ए हजुर ! यता पनि फुल्दोरहेछ, गुराँस

हिउँद सकिएर वसन्त लागेपछि फूलहरु फुले । यीनै फूलहरुमा गुराँस पनि देखियो, अमेरिकामा । मेरा लागि निकै रमाइलो कुरा भयो, ‘अहो ! गुराँस पनि त फुल्दोरहेछ ।’ जताततै गुराँसै-गुराँस ।
नेपालको राष्ट्रिय फूल ‘लालीगुराँस’ पढेको अनि जानेको थियो । नारायण गोपालको गीत सुनेको र गुनगुनाएकै हो :
“म त लालीगुराँस भएछु, म त लालीगुराँस भएछु,
वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु,
वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु,
म त लालीगुराँस भएछु …………………
फाँटहरुले कसलाई पुग्छ, भिरमा पनि फुलिदिन्छु,
फाँटहरुले कसलाई पुग्छ, भिरमा पनि फुलिदिन्छु,
खुसी मात्र कहाँ हुन्छ, खुसी मात्र कहाँ हुन्छ,
पीरमा पनि फुलिदिन्छु
म त लालीगुराँस भएछु, म त लालीगुराँस भएछु”
हो, सेतो गुराँस पनि थाहा थियो । अझ ‘सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा’ नामक संस्थाले गरेका काम र संस्थाको नाम खुब सुनेको हो ।
यहाँ भने लाली मात्र होइन, सेतो, बैजनी आदि गुराँस देखिए । कसलाई सोधौं ? भइरह्यो ।
जुनको पहिलो साता न्यु ह्याम्सरकै नासुआ जाने मौका मिल्यो । त्यो पनि मन्दिर जाने इच्छाले ।
भारतीयहरुले बनाएको उक्त ‘हिन्दु टेम्पल अफ न्यु ह्याम्सर’ को परिसरमा फुलेको गुराँसलाई क्यामरामा उतारे ।
मनमा थियो, ‘यसबारे केहि लेख्नै पर्छ ।’
नासुआ गएको चार दिन बित्न नपाउँदै ‘अल भ्वाइसेज’ को एउटा रोचक रिपोर्टि ‘क्यालिफोर्निया : जुन रोडोडेन्ड्रन एन्ड वाइल्ड अजालिया भियुइङ’ पोष्टिङ गर्‍यो । ‘दाभा कास्टिल्लो’को यो रिपोर्टिङको पहिलो अनुच्छेदमै गुराँस चीनबाट बेलायत हुँदै अमेरिका आएको प्रसंग छ र भनिएको छ, ‘गुराँस विश्वका केहि ठाउँहरुमा मात्र पाइन्छ । यो नेपालको राष्ट्रिय फूल हो र चीनको रैथाने । सुरुवाती खोजकर्ताहरु धन्य छन्, गुराँस पहिले इंगल्यान्ड ल्याइयो र इंग्लिस बगैंचाहरुमा ख्याती कमाएपछि अमेरिका भित्रियो । १९ औं शताब्दीमा उत्तर-पश्चिम प्रशान्त क्षेत्रमा रैथाने भयो, गुराँस ।’
‘गुराँस बेलायत ल्याउने श्रेय जेम्स कनिङ्घमलाई जान्छ । उनले बिज सुकाएर बेलायत पठाउन भ्याएँ । तर आफैं बने बेलायत फर्कन भ्याएनन् । बाटैमा उनको जीवनलीला समाप्त भयो,’ दाभा कास्टिल्लो लेख्छिन् ।
‘अल भ्वाइसेज’ को यो रिपोर्टिङमा अमेरिकामा गुराँसबारे गरिने अनुसन्धान संस्थाहरुको लिंक राखिएका छन् । (क्यालिफोर्नियासहित पुरै अमेरिका)
‘विश्वमा करिब एक हजार थरी गुराँस पाइन्छन्,’ विकिपिडिया लेख्छ । यता नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा गुराँसका लागि केहि ठाउँ विख्यात छन् । धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गम तीनजुरे ‘मिल्के’ जलजले क्षेत्र (टीएमजे) ‘लालीगुराँसको राजधानी’ भनिन्छ । उता अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षण क्षेत्रमा ८ थरीका गुराँस पाइएका छन् । रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका वनमा १२ प्रजातिका लालीगुराँस फेला परेको छ । यस्तै यस्तै ……
लालीगुराँस फूललाई सन् १९६२ मा नेपालको राष्ट्रिय फूल घोषणा गरिएको हो ।
विकिपिडिया लेख्छ, ‘गुराँस दक्षिण अमेरिका र अफ्रिकाको रैथाने होइन । उत्तरी गोलार्ध्दका ओसिलो ठाउँ गुराँस फुल्छ । दक्षिण गोलार्ध्दको दक्षिण-पूर्वी एसिया र उत्तरी अष्ट्रेलेसिया (अष्ट्रेलिया+एसिया) मा पाइन्छ, गुराँस ।’
गुराँस त्यतैबाट विश्वभर फैलिएको त स्पष्ट छ ।
हामी सबै गुराँसलाई ‘लालीगुराँस’ भनिदिन्छौं
विश्वका सबै मुलुकमा नेपाली पुगेजस्तै,
अनि गुराँस फुले जस्तै :
म त लालीगुराँस भएछु, म त लालीगुराँस भएछु,
वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु ॥
(म्यानचेस्टर, न्यु ह्याम्सर- ११ जुन २०११)

Comments posted (3)

Good article Rajesh dai. Wherever we go/are it feels like the Laligurans is our Nepal’s own flower. Btw i have not seen here in London nor have i been able to read about it. Enjoy reading your blogs. Please visit our site http://www.nepalisamajuk.com in your free time. Many thanks.
- meridian ko Ishwor

khusi ko kuraaa……………..

Really good site. it’s like a small Wikipedia.

Write a comment