) बस्छन् । उनले किनेको महंगो घर क्यालिफोर्नियामा भने छादैछ । उनको वाषिर्क तलब १ लाख अमेरिकी डलरमात्र छ । वारेन मोबाइल फोन बोक्दैनन् । उनको टेबुलमा कम्प्युटर छैन । उनी आफ्नो गाडी आफैं हाँक्छन् ।’
उनको जीवनशैली त हाम्रा लागि एकादेशको कथा लाग्दो हो । त्यो भन्दा पनि पत्रकारहरुले छोराछोरीका लागि केही सम्पत्तिमात्र छुट्याएको भनी सोधेको प्रश्नमा उनले भनेका थिए, ‘म मेरा सन्तानलाई केही दिन चाहन्छु, त्यसबाट उनीहरुले केही गर्न सकुन । तर धेरै पनि दिन्न, उनीहरुले केही पनि नगरुन ।’
सुखका नाममा आफू गर्ने होइन । माया गर्ने पनि ठाउँ, समय र परिस्थिति हुन्छ । यसमा ख्याल राखे बस् पुग्छ ।
(कान्तिपुर दैनिकमा २०६६ असोज २९- सन् २००९ अक्टोबर १५ मा प्रकाशित)

Write a comment